नेपाली कविताले धेरै उकालो चढ्नु बाँकी नै छ : डा. इन्दु प्रभा देवी

प्रश्नउत्तर

इन्दु प्रभा देवीको जन्म असमको वर्तमानको विश्वनाथ जिल्ला (तत्कालीन दरं जिल्ला)को गमिरिमा भएको हो। उनी अहिले गुवाहाटीको बि बरुवा कलेजकी असमीया विभागकी अध्यापिका र विभागप्रमुख छन्। उनले गौहाटी विश्वविद्यालयको असमीया विभागबाट एम ए ( पछि IDOL बाट नेपालीमा पनि एम ए),  लोकसंस्कृति गवेषणा विभागबाट एम फिल र असमीया विभागबाटै असमीया र नेपाली भाषाको रूपतत्वको तुलनात्मक अध्ययन विषयमा पि.एच.डी गरेका छन्। उनका एउटा अनुदित र आठवटा मौलिक कृति प्रकाशित भएका छन्। प्रकाशित  कृतिहरू हुन्-असमीया रामायणको नेपाली अनुवाद, सपनाको जरो पहिल्याउँदै( कविता सङ्ग्रह), शब्दशिल्पर कारुकार्य ( असमीया निबन्ध संकलन), एक सय लिमारिक, ती पाइलाहरू( कविता सङ्ग्रह), प्राप्ति अप्राप्ति( कथा सङ्ग्रह), तबेलामा घोडाहरू( कविता सङ्ग्रह), जलप्रपात( असमीया कविता सङ्ग्रह) र रुद्ध अनिरुद्ध( नेपाली कथा सङ्ग्रह)। उनका सहसम्पादित असमीया कृतिहरू पनि छन्। उनले गुवाहाटी कला निकेतनबाट हरिभक्त कटुवाल स्मृति पुरस्कार ( सन् २००८),  असम नेपाली साहित्य सभाबाट कवि पुष्पलाल उपाध्याय स्मृति पुरस्कार ( सन् २०१६), हाम्रो स्वाभिमानबाट शिक्षा क्षेत्रमा हाम्रो गौरव राष्ट्रिय सम्मान (सन् २०१७), लेखनाथ पुस्तकालय, चन्द्रगढी, झापाबाट  श्रीप्रसाद ओली स्मृति साहित्य पुरस्कार ( सन्  २०१९) आदि विभिन्न पुरस्कार र सम्मान पाइसकेकी छन्। उनै सर्जकसित कवि-गजलगो निर्दोषिका तामाङले कुराकानी गरेका छन्, जसको सम्पादित अंश यहाँ राखेका छौं-


 

भारतेली नेपाली कविताको समकालीन मूल स्वर के हो ? समकालीन कविताले कुन कुन सामाजिक आयामहरूलाई सम्बोधन गरिरहेको छ?

कविताको मूल स्वरको कुरा गर्न अघि पहिला भारतेली नेपाली कविता र समकालीनबारे दुई शब्द राख्नै पर्ला भन्ने लाग्छ। भारतमा सिक्किम, दार्जिलिङ, डुवर्स लगायत पूर्वोत्तर भारत र बनारस, देहरादुन आदि ठाउँमा साहित्यका अन्य विधासितै नेपाली कविताको पनि विकास हुँदैआएको छ। विशेष गरी सिक्किम, दार्जिलिङ, डुवर्स र असममा यो विकासको गति अरू राज्यभन्दा तीव्र छ। यी विभिन्न राज्यमा गोर्खाहरूका समस्याहरू एकैनासे छैनन्। आआफ्ना राज्यका भूगोलको झैँ सामाजिक,शैक्षिक, राजनैतिक परिवेश भिन्न छन्।

साहित्य विधालाई प्रभावित गर्ने अनेक भिन्न तत्वहरूको बिचमा भारतेली नेपाली कविता हुर्किएको र बढेको छ। सिङ्गो भारतेली नेपाली कविताको कुरा गर्दा तसर्थ यो पक्षलाई सम्झिनै पर्ने हुन्छ। समकालीन शब्दले अहिलेको  समयलाई पनि बुझाउँछ र कतिपय विशेषतालाई पनि। नेपाली कविताको क्षेत्रमा समकालीन भन्नाले अस्सीको दशकदेखि पछिको समयलाई सूचित गरे पनि नब्बेको दशकदेखि यसले दृढ गति समातेको हुनाले समकालीन कविता भन्दा त्यस अवधिदेखि आजसम्मलाई  अर्थात तीन दशकलाई समेट्नु पर्ने हुन्छ। यद्यपि साहित्यमा समकालीन शब्द मूलतः कालसापेक्ष नभएर मूल्य वा प्रवृत्तिसापेक्ष हुने गर्छ।

भारतीय नेपाली कविताको हरेक कालखण्ड जीवनको सपक्षमा कुनै नयाँ विचार, सिद्धान्त र शैलीलाई बोकेर युगोचित आवाज उठाउँदै दगुरेको देखिन्छ। अहिलेको कविताकाल एउटै विचारका पछि लागेको छैन। नेपाली समकालीन कवितामा आवाजैआवाज छन्। स्वरै स्वर छन्। भारतभरि विभिन्न क्षेत्रमा सचेत र जिम्मेवार कविहरूका कवितामा  बहुरङ्गी  स्वरहरूका तरङ्ग उठेका छन्। सिङ्गो भारतेली नेपाली कविताको मूल स्वर यही हो भन्ने किटान गर्न त्यसैले अप्ठारो पर्छ।  त्यही पनि मलाई लाग्छ अरू स्वरभन्दा तर अझै पनि तीखा विशेष दुइटा पुराना  तर  प्रमुख स्वर छन्।  ती स्वर हुन्- धरमर ऐतिहासिक धरातलमा उभिएको हाम्रो जातिको राष्ट्रिय चिन्हारीको सङ्कटको स्वर  र यसकै हाराहारी हिजोआज अझ प्रखर भई बजिरहेको अभावग्रस्त र सङ्घर्षमय जीवनको स्वर।

समकालीन कविताले सामाजिक आयामका प्रायजसो पक्षलाई सम्बोधन गरेको देखिन्छ। विशेष रूपले सम्बोधित यस्ता पक्षहरूमा आजको खण्डित बँचाइको हताशा, विश्वासहीनतामा बाँचेको कुण्ठित जीवनको निस्सारता , मान्छेको बढ्दो हिंस्रुक स्वभावले निम्त्याएको त्रास , गाँउबाट सहरउन्मुख यात्रा, नष्टालजिया, नारीवाद, दलित र आदिवासी चेतना, लोकचेतना, प्रेम, मानव  मूल्यको खोजी आदि हुन्।  सामाजिक आयामका सकरात्मक नकरात्मक दुवै पक्षलाई कविताले सम्बोधन गरिरहेको छ।

विगत एक दशकमा कविताले प्राप्त गरेका साहित्यिक, सामाजिक र राजनैतिक उपलब्धिहरू केके हुन्?

विगत एक दशकमा कविताले  धेरै उपलब्धि प्राप्त गरेको छ। यस दशकमा कविताले  मौलाउन अझ ठुलो धरातल र आकाश पायो। इन्टरनेट, सामाजिक सन्जालजस्ता माध्यमहरूले गर्दा कविता पाठकसम्म छिटो र सजिलोगरी पुग्न थाल्यो र कविको संख्या पनि बढ्दै गयो। विशेषगरी कवितातर्फ युवाहरूको आकर्षण बढ्यो।

पहिलैदेखि कवितासित संलग्न कविहरूका साथसाथै नयाँ कविहरूले नयाँ कलमको धार बोकेर आए। जीवनका  विविध सन्दर्भ र परिप्रेक्षसहित देश विदेशभरिका सामाजिक, शैक्षिक,  राजनैतिक समस्याहरू कविताका शब्द भए, आवाज भए। सन् २०११ देखि साहित्य अकादेमीले सुरु गरेको युवा पुरस्कारका  विजेता धेरजसो कवि नै भए। कमल रेग्मी, मनोज बोगटी, टीका भाइ, शरण मुस्कान,कर्ण विरहले प्राप्त गरेको यो पुरस्कार कविताको यस दशककै उपलब्धि हो।

विगत दशकले कवितामा नयाँ तकनिक थपिदियो। मल्टिमिटिया र अडियो भिजुअल पोएट्रीले , पर्फर्मिङ आर्टको रूपमा प्रस्तुत गर्ने नवीन शैलीले कवितालाई लोकप्रिय बनाउँदै गयो। धेरै नेपाली कविता हिन्दी, बङ्गला, असमीया, अङ्ग्रेजी भाषामा अनुवाद भए। राज्यका विभिन्न प्रान्तमा हुने बहुभाषिक कविगोष्ठीमा नेपाली कविताले पनि स्थान पायो। अन्तःराष्ट्रिय साहित्यिक कार्यक्रमहरूमा पनि यहाँका कविहरू आमन्त्रित र सम्मानित भए। यस दशकमा कवितामा कतिपय नयाँ पुराना आयाम फेरि थपिए। लिमारिक, गजल, मुक्तक, हाइकु, रेखा कविता, केस्रा कविता, रूबाईजस्ता छोटा आयामका कविताप्रति धेरैले रुचि देखाए।    

कविताले सुनाएको क्रान्तिको भाषा पनि जनजनसमक्ष पुगिरह्यो। सामाजिक, शैक्षिक, राजनैतिक चेतना ल्याउन, विश्वायनले मास्दै    गएको सांस्कृतिक धरोहर बचाउन कविताको भाषाले केही मात्रामा सघायो। क्रान्तिचेत, संस्कृतिचेत भर्न कविताले निरन्तर विशेष भूमिका निर्वाह गरिरह्यो।    

समकालीन युवा कविहरूमा शिल्प चेत, बिम्ब प्रयोगको समस्या अनि कमजोरीहरू केके हुन्?

 समकालीन युवा कविले आफ्नो नयाँ दृष्टिले नयाँ सिर्जना गरिरहेका छन्। यिनीहरू धेरजसोमा शिल्प चेत छ। काव्यिकताबाट टाढा हटेर कतै एकलासमा उराठ स्वर उकेल्ने कवि यिनीहरू होइनन्। पाठकसितै रहेर पाठककै भएर वा पाठककै निम्ति रचना गर्ने हुँदा कवितालाई रोचक बनाउने भरमग्दुर प्रयास त युवा कविहरूको पनि छ। युवा कविहरूले कतै कतिपय ताजा नयाँ उपमानको प्रयोग गरेका छन् भने कतै प्रतीक वा लोकसमाजबाट ल्याएका वा मिथकीय  विम्बहरू प्रयोग गरेका छन्। विम्ब प्रयोगमा कतिपय सिपालु छन्, कतिपय सिकारु। विम्ब प्रयोग गर्न जीवनको, प्रकृतिको र पुस्तकको गहिरो अध्ययन चाहिन्छ। धेरैमा त्यसको कमी छ।

कविता कृति प्रकाशित नभएका र सामाजिक सन्जालमा फुटकर कविता लेख्दै गरेका कतिपय कविमा पनि प्रचुर सम्भावना देखिन्छ। तर कवितालाई  साधनाको शिल्प मान्ने  युवा कविहरूबाहेक पनि  सामाजिक सन्जालमा छिट्टै कवि हुने रहर  बोकेर आउने युवाको जमात छ। उनीहरूमा कविताको गहिराईमा पुग्नका लागि चाहिने अध्ययन, साधना, लेखन पठनमा  निरन्तरताको कमी छ। सिर्जना गर्दा समाजप्रति, आफूप्रति दायित्वबद्ध हुन सक्नु पर्दछ। भावनाको सपाट वर्णन मात्र कविता होइन।  सामाजिक सन्जालको हल्लाको बजारमा रमाउनु र कविता लेख्न त सजिलो रहेछ भन्ने सोच्नु  कवितासहित कवि स्वयंलाई क्षति पुऱ्याउनु हो। राम्रो कविता लेख्न कवितालाई धेरैपटक चिरफार गर्नु पर्ने वा  धेरै पाता च्यात्नु पर्ने हुन सक्छ। धेरै समय खर्चिनु पर्ने हुन सक्छ। तातै खाऊँ जलि मरूँ  त घातकै हो। अर्को कुरा, भाषाज्ञानको कमीले पनि कविता सिर्जनामा क्षति पुऱ्याउँदैछ। विशेष गरी नेपाली भाषा माध्यममा पढ्न नपाउनु भारतको धेरै ठाउँको समस्या हो। अरू भाषामा पढेर नेपालीमा लेख्नु सजिलो कुरा होइन। यस्तो स्थितिमा हिज्जेगत त्रुटिदेखि लिएर उपयुक्त शब्द प्रयोगमा कठिनाइ हुनु स्वाभाविक हो। 

भारतीय अन्य भाषाका कविताहरूसँग तुलनात्मक अध्ययन गर्दा भारतीय नेपाली कविताको अवस्था कस्तो पाउनु हुन्छ?

 यो विषय त लामो शोधपरक निबन्धको विषय हो। भारतमा प्रचलित आधुनिक भाषाहरूका कविता बारे विस्तृत रूपमा जान्दा मात्रै सही दिशामा कुरा गर्न सकिएला। साधारण दृष्टिले असमीया, बङ्गला, हिन्दी भाषाका कवितासित दाँज्दा चाहिँ भारतेली नेपाली कविताको अवस्था सन्तोषजनक नै देख्छु। उपन्यास र कविता विधामा धेरै माथि पुगेको असमीया भाषाका कविता र  नेपाली भाषाका कतिपय कविका कविता प्राय हाराहारीमा छन्। बङ्गला भाषाका स्तरीय कविताभन्दा हाम्रो भाषाका प्रखर कविका कविता कुनैगुणा कम छैनन्। हिन्दीको सन्दर्भमा पनि यही स्थिति छ। तर सामूहिक रूपमा भने अझै पनि नेपाली कविताले धेरै उकालो चढ्नु बाँकी नै छ। हुन त  साहित्य अकादेमीका अथवा अरू नै अनुष्ठानले आयोजन गरेका बहुभाषिक कविता अनुष्ठानमा कविता सुन्दा कहिलेकाहीँ  भारतीय अन्य कतिपय भाषाका भन्दा नेपाली कविता स्तरीय लाग्छन्। यस्तो लाग्छ, समकालीन भारतेली नेपाली कविताले कुनैदिन धेरै भाषाको भन्दा अझ माथिको शिखर चुम्ने नै छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया