मनप्रसाद सुब्बाको चर्चित कविता : म कहिले बुद्ध हुनु? : निमा शर्पाको पठन अनुभूति

विज्ञापन

चर्चित कविता


 मनप्रसाद सुब्बा

º

सँधै सँधैको सिद्धार्थ म
बुद्ध कहिले हुनु?

यशोधरालाई त्याग्नै सकिनँ ।
सकिनँ । सकिनँ । अहँ, सक्दै सकिनँ ।
सम्झेँ कि प्रेमको पखेटामुनि भोक-प्यास लुकाई
सांसारिकताको यो गूँड बनाइसकेपछि
छोडेर सुटुक्क निस्कँदा / उसलाई
कत्रो विश्वासघात होला !

राहुललाई पनि छोड्नै सकिनँ ।
सकिनँ । सकिनँ । अहँ, सक्दै सकिनँ ।
सम्झेँ कि म कमाइ गर्ने बाउ नै नभएपछि
त्यसकी बेकारी आमाको हत्केलाभरि उठेका ती
ठेलाहरुमा ठोक्किँदै त्यसको बाल्यपन
कत्ति टिठलाग्दो होला !

बिरामी बुढा बाउ शुद्धोधनको
खोकीको ख्वाकख्वाकलाई नाघ्दै जान पनि सकिनँ ।

छन्दक !
तिमीलाई सम्झना छ ?
त्यस दिन मैले निकै भावुक भएर भनेको थिएँ —
यशोधरा र राहुललाई त्यागेर निस्कन्छु
र संसारको दुःखको कारण पत्ता लगाई
मुक्तिको बाटो निकाल्छु ।
तिमीले पनि मलाई
अढाई हजार वर्षअघिको राजकुमार सम्झी पत्याइहाल्यौ
तर खै के भनूँ, छन्दक !
भुँडीदेखि भाँडासम्मको यात्रा हिँडेको हिँडेकै आजसम्म
अन्त कतै जान सकिएन ।

मेरी आमा मायादेवी
मायाको खेताला जाँदाजाँदै
सुत्केरीबेथाले रूखको फेदमै थला परेकी थिइन् रे
अनि त्यहीँ नै म
दुःख मुट्ठ्याएर जन्मेछु
तर सेकताप र खानपिन नपुगेर
मेरी आमा मायादेवी
निर्वाण नपाईकनै निर्माया भइन् रे
अनि त छ्यामाको छायामा म हिउँदको छाया भई हुर्किएँ
विचरी गिट्टी कुट्ने मेरी गौतमी छ्यामा
चिल्लो बान्की परेको ढुङ्गा मलाई खेल्न दिन्थिन्

ओहो ! त्यो दरबारको सुख यो घरबारमा कहाँ ?
त्यसैले
सिद्धार्थभन्दा पनि सय जुनीअघिको सिद्धार्थै रहिरहें म
याद छैन, बुद्धत्व खोज्ने सुविधा कहिले पाउँछु म !

छन्दक !
तिमी पनि खै कत्ति पो फेरियौ र !
तिम्रा पुर्खा छन्दक घोडाका सइस थिए,
तिमी अहिले ट्याक्सी ड्राइभर भएकाछौ
ती ऐतिहासिक सिद्धार्थको तिमी सारथि थियौ
तर इतिहासमा कहिल्यै ठाउँ खोज्न नसक्ने
यो अन्त्यहीन यात्रा घिस्रिरहने उत्तरआधुनिक सिद्धार्थको
तिमी अभिन्न साथी हौ
अर्थात् यो सिद्धार्थ नै छन्दक हो
अनि छन्दक नै सिद्धार्थ
जो सँधै नै
क्षुद्र कुराहरुको हुटहुटीमा हुत्तिरहेको हुन्छ

ओफ !
हामी कहिले बुद्ध हुन पाउनु हँ ? कहिले?
तर तिम्राहाम्रा क्षुद्र कुराहरू नभएका भए
संसार साह्रै अल्छीलाग्दो पो हुन्थ्यो कि !

आऊ साथी !
हामी बुद्ध हुन नपाएका सिद्धार्थहरू
हामी बन्धक परेका छन्दकहरू
जाऔँ त्यो चोकबजारको सस्तो रेस्टुराँमा
अलिकति आनन्द मनाऔँ –
चियर्स टु अल सिद्धार्थज् अब् द वर्ल्ड !
चियर्स टु अल छन्दक्स् अब् द वर्ल्ड !
संसार हाम्रै पैतालाले हिँड्छ
संसार जो हाम्रो महासङ्घ हो
गीत गाऔँ –
सङ्घम् शरणम् गच्छामि…।


पठनअनुभूति

कविता आद्योपान्त पढेपछि लाग्यो, बोधनको गहिरो र फाँटिलो ग्याप छ यस कवितामा । कविता पढ्दै जाँदा अभ्यान्तरमा कता-कता एकप्रकारको असन्तुष्टिले चिमोटिबस्छ । लाग्छ, निर्वाण संसार र सांसारिकतादेखि टाडाको कुरो होइन । यो त जुनसुकै अवस्थामा पनि प्राप्त गर्न सकिन्छ, यति हो बोधित्वको निम्ति सचेत हुनुपऱ्यो ।


महाभिनिष्क्रमण र द्वन्द्व


निमा निची शेर्पा


सधैँ सधैँको सिद्धार्थ म
बुद्ध कहिले हुनु ?

कविता आद्योपान्त पढेपछि लाग्यो, कविताभित्रको खास कविता त थालनीको पङ्कतिपुञ्जमा नै पढिसकेछु । कविताको मूलधनलाई जतिसक्दो सुरूमा नै फाङफूङ राखेर तिनलाई एकाधिक अन्तराहरूको थाङ्ग्रो मार्फत अझ प्रभावी तुल्याउने कार्यशैली प्रगीत संरचनाका कविताहरूको एउटा मुख्य अभिलक्षण हो ।
कवि मनप्रसाद सुब्बाको म कहिले बुद्ध हुनु ? कवितामा प्रतिपाद्य भाव-विचार वा वस्तुलाई स्थायी-अन्तराहरूको माध्यमबाट सुव्यवस्थित एवम् वर्तुलित तरिकाले वितरण-व्यवस्थापन गर्ने यहीँ प्रगीत परिपाटी अवलम्बन गरिएको छ । अर्थात् गाँठी कुरा सुरूवाती पङ्क्तिपुञ्जमा नै स्पष्ट राखेर रहलपहल पङ्क्ति वा पङ्क्तिपुञ्जहरूमा तिनको विस्तार-व्याख्या गर्ने काम भएको छ । साथै यसमा एउटै भाव वा विचारको केन्द्रियता (म सधैँ सधैँको सिद्धार्थ), अन्तर्लयात्मकता, करूण-शान्त रसको प्रधानता, सुकोमल पद योजना, अनुप्रासीय सङ्गीतात्मकता आदि अन्यान्य प्रगीत अभिलक्षणहरू पनि परिलक्षित छन् । तथापि यसलाई प्रगीत कविता भनिहाल्न चाहिँ हतारको काम मात्र हुन जाला ।
कवितामा सिद्धार्थ र म पात्रको कथा-कथन पाइन्छ ।

अर्को शब्दमा भन्ने हो भने यस कवितामा दुईवटा भिन्न कथावस्तुको उपस्थिति पाइन्छ । साना-ठूला घटनाहरूको छनक-भनक पाइन्छ । चरित्रहरूको क्रिया-प्रतिक्रिया र चरित्राङ्कनको झाँकी पनि पाइन्छ । यस अर्थमा यो कविता आख्यान विधासित पनि धेरै नजिक छ । अझ महत्त्वपूर्ण कुरा त के भने कविताको आदिदेखि उपान्तसम्म मेरूदण्ड बनेर प्रवाहित द्वन्द्वको बाक्लो बुनोटले यसलाई सरासर नाटकीय संरचनाका कविताको कित्तामा दराउन पुग्दछ । माथि उल्लेखित दुईवटा पङ्क्तिहरूको अन्तर्भूततामा अन्तर्निहित सङ्धर्षपूर्ण अन्तर्भावले पनि यस कविताको नाटक विधासितको प्रगाढ सम्बन्धलाई स्पष्ट पार्दछ ।

यस चर्चा परिचर्चाको तात्पर्य के हो भने साहित्यिक विधाहरूको साँधसिमाना पुरै बन्द नभएर केही खकुलो प्रकारको हुन्छ भन्ने कुराको उम्दा दृष्टान्त हो यो कविता । यस कविताको संरचनामा प्रगीत, आख्यान र नाटकका सावयविक कोटिहरूको मिलिजुली प्रभाव र प्रयोग पाइन्छ । मझौला आयाम, पङ्क्तिपुञ्ज, दृश्य, प्रसङ्गजस्ता विभाजक कोटिहरूको प्रयोग, गद्य स्वरूप, प्रवाहगत तीव्रता-तीक्ष्णता आदि यस कविताका अन्य संरचनागत विशेषता हुन् ।

राजकुमार सिद्धार्थको गृहत्याग अथवा महाभिनिष्क्रमणको प्रसिद्ध कथा मनप्रसाद सुब्बाको म कहिले बुद्ध हुनु कविताको उत्प्रेरक वा विभावक तत्त्व हो । त्यसर्थ यस कविताको अन्तर्वस्तु ठिम्याउनलाई मूल पाठदेखि केही क्षणको निम्ति अलग्गिएर भगवान् बुद्धको महाभिनिष्क्रमण, निर्वाण अनि महापरिनिर्वाणसित सम्बन्धित प्रसिद्ध प्रसङ्गहरूमा पुग्नपर्ने हुन्छ । ती प्रसङ्गहरूसितको साक्षात्कार वा आंशिक ज्ञानबिना यस कविताका सूक्ष्मतिसूक्ष्म परतहरूलाई पल्टाउन सकिँदैन ।

राजकुमार सिद्धार्थको महाभिनिष्क्रमण नै यस कविताको वस्तुस्रोत हो । बुद्ध कथाको पुनर्कथन यस कविताको अभीष्ट होइन न ता भगवान् बुद्धको आराधना वा भक्तिगान नै यस कविताको इच्छित फल हो । वास्तवमा बुद्ध कथाको कवि मानसमा परेका प्रभाव, प्रभावहरूको स्वकीय विवेचन अनि तिनमा आफ्नै जिन्दगीलाई भिडाएर हेर्ने कामको अनुभूतिक अभिव्यञ्जना नै यस कविताको अथ र इति हो ।
जिन्दगीमा प्रत्येक व्यक्तिले कुनै न कुनै क्षण निर्वाणबारे सोचेकै हुन्छन् अथवा निर्वाणको विचार त ऊमा पलाएकै हुन्छ । कवि पनि अपवाद छैनन्,
छन्दक
तिमीलाई सम्झना छ
त्यसदिन मैले निकै भावुक भएर भनेको थिएँ –
यशोधरा र राहुललाई त्यागेर निस्कन्छु
र संसारको दुखको कारण पत्ता लगाई
मुक्तिको बाटो निकाल्छु
निर्वाण तर सितिमिति कुरो होइन । सांसारिकतामा चुर्लुम्म डुबेका आम मानिसलाई त झन हुँदै होइन । कवि पनि सक्तैनन्,
तिमीले पनि मलाई
अढाई हजार वर्ष अघिको राजकुमार सम्झी पत्याइहाल्यौँ
तर खै के भन्नु छन्दक !
भुँडीदेखि भाँडासम्मको यात्रा हिँडेको हिँडेकै आजसम्म
अन्त कतै जान सकिएन

निर्वाण वा बुद्धत्व प्राप्ति केही हदसम्म देश, काल र परिवेशले पनि निर्धारित गर्दछ भन्ने कविको अनुभाविक तर्क छ । यस किसिमको विचारले कवितामा द्वन्द्व वा सङ्घर्षको सिर्जना गरेको छ । दुई सिद्धार्थको दाँजो यस्तो छ कवितामा,
ओहो, त्यो दरबारको सुख यो घरबारमा कहाँ
त्यसैले
सिद्धार्थभन्दा पनि सय जुनीअघिको सिद्धार्थ रहिरहेँ म
याद छैन बुद्धत्व खोज्ने सुविधा कहिले पाउँछु म !
यस्ता दाँजोपरक सङ्घर्ष कविताको दोस्रो पङ्क्तिपुञ्जदेखि सुरू भएर टुङ्गयाउनीसम्म यथावत छ ।
भगवान् बुद्धको महाभिनिष्क्रमणको कथामा आफ्नो जिन्दगीका कथाहरू भिडाएर हेर्ने उद्यम छ यस कवितामा । यस प्रक्रियामा मूलकथाका सहभागीहरूको संशोधित वा विचलित अवतारहरूमा रूपायन भएको छ । हेरौँ,
बिरामी बुढा बाउ शुद्धोधनको
खोकीको ख्याकख्याकलाई नाँघ्दै जान पनि सकिनँ
अथवा
मेरी आमा मायादेवी
मायाको खेताला जाँदा जाँदै
सुत्केरी बेथाले रुखको फेदमै थला परेकी थिइन् रे
अनि त्यहीँ नै म
दुख मुट्ठ्याएर जन्मेछु
तर सेकताप र खानपिन नपुगेर
मेरी आमा मायादेवी
निर्वाण नपाइकनै निर्माया भइन् रे
अनि त छ्यामाको छायामा म हिउँदको छाया भइ हुर्किएँ
बिचरी गिट्टी कुट्ने मेरी गौतमा छ्यामा
चिल्लो बान्की परेको ढुङ्गा मलाई खेल्न दिन्थिन्
अथवा
छन्दक
तिमी पनि खै कत्ति पो फेरियौ र
तिम्रा पुर्खा छन्दक घोडाका सइस थिए,
तिमी अहिले ट्याक्सी ड्राइभर भएका छौ
चन्ना छन्दक (बुद्धका सारथि) सितको एकतर्फी वार्तालाप वा एकालापीय शैलीमा संरचित यस कवितामा शुद्धोधनको राजत्वकालको पृष्ठभूमि र पारिवारिक पात्र-पात्राहरूको सापेक्षतामा आजका समय र मान्छेका भौतिकी चक्रव्यूहको कलात्मक रेखाङ्कन गरिएको छ । यस प्रकममा सुन्दर र मार्मिक बिम्बहरूको सिर्जनले कवितामा करूण-शान्त रसको उद्रेक गर्न सहयोग पुऱ्याएको छ । भाषागत मनोहारिता, अनूभूतिको तीव्रता-तीक्ष्णता, मझौला आयाम, इतिहासिक बिम्बहरूको सरल र अर्थपूर्ण प्रयोग यस कविताका अन्य विशेषता हुन् ।
कविता आद्योपान्त पढेपछि लाग्यो, बोधनको गहिरो र फाँटिलो ग्याप छ यस कवितामा । कविता पढ्दै जाँदा अभ्यान्तरमा कता-कता एकप्रकारको असन्तुष्टिले चिमोटिबस्छ । लाग्छ, निर्वाण संसार र सांसारिकतादेखि टाडाको कुरो होइन । यो त जुनसुकै अवस्थामा पनि प्राप्त गर्न सकिन्छ, यति हो बोधित्वको निम्ति सचेत हुनुपऱ्यो ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया