पराकम्पन-मा घरको खोजी

विज्ञापन

अध्ययन

अब साहित्यमा सौम्य भाषामा आदर्श नारीको छवि मात्र पितृसत्ताले चाहेको हो? नारी लेखन पितृसत्ताको विरोध हो कि, सत्ता भित्र सत्ता खोज्ने प्रणाली हो कि या आफ्नै सत्ताको निर्माण? अब आडम्बर नारीवाद , अप्राकृतिक तर्क , गाली जस्तो , भद्दा व्यर्थको पुरुष द्रोह – कृतिको भूमिका बाँध्दा लेखिने ( fashion) फेसन हो कि? या घरको छोरी साँझमा संघारबाट बाहिर हुँदा बाउले दिएको ( fatherly) बाउको डरको अर्ती हो की या अधीनमा राख्ने (shouting down) कडी? कतै यो पनि हिंसाको साहित्यिक विस्तरण त हैन ?


प्रणय शङ्कर।


यसपाली दार्जिलिङ किताब मेलामा जान पाइँदैन कि भन्ने डरले मन पिरोली रहेको थियो । शनिबार अनि आइतबार पनि जान पाइएन । तर सोमबारको दिन ड्युटीमा हुँदै पनि व्याङ्क कै एउटा काम निकालेर गइयो दार्जिलिङ । अनि सिधै म सुरज रोसुरी( सम्बोधन पब्लिक केशन) लाई भेट्न गएँ । उनी पुस्तक विमोचनमा व्यस्त रहेछन्। भनी राखेँ, ‘म अहिले आउँछु, राम्रो किताब अलिक निकाली राखी दिनु होला।’

उहाँले पराकम्पन कथा सङ्ग्रह पनि हालिदिनु भएछ ।

त्यसपछि लक डाउन । सोचें सबै पढ्ने छु। हुन त पढ्नका निम्ति समय चाहिँदैन रहेछ । जाँगर र जोस् पो चाहिँदो रहेछ । यसै त म अलिक अल्छे पाठक हूँ । किताब धेरै किन्छु , तर पढ्छु छानेर । तर जब पढ्छु , पढ्छु खिप्ती गरेर , मन लाएर । भूमिकादेखि अन्तिम पाताको अन्तिम हरफसम्म । म अलिक र्‍याम्डम पाठक पनि हुँ । किताबको अनुभव फील गर्न कुनै पन्नाबाट पनि पढ्न सुरु गर्छु । किताब हातमा राखेपछि एकपल्ट सुघ्छु । नयाँ किताबको वास्ना मिठो लाग्छ । तर आजकालका किताबमा हामी भुँइक्लास पढ्दाको जस्तो सुवास्ना छैन , किताबहरूमा त्यो महक नै छैन । कमानको हपहप्ती गरम , दिउँसोको एघार बजी स्कूल कोठामा खोलाबाट आएको लिखुरी हावा अनि किताबहरुको त्यो बाक्लो महक। आहा ।

सधैं झैं, सन्ध्या आचार्यको पराकम्पन हाथमा लिएर इन्डेक्सको पेजमा गएँ।  हेरें, कथाका शीर्षकहरु । साह्रै जोशिलो त लागेन । किताब बुझ्न सन्ध्याको आफ्नो कुराहरु पढें। त्यसपछि धन्यवाद ज्ञापन । भूमिका जय क्याक्टस  सरको रहेछ, लोभ लागेर आयो । कथा पढ्न बीच पन्नाबाट सुरु गरें । कथा शीर्षक कथा मात्रै

‘सिरानीहरु अलि मज्जाले मिला न हौ’,- यति बेला, सुत्ने तर्खरमा हामी ।

‘आsss होस् है । जिन्दगी मिलेको हुन पर्छ भै गो।’

आहा यो लाइन त जुलुम लाग्यो । हामी बुढा बुढीको मजाकमा गफ सफ जस्तै लाग्यो । अब जिन्दगीमा यति किताब त पढी  सकियो, कुन कुराले पाठकलाई क्लिक गर्छ त्यो छिचोल्न सक्ने भएँ। राम्रो लेख्न सक्छु सक्दिन त्यो अर्कै कुरा हो । कथा पढ्दै गएँ। पढ्दै गएँ । मनमा विचार खेल्दै गयो । विचार उप्जिँदै गयो । अन्तमा आएर टक्क उभिएँ । कथामा यसरी लेखेकी रहेछिन्।

‘अँ हुँ नु त हो, घटना मात्रै त न्युजमा पाइन्छ नि…….. सायद विचार नभएको ठाउँमा घटना घट्दो हो कि ?’

‘सुतौँ अब’- त्यो भन्छे ।

‘सिरानी नमिलाउनु ?’- म सोध्छु ।

‘मिलेको त जिन्दगी पो हुन पर्छ।’ – त्यो भन्छे ।

कथा यसरी नै सकियो । कथामा कथ्य के थियो , राम्ररी ध्यान दिइनँ। तर कुराको कुलो काट्न निकै सिपालु लाग्यो सन्ध्या । गाउँमा जसरी बाउ चपरा बोकेर बर्खामा जमेको पानीको कुलो काट्न जान्थे । अनि आमा कराउँदै पछि पछि यो बुढोले त केई जान्दैन हौ , भनेर आफैंले छेउ कुना मिलाएर जमेको पानीलाई बाटो लाउँथिन् । त्यस्तै सिपालु ।

सन्ध्या को हुन् ? भनेर पछिल्लो पातामा फोटो हेरें । ज्यादै उदास फोटो हालेकी रहेछिन् । प्रकाशक ज्ञानकुञ्ज बुक्स । मूल्य १५० रू । मूल्य असुल हुन्छ जस्तो लाग्यो, एउटै कथा पढ्दा नै । सबै कथा पढी सकियो । किताब बन्द गरेर हेरें। कालो कभरमा रातो हरफले लेखिएको पराकम्पन अनि सेतो दुईवटा पाइलाका जस्तै डोबहरु। पराकम्पन विध्वंस पछि आइरहने सम्झना हो । रिमाइन्डर हो । भूमिकामा जय क्याक्टस सर लेख्छन् ‘पराकम्पन’ मूल कम्पन वा संघटना जत्तिको प्रभावकारी नहुँदा पनि यसले सृजना गर्ने मानसिक आघात, अवसाद, सन्त्रास र पीडा चीरकालिन र अशय हुन्छ।’

डोब पनि सम्झनाका प्रतीक हुन् । अनि ती सम्झनाहरु घर तर्फ फर्किहेका छन् । किनभने सम्झनाहरु जहिले पनि घर फर्किन्छन् । ती प्रतीक पुष्टि गर्ने अरु क्लू ( clue) कतै कहीं नभेटिएता पनि एक पल्ट हेरौं पाठ ( टेक्स्ट) मा के छ।

पहिला हेरौं घर के हो त ? हिन्दीमा घर बुझाउने शब्द दुईवटा छन् । मकान अनि घर । इङ्ग्लिशमा होम अनि हाउस । नेपालीमा होम अनि हाउस बुझाउने एउटै शब्द छ, घर । सायद कोठा पनि होला ।  हाउस , मकान साधारणतः सधैं टिन , छत , सिमेन्ट , ईटा, काठ , बाकलले घेरिएको, बारिएकोको घेरा भित्रको ठाउँ,  स्पेस मात्र हो । अब घर , होमको कन्सेप्ट मकान , हाउस देखि एक पाइला अघि बारिएको स्पेस मात्र नबुझाएर यसले  बहु आयामिक ( मल्टी डाईमेन्सनाल )  अनि बहु विषयक ( मल्टी डिसिप्लिनेरी ) अर्थ , विचार ( कन्सेप्ट) बुझाउँदछ । घर चारै दिशाबाट घेरिएको ( enclosure and space ) मात्र नभएर यसले हामीलाई बाहिरी अतिक्रमणदेखि जोगाएर राख्ने, रक्षा दिने, ओत दिने बिचारलाई इङ्गित गर्दछ । आफ्नो जरा जोडिनुको ( Sense of belonging), सुरक्षा ( protection ), गोपनीयता (privacy) प्रदान गर्ने घेरा हो । जहाँ हामी हाँस्न सक्छौं । सम्बन्धमा गाँसिन सक्छौं । प्रेम , स्नेहले अनि ओतप्रोत हुन सक्छौं । आत्मासम्मान सँग बाँच्न सक्छौं । हालमा विभिन्न विधाहरूमा घरको कन्सेप्ट अनि आइडियाको चर्चा परिचर्चा भइरहेका छन् । समाज विज्ञान, अन्थ्रोपोलोजी , मनोविज्ञान , इतिहास , अर्कीटेकचर , दर्शन, धर्म आदि । घरलाई विभिन्न रूपमा परिभाषित गरिएको छ – घर, परिवार, स्वर्ग, स्व (सेल्फ), लिङ्ग ( gender), जीवन यात्रा, सुखद अनुभूति-अनुभव आदि ।

पराकम्पनमा पनि घर ( बिम्ब/ प्रतीक) केन्द्रियभाव मुख्य भएर अनि घरि  घरि आइरहने बिम्ब हो, मेटाफोर हो । घर आमाको गर्भको प्रतीक पनि हो । हामी प्रत्येक मान्छेको पहिलो घर नै आमाको पाठे घर हो, गर्भ हो । कथामा घर बिम्ब विभिन्न विचार अनि रूपमा देखा परेका छन् । वास्तवमा एउटी नारीको “घर” साँच्चै कहिले उसको अफ्नो हुन्छ ? चाहे त्यो घरले घेरा भित्रको स्पेस बुजावोस या वैचारिक धरातल । घर उसको शरीर होस् या सोच । “घर” शीर्षक कथा नारीसत्ताको आफ्नै चेतनाको विरोधाभास या पृथक नारीसत्ताको अनुपस्थितिको स्वचेतको व्याख्या हो ।

‘सबभन्दा त दुःख त्यतिबेला लाग्यो जब मैले थाहा पाएँ कि म घरविहीन रहेछु साच्चिकै । म आफ्नो इच्छा मुताबिक कतै हिँडे भने मैले घर नै छोड्न पर्ने रहेछ जहिल्यै।’ .

‘मेरो घर खै?’

आमाले अधीनता अस्वीकार गरेको दिन आमाको पनि घर रहँदैन। चोइस भनेको कि घर कि अधीनता रहेछ।”

“घर” घर शीर्षक अनि प्रतीक/बिम्ब कथामा मातृसत्ताको अवस्थानको एउटा जटिल प्रश्न हो । पितृसत्तादेखि पर मातृसत्ताको के आफनै सार्वभौम सत्ता छ र ? के मातृसत्ताको आफ्नै भाषा (gender neutral) , सौन्दर्य , विवेचना पद्धति, शक्ति केन्द्र , आफ्नै सामाजिक हाईरार्की – छुट्टै दण्ड सहिंता , नैतिकता , सामाजिक मूल्य, मान्यता धार्मिक केन्द्र, जीवन दर्शन छिचोल्ने प्रक्रिया , सांस्कृतिक, साहित्यिक धारणा (canon) छ ?

यो जटिल प्रश्न हो ।

 उत्तर सहज र चुढान्त पनि छैन । पुरुषसत्ताको हैकम नारी सत्तामा यति व्याप्त छ कि नारी सत्तामा निहित वैचारिक चेत पनि  पितृसत्ताकै विस्तार ( extension) मात्र हो । “घर” कथामा ” मेरो घर खै” ? अभिव्यक्ति पनि यही हो । पितृसत्ताको परिधिभित्र नारीले कि चाहिँ सत्ता स्वीकार गर्न पऱ्यो या आफैलाई एडजस्ट: त्यहाँ देखि पर सबै बिद्रोहका कुराहरु, शब्दहरु, बिम्बहरु मात्र हुन् ।

शक्ति विनिमय र वाचाल ( पावर नेगोसिएसन अनि मनुवबरिङ) द्वारा नै पित्तृसत्ताले आफ्नो पावरको वर्चस्व कायम राखेका छन् । जहाँ वर्चस्वको अधिपत्य हुन्छ, त्यहाँ अधिकार प्रधानताको अनि हननको प्रश्न उठान हुन्छ नै। हिंसा र उत्पीडनको विवेचना हुन्छ नै । हिंसा उत्पीडन शारीरिक मात्र नभएर , आत्मिक , सामाजिक , भौगोलिक , मनोवैज्ञानिक , आर्थिक ,भावानात्मक , भाषिक अझै विभिन्न प्रकारमा देखा पर्छन् । व्याप्त छन् । अब हिंसा या उत्पीडनको विरोध कस्तो प्रकारको हुन पर्ने ? अनुनय , विन्ती-भाव , मान-मनितो गरेर या चडयेर गर्न पंर्ने हो या पुर्जोर विरोध ?

केही वर्ष अघि ग्यासका दाम बढ्दा विरोधका निम्ति आइमाईहरु सडकमा उत्रिएका थिए । मोदीज्यूको पोष्टरमा धूपकाटी , दियो जलाएर ( हामी दिन दुखीको बिन्ती सुन्नु होस् ) भन्दै भजन गाएर विरोध प्रदर्शन गरेका थिए ! कि सायद विद्रोह यसरीनै गरिनु पर्ने हो ? कथाको भूमिकामा जय  क्याक्टस सर लेख्न हुन्छ  ‘सन्ध्याको कथ्यले आडम्बरी नारीवादको वकालत नगरेर………नारी पात्र अप्राकृतिक तर्क र उटपट्याङ कार्य गर्दैनन् , बरू परिवार र समाजमा आफ्नो स्वत्वको निम्ति केही गम्भीर चुनौती र जोखिम उठाउन तयार रहेको पाइन्छ । ” यस्तै कुरा आरती ठकुरीको कविता सङ्ग्रह  निशब्द उत्तर– को विमोचनमा कविता माथिको वक्तव्यमा डा महेश दाहालले भनेका थिए , ‘हिज आज नारी लेखनका कविताहरु गाली दिएका जस्ता लाग्छन् ! तर आरतीका कविताहरु मधुर भाषामा लेखिएका छ। ”  पवित्रा लामाको   देह रातो रङ्गिन्छु को भूमिकामा श्यामल सर काठमाडौंबाट लेख्न हुन्छ ,  ‘मलाई अश्वेत अमेरिकी कविहरु एलिस वाकर र माया अन्जेलुले बढी अपील गर्दछन् । तिनका कवितामा यताको जस्तो भद्दा र व्यर्थैको पुरुष द्रोह भेटिन्न ! “

पुँजीवादी तन्त्र अनि विचार पराकाष्टमा छ। देशभक्तिय अनि धार्मिक उन्मादमा मान्छे भीडको रिसमा परिणत भै सकेको छ । भनौं भने पृतिसत्ता एक नैतिक र आत्मिक उथुलपथुल , क्राइसिसबाट पार भइरहेको समय छ । जस्तो प्रकारको बलात्कार पछिको जघन्य घटना असिफा , निर्भया अनि प्रियङ्काका शरीरसँग गरियो यो सिर्फ यौन अपराध मात्र नभएर त्यसपछिको एउटा सिरियस आत्मिक अनि मानवीय मूल्य-पतनको अवस्था वा क्राइसिस पनि हो । अब साहित्यमा सौम्य भाषामा आदर्श नारीको छवि मात्र पितृसत्ताले चाहेको हो? नारी लेखन पितृसत्ताको विरोध हो कि, सत्ता भित्र सत्ता खोज्ने प्रणाली हो कि या आफ्नै सत्ताको निर्माण?

अब आडम्बर नारीवाद , अप्राकृतिक तर्क , गाली जस्तो , भद्दा व्यर्थको पुरुष द्रोह – कृतिको भूमिका बाँध्दा लेखिने ( fashion) फेसन हो कि? या घरको छोरी साँझमा संघारबाट बाहिर हुँदा बाउले दिएको ( fatherly) बाउको डरको अर्ती हो की या अधीनमा राख्ने (shouting down) कडी? कतै यो पनि हिंसाको साहित्यिक विस्तरण त हैन ? साहित्यमा जिज्ञासा राख्न जायज बन्दछ । किनकि साहित्यिक मूल्य अनुसार कविता, कृति या त असल हुन्छ या खराब ! यसै त फेमिनिज्मलाई FemiNazism लेख्ने चलन त छँदैछ । साच्चै अभद्र भाषा ,गालीगलौज गर्दै उटपट्याङ्ग आडम्बरी नारीवाद कसले लेख्दैछन् हँ ?

घर प्रतीकलाई विभिन्न आयाम या रुपकमा उभ्याउन सकिन्छ । घर चारकुने स्पेस मात्र नभएर , गाउँ हुन सक्छ, बस्ती हुनसक्छ । राज्य हुन सक्छ । देश हुन सक्छ । आफ्नो शरीर, विचार ,भावना हुन सक्छ । त्यो घर नै हो जहाँ हामी सुरक्षित अनुभव, खुसी अनुभव, सम्मानित अनुभव गर्न सक्छौं । ढुक्कको अनुभव गर्न सक्छौं। बिना घरका मानिस कस्तो हुन्छ? मानिस किन पलायन हुन्छन् ? त्यै घर निर्माणका निम्ति खुसी बटुल्नका निम्ति , आत्म सम्मान सम्बन्धहरुको सङ्लो पानी बगाउनका निम्ति । यसैले नै सन्ध्याका पात्र-पात्राहरू घर निर्माण प्रक्रियाको अनन्त जाँतोमा पिसिएका छन् । कोही अबु धाबीमा छन्। कोही दिल्ली , चेन्नई, लण्डनमा छन् ।

‘महाप्रश्न’ मा रिनिता गाउँबाट पलायन भएकी छिन् । ऊ सुन्दर घर निर्माणको सपना लिएर दिल्ली गएकी छिन् । त्यसपछि

 ‘ घरको पुरानो खरको छाना अब रहेन । टलक्कै टल्किने च्यादर ओडेर निच्च हाँसेको छ घर । “

गाउँमा सुन्दर घर निर्माण प्रक्रियामा आफ्नै शरीर ( पाठेघर) भाडामा दिएकी छिन् (सरोगेट) ।

” सायद अन्तिम अध्याय” मा घर निर्माणको खुशीको प्रक्रिया –

 ” आमा हुन आँट्यौ कि ?” – जिस्काई दिन्छु ।

” म त कुन्नी तिमी पो बाबा हुन आँट्यौ होला । ” दुवैजना हाँस्यौ एक क्षण ।-

 फेरि यसरी भत्किन्छ घर –

” सी ए लास्ट स्टेज ” – अलि छिटो भए युटरेस ( पाठेघर घरको निर्माणको पहिलो एकाई)  रिमोव गर्न मिल्थ्यो । अब। हुँदैन । “

पराकम्पन -२ मा निला सुब्बाको बलात्कृत भएर पाठेघर धलीमली भएको छ । त्यस पछि जन्मेको छोरीलाई वैधानिक नाम (मजबूत घर) दिन पर्ने कुराको मानसिक द्वन्द अनि पीडा ।

“उत्तरार्द्धतिर” कथामा घरको बिम्ब बहुआयामिक सतहमा (multi layer) उभिएको छ । लाइभ इन सम्बन्धमा ( (पाठे) घर अवैधानिक सम्बन्धमा) उजाडिएको छ । सिङ्गल मम भएर बाँच्न परेको छ लण्डनमा । लण्डन जान पलायन मात्र नभएर प्रायः केहीको आर्थिक सामाजिक (अस्पिरेशन) आकांक्षा पनि हो । त्यहाँ पनि घर निर्माण , विनिमणको प्रक्रिया छ । घर ( गाउँको याद) , घर ( पुरानो सम्बन्धको सम्झना) घर ( शरीर उजाडिएको अवस्था ) घर ( फेरि नयाँ घर बनाउनको हिचकिचाहट ) भित्र रुमलिएको छ ।

” भन्छौ नि अँ , भन्नु त सजिलै छ । मान-मर्यादा , इज्जत- प्रतिष्टा, रहर, इच्छा, परिवार, गाउँ घर, साथी संगी जम्मै सँग साटिएको यही ग्रीन कार्ड न हो ।”………. आई एम अ सिंगल मम , तिमीलाई थाहा छ ?……किन बिहे गरेको त ?….. अरु उपाय पनि त थिएन नयन । यहाँ बाँच्न कठिन छ ।…. वस्तावमा हामी लिभइन रिलेसनशिपमा थियौं के । …. त्यतिकै जेड जन्मिएकी हो । “………न घर न आमा बाबा । यसै पनि एक्लै उसै पनि एक्लै , यता भए नि उता गए नि ।” तर यो डायस्पोरिक लेखनमा जस्तो रूट (जरा) खोज्न हैन । किनकि सबै फर्स्ट जेनेरेसन पलायन भएकाहरु छन् । सन्ध्याका पात्राहरु एउटा घर निर्माणको अनन्त खोजाई ( eternal Search) अनि त्यस प्रक्रियामा अरु घरको (एकाई) विनिर्माणको द्वन्दमा पिसिएका छन् ।

घर( चिनारु, परिचित सम्बन्ध) सुरक्षाको स्थान मात्र होइन । नारी उत्पीडन , अपराधको अखाडा पनि हो । ९० प्रतिशत नारी उत्पीडन घरको चार दिवार भित्र हुन्छ । चिनाजना, सम्बन्धबाट नै हुन्छ । यो कुरा कथामा टड्कारो नदेखिए  पनि कथामा यता उता छरिएको छ । पराकम्पन- २ मा राज्य (घर) निर्माणमा लागि परेका निला सुब्बा सिआरपीबाट बलात्कृत नभएर आफ्नै गाउँका मानिस या सहयोद्धा या सहयात्री ( नरेशबाट बिटुलो भएकी छिन्) ।

 ”  उसले बलात्कृत आफू सम्झी र अझै बलात्कृत आफ्नो समाज सम्झी जसले बलात्कारीलाई भन्दा धेरै दोषी बलात्कृत र महिलालाई ठान्छ । “

” मोडेल”मा झुमा विजोयिनी नुड मोडेलको काम गर्छिन् ।”  “अप्ठ्यारो लाग्दैन…..?”

“अप्ठ्यारो किन मान्नु ? जहाँ म सर सफाई गर्न जान्थेँ त्यहाँ मलाई नाङ्गिन लगाउँथ्यो । फाइल बोक्न गएको ठाउँमा नी मलाई थुप्रै चोटि नाङ्गिने आदेश दिइएको हो । अरू त के कुरा , म लुगा दोकानमा काम गर्थें , दोकान आफ्नै आन्टीको थियो ।………..

……. मध्य रातमा ….. अन्ति मेरो शरीरबाट कपड़ा उतार्न हत्तार गर्दै थिइन् ।”  म के भएको थिए त्यो बेला , आई क्यानट एक्सप्लाइन् ।” …. तर यो पेसामा कसैले मलाई नाङ्गिने आदेश दिँदैनन्……..कपडा उतार्छु उनीहरू चित्र बनाउँछन् , त्यसपछि पैसा सँगै थ्याङ्क यू झुमा दिदी या बहिनी भनिराख्छन् ।  लु भन्नु होस् कुन बेस… …..लुगा बेच्न जाँदा , अफिस हुँदा नाङ्गिँदै हिँड्नु की नूड मोडेल…….l

” च्याटको मान्छे ” -मा भावना , विचार , मनको बन्द घर भर्चुअल (virtual) घरमा स्ट्रेन्जरलाई पस्न दिन्छन् । फेसबूकको संसारमा स्ट्रेन्जरसंग उनी ढुक्क अनुभव गर्छे ।

” प्रिभेसी सम्ममा दखल दिन थालेछ अब च्याटको मान्छेले ।….

न चिनेको हरसँग  धेरै नबोल्नु …….. बरू तपाईं सँग न बोलुँला म । …… तपाईंले ठिकै भन्नु भएको रहेछ । नचिनेको….. च्याटको मान्छे अल्पियो ।………. अनामिका , चिनेको मान्छे पनि सप्पै ठिक हुँदैनन् , चिनेकाहरुलाई पनि विश्वास पटक्क नगर्नु है ।”

 

घरको मेटाफोर वैचारिक पक्षमा पनि देखा परेका छन् । घरमा सपनाहरु हुन्छन् । सपनाहरु देख्ने आँखाहरू / मनहरु नहुँदा घर शुन्य हुन्छ । “सपना मोह ” यस धारामा पढ्न सकिन्छ ।

” सपना नदेख्नु भनेको मर्नु त होइन?’- झस्किन्छु ।

“सपनाहरुसित” फेरि भेट भएपछि बल्ल म जीवित अनुभव गरिरहेछु । साच्चै सपनाहरु मर्नु भनेको म मर्नु थिएछ……”

अब मर्नु घर उजाडिनु हो त ? प्रत्येक धर्मिक/ दर्शनीय परम्परामा मर्नु/ मरण लाई घर सराईको रूपमा प्रस्तुत गरिएको छ । कुनै दर्शनले पीडादायी प्रक्रियाको रूपमा प्रस्तुत गरेका क्षण भने , कसैले सुखद । पूर्वीय दर्शनमा मोक्ष प्राप्ति या निर्वाण लामो प्रक्रिया हो भने , पश्चिमी दर्शनमा एक निमेषमा संसार छाडेर स्वर्ग जानु हो । प्रभात चिसो एक लाइन कवितामा लेख्छन् त्यसको अनुभव यसरी – what if death is only mist and there is another world beyond ? “मृत्यु अनुभूति” यस्तै परम्परामा पढ्न सकिन्छ । शरीर छाडेर आत्मा अर्को संसारमा स्थान्तरित । यसको अनुभव कथामा छुन सकिने, अनुभव गर्ने सकिने झण्डै पारदर्शी छ । कसैले पनि अनुभव गर्न सकिने । कथामा दुई संसारको वर्णन , जहाँ लौकिक र अलौकिक विलीन भएको छ । जादुई यथार्थ ( magic realism) जस्तै । मेलाको घुइँचोमा रोटेपिङ खेल्दाको डर अनि आनन्दभूतीको चुली । वा माथि बिल्डिङबाट तल हेर्दाको अनुभव । जहाँ यो संसार अनि अर्को अनन्त संसारमा पारदर्शिता आएको छ ।

पराकम्पन मूल भूकम्प पछि आउने घरि घरिको मसिनो झट्काहरु हुन । मूल भूकम्प ( विध्वंस,विनाश) पछिका डर , सन्त्रास , आशंका (पराकम्पन) का तरंगहरू हुन । जातीय उन्मुक्तिको महासंग्राम अनि त्यसपछिका मसिना आन्दोलनहरुका विफलताले उपजाएको नैराश्य परिस्थितिको आत्मा अनुभूतिको (सेल्फ रियलाइजेसन, रेजिगनेसन अनि दिजेगसन) हो ।

 ” अब फेरि आन्दोलन हुँदैन होला है” । दस बाह्र पटक सोधी सकेको छ ।” आफ्नो घर नहुनु राज्य नहुनुको पीडाको बिम्बमा पढ्न सकिए त पनि आफ्नु घर बनाउन पैसा जोहो गर्नु- राज्य बनाउन होइन- दुई दशक पछिको सेल्फ रियलाईजेसन हो । जातीय अस्मिता अनि उन्मुक्तिको रोमान्टिक-विचार परम्परादेखि अलग्गिएर , परदेशमा एक्लिएर आफ्नो घर, छतको न्यानो लालसा राख्नु अस्मिता संग्रामको वीर रस युक्त रोमान्सेली ( heroic romantic) भेलबाट पर सरेर एन्टीरोमान्टिक परम्परा वा यथार्थताको धरातलमा अब आफ्नो ( individual as opposed to collective) केही होसको विचार ( notion) हो।

भूकम्पले( 86 को अन्दोलन) भत्काएको घरमा फेरि आफ्नै सानो घर बनाउने हिचकिचाहाटको डर हो । पराकम्पन विध्वंस पछिको सम्झना ( रेमिनेन्सस) हो ।

हरेक संग्रामको पछि एउटा सोच हुन्छ । प्रतीक हुन्छ । एउटा आदर्श युटोपिया हुन्छ ।

” क्रान्तिका कुरा गर्थे , जित्ने कुरा गर्थे , बन्दकी परेको माटोको कुरा गर्थे……. आफ्नै राजा , आफ्नै राज्य । अर्थात् छुट्टै राज्य ।” (प्रकाम्पन २) “अँ जानु त जानै पर्छ हाम्रो हाम्रै नानीहरूको लागि त हो । जाति माटो र अस्तित्वका निम्ति हरेकले अघि आउनै पर्ने ।”( मूल्य )”

त्यस युटोपिया प्राप्त गर्न धेरै कुरा गुमाउन पर्ने हुन्छ । धेरै पटक प्रयोग हुन पर्ने हुन्छ ।

 “सक्ने भएर किन अघि जानु ? खोज्नेले भेट्छ – हिजोस्ति उभिएर जाति माटो र अस्तित्वको कुरा गर्नेले नै भन्दै थियो ।” ( मूल्य)।

सारा संसारमा युद्धको सोझो असर बेसी भागमा मर्दलाई पर्दछ । उसले दुःखदायी मृत्यु वरण गर्नपर्ने हुन्छ । तर दुःख,पीडा क्षणिक हुन सक्छ या उ बहादुरी साथ सहिदको उपाधि प्राप्त गर्न सक्छ । उसले मृत्युमा विजय प्राप्त गर्न सक्छ । तर मर्दले ज्यान गुमाउन परेता पनि युद्दको बाक्लो अनि गहिरो नकरात्मक असर , पीडा आइमाई जातिले अनि छोरा छोरीले लामो समयसम्म झेल्न पर्ने हुन्छ।

 “उनले सहादत प्राप्त गरे । उसको सहारा हरायो । ऊ विधवा भई । छोरा टुहुरो ।” ( मूल्य) । त्यति मात्र नभएर आर्थिक तङ्गी, सामाजिक बहिष्कार , शाररिक प्रताड्ना , बलात्कार विस्थापन जस्ता कुराहरु पनि झेल्न पर्ने हुन्छ ।

पराकम्पन- २ कहिले उजागर नभएको आन्दोलन पछिको पीडा हो भने आन्दोलनमा बलात्कृत भएपछिको विस्थापन, पलायन, अनि  गाउँ फर्किएर जन्मिएकी छोरीलाई बाबाको नाम ( घर) दिन पर्ने मानसिक अनि सामाजिक द्वन्दको कथा पनि हो ।

“नाम ?

” अमन्ना सुब्बा “

“बाबाको नाम ?”

” स्यारपी ” स्यार्पी पनि नाम हुन्छ ? लाठेप्री केटी।

………..

आमा ! बाबाको नाम के हो ? आमाको नाम लेखिदिनु भन हेडसरलाई ।

उनका पात्रहरू ” चामे र गौथली ” झै जीवन भन्दा ठूलो ( लार्जर द्यान लाइफ) छैनन् । ” माछाको मोलको रने” झै समाजको एक तप्काको कालजयी प्रतिनिधि नबन्ला । सन्ध्याका पात्र- पात्राहरु सबै घर फर्किने सङ्घर्षमा छन् । किताबको खोलमा भएको दुईवटा पाइलाका डोब जस्तै। या तिनीहरू (घर खोजाई)  को अनन्त यात्रामा छन्। चाहे त्यो घर बैधानिक बाउको नाममा होस् , माटोमा होस् , टिन सिमेन्टको घरमा होस् , सम्झनामा होस् या सम्बन्धहरुमा । या मनको बन्द कोठामा। सबैले केही न  कही खोजिरहेका छन् मसिना ठूला समस्याहरूमा, कुनै समाधान ( सोलुसन) बिना । हामी जस्तै चुपचाप । अदृश्य । ओझेल । आफ्नै सानो सानो युद्ध लड्दै । सायद उत्तरआधुनिक जीवन यही हो । उत्तरआधुनिक चरित्र यही हो । सन्ध्या पात्र-पात्राहरुको संवादमा घटनाहरुको कथा बुन्न सिपालु छिन् । उनी कथाद्वारा शिक्षा दिन चाहँदिनन् तर परिघटना देखाउँन चाहन्छिन् । कहीं कतै आफै पात्रहरुसँग संवादमा छिन भने कतै आफै संवाद सुनिरहेकी छिन् , छक्क पर्दै । उनी अञ्चलिक भूगोल वर्णनमा ऊर्जा खेर फल्दिनन् । पात्रा संवादमा चरित्रको मन चिहाउन सक्षम बने पनि गहिराइमा पात्राहरुको मनोविश्लषण गर्न सकेकी छैनन्। यसैले उनका पात्र- पात्राहरू (one dimensional) छन् । चरित्र निर्माण क्लियर कट नभएकाले पराकम्पन धेरै ठाउँ सतही बनेको छ । यसैले पराकम्पन भविष्यमा साहित्यिक पुस्तकको जमातमा कहाँ उभिन्छ त्यो हेर्न पर्ने हुन्छ । पराकम्पन बस गाडीमा भेट भएको कुनै सहयात्री जस्तै हो या बिहे या मरौ घरमा सघाउन आएको टाडाको सम्बन्ध । जससँग घनिष्ठता बढ्छ । आत्मीयता साटिन्छ। मन भरिका कुराहरु साटी राख्छन् । अनि जान्छन् जिब्रोमा एकदुइवटा घत लाग्ने कुरा दिएर-

“काँडा निकल्नलाई फुलै बनेर नहुने रहेछ !”

“काँडा निकाल्न त काँडै बन्नु पर्ने रैछ !”

” तिमी काँडा बनेर काँडा निकाल्दैमा फेरि त्यो काँडा फूल बन्छ?”

म चाहन्न – काँडा निकाल्ने र न दुख्ने प्रयासमा फूलहरूको संख्या घटोस् ।” ( आफ्ना कुरा)”

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया