राजेन्द्र भण्डारीका कविता

अध्ययन

राजेन्द्र भण्डारी नेपाली कविताका चम्किला नक्षत्र हुन्। सङ्ख्यात्मक र गुणात्मक दुवै दृष्टिले कविता क्षेत्रमा उनको योगदान महत्त्वपूर्ण मानिन्छ। राजेन्द्र भण्डारी युग अनि परम्परा प्रवाहको गतिसँगै आफ्ना कविताहरूलाई अपडेट गर्दै लैजाने कवि हुन्। त्यसर्थ उनका प्रत्येक कविताहरूमा आफू बाँचेका समय-परिवेशको तिक्खर सुगन्ध पाइन्छ। नयाँपन पाइन्छ। उनका प्रत्येक कविता सङ्ग्रह वा कविताहरूमा देखापरेको भिन्नता वा अन्तर्निहित नवीनता यसका दसी हुन्।


निमा निची शेर्पा


१.राजेन्द्र भण्डारी : सङक्षिप्त परिचय
राजेन्द्र भण्डारी (ईशाब्द १९५६, कालेबुङ) समकालीन नेपाली कविताका बहुचर्चित कवि हुन्। कवि भण्डारी जन्मजात वा नैसर्गिक प्रतिभा हुन्। उनी सारस्वत् मात्र होइन शास्त्रकवि, काव्यकवि र उभयकवि पनि हुन्। उनको कविता आराधना निकै लामो र निरन्तर प्रवाहमयी, कविता मोह निकै घनीभूत र अटल, कविता चिन्तन निकै सूक्ष्म र विस्तृत तथा कविता धारणा निकै प्रौढ र परिपक्व छ। सङ्ख्यात्मक र गुणात्मक दुवै दृष्टिले उनका कविता योगदान महत्त्वपूर्ण र स्तरीय छन्। उनका पाँचवटा कविता सङ्ग्रह क्रमैले हिउँदे यी चिसा रातका पर्दाहरूमा (ईशाब्द १९७९), यी शब्दहरू : यी हरफहरू (ईशाब्द १९८६), क्षर/अक्षर (ईशाब्द १९९८), शब्दहरूको पुनर्वास (ईशाब्द २०१०) र प्वाँखहरू र आकाश (ईशाब्द २०१०, निमेश निखिलद्वारा सम्पादित) प्रकाशित छन्। उनका कविताहरू राष्ट्रिय/अन्तर्राष्ट्रिय स्तरका विभिन्न पत्रपत्रिका/वेभपत्रिकामा प्रकाशित छन् भने हिन्दी, अङ्ग्रजी, जर्मनी लगायत अन्य भारतीय भाषाहरूमा अनुदित भइसकेका छन्। यसै गरी उनले देश-विदेशका विभिन्न मञ्चहरूमा नेपाली कविताको सफलतापूर्वक प्रतिनिधित्व पनि गरिसकेका छन्। भण्डारीका कविताहरू दियालो पुरस्कार (ईशाब्द १९८२), डा. शोभाकान्ति थेगिम पुरस्कार (ईशाब्द १९९९), शिवकुमार राई पुरस्कार (ईशाब्द १९९८) आदि पुरस्कारहरूले धेरथोर मूल्याङ्कन गरिसकेका छन्।
कविताइतर राजेन्द्र भण्डारीले समालोचना क्षेत्रमा पुरयाएको योगदान पनि स्तरीय र महत्त्वपूर्ण मानिन्छ। उनका गहन् समालोचनात्मक लेखहरूको एकमात्र सङग्रह प्रतिमान (ईशाब्द १९८६) प्रकाशित छन्। य़द्धपि फुटकर समालोचनात्मक लेखहरू भने विरल नै सही विभिन्न पत्र-पत्रिकाहरूमा प्रकाशित भइरहेका छन्। यसै गरी वत्स गोपालसँग संयुक्त रूपमा लीलालेखन सम्बन्धी इन्द्रबहादुर राईसँग लिइएको अन्तर्वार्ताको पुस्तक लीला वार्ता पनि प्रकाशित छन्।

000

२.राजेन्द्र भण्डारीको कविताविषयक धारणा – मान्यता
ईशाब्द १९८६ देखि निरन्तर कविता प्रवाहमा एकाग्र राजेन्द्र भण्डारीले आफ्ना कविता सङ्ग्रहका कवि-कथनहरूमा आफ्नो कविताविषयक धारणा–मान्यताहरू आंशिक र परोक्ष रूपमा नै भए तापनि अभिव्यक्त गरेका पाइन्छन्। उनले आफ्ना कवितानिबद्ध कविताहरूमा प्रत्यक्ष/परोक्ष कविता विचार पनि प्रकट गरेको पाइन्छ। ती स्रोतहरूको आधारबाट भण्डारीको कविता विषयक धारणा–मान्यताहरूलाई यहाँ साक्ष्य र सूचकको माध्यमद्वारा अग्रसारित गरिन्छ,

साक्ष्य – १,
आफूलाई ओडाएका जम्मै परिभाषाहरू कविताले फ्याँक्तै आएको छ। जेलाई पनि परिभाषित गरेर एउटा थान्को दिनु मानव स्वभाव हो। कवितालाई पनि परिभाषाहरू दिँदै आएका छौँ। कविताले पनि आफ्ना नयाँनयाँ अवतारहरू, रूपहरू देखाउँदै आएको छ।
(केही विकीर्ण विचार, प्वाँखहरू र आकाश)
सूचकहरू,
– कविता परिवर्तनशील साहित्यिक विधा हो। यसैले कविताको सर्वसम्मत परिभाशा हुँदैन। युग अनि परम्परा प्रवाहअनुरूप कविताको परिभाषा/स्वरुप परिवर्तन हुन्छ।
– परिभाषीकरण मानिसको स्वभाव हो। मानवीय वृत्ति हो। एकसाथ शक्ति र सीमा हो।
– कविता नव-नव उन्मेषशालिनी वृक्ष हो।

साक्ष्य – २,
मौनतालाई जन्माउनु भाषाको उच्चतम प्राप्ति हो। वचनभन्दा मौनता मुखर हुन्छ। भाषाको न्यूनतम उपस्थितिमा कविता उदात्त बन्दै जान्छ।
(केही विकीर्ण विचार, प्वाँखहरू र आकाश)
सुचकहरू,
– थोरैमा धेरै भन्नु कविताकला हो।
– भाषाको न्यूनतम उपस्थितिमा कविता धन्य बन्छ।
– कवितामा भाषाको चाहिँदो र मितव्यायी प्रयोग हुनु पर्छ।

साक्ष्य – ३,
अहिले कविता तृण्मय–मृण्मय वा rhizomatic हुँदै गइरहेको छ, सर्वसमावेशी, बहुलापी, बहुवचनीय, केन्द्रपसारी।
(केही विकीर्ण विचार, प्वाँखहरू र आकाश)
सूचकहरू,
– कविता माटै माटो र घाँसै घाँसले बनेको कला हुँदै जाँदैछ।
– अहिलेका कवितामा अस्पृश्य केही-कोही छैनन्। कविताको आकाश यति विशाल छ, यसमा सबैप्रकारको विचार, तकनीक र शैलीले एकसाथ स्थान पाउन सक्छन्।
– अहिलेका कविता एकालापी होइन बहुलापी छ।
– आहिलेका कविता बहुवचनीय छ।
– अहिलेका कविता केन्द्रको सेरोफेरोमा होइन उपकेन्द्रहरूको परिधिमा घुम्दछ।

साक्ष्य – ४,
भावका गाईवस्तु डुलाउँथे अघिअघि गोपालकवि। इमान्दार, हृष्टपुष्ट थिए शब्दहरू। अब विज्ञापनको भाषाले, राजनीतिको भाषाले त्यहाँ धावा बोलेको छ। झण्डा गाडेको छ। शब्दहरू कविकै घरमा शरणार्थी छन्। कविताले लडनुपरेको छ यो भाषाको युद्ध। समरभूमिमा छ कविता अहिले। कुन टुथपेस्ट चलाउनु ? – देखि लिएर कुन भगवान् चलाउनु ? – सम्म विज्ञापनलाई सोध्नुपर्ने यस युगमा एउटा विकृत उपभोक्तावादी मानसको जन्म भइरहेछ। मानिसलाई उसको मौलिकता फर्काईदिन सक्ला कविताले ?
(केही विकीर्ण विचार, प्वाँखहरू र आकाश)
सूचकहरू,
– अघि-अघिका कविहरू भावानुरूप आफ्ना कविताहरूमा शब्दहरूको वितरण र व्यवस्थापन गर्दथे। शब्दहरू इमान्दार र हृष्टपुष्ट भएकाले भावलाई सहजतासाथ लक्ष्यसम्म पुऱ्याउँदथे।
– अहिलेका कवितामा विज्ञापन र राजनीतिको भाषाको धलिमलि बडेको छ। शब्दहरू कविकै घरमा शरणार्थी छन्।
– उपभोक्तावादी मानसिकताले कविताको भाषासम्म अतिक्रमित छ। शब्दहरूको चयन, वितरण र व्यावस्थापन विज्ञापन र राजनीतिद्वारा प्रायोजित छन्।
– एकातिर कविताले आफूलाई भाषागत रूपमा उपभोक्तावादी दास-मनोवृत्तिबाट मुक्त तुल्याउनु छ भने अर्कातिर मानिसको मानिस हुनुको मौलिकतालाई पुन: स्थापित गर्नु छ।

साक्ष्य – ५,
अनुभूतिहरू दोयम हुँदै आएको आजको युगमा कष्ट, हर्ष. वीरता, विषाद, जय–पराजयका बोधकहरू टेलिभिजनले निर्धारित गरिरहेछ। प्रतिसंसार र प्रतिअनुभवहरूको बिम्बले मानवमस्तिष्कमा घरबार जमाइरहेको छ। बौद्रिलाको आभाषी यथार्थ (?) लाई झट्कारेर निख्खर मानवीय अनुभूतिहरूलाई स्थापित गराउनु कविहरूलाई हम्मेहम्मे परिरहेछ। मानव मस्तिष्क अहिले बजारवाoको ताण्डवभूमि बनिरहेको अवस्थामा कविताले रूढ क्यानन्सलाई भत्काउनुपर्ने भएको छ। अर्थात् एउटा ध्वंसात्मक सिर्जनशीलताको आवश्यकताको बोध भइरहेछ।
(केही विकीर्ण विचार, प्वाँखहरू र आकाश)
सूचकहरू,
– यान्त्रिक अतिक्रमण र भौतिक जीवानुभूतिले मानवीय सम्वेदना क्रमश: क्षीण हुँदै गइरहेको छ। मानिस हुनुको मौलिकता फर्काइ ल्याउन कविताको काँधमा ठुलो जिम्मेदारी छ।
– मानवीय अनुभूति र भावहरूको निख्खर, सङ्गलो र स्वाभाविकतालाई उत्तरआधुनिक प्रतिसंसार र प्रतिअनुभव, उपभोक्तावादी मानसिकता, मीडियाको हाइपररिएलिटी तथा बजारवादको जगजगीदेखि बचाउन आजका कवितामा ध्वंसात्मक सिर्जनशीललताको आवश्यकता छ।

साक्ष्य – ६,
कविता र नाटक जुम्ल्याहा छोरी नृत्यका। दिदी कविता। बहिनी नाटक। गरगहना, लुगाफाटा साटीसाटी लाउँछन दिदीबहिनी। चिन्मय प्रतिभा पुरूष स्वयम् यिनीहरूको बाबु, शक्तिस्रोत। हेर्नुहोस् त, सावभाव ठ्याक्कै बाबुको, जिउडाल काटीकुटी आमाको। सङ्गीतचाँहि यिनीहरूको साख्खे मामा। दिदीचाँहि निकै मामा गोता गएकी छे। आमाको बुझ्झकी र पुख्खली छोरी पनि उही नै।
(केही विकीर्ण विचार, प्वाँखहरू र आकाश)
अथवा
कता गई हँ नर्तकी?
छोडिछ यो कागजमै
अक्षरको पाउजू!
(कविता – १)
सूचकहरू,
– नृत्यकलाकै शाखा विशेष हुन् – कविता र नाटक।
– कविता र नाटक सहोदर हुन्। यसै कारण यी दुई विधाबिच अन्तरङ्ग सम्बन्ध छ।
– चिन्मयता (Universality) कविता र नाटक दुवैको प्राण हो।
– नाटकको अपेक्षा कवितासँग सङ्गीत र नृत्यकलाको अतिशय सूक्ष्म सम्बन्छ छ।

साक्ष्य – ७,
तर मेरो अर्थी उठाउन आउने छ
त्यही सधैँको मेरो अन्तरको अलिखित कविता।
बर्सौँदेखि मलाई नै रुँगेर बसेको
त्यो मेरो साख्खै कविता।
केही गर्न सकिनँ बिचरा त्यसलाई।
नलेखेर अन्याय नै गरेँ कि क्यार
(मेरो अर्थी उठाउने कविता)
सूचकहरू,
– धेरै लेखेर पनि केही नलेखेजस्तो, सबै लेखेर पनि खास कुरो छोडिएजस्तो वा अर्थी उठाउने महान् कविता लेख्न बाँकी नै रहेको कुराको इमान्दार अभिव्यक्ति।
– महान् कविता फगत मृगतृष्णा हो भन्ने कविनिबद्ध आभ्यन्तरिक सत्यको इमान्दार अभिव्यक्ति।

साक्ष्य – ८,
बजारबाट ल्याएको
प्लास्टिकको इन्द्रकमलमा मेरो कविताको मौरी घुम्दैन।
आफ्नो धुलोमा जन्मिएको शब्द
अर्काको मखमली भुइँमा बामे सर्दैन।
पल्लो घरको पाल्तु कुकुरले
मेरो घरको रक्षा गर्दैन।
(पाल्तु शब्दहरू)
सूचकहरू,
– स्व-अनुभूति श्रेष्ठ अनुभूति हो।
– कवितामा आफ्नोपन झल्कनु पर्छ।
– आफ्नो माटो, जाति र क्षेत्रको सुगन्ध हुनु पर्छ कवितामा।
– शब्द, बिम्ब, प्रतीक चयनमा पनि स्थानिकता झल्कनु पर्छ।
– नयाँ वाद, सिद्धान्त एवम् विचारहरूको अनुकरणपूर्व आफ्ना गाउँ-ठाउँको सापेक्षतामा तिनको सान्दर्भिकता केलाउनु उचित हुन्छ।

साक्ष्य – ९,
खोला,
तर किनारसित बाँधिएको
खोलाजस्तो बग्न पनि सक्दैन मेरो कविता
(मेरो कविता)
सूचकहरू,
– जस्तो भाव वा विचार, ठिक त्यस्तै कविता हुँदैन।
– भाषा अभिव्यक्तिको सर्वश्रेष्ठ माध्यम भए तापनि यसको आफ्नै सीमा हुन्छ।

साक्ष्य – १०,
कस्ता कठोर गद्य हो यो पृथ्वी।
गद्य हो कि भनेर खनिहेऱ्यो कविताको पानी भेटिन्छ।
कविता कोट्याएर हेऱ्यो कविताले कविता जन्माइरहन्छ।
(कविताको विकल्प छैन)
सूचकहरू,
– संसार कठोर, उत्तप्त र शुष्क छ। यसमा अन्तर्निहित कठोरता तर साधारण कठोरता होइन। बाहिरबाट कठोर देखिए तापनि भित्र यो तरल छ।
– संसार कवितामय छ। जीवन कवितामय छ।
– कविताभित्र कविता छ। जताततै र जहिलेतहिले कविता छ।
– मानिस हुनुको मौलिकता अथवा सम्वेदनाको हरियोपनलाई जोगाइराख्ने कविताको विकल्प छैन।
– अन्तिम कविता कहिले लेखिने छैन।

साक्ष्य – ११,
तर जङ्गलबाट यी अग्ला सलक्की रुखलाई
लाहाँचेले ठुँगेको सत्य हो
नत्र किन बासिरहन्थ्यो न्याहुल
न्याहुल त्यसरी एकतारै बसिरहनु झन् सत्य हो।
(यी शब्दहरू :यी हरफहरू)
सूचकहरू,
– कविता शून्यको उपज होइन।
– कविता नितान्त व्यक्तिगत हुँदैन।
– यो सङकलनत्रयिक चापको परिणति हो। प्रत्यक्ष–परोक्ष विभिन्न प्रभावहरूको प्रतिबिम्बन हो।

साक्ष्य – १२,
नसिँगार शब्दले त्यसलाई ए कवि
त्यसै पनि सुन्दरी छे
शून्यता।
(कविता – २)
सूचकहरू,
– कविता आफै सुन्दर छ।
– कविताको त्यो नैसर्गिक र स्वाभाविक सुन्दरतालाई कविले जोगाएर राख्नुपर्छ।
– उच्च किसिमको सिँगारपटारले कविताको सुन्दरतामा अपकर्ष बडाउँछ।

000

३. राजेन्द्र भण्डारीका कविता प्रवृत्ति एवम विशेषता

लगभग पाँच दसकदेखि कवितायात्रामा निरन्तर निमग्न भण्डारीका कविताहरू विविधताले युक्त-सिक्त छन्। विविधताको सम्वाहक कतै घारा–संरचना बनेका छन् भने कतै शैली-संहिता बनेका छन्। कतै भाषा–विन्यास त कतै पठन–प्रयुक्ति बनेका छन्। यसर्थ, उनका कविताहरू एकार्कादेखि अभिन्न भएर पनि भिन्न छन्। भिन्न भएऱ पनि अभिन्न छन्। वास्तवमा विविधता नै उनका कविताहरूको खास प्रवृत्ति एवम् मुख्य विशेषता हो। उनका कविताहरूमा एकार्काको पट्यारलाग्दो पुनरावृत्ति पाइँदैन। प्रत्येक कविताबाट बसाइ सर्ने उनको प्रयत्न छ। बसाइ पनि विस्तारै र चरणगत रूपमा सर्छन्। सर्वथा उलटपुलुट र आकस्मिक उथलपुथुलमा उनको विस्वास नरहेको बुझिन्छ। कविताहरू एकार्कादेखि भिन्न र नयाँ हुनका पछाडि सम्भवत: कविको समय सजगता र प्रयोग चेतना कारण हुनु पर्छ।
कवि भण्डारीले घाम-जून-तारादेखि लिएर व्यक्ति जीवनका दु:ख–सुख, हर्ष-विस्मात, जय–पराजयसम्म, दैनन्दिन जीवनका साना–ठूला समस्यादेखि लिएर वैश्विक समस्यासम्म तथा जातिपाति, देशदेखि लिएर समष्टि जीवनसम्मलाई कविताको विषय बनाएका छन्। मुक्तकीय संरचनाका छोटा कवितादेखि लिएर आख्यानात्मक संरचनका लामा-लामा कविता पनि उनले प्रशस्तै सिर्जेका छन्। उच्च आलङ्कारिक शैलीका कवितादेखि न्यून आलङ्कारिक शैलीसम्मका कविताहरू सिर्जेका छन्। शास्त्रीय विधानका कवितादेखि अशास्त्रीय विधानका कविताहरू कोरेका छन्। कवितामा दर्शन छ। अध्यात्म छ, विज्ञान छ। संस्कृति, इतिहास, राजनीति, समाजशास्त्र, मनोविज्ञान, लोकवार्ता छ। सङ्षेासपमा भन्नु हो भने उनका कवितामा सबै थोक छ, कुनै एक थोक छैन। यस लेखमा कवि भणडारीका विविधतायुक्त कविता फूलबारीबाट मुख्य फूलहरू टिप्ने तथा ती फूलरूपी मुख्य प्रवृत्ति एवम विशेषताहरूलाई साक्ष्य र सूचकको माध्यमबाट विश्लेषण गर्ने प्रयत्न गरिएको छ।

स्वच्छन्दतावादी प्रवृत्ति :

साक्ष्य १:
रोपारे-रानीको रस्सिया सुनेर
थाल्यो भ्यागुताले पनि
टोड्कैमा टर्टर।
(वर्षा-सङ्गीत)

रातभरि हुरी चल्यो।
रातभरि छानामाथि असिना खस्यो।
बारीमा पानी पस्यो।
भर्खरको छरिएका बीउ
भर्खर उम्रिएका टुसा
कोही बगे।
कोही भाँच्चिए
भ्यागुताले आफ्नै टोडकामा बसेर
भररात दर्द ओकलिरह्यो।
(रातभरि गोदावरी हावासँग नाचिरह्यो)

अनि जिउने कला
खोलाबाट बिस्तारै उठेर पारि डाँडामाथि
चुपचाप एक्लै गइरहेको बादलको गुच्छालाई सोध्नु
पण्डितलाई नसोध्नु
(त्यो सेतो बादल)

टिस्टा र रङ्गीतको प्रणयकेलि
निर्निमेष नियाल्दै उभिएका छन्
बुढा पहाडहरू।
चकचके हावाले बादलको फेटा लाइदिन्छ कहिले पहाडलाई।
कहिले आएर नुहाइदिन्छ।
कहिले जिस्क्याइराखेर फेरि भाग्छ।
(नजरबन्द पहाड र बिमारी सुनाखरी)

फागुनले सुम्सुम्याएपछि
हिउँको समाधि एकाएक भङ्ग हुन्छ
र चल्मलाउन लाग्छ छाङ्गुको पानी।
(रातमा छाङ्गु)

हुर्र उडेर जान्छन्
आकाशको हावाभित्र रकेटका सुगा-मैना
प्लास्टिकका चराचुरङ्गीहरू गुँड लाउँछन्
फलामका रुखहरूमा।
ढुङ्गाको खोला बग्छ।
पानीको बगर चुप लाग्छ।
(कङ्क्रिटको आकाश)

फिर्ती यात्राको लागि
महादेवको जटामा बाटो खोज्दै
अत्तास्सिएकी छन् मैली भोको गङ्गा।
अस्त-व्यस्त, सन्त्रस्त,
लहर लहर
प्रहर प्रहर।
(अलकत्राको समुद्र)

सूचकहरू,
– भण्डारीका कविताहरूमा प्रकृति सर्वत्र छ। प्रकृति उनका कविताहरूमा मुख्यत: साधन र अंशत: सर्वज्ञको रूपमा अभिव्यञ्जित छन्।
– उनका कविताहरूमा प्रकृति पूजनीय छन्, अनुकरणीय छन् तथा प्रेरकतत्त्वका रूपमा उपस्थित छन्।
– उनका कविताहरूमा प्रकृति मानवीय मनका विभिन्न भावलाई जगाउने विभावक तत्त्वका रूपमा व्यवहृत छन्। मानवीय मन, मस्तिष्क र शरीरका विभिन्न अनुभाविक क्रियाकलापलाई मूर्त्याउने सादृश्य अवयविक कोटिका रूपमा समायोजित छन्।
– उनका कविताहरूमा प्रकृतिको शान्त-उग्र, उदार-अनुदार तथा अनुकूल-प्रतिकूल दुवै रूपको सराबरी प्रयोग छ।
– वैज्ञानिक प्रगति, भौतिक जीवानुभूति र यान्त्रिक अतिक्रमणका कारण प्रकृति र मानवबिचको सम्बन्धमा देखापरेका विचलन र त्यसका दुष्परिणामबारे भण्डारीका कविताहरू सजग-सचेत छन्।
– प्रकृतिको मानवीयकरण उनका कविताहरूको एक महत्त्वपूर्ण विशेषता हो। यसलाई उनको कविताकलाको एक अभिन्न हिस्सा मान्न सकिन्छ।

साक्ष्य – २,
तर-
मेरा जीवनका उकाली ओह्रालीहरूमा साथ पाउँछु कि भनेर,
लुटमार, दर्प र अहमको सांसारिक रापमा,
मायाको शीतलता पाउँछु कि भनेर,
प्रकृति पुरूषको सृष्टिगत रहस्यमा
आफ्नो पनि अस्तित्व राखूँ भनेर
पुरूष आधा अरे
स्त्रीबाट पूर्णत्व प्राप्त गरूँ भनेर
मैले तिमीलाई प्रेम गरेको हु।
(प्रेम)

कालो मुजेत्रो ओडी
बूढी विरहिणी साँझ
आई
मलाई उठाइ।
हातमा सितार बनाई
र गाई राग वागेश्री।
(राग वागेश्री)

तिमी स्वरले सिँच्छौ
अनि हृदयको माटोमा सम्वेदना फुल्दछन।
(नारायण गोपाल)

पल्लोपट्टि निर्वाण, वल्लोपट्टि बाँच्नुको सकस
बिचमा जिन्दगीको बग्दो सडक
कहाँ छ जेब्रा क्रसिङ ?
(जेब्रा क्रसिङ)

दुष्ट नजर नलागोस् त्यसलाई,
त्यस ब्रह्माण्डलाई,
यसैले छोप्नुपर्छ मुजेत्रोले, फरियाले।
त्यो हिरण्यगर्भ, त्यो सृष्टिको प्राग्भूमि।
त्यो आह्लादको सङ्ग्रहालय।
कटिप्रदेशमा तुर्लुङ्ग प्राणप्रतिष्ठा।
वासन्ती आकुलता, मधुपीडाको जलशय्या।
निमग्न सुतिरहेको त्यो अनन्तको वरदान।
छातामुन्तिरको विशाल प्रदेश, त्यो तेजोमय सूर्यउमङ्ग।
(गर्भस्थ सूर्य)

सूचकहरू,
– कवि भण्डारीको कविता प्रतिभालाई उत्कर्षमा पुऱ्याउने तत्त्व हो – कल्पना शक्ति र सौन्दर्य चेतना। उनका प्राय: कविताहरूमा कल्पना र सौन्दर्यको उच्च उडान पाइन्छ।
– कल्पना शक्तिकै बुँइ चडेर उनी सामान्य विषयवस्तुलाई असामान्य तरिकाले पस्किदिन्छन्। सौन्दर्य शक्तिकै काँध चडेर उनी सामान्य विषयवस्तुमा असामान्य गुण वा विशेषताको सन्धान गर्न समर्थ बन्दछन्।
– कवितामा चमत्कार, उक्तिविचित्रता, सादृश्य अवयव आदिको पल्लवनमा कल्पना र सौन्दर्य शक्ति विशिष्ट माध्यम बनेको छ।
– उनको कल्पना र सौन्दर्य चेतनामा नयाँपन छ। आफ्नोपन छ।
– कवि भण्डारी कल्पना र सौन्दर्य चेतनाका धनी कवि भए तापनि तिनको चाहिँदो र मितव्ययी प्रयोगको सचेतन हेक्का पनि छ उनमा।

साक्ष्य ३,
तदर्थ मायाले डामिरहन्छ छात्ती धेरै दिनसम्म।
दिवङ्गत गीतको शोकमा म मौनधारण गर्छु
हारेको सन्नाटा रात खोजिरहन्छ।
(तदर्थ)

मिल्काउन चाहन्छु।
मेरा आँसुका, हाँसोका, जयपराजयका
श्रेयका, प्रेयका, गौरव, सम्मान, अपमानका
मिथकहरूलाई।
(एक साँझ आफ्नै मिथक उचालेर)

ओह्रालो जाने बाटोनिर फलेदोको रुख
रुखको टोडकामा जुरेलीको बच्चा ठिहीले कक्रिरहेको
त्यस बच्चालाई ओ दाउरे दाइ! घाममा सेकाइदिनु।
(राजेन्द्र भण्डारी, १९८६)

सुइँय्य उडेर गयो एउटा हुच्चिल
र त्यता कतै वेपत्ता भयो।
चकचके बादलहरू हिँडेपछि
झन् एक्लो र निलो भयो आकाश।
(एक्लोपनको सिलहट)

सूचकहरू,
– वैयक्तिक्तता उनका रोमान्टिकमूल कविताको एक महत्त्वपूर्व विशेषता हो।
– व्यक्ति जीवनका दुख-सुख, जय-पराजय, लाभ-हानि अथवा विभिन्न भाव वा मनोस्थितिहरूलाई उनले कविताहरूमा कलात्मक वाणी दिएका छन्। ती कविताहरूमा आलाप-विलाप, विरह-वेदना तथा भावुकता-आवेशताको एकोहोरो र चर्को गडगडयाहट भने पाइँदैन।
– जीवन–जगत्, जन्म-मृत्यु-मोक्ष आदिमा विद्यमान गूढ रहस्यले व्यक्ति मानसमा परेका प्रभाव. जिज्ञासा तथा तिनका विकीर्ण तरङ्गहरूको अभिव्यक्ति पनि छ यस प्रवृत्तिमूलका कविताहरूमा।
– विशेषत: एकान्त अनूभूतिहरूलाई उनले बग्रेल्तै कविताहरूमा कलात्मक अभिव्यक्ति दिएका छन्।

यथार्थवादी प्रवृत्ति
साक्ष्यहरू,
देशको सिमानामा गृहस्थीको रक्षा गर्न
पल्टन हिँडेछन् कति मेरा दाँवलेहरू।
त्यो गाउँ पनि विकसित भएन
खै कसरी भन्नु ?
पीपलडाँडामा अघि मन्दिर थियो
अहिले थाना रहेछ।
मैले डुब्की हान्ने दह
अहिले बगर भएछ।
(गाउँको सेरोफेरो)

स्कुटरमा आएका
एक हुल अज्ञात बन्दुकधारीहरू
भिडमाथि अन्धाधुन्ध गोली चलाएर बेपत्ता।
कतैबाट कुनै अप्रिय घटनाहरूको समाचार छैन।
(अन्तमा फेरि एकपल्ट समाचार सारांश)

ट्रान्जिस्टरको गीतमा
पानवालाहरू गाउँको खडेरी र हुर्केकी छोरीलाई भुल्न खोज्छन्।
धर्म निरपेक्षताको सर्वोत्तम उदाहरण बन्दछ रेडलाइट एरिया।
साँझपख सहरकिनारामा शङ्खघन्टी,
झुसिल्किराझैँ घस्रिरहेको प्रतिवाद जुलुस
हत्याको, बलात्कारको, महँगाइको प्रतिवाद,
मैथुनमुद्रामा बिल्डिङको सिलहट,
ट्राफिकजाममा पनि निश्चिन्त हिँड्न बानी परेको गाई
म्युनिसिप्यालिटीको ठुलो पाइपभित्र कराहीमा छड्किरहेको गृहस्थी।
(कुनै भारतीय सहरको परिभ्रमण)

‘आमा यी मान्छेहरूलाई
किन मान्छे भनेको’
‘मान्छे जस्ता देखिन्छन् नि त’
‘त्यसो भए साँच्चिकै मान्छे चाहिँ को हो त?’
‘बाबु, नसोध मलाई अहिले
ठुलो भएपछि आफै जान्नेछस् तैँले’।
(मान्छे)
सूचकहरू,
– भण्डारीका कवितामा मानव समाज र जीवनको अनासक्त तथा निष्पक्ष फोटोग्राफी पाइन्छ।
– उनका कवितामा मानव समाज र जीवनका नकरात्मक एवम विसङगत पाटाहरूको मात्र चित्राङ्कन नभएर सकरात्मक एवम आदर्श पाटाहरूको पनि प्रत्याङ्कन पाइन्छ।
– स्थानीय वा क्षेत्रगत दृश्य, वातावारण अनि विशेषताहरूको जीवन्त चित्रण, सामयिक घटना, परम्परा, संस्कृति, रीतिरिवाजहरूको विवरण तथा जस्ताको तस्तै चित्राङ्कनको प्रयत्न उनका यथार्थवादी कविताको शिल्प-शैलीगत विशेषता हो।
– यस प्रवृत्तिमूलका कविताहरूमा पात्र-पात्राहरूको कथोपकथनमा उनीहरूको क्षमता र स्तर अनुरूपको भाषा बोलीको प्रयोग पाइन्छ।

प्रयोगवादी प्रवृत्ति
साक्ष्यहरू,

नाउँ : धनबहादुर।
बाबुको नाउँ : रनबहादुर।
आमाको नाउँ : बिर्खमाया।
ठेगाना : जहाँबाट कञ्चनजङ्घा देखिन्छ।
अलिकति हिँडे कछार भेटिन्छ।
जहाँ खोलाहरू लोकगीत गाउँछन्।
जहाँ मान्छे शोकगीत गाउँथन्।
डाक सम्पर्क : कुनै पनि अलैँचीबारी, धानबारी, चियाबारी
गौचर. नागी, बाँसघारी।
उमेर : पाखुरामा आगो बगेजति।
आँखामा सपना फुलेजति।
(बेरोजगार युवाको आइडेन्टिटी कार्ड)

देशको लिमानामा गृहस्थी रक्षा गर्न
पल्टन हिँडेछन् कति मेरा दाँवलेहरू।
(गाउँको सेरोफेरो)

म छु
तिमी छौ
बिचमा लाई भइदिएको भए
मलाई तिमी हुने थियौ
अथवा तिमीलाई म
विभक्तिबिनाको शब्द भयौँ
तिमी र म
कहिले हुने वाक्य हामी
कहिले हुने काव्य?
(विभक्ति)

उदाङ्गो आकाश साक्षी छ।
टन्टलापुर घाम साक्षी छ।
यी शब्दहरूलाई मैले
शून्यबाट ओकलेर निकालेको होइन।
(यी शब्दहरू : यी हरफहरू)

फर्क शब्द!
यहाँदेखि उता मैले
एक्लै जानुपर्छ।
(सत्यको इलाका)
सूचकहरू,
– कवि भण्डारी प्रयोगवादी कवि हुन्। अगावै उल्लेखित वैविध्यमूलकताको सन्दर्भले नै यस कुराको स्वत: पुष्टि गर्दछ।
– प्रयोगधर्मिताकै कारण उनका प्रत्येक कविताहरू एकार्कादेखि भिन्न छन्। प्रत्येक कवितामा नयाँपन छ। आफ्नोपन छ।
– उनका कविताहरूमा प्रयोगगत उथलपुथुल पाइँदैन। तडकभडक पाइँदैन। अस्वाभाविक र कृतिमता पाइँदैन।
– उनको प्रयोगधर्मितालाई कुनैबेला भाव वा विचारले, कुनैबेला शिल्प-शैलीगत अवयवले तथा कुनैबेलाबेला संरचनाले वहन गरेको छ।
– बेरोजगार युवाको आइडेन्टिटी कार्डमा चाहिँ उनले आइडेन्टिटी कार्डको प्रारूपमा कविताको भाव वा विचारलाई व्यवस्थापन गर्ने प्रयास गरेका छन्। कविता भन्नसाथ पाठकको मानसमा स्वत: स्फूर्त तरङ्गिने रूढ बिम्बलाई भत्काएर नयाँ बिम्ब स्थापन गर्ने प्रकम छ यस कवितामा, जो निकै आश्चर्यजनक, प्रभावी र कलात्मक बनेका छन्।
– भाषिक एवम् व्याकरणिक कोटिहरूलाई सादृश्य अवयवको रूपमा प्रयोग गर्ने कलामा उनी निकै निपुण छन्। यसप्रकारका प्रयोग उनकै कविताहरूमा रूढ बनिसकेका विरल दृष्टान्त: पनि बग्रेल्तै भेटिन्छ।
– उनका कविताहरूमा संरचनात्मक प्रयोग पाइन्छ। उनका प्रगीतमूलका कविताहरूमा कथ्यको वर्तुलित विस्तार गर्ने परम्परित पद्धतिको साटो नवीन प्रणालीको प्रयोग पाइन्छ।
– रूढ बनेर बसेका असान्दार्भिक सामाजिक धारणाहरूको विग्रह गर्दै तिनको स्थानमा समय सान्द्र्भिक धारणाहरूको स्थापन पनि उनको प्रयोगचेतनाको एक महत्त्वपूर्ण पाटा हो।

जातीय चेतना
साक्ष्यहरू,
हाम्रै बोली र भाका टिपेर
फ्याउरा ब्वाँसाबरू
हामीलाई नै लोरी सुनाउँछन्।
झुटो सपना निदाउँछौ हामी मर्फिनी सङ्गीतमा।
(रङ्ग, बोली, भाका)

हामीले खन्यौ सडकहरू
तर कुनै सडकले बामीलाई कतै पुर्याएन।
बगायौं पसिना
तर धरतीको एउटै चपरी सिँचिएन।
(फर्काईको एउटा गीत)

रुँदारुँदा थाकेर रातको तेस्रो प्रहरतिर
एकैछिन निदाउँछिन पर्वतकी रानी
ब्युँझेपछि छक्क पर्दै छट्पटिन्छिन
कहाँ गयो मेरो गलाको हार ?
नाकको फुली कहाँ हरायो ?
कहाँ गए राजकुमारहरू ?
(दार्जीलिङ १९९१)

हाम्रा लागि जून कहिल्यै झुल्किँदैन / फूल कहिले फुल्दैन
हाम्रा लागि रात कहिल्यै छैन / दिन कहिल्यै छैन
हामी सूर्यले आँखा तरेका दृष्टिहीनहरूका लागि
(फुटपाथका फूलहरू)

सूचकहरू,
– उनले जातीय सञ्चेतनायुक्त कविताहरू पनि बग्रेल्तै लेखेका छन्। ती कविताहरूमा जातीय जीवनका विभिन्न पाटाहरूको कलात्मक चित्रण पाइन्छ।
– ती कविताहरू यथार्थपरक छन्। यथार्थदेखि अझ मास्तिर उठेर वर्गीय चरित्रका छन्। यस प्रवृत्तिमूलका कविताहरूमा एकातिर जातीय शोषण र थिचोमिचोको कठोर विरोध गरिएको छ भने अर्कातिर जातीय विसङ्गति, अनेकता आदि जस्ता पक्षहरूप्रति धारिलो कटाक्ष पनि पाइन्छ।
– ती कविताहरू विचारप्रधान, आक्रामक र विचारोत्तेजक शैलीमा संरचित छन्।
– यस प्रवृत्तिमूलका कविताहरू निकै व्यङ्ग्यात्मक छन्। व्यङ्ग्य निकै धारिलो छ। व्यङ्गय कतै शोषक वर्गतिर त कतै आफ्नै जातिको सोझोपन, अज्ञानता तथा अकर्मण्यतातिर लक्ष्यित छन्।
– ती कविताहरू द्वन्दात्मक छन्। ती कविताहरूमा प्रत्यक्ष/परोक्ष शोषकरूपी विपरीत ध्रुवका अन्य को पनि उपस्थिति छ।

मानवतावादी प्रवृत्ति
साक्ष्यहरू,
छैन भन्नु केही छैन यहाँ,
इज्जत छ.
तर पसेको छ चिहानमुनि, अनि
चिहानबाट
मान्छेको नक्सा लिएर पिशाच बौरिएको छ।
(बजारको बिचमा गान्धीजीको मूर्ति छ)

चकचके बालकहरूको
औधि माया लाग्छ,
मान्छे, मलाई तिम्रो माया लाग्छ।
(माया लाग्छ)

मध्यरातमा
स्टेसनको प्लेटफर्मभरि
देश रुन्छ बर्कोले मुख छोपेर।
उसको रोदन चर्को छ।
छेवैको पाँच-तारे होटलको कक्टेल-पार्टीबाट आएको जो
अङग्रेजी धून छ,
त्यसको आवाज अझ चर्को छ। अझ चर्को छ।
झर्को छ, फर्को छ।
महाभारतजस्तो मात्र कहाँ र!
भारत अझै अर्को छ।
भारत अझै अर्को छ।
(मेरो आँखाको आकाशमा आकाशगङ्गा : मेरो देश)

शब्दहरूको भिडमै
पड्किन्छ कुनै शब्द।
अनि धेरै शब्द मर्छन्।
धेरै घाइते हुन्छन्।
(शब्दहरूको पुनर्वास)

सूचकहरू ,
– भण्डारी मानवतावादी कवि हुन्।
– उनका कविताहरूमा मानवीय मूल्यको व्यापक खोजी पाइन्छ।
– दोषदर्शन र गुणवर्णन दुवैमा उनका कविताले समान चेतना पालेका पाइन्छन्।
– मानवीय गुणहरूको स्फुरण, युगीन विसङ्गति र विडम्बनाहरूको भत्सर्ना तथा प्रकृति-मानव सहचर सम्बन्धको उपासना उनका मानवतावादी कविताहरूको अभिलक्षण हो।

दार्शनिकता
साक्ष्यहरू ,
छाङ्गु चुपचाप भनिरहेकै हुन्छ –
एक न एक दिन बन्नैपर्छ हो सबैले
एक्लो, निसङ्ग, तटस्थ।
(रातमा छाङ्गु)

पल्लोपट्टि निर्वाण, वल्लोपट्टि बाँच्नुको सकस
बिचमा जिन्दगीको बग्दो सडक
कहाँ छ जेब्रा क्रसिङ?
(जेब्रा क्रसिङ)

बादललाई मिल्काउन चाहन्छु।
निलोको मिथकलाई समेत म आकाशबाट पुछ्न चाहन्छु।
मिथकहीन देख्न चाहने
सनातन मिथकलाई समेत म मेट्न चाहन्छु।
(एक साँझ आफ्नै मिथक उचालेर)

पृथ्वी भन्नु अहम्‌को कारागर रहेछ।
भित्रबाट चर्को आइरहेछ मुक्तिकामी स्वरहरू।
(मुक्तिकामी स्वरहरू)

सूचकहरू ,

– भणडारी दार्शनिक कवि हुन्। उनका प्राय: कविताहरूमा दर्शनतत्त्वको पुट पाइन्छ।
– उनका कविताहरूमा आध्यात्मिकताको बाक्लै फ्लेबर पाइन्छ। उनले आफ्ना कविताहरूमा आत्मा-परमात्मा, जीवन-जगत्, प्रकृति-मानव, जन्म-माया-मृत्यु-मोक्ष आदि पक्षहरूको अनुभाविक विवेचना गरेका छन्।
– उनका कविताहरूमा दर्शन तत्त्वको बाक्लै पुट पाइए तापनि तिनलाई अनुभाविक तर्क, सम्प्रेषणीय भाषा र सरल शैलीमा अभिव्यक्ति दिनु यिनको कविताकारिता मान्नु पर्छ।

भाषिक – व्याकरणिक बिम्ब
साक्ष्यहरू,

अर्थको पुख्यौँली थलाहरू छोडेर
शब्दहरू बसाइ सर्दैछन्।
(फैलिँदो ब्रह्माण्ड)

सम्वेदनाको वर्णमाला डढेपछि
कुर्कुच्चा बनेको मनलाई
कुन वन
कुन आँगन।
(रङ्ग, बोली, भाका)

फर्क शब्द!
यहाँदेखि उता मैले
एक्लै जानुपर्छ।
(सत्यको इलाका)

म छु
तिमी छौ
बिचमा लाई भइदिएको भए
मलाई तिमी हुने थियौ
अथवा तिमीलाई म
विभक्तिबिनाको शब्द भयौँ
तिमी र म
कहिले हुने वाक्य हामी
कहिले हुने काव्य?
(विभक्ति)

सूचकहरू ,
– भण्डारी बिम्बमा कविता सिर्जन्छन्। बिम्बविधानमा उनको अद्भुत् दखल छ। शब्दमा मात्र होइन, पङ्क्तिमा मात्र होइन, पङ्तक्तिपुञ्जमा मात्र होइन सिङ्गै कविता बिम्बमा सिर्जना गर्ने क्षमताको छ, बिम्बमाथि उनको दखल।
– अत्याधुनिक बिम्बहरूको उत्खननका दृष्टिले पनि उनका कविताहरू विलक्षण छन्। उत्खननका निम्ति सात समुद्रपारिका कुना-काप्चामा भौतारिनुको साटो पहिले आफ्नै गाउँ–घर वा अञ्चलविशेषलाई आधार क्षेत्र चुन्छन्। दैनन्दिन जीवनकै सेरोफेरोबाट बिम्बहरूको चौतारी ठहऱ्याउँछन्।
– भाषा र व्याकरणका साना-ठूला कोटिहरूलाई बिम्ब वा प्रतीकका रूपमा उनले धेरै कविताहरूमा खिपेर प्रयोग गरेका छन्।
– यस्ता कतिपय बिम्बहरू पटक-पटकको प्रयोगले प्रतीककै श्रेणीमा उनका आफ्नै कविताहरूमा रूढ भइसकेका छन्।

आश्चार्य/अद्भूतिक्तता
साक्ष्यहरू,

तोतेबोली, नेप्किन, भोटोबाट
म पनि बसाइँ सरिरहेछु।
कोट, पेन्ट, जुँघा, हिस्सी हुँदै
चाउरी र लट्ठीको रुगरुगे डाँडातिर लम्किरहेछु।
(फैलिँदो ब्रह्माण्ड)

तिमीभन्दा केही राम्री छे
मभित्रको तिमी।
(तदर्थ)

पृथ्वी टोलाइरहेछ
बिँडीको अन्तिम सर्को तानेर।
(मुक्तिकामी स्वरहरू)

पृथ्वी एकाएक क्लिष्ट दुर्बोध्य बन्छ।
लोडसेडिङमा टिभी सिरियलकी सुन्दरी हाँस्दाहाँस्दै हराउँछे।
मर्त्यलोक बन्छ टिभीस्क्रिन।
(लोडसेडिङको अँध्यारोमा)

आकाश टेबल।
पेपरवेट सूर्य।
कलमदानी, कगजातका वनजङ्गल।
र कुनै निरङ्कुश देशका जनताझैँ
निदाएका, सुतेका, उठेका, बाँधिएका
फुकाइएका फाइलहरूमाझ
एउटा असन्तुष्ट राजा तिमी/अनि तिम्रा
वरिपरि क्लर्क प्रजाहरू।
(ब्यूरोक्र्याट सूर्य र क्लर्क ताराहरू)
सूचकहरू,
– भण्डारीका कविताहरूमा रोमान्टिकमूल अलौकिकता, अदभूतिक्तता तथा आश्चर्यमोह पाइँदैन।
– उनका कविताहरू यथार्थ जीवनकै आँखीझ्याल भए तापनि आश्चर्य भाव उद्रेक गर्न समर्थ छन्।
– सामान्य विषय, वस्तु वा घटनालाई उनी कवितामा असामान्य तुल्याएर पस्कन्छन्। असामान्यलाई सामान्य।
– आश्चर्यको स्रोत मुख्यत: उक्तिविचित्रता बनेका छन्।

व्याङ्ग्यात्मक – अन्तर्सम्वादात्मक शैली

साक्ष्यहरू,
आजकल त जन्मनेसाथ नानीलाई अघि राखेर डाक्टरहरू रोगमा
थेसिस लेख्न सक्छन’ रे
आँसुहरू पानी भए’ रे, साइनबोर्ड भए’ रे अनुहारहरू
भालेमुङ्ग्रोको रङ्ग हो क्यारे यो युग; छिन् छिन्-मा बद्लिरहन्छन् अनुहारहरू।
(बदलिरहन्छन् अनुहारहरू)

गान्धीमार्गमा भएको दुर्घटनामाथि
गृहमन्त्रीद्वारा चिन्ता व्यक्त।
मर्नेको आफन्तलाई
दस दस हजार रुपियाँको अश्रुपूर्ण चेक।
अनि बाँच्नेहरूलाई
अर्को दुर्घटनासम्म पर्खिदिने
विनम्र अनुरोध।
(अन्तमा फेरि एकपल्ट समाचार सारांश)

हुल बाँधेर नपौड माछा हो
बगरमै बस।
जालहारी आउँदै छ
खोलामा कर्फ्यू छ।
नउम्र बीउहरू
जमीनमुनि नै बस।
माटोमा कर्फ्यू छ।
(कर्फ्यू)

आकाशले तिम्रो छोराछोरीको कपाल मुसार्न खोजिरहेछ।
आकाशले बास मागिरहेको छ।
तिम्रो बैठक कोठाको एउटा कुनामा।
तिम्रो मनलाई केही फराकिलो बनाउँ भन्दै छ।
तिमी भने आफ्नै मनलाई चोटा र कोठामा बाँडेको बाँडेकै छौ।
(आकाशलाई धेरै नसताऊ)

छेउमै छ पहिरो, छेउमै छ खोलो
छाती चोइटाउँदै धस्कन्छ
इ: यहीँ गर्नुबोस आराम,
निर्धक्क हुनुहोस् न।
(आफ्नै घर सम्झिएर बस्नुहोस् न)

सूचकहरू,
– खास शब्दको खास स्थानमा विन्यास कवि भण्डारीको शैलीगत निजत्व हो।
– विभिन्न भाषिक एकाइ र सादृश्य अवयवहरूको सन्तुलित, चाखिलो, कसिलो, परिष्कृत, स्वाभाविक अनि सार्थक प्रयोगले उनको कविताशैली निकै प्रभावी, मौलिक, मनोहारी तथा सौन्दर्यपरक बनेका छन्।
– व्यङ्ग्यात्मकता, सम्वादात्मकता, अन्तर्सम्वादात्मकता र भावात्मकता उनका कविताहरूको शैलीगत विशेषता हो।

द्वन्द्वत्मकता
साक्ष्यहरू,
भौतिकीहरूका दृष्टिमा-
ऊ सफा हो म फोहोर हुँ
ऊ आघौं हो म पोहोर हुँ,
ऊ अघि हो मपछि हुँ,
ऊ पश्चिम हो म पूर्व हुँ।
(पूर्व–पश्चिम)

‘कहिले आयौ जाति नै?’
भन्नेहरू पनि धेरै
‘साला मोटाएछ, पैसा कमाएछ क्यार!’
भनेर मुन्टो बटार्ने पनि धेरै।
(बारीको डिलमा उभिएको नस्पातीको रुख)

‘नानी गाडीसित जोगिएर हिँड्’
भन्थिन आमा मलाई सानो छँदा,
‘नामी मान्छेसित जोगिएर हिँड्’
भन्छिन् आमा अहिले मलाई।
(हाट भर्नु छ मलाई पनि)

बाले!सेतो केशलाई सेतै छाडिदिएका थिए।
तर मचाहिँ त्यहाँ
कालो राजनीति गर्दैछु।
(मेरो जन्मदिन र बा)
!
सूचकहरू ,
– कवि भण्डारीका कविताहरू द्वन्द्वात्मक छन्। उनका कविताहरूमा द्वन्द्वको विभिन्न रूपहरूको कलात्मक प्रयोग पाइन्छ। कतै तिनको झिनो, आंशिक, सङ्क्षिप्त वा प्रसङ्गवंश उपश्थिति भेटिन्छ भने कतै सिङ्गो कविता नै द्वन्द्वको अटब्बे जङगलमा सिर्जिएको पनि देखिन्छ।
– उनका कविताहरूमा व्यक्ति-व्यक्तिका बिचमा, व्यक्ति-समाजका बिचमा,, व्यक्ति-प्रकृतिका बिचमा हुने तनाउको कलात्मक चित्रण पाइन्छ। अझ व्यक्ति स्वयम्‌का भिन्नभिन्न भाव, विचार तथा मानसिक तर्कवितर्कको स्वाभाविक चित्रणाका दृष्टिले उनका कविताहरू निकै सशक्त देखापर्छन्।
– उनका अभिव्यक्तिहरूमा कथ्यको गतिशीलतामा तीव्रता-तीक्ष्णता ल्याउन, उछाल वा नयाँ मोड प्रदनार्थ तथा एक विशेष किसिमको लयात्मकता सिर्जना गर्न द्वन्द्वविधान भरपर्दो औजार बनेको छ।
– विशेषत: नाटकीय संरचनामा उनिएका उनका अभिव्यक्तिहरू निकै विचारोत्तेजक, द्वन्द्वात्मक र उत्तिकै प्रभावी बनेका छन्।

आलङ्कारिकता
साक्ष्यहरू,
तिमी उड्नलाई कति सानो आकाश छोडिदिएको छु मैले।
बाहिर जाने बाटाहरू सबै भित्र मोडिदिएको छु मैले।
(प्वाँखहरू र आकाश)

झुलुक्क झुल्किएथ्यो जून
बादलको बर्को ओडेर निदायो।
(रातभरि गोदावरी हावासँग नाचिरह्यो)

आकाश टेबल।
पेपरवेट सूर्य।
कलमदानी, कगजातका वनजङ्गल।
र कुनै निरङ्कुश देशका जनताझैँ
निदाएका, सुतेका, उठेका, बाँधिएका
फुकाइएका फाइलहरूमाझ
एउटा असन्तुष्ट राजा तिमी/अनि तिम्रा
वरिपरि क्लर्क प्रजाहरू।
(ब्यूरोक्र्याट सूर्य र क्लर्क ताराहरू)

सूचकहरू ,
– भण्डारीका कविताहरू आलङ्कारिक छन्।
– उनका कविताहरूमा अलङ्कारको उच्च, मध्यम र न्यून तिनैवटा तहको विविधतापूर्ण प्रयोग पाइन्छ। तहगत प्रयोगको पछाडि उद्दीपकको रूपमा भाव वा विचारको गाम्भीर्यता उपस्थित छन्।
– कवितालाई अनावश्यक रूपमा टालाकटिलिक तुल्याउने लिप्सा उनमा छैन।
– उनले आफ्ना कविताहरूमा अनुप्रास अलङ्कारको विभिन्न रूपहरूको कलात्मक प्रयोग गरेका छन्। यसैगरी उपमा, दृष्टान्त, रूपक जस्ता विभिन्न अलङ्कारहरूको प्रयोजननुरूप बग्रेल्तै प्रयोग गरेका छन्। यी अलङ्कारहरूको चाहिँदो र यथास्थान प्रयोगले उनका कविताहरूले विशिष्ट लयात्मकता प्राप्त गरेका छन्।

ठिक र चाहिँदो भाषाको प्रयोग

साक्ष्यहरू,

ट्राफिकिङ गरेर बेचिन्छन् शब्दहरू
विज्ञापनको रेडलाइट बस्तीहरूमा।
(शब्दहरूको पुनर्वास)

हामीले खन्यौँ सढकहरू
तर कुनै सढकले हामीलाई कतै पुऱ्याएन।
बगायौँ पसिमा
तर धरतीको एउटै चपरी सिँचिएन।
(फर्काइको एउटा गीत)

टिस्टा र रङ्गीतको प्रणयकेलि
निर्निमेष नियाल्दै उभिएका छन्
बुढा पहाडहरू।
(नजरबन्द पहाड र बिमारी सुनाखरी)

अचेल बेलुकी सधैँ लोडसेडिङ हुन्छ।
उज्यालोको भारी फ्यात्त फ्याँकेर
एकैछिन आराम गर्छ ट्रान्सफर्मर।
(लोडसेडिङको अँध्यारोमा)

सूचकहरू,
– ठिक र चाहिँदो भाषाको प्रयोग कवि भण्डारीको एक खास विशेषता हो।
– उनका कविता भाषा विविधतायुक्त छन्।
– कथ्यअनुकूल, देश-काल-वातावरण र सहभागीहरूको क्षमताअनुरूप तथा भावम गाम्भीर्यअनुरूप उस्ता-उस्तै भाषाको प्रयोगमा उनी सिपालु छन्।
– दैनन्दिन जीवनका साना-ठूला समस्या, सामाजिक-राजनैतिक विसङ्गति, युगीन बिडम्बना आदिसँग सम्बन्धित कविताहरूमा तत्सममूलका तथा दीर्घ समासयुक्त पद-पदावलीहरू उनी हतपत चलाउँदैनन्। जीवन-जगत्‌का गूढ सत्यहरू निफन्ने तथा चिन्तन-दर्शनको बाक्लो पुट पाइने कविताहरूमा चाहिँ तत्सममूलका शब्दहरूको सुरूचिपूर्ण प्रयोग पाइन्छ। उसै गरी ती कविचाहरूमा दीर्घ समासयुक्त अनि उच्च आलङ्कारिक भाषाको प्रयोग पाइन्छ।
– आगन्तुक शब्दहरू पनि उनले बग्रेल्तै चलाएका छन्। कविताहरूमा ती शब्दहरूको आडम्बरी, कृतिम र अनावश्यक प्रयोग भने पाइँदैन। त्यसको साटो जनजिब्रोमा रत्तिसकेका, मिथकीय प्रयोजनअनुरूप तथा नेपाली रूप नपाइने आगन्तुक शब्दहरूको प्रयोग उनको भाषागत विशेषचा हो।

कथ्य र शैलीको एकात्मता
साक्ष्यहरू,
फ्रिज खोल्छु
प्वाँख खुर्किएको नाङ्गो कुखुरो छ।
देख्छु त्यहाँ-
कस्मिरको हिउँ
लद्दाख र दार्जिलिङको जाडो।
मलाई तातो राख्न
आफू हिउँमा कक्रिएको फौजी दाजुभाई।
(देश भान्साकोठामा)

जब म घरभित्र पस्छु
घर बाहिर निस्कन्छ
सबैथोक छ घरमा
तर घरमा घर छैन।
(बतासमा उड्दै गएको पत्कर :मेरो घर)

खोला छ नि तिम्रो घरको छेउमा बग्ने
त्यो खोला
मेरो घरको पनि छेवैबाट
बग्दै आएको छ।
त्यही खोलाको दायाँ र बायाँतिर फैलिँदै आएको बस्ती हो
यो कविता।
(निमन्त्रण)

सूचकहरू,
– कवि भणडारीका कविताहरूको सर्वोत्तम उपलब्धि कथ्य र शैलीको एकात्मता हो।
– सबै सार्थक र सफल कविताको सर्वप्रमुख वैशिष्ट्य पनि कथ्य र शैलीको अभिन्नता नै हो।
– कथ्य र शैलीको अभेद्ता आत्मसात गराउने कविताकलाले नै भण्डारीका कविताहरू समकालीन नेपाली कविताका एक अनुपम उपलब्धि मानिन्छन्।

उही र इतर कुराहरू
– राजेन्द्र भण्डारी नेपाली कविताका चम्किला नक्षत्र हुन्। सङ्ख्यात्मक र गुणात्मक दुवै दृष्टिले कविता क्षेत्रमा उनको योगदान महत्त्वपूर्ण मानिन्छ।
– राजेन्द्र भण्डारी युग अनि परम्परा प्रवाहको गतिसँगै आफ्ना कविताहरूलाई अपडेट गर्दै लैजाने कवि हुन्। त्यसर्थ उनका प्रत्येक कविताहरूमा आफू बाँचेका समय-परिवेशको तिक्खर सुगन्ध पाइन्छ। नयाँपन पाइन्छ। उनका प्रत्येक कविता सङ्ग्रह वा कविताहरूमा देखापरेको भिन्नता वा अन्तर्निहित नवीनता यसका दसी हुन्।
– उनका कविताहरूमा विषयवस्तुको लेन्स निकै फराकिलो पाइन्छ। नयाँ-नयाँ विषयवस्तुहरूको अन्वेषण, आयाम वा संरचनागत लचिलोपन तथा भाषा र शिल्प-शैलीको तहमा लगातार नयाँपनको खोजी उनका कविताहरूको एक महत्त्वपूर्ण विशेषता हो।
– कवि भण्डारी सारस्वत मात्र होइन शास्त्रकवि र उभय कवि पनि हुन्। त्यसर्थ उनका कविताहरूमा पूर्व-पश्चिमका पूराना-नयाँ वाद, धारणा एवम् सैद्धान्तिक मूल्य-मान्यताहरूको अनुगुञ्जन पाइनु स्वाभाविक नै हो। वाङ्मयका विभिन्न शाखा-प्रशाखाहरूको ज्ञानरूपी आलोकबाट प्रतिपाद्य विषयको पर्गेलाइ छ। यद्यपि उनका कविताहरूमा ती वाद, धारणा, सिद्धान्त एवम् ज्ञानशाखाहरूको विवेचन उनका कविताहरूको अभीष्ट होइन। ती ता कवि मानसको अवचेतनमा रहेका आर्जित सम्पत्ति मात्र हुन्, जो प्रसङ्गवंश प्रतिपाद्य कथ्यको अभिव्यक्ति प्रवाहमा स्वत: स्फूर्त उद्दीप्त भएका हुन्।
– भण्डारी रोमान्टिक कवि हुन्। तर उनमा विशुद्ध रोमान्टिकता पाइँदैन। रोमान्टिकवाद भनेको साना-ठूला बग्रेल्तै वैशिष्ट्यहरू भएका बडेमानको वाद हो। सम्भवत: सबैभन्दा व्यापक र विस्तृत वाद। दृष्टान्त: भण्डारीका कविताहरूमा आश्चर्यमोह पाइँदैन। भण्डारी यथार्थवादी कवि हुन्। तर उनका यथार्थको अन्तर्यमा आदर्श स्थापनको पनि उत्तिकै मोह छ। उनी प्रयोगवादी कवि हुन्। तर उनमा नयाँ घर नबनाई पूरानो घर भत्काउने प्रयोगपरता पाइँदैन।
– भण्डारी मुख्यत: प्रगीतात्मक संरचनामा कविता बुन्ने कवि हुन। कथ्यको विस्तार गर्ने परम्परित प्रगीतात्मक फर्मेट (वर्तुलित विस्तार) उनका कविताहरूमा पाइँदैन। त्यसको साटो स्वच्छन्द एवम् प्रयोगपरक नीति अवलम्बन गरिएको पाइन्छ। अन्तराहरूको अनेकरूपता, मूल स्वरको वितरण र व्यवस्थापनमा बग्रेल्तै प्रयोग भेटिन्छ। उनका आख्यानात्मक कविताहरूमा कथाकथनको अतिविस्तार, घटना-दुर्घटनाहरूको माखेसाङ्लो, सहभागीहरूको भिड पाइँदैन।
– उनले सोलोडोलो र खण्डीय दुवै प्रवाहका कविताहरू लेखेका छन्। यद्यपि खण्डीय प्रवाहकै कविताहरूको सङ्ख्यागरिष्ठता देखिन्छ। पङ्क्तिपुञ्जहरूमा कवितालाई स्पष्ट विभाजन गर्ने उनको नीति छ। प्रगीत मूलका कविताहरूमा कवितालाई पङ्क्तिपुञ्जमा विभाजन गर्नुको प्रेरकतत्त्व मुख्यत: अन्तराहरूको वितरण र व्यवस्थापन देखिन्छ भने अंशत: यति र गतिको व्यवस्थापन रहेको बुझिन्छ। यसै गरी आख्यान र नाटकीय मूलका कविताहरूमा चाहिँ कविता खण्डीयकरणको प्रेरकतत्त्व मुख्यत: यति र गतिको व्यवस्थापन तथा अंशत: दृश्य, प्रसङ्ग र सन्दर्भ परिवर्तन रहेको देखिन्छ। उनका कविताहरू (विशेष गरेर लामा आयमका कविताहरू) आद्योपान्त उर्जाशील, झर्रा र लयात्मक हुनका पछाडि खण्डीय दर्शनमा अद्भूत दक्षता पनि एक मुख्य कारण हो।
– उनका कविताहरूमा मुख्यत: अर्थप्रधान भाव र अंशत: शब्दार्थप्रधान सहभाव पाइन्छ। अधिकांश कविताहरूमा अर्थ स्पष्ट र सपाट छन् भने तिनलाई उचित र सार्थक तहमा आँक्ने शब्दहरूको चयन, वितरण र व्यवस्थापन गरिएको छ।
– कथ्य र शैलीको अभेद स्वरूप कवि भण्डारीका कविताहरूको महत्तम उपलब्धि हो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया