एउटा नेपाल यात्रा : पछ्याइरहने याद

स्मृतिको स्क्रिनमा

भीम हुरूक्कै भइसकेको थियो । उसले सर्किएर झन् कानको मुनिको नसा फुलाईफुलाई बाँसुरी बजाउन थालेको थियो । मधिसेहरूले पनि टेबल ठट्टाउँदै वाह वाह भनिरहेका थिए । ती नक्कली मालिक्नी र हाम्रै उमेरकी छोरीले गीत सक्नु नपाई थप्पडी मार्दै फेरि अर्को भन्दै भीमलाई उक्साइरहेका थिए । मैले भीम र त्यो हाम्रै उमेरकी आँखा ठुलो भएकी केटीलाई विचार गर्दै थिएँ। त्यो केटीको आँखा स्थिर भएर भीमको अनुहारमा अड्केको थियो । उसको फुट्टा सुन्तलाको केस्राजस्तो रसले भरिएको ओंठ भने बेलाबेला स्वतः चल्दै थिए जस्तो कि कल्पनामा कुनै मीठो चीज मुखमा चुहुँदै गरेको होस् । भीमको गोलभेंडाजस्तो आँखा पनि त्यही केटीमाथि खाउँलाजस्तो गरेर खनिएको थियो ।


  • खुसेन्द्र राई

हाम्रो गाउँ जूम बस्तीको फेदमा कचल्टिएको सानो बजार नयाँबजार छ जो वास्तवमा पश्चिम सिक्किमकै पुरानो बजारमध्ये एक हो । त्यही पूरातन नयाँबजारको पाउ पखाल्दै राम्भाङ खोला छातीबीचको धर्को जस्तो उँधो सिलगढी ताकेर कुदेको छ। सिक्किम र पश्चिम बङ्गाल दाहिने देब्रे वा वारिपारि राखेर। यो राम्भाङ खोलाले वारिपारि दुवै ठाउँका मान्छेका दुःख र सङ्घर्ष देखेको छ । भलै हारैहारको कथाव्यथा किन नहोस्, ७३’को सिक्किममा भएको जनक्रान्ति, त्यसपश्चात भारतमा विलय अनि इतिहासको प्रत्येक कालखण्डमा दार्जिलिङमा गोर्खाल्याण्डको नाममा भएको आन्दोलनको साक्षी हो यो राम्भाङ खोला ।

यही राम्भाङ खोलापारि गोर्खाल्याण्ड आन्दोलन चम्केको समयको कुरा हो। साल १९८६ ।

त्यो भयावह समय हाम्रो गाउँदेखि राम्भाङ खोलापारि देखिने सिङ्गला कमान, बदमताम, कर्मटार, गोक, बर्नस्बेग, लाप्चेबस्ती, टकभरमा घटेका कतिपय भौतिक घटनाहरू हामी वारिबाट हेर्थ्यौं । कहिले राती राँके जुलुस टकभरदेखि सिङ्गलासम्मको लामो हुन्थ्यो। कहिले बर्नस्बेगतिर घर जलेको धुँवाले आकाशै कालो भएको हुन्थ्यो। बदमतामतिर घन्केको गोर्खाल्याण्ड जिन्दाबादको नाराहरू यति बुलन्द हुन्थे कि गाउँबाट पनि हामी स्पष्ट सुन्थ्यौं।

गोक फारसमा चलको गोलीको आवाज पनि बेलाबेला कानमा पर्थे। त्यस बेला किसिमकिसिमका अफवाहहरू पनि हावामा उडिरहेका हुन्थे । त्यो संशयपूर्ण समय अन्जानमा कर्मटार पसिआएको सुङ्गुरको जगर किन्ने नेपालको लिम्बुलाई चिन्दाचिन्दै पनि उसैलाई बेल्चाले खाडल खन्नु लगाएर त्यही बेल्चाको प्रहारले मारेर राम्भाङको गढतिर गाडेको अमानवीय खबर पनि सुनेका थियौं।

त्यो अर्को खबरले पनि भित्रभित्र हलचल मच्चाएको थियो कि दार्जिलिङबाट हिँडेका केही सम्पन्न केटीहरू सिङ्गला कमानको चियाबारीमा केही शिक्षित आन्दोलनकारीहरूद्वारा बलात्कृत भएका थिए अरे । बलात्कारीहरू भन्थे अरे, ‘हामीलाई सम्पन्न वर्गसँग घृणा छ, हामीले तिमीहरूको पितापूर्खाले गरेको शोषणको बद्ला लिएका हौं।’

 मनोवैज्ञानिक विश्लेषण गर्दा, गोर्खाल्याण्ड आन्दोलन अस्मिताको सोझो लडाईँ मात्र नभएर चिया कमानमा शोषित बहुसंख्यक युवाका वंशाणुको स्मृतिमा दुःखेको सम्पन्नप्रतिको चरम घृणाको मनोविज्ञानले पनि परिचालित थियो। दार्जिलिङका युवाहरूका वंशानुमा पिढीदर पिढी हस्तान्तरित त्यो स्मृतिदंशले प्रस्फुटित मानसिक आक्रोश वा चरम असंवेदनशीलता पिटर जे. कार्थकको उपन्यास प्रत्येक ठाउँ : प्रत्येक मान्छे–मापनि पाउँन सक्छौं। जहाँ कलेज पढ्ने केही युवकले बिना ठोस कारण आफ्नै सहपाठीको सम्पन्न प्रेमिकालाई अँध्यारोमा बलात्कार गर्छन्। उपन्यासमा कार्थकले आफ्नै जटिल कारणहरू देखाएर प्रत्येक बलात्कारीको मनोविश्लेषण गरेको भए पनि अन्तर्यमा यो एउटा कारण पनि थियो भन्ने मेरो बुझाई हो। जब कि फात्सुउपन्यासमा त्यो मनोवैज्ञानिक पाटोलाई हल्का स्पर्शसम्म गरिएको छैन । यसरी ओल्टाइपल्टाइ हेर्दा, गोर्खाल्याण्ड आन्दोलनलाई लिएर धेरै कथा, उपन्यासहरू लेख्नुपर्ने थियो जो बाँकी नै छ जस्तो लाग्छ मलाई।

मैले भन्दै थिएँ,आन्दोलन हुँदै थियो। मारामार हुँदै थियो । लड्ने लड्दै थिए । भाग्ने भाग्दै थिए। हाम्रो गाउँ नजिक भएकोले आन्दोलनपीडितहरू आफन्त खोज्दै, साइनो जोड्दै ज्यान बँचाउन गाउँमा ग्वारग्वार्ती आउँदै थिए। हाम्रो घरमा पनि बर्षौंपछि टकभर कमानको घोडावाल पुसैको छोरी साइनो केलाउँदै आइपुगेकी थिई। यसो हेर्दा, एकातिर आन्दोलनले मान्छे विस्थापित हुँदै थिए भने अर्कोतिर टुटिसकेको सम्बन्ध जोड्दै पनि थियो।

 त्यसबेला हाम्रो गाउँमा सबैको घरघरमा आन्दोलनपीडितहरूले शरण लिएका भए पनि टकु सरको घरमा अरूकोमा भन्दा अधिक थिए। शायद उता बङ्गालमा उनका बेसी आफन्तहरू भएर होला । त्यो समय यस्तो संक्रमणकाल थियो, यता सिक्किमे हामी ३३३ वर्षको राजतन्त्रको शोषणबाट आजाद भएर भर्खर जन्मेको बाछाजस्तो धर्खरिँदै हिँड्दै थियौं । भन्नु परेन, त्यतिबेला हाम्रो आर्थिक अवस्था जिर्णशिर्ण थियो । राजतन्त्रको अवसानपछि सिक्किममा सर्वहारावर्गको पहिलो पुस्ताले शिक्षा आर्जन गर्दै थिए। हाम्रो दँवालले माध्यमिक सकेर अघाडिको शिक्षामा भर्खर पयर बढाएको थियो । त्यसैले, ती आन्दोलनपीडितहरूलाई हाम्रो गाउँले सहर्स स्वागत गरे पनि दीर्घ कालसम्म पाल्नु धौधौ परेको यथार्थ मेरो आँखाअघि अझै झल्झली छ । बादमा, आन्दोलन साम्य भएर सबै घर फर्केपछि टकु सरले जोक गरेर भन्थे –‘पारि कमानमा बन्दुक हुनेहरूले भुर्कुट पाऱ्यो, यता वारि बन्दुक नहुनेहरूले भुर्कुट पाऱ्यो।’

त्यस्तो समय हामी नेपाल जाने भयौं । त्यो पनि हिँडेर ।

जानेमा म र भीम थियौं, मेरो जेठा मामाको छोरा । हाम्रो पथ प्रदर्शक थिए खड्केको बाबु । खड्केको बाबु स्थायी रूपमा जुममै बसे पनि उनको असली घर नेपालको इलाममा थियो। उनी नेपाल जाने सुनेपछि हामी पनि घुमघाम गर्न उनीसँग जाने भयौं । उनलाई कति टाडो ईलाम छ भन्दा ‘नाथे, बिहान हिँडे बेलुकी पुगिहाल्छ’ भनेपछि हामी दुईलाई पनि हिँडेर जाने उत्साह मिलेको थियो ।

हामी घरबाट नेपाल हिँडेको समय जेठ महिना थियोजस्तो लाग्छ । मकैको बोट कम्मरसम्म आइसकेको थियो। रूखहरूले नयाँनयाँ पाउला फेरेका थिए । टण्टलापुर घाममा न्याहुलको हूल विरक्त लाग्दो शोरमा कराउँथे। हामी पहिलो दिन बसमा चढेर ओखरेसम्म गयौं।

त्यसपछि हिँडेर राम्भाङ खोला तरेर पारि सिक्किम-बङ्गाल सिमानामा अवस्थित डाँडागाउँमा बास बस्न पुगेका थियौं । डाँडा गाउँमा खड्केको बाबुको आफन्तको घर थियो । डाँडा गाउँ पुगेपछि मात्र हामीले गोर्खाल्याण्ड आन्दोलनको तीव्रता अनुभव गरेका थियौं । गाउँमा युवाहरू थिएनन् । भएकाहरू पनि रात परेपछि हात हतियार बोकेर कता तल पुलमा सिआरपीसँग लडाई गर्न हिँडेका ।  उनीहरूबाटै सुनेको, कता पल्लो डाँडामा आफ्नो पार्टीको मान्छेको लास लिन जानु नसकेर कुहिरहेको छ अरे । कता दुश्मन मारेर पकाएर खायो अरे । एउटाले आफूले भिरेको खुकुरीको दाप मान्छेको छालाले मोडेको देखाएर लगलग पारेको थियो । दुईतीनजना आइमाई मात्र भएको त्यो खड्केको बाबुको आफन्तको घरमा डिनर खुबै इज्जत र मानमनितोसित कुख्राको मासुभात खान पाए पनि रात भने तर्सेर बितेको थियो ।

रातभरि घरि मान्छेहरू चित्कार गर्ने, घरि गुरूरू कुदेर जाने, घरि साईसाई र सुईसुई सिटी बजाउने ! त्यहीमाथि, हामी जाने भनेको इलाम खड्केको बाबुले भनेजस्तो नजिक नभएको तथ्य उनीहरूबाटै चाल पायौं । हामी दुई एक सरो लुगामा मात्र हिँडेको देखेर उनीहरू छक्क परे । हामीलाई टिट्ठाए। जङ्गलको बाटोमा बाघभालू भेट्ने, लूटपाट हुने कुरा गर्दा हाम्रो हंसले ठाउँ छोडेको थियो । तर हामीलाई खड्केको बाबुले ढाँटेकोमा हुनुसम्मको रिस उठे पनि हामी किञ्चित पनि विचलित भएनौं । हामीले नेपाल गएरै छाड्ने निर्णय लियौं । भोलिपल्ट बिहान तीन बजेनै उठेर उनीहरूले एक झोला सुख्खा रोटी पोलिदिए । खाना खाएर हिँड्दा एक जर्किन कोदोको जाँड पनि बाटोमा तिर्खा लाग्दा खानु भनेर छानिदिए । हामीले बिहानको चार बजे नेपालको यात्रा शुराम्भ गरेका थियौं ।

त्यहाँदेखि पहिला उकालै उकालो बाटो थियो । ताजा जोसमा केही नभनी उकालो काटियो । घाम झुल्केपछि गाउँ छोडेर सिंगलिला फोरेस्ट रेञ्जको बाटो शुरू भयो । पुड्को भन्दा साँडे चार फिट अग्लो, बस्तीमा ढुङ्गामाटोसँग लडेर लठारोजस्तो बटारिएका खुट्टाको भरमा खड्केको बाबु राम्रै म्याराथन दौडेजस्तो दौडन्थे ।

हामी उनलाई भेट्न जति छिटो  दौडन्थ्यौं उति छिटो उनी दौडन्थे । कोही बेला उनी बिसाएको जस्तो गर्थे तर हामी पुग्दा उनी जुरूक्क उठेर दौडिहाल्थे । हाम्रो मुटु पल्टन्थ्यो । खड्केको बाबुलाई त्यसरी पच्छ्याउँदा हामी दुई हत्तुहैरान भएका थियौं । हामी अलिक विस्तारो जाँउन भन्थ्यौं। उनी रिसाएर भन्थे –‘नाथु,केटाहरू ! कन्डोमा जाँतो झुन्डाको छस्? जाँठाहरू, एसोरी कन्डो बङ्गाएर हिँडिस् भने भोलि पनि पुग्दैनस्।’

खड्केको बाबुको बोलीपिच्छे गाली हुन्थ्यो । वास्तवमा, उनी गालीबिना बोल्न सक्दैन थिए ।  हामी पनि गालीकै भाषामा जवाब दिन्थ्यौं अनि मरिमरि हाँस्थ्यौं । हामीहरूले जङ्गलबीच एक ठाउँमा बसेर एक झोला रोटी र एक जर्किन जाँड पूरै सोड्कायौं । जाँडको मातले आधाकरे भएपछि जर्किसर्किन फ्याँकेर ओरालो, उकालो, पाखा, भीर, नागी, जङ्गलसङ्गल केही नभनी दौडेर नै दिनको एक बजी सन्दकफू जाने बाटो कालीपोखरी निस्कियौं ।

सन्दकफू जाने चीसो उकालो ढुङ्गेनी सडक काटेपछि हामीले नेपालभूमि टेक्यौं । अब उता गाउँको बाटो शुरू भयो । घरि ओह्रालो, घरि उकालो, घरि तेर्सो गावैगाउँको बीच चिरिएर गएको बाटो अघिको जङ्गलको हेरी धेरै सुगम थियो । मैकैका बोटहरू कम्मरसम्म आउँने भइसकेको थियो। हाम्रैतिरकाजस्ता सिरूका घरहरू थिए । पार्श्वमा न्याहुलका हूल चिच्चाउँदै थिए । तर हामीलाई तबतब पीढाबोध हुन्थ्यो जबजब आँगनमा उभेर हामीलाई चिहाउँदै गर्ने उमेर पुगेका केटीहरूको शरीरको एक धरो कपडाले आफ्नो लुकाउनु पर्ने अङ्ग ढाकछोप गर्न असमर्थ देख्थ्यौं।

गरिबी हाम्रोतिर पनि नभएको होइन तर यति विभत्सगरि एक धरो इज्जतको लाउन नसक्ने त थिएन। उता एकसुरमा दौडिरहेको खड्केको बाबुलाई डाँडा काट्दैपिच्छे ‘अब कति छ?’ भनेर हामीले सोध्दा, पारिको डाँडा देखाएर भन्थे– ‘जाँठा,एस्तो अझै नौ डाँडा काट्नुपर्छ’ । सुनेर भीम र मेरो नौ नाडी गल्थ्यो। त्यतिबेलै हो, त्यो ‘नौ डाँडा पारि छ कम्पनी शहर’ गीतको बोलमा रहेको नौ डाँडापारि भनेको कति दूरी हुन्छ अनुभव गरेका थियौं।

 अहिले गुगल मेपमा हेर्दा हामी कालीपोखरी, माइमझुवा, माबु, प्याङ, जमुना, सुलुबुङ, सम्बेक, बार्बाटे, साखेजुङ हुँदै रातको नौबजी इलाम र फिदिमबीचको पुवा खोला भन्ने ठाउँमा पुगेका थिएछौं । बर्खाको गड्गडाउँदो पुवा खोलामाथिको पुल तरेर त्यो सानो पुवा खोला बजारमा हामी पुग्दा झरीले लुथ्रुक्क भिजेका थियौं । बाटोमा कति जोड्ले पानी परेको थियो त्यसको तीब्रता त्यहाँ पुगेर मात्र हामीले अनुभव गरेका थियौं।

हामी त्यहाँ एउटा दुईतल्ले सिरूको होटेलमा शरण लिन पुगेका थियौं जसको भुईंतलामा रेस्टुरेन्ट र माथिल्लो तलामा लज थियो । रातको नौबजी सकेको भए पनि त्यहाँ चारपाँचजना ग्राहकहरू अझै रक्सी खाँदै थिए । थकान र भोकले चूर हामी केही नहेरी खाना खान तयार भएका थियौं । त्यहाँ भएका चारपाँच जनामध्ये एकजना टोपी, दौरासुरूवाल, कोट लाएका सुकिलो व्यक्तिले हामीलाई हेपेर सोधे – ‘तिमेरू काँबाट आका?’

‘सिक्किमबाट।’  हामीले नम्रतापूर्वक जवाब दिएका थियौं ।

तिनी मातेका रहेछन् । उनले हियाएर हामीलाई हेरिरहेका थिए । तिनले आफ्नो परिचय दिए – ‘म यहाँको उपप्रधान पञ्च हूँ । उपप्रधान पञ्च भनेको मन्त्री बराबर हो बुजिस् । अहिले म खानेपानी मन्त्रीसँग बैठक बसेर आको।’

तिनले फेरि सोधे –‘तिमेरू काँबाट आका रे ?’

       ‘सिक्किमबाट।’  हामीले फेरि भन्यौं ।

       त्यति भनेर भोकाएका हामी खाना खानु थालेका थियौं । अझै थाहा छ, खानामा पहेलीं दाल देखेर हामी हुनसम्मको आनन्दित भएका थियौं । तर हामीले खाना खाइरहँदा पनि त्यो मान्छेले बाराम्बर त्यही ‘तिमेरू काँबाट आका ?’ भनेर प्रश्न गरिरहँदा हामी सबैको टुप्पी रिसले हुनसम्म तातेको थियो । तर नयाँ ठाउँ, त्यहीँमाथि भोक र थकानले शिथिल भएका कारण हामीले प्रतिकार गरेका थिएनौं । उनी भने एकोहोरो हामीमाथि खनिन लागेका थिए । पहिला खाना खाइसकेर उठ्नलागेका खड्केको बाबुलाई कड्केर उनले सोधे –‘बाजे, तिम्रो चैं घर काँ परो ?’

       ‘इलाम।’ खड्केको बाबुले आँखा तरेर जवाब फर्कायो ।

       खड्केको बाबु नागरिकता बनाउन आएको चाल पाएपछि त्यो उप प्रधान पञ्च अझ कड्क्यो – ‘तिमी देश माया मारेर गइसकेको मान्छेलाई किन नागरिकता चाहियो हँ ?’

तिनी मातेका भए पनि तिनको प्रश्न भने नितान्त जायज थियो । अब अघिनै रिसाइसकेको खड्केको बाबुले हात पो हालिहाल्छ कि भनेर हामी पर्खेर बसेका थियौं । भातसरिको हातले त्यो उप प्रधान पञ्चको टेबलमा हिर्काएर खड्केको बाबु चिच्चायो – ‘चाहियो नि अन्त जाँठा । तँ नाथुलाई किन खसखस ?’

खड्केको बाबुको आक्रामक तेवर देखेपछि तिनी डरलाग्दोगरि हच्किए । तिनी डराएर लुरुक्क भए । हामी दुई खुशीले हाँसेका थियौं । त्यो उप प्रधान पञ्चको सामन्ती व्यवहार देख्दा त्यो समयको नेपालको पञ्चायती व्यवस्था कति शोषक थियो भन्ने अनुमान सहजै लाउन सकिन्थ्यो ।

हामी दुई खाना खाना खाएर के बसेका थियौं, अब तिनी हामीप्रति चासो राख्ने भए। तिनले गोर्खाल्याण्ड आन्दोलनको प्रसङ्ग झिके। खड्केको बाबुको हप्की खाएपछि उनको वाणीमा अपेक्षाकृत नरमपन आए पनि बाट्ठ्याईँ भने त्यतिकै थियो । उनले दार्जिलिङमा सुवास घिसिङलाई भटेर पाँच करोड पैसा सघाएको कुरा गरे । दार्जिलिङका नेपालीलाई कतिसम्म मधिसेले शोषण गर्छ भन्ने कुरा निकाले । नेपालको नेपाली र दार्जिलिङको नेपाली एउटै हो, खून एउटै हो भने अनि त्यहाँको नेपालीलाई दुःख्दा हामीलाई पनि दुःख्छ भनेर भाषण नै छाँटे। हामीलाई भने  सहिनसक्नु भइरहेको थियो र पनि नयाँ ठाउँ भनेर चुपचाप थियौं । उनी कुरा गर्दागर्दै झुल्न थालेपछि बल्लतल्ल हामी सुत्न माथिल्लो तला चढ्यौं । तर राति दर्के झरीमा सिरूको छानु चुहेर भीम र म पलङ यताउता सारिहिँड्दा अघिको पियक्कड उप प्रधान पञ्च पनि आएर पानी सानी केही नभनी एउटा खाली पलङमा गर्लम्म ढलेको थियो ।

भोलि बिहान खड्केको बाबु आफ्नो घर इलाम लाग्यो । उप प्रधान पञ्च पनि उठेर कतिबेला कता लाग्यो थाहा भएन । हामी पनि अब आइहाल्यौं फिदिमसम्म पुगेर फर्कौं भनेर हिँड्न तयार भयौं । हामी दुई होटेल बाहिर निस्किँदा भीमलाई परबाट बोलाउँदै एउटा युवक हाम्रोति रकुदेर आयो । ऊ भीमको सोरेङ स्कुलको साथी रहेछ । हामी दुईलाई नेपालको त्यस्तो अभेगमा देखेर ऊ पहिला त तीनछक परेको थियो, पछि हाम्रो कुरा सुनेर त्यहाँको अनुभव सुनाउन लागेको थियो । ऊ चैं मावली आएको रहेछ जो त्यहीं कतै छेवैमा थियो । उसले हाँस्दै भनेको थियो– ‘यहाँको नेपाली नबुझेर म त बोर भइसकें यार।’

उसको बोलचाल पनि त्यतैकोजस्तो भइसकेको थियो । उसले भन्थ्यो, ‘राति सुत्ने बेलामा बाजेले भन्छ – ‘नाति, टुकी बालेर जाऊ अनि ढोकामा आग्लो लगाऊ ।‘

दिउँसो भन्छ –‘तन्ना घाममा सुकाऊ ।‘

बिहान भन्छ –‘भुजा खान आऊ बाबु ।‘

-हामी तीनैजना मरिमरि हाँसेका थियौं ।

एकक्षण त्यहाँ हाँसखेल गरेपछि हामी दुई इलामतिरबाट आएको एउटा चामल लादेको ट्रकमा चढेर फिदिमतर्फ लागेका थियौं। गाडीमा ड्राइभर, ड्राइभरको पछाडि सिटमा बसेका एउटा नीलो युनिफर्म लगाएको नेपाल प्रहरी र एउटी युवती थिई । प्रहरी अग्ले, हेण्डसम थियो भने केटी भरिएको शरीर भएकी बाइसपच्चिस पुग्दी राम्री तरूणी थिई । फिलफिले कमिज लगाएको हाम्रै उमेरको खिनौरे खलासी केटो भने पछाडि चामलको बोरामाथि बसेको थियो । हामी दुई पनि ड्राइभरको पछाडि सिटमा उनीहरू दुईसँग हाराहारी बसेका थियौं ।

गाडी पुवा खोला बजारमा केहीँ क्षण रोकिएको बेला त्यो केटीको बारेमा ड्राइभरले मिठासपूर्वक कसैलाई भन्दै गरेको सुन्छौं । केटी फिदिमतिरको लिम्बुनी रहिछ। त्यो केटी बेचबिखन गर्ने कुनै युवकको झूठो प्रेमजालमा फँसेर भारततर्फ जाँदै गर्दा काँकरभिट्टामा पुलिसले समातेको रहेछ । त्यो जाली केटा भाग्न सफल भए पनि केटीलाई चैं प्रहरीले उद्धार गरेर एकरात थानामा राखेर घर फर्काउँदै गरेको रहेछ । जीवनमा यो संयोग भन्ने कुरा पनि विचित्रको छ।

हिजसम्म नितान्त अपरिचित त्यो प्रहरी र ती लिम्बुनी केटी आज संयोगले परिचित भएर पनि त्यहाँ काकरभिट्टादेखि पुवा खोला आइपुग्दासम्म प्रेमको गहिरो कुवाँमा डुबुल्की मारिसकेका रहेछन् । सुन्दा कुनै हिन्दी फिल्मको कथाजस्तो लागे पनि सत्य हाम्रो सामुन्ने थियो । शायद हामीले जीवनको अन्तर्यमा हेऱ्यौं भने यो भेट्ने, छुट्ने र छुट्ने, भेट्ने क्रम चलिरहँदो हो। जिन्दगीको गाडी बतासिएर  कावा खाएको बेला ‘ड्बतेको तिन्केका सहारा’ भनेजस्तो संयोगले कुनै अपरिचितको साथ भेट्नु अनि त्यो आफ्नो सबभन्दा प्रिय भइहाल्नुजस्तो जिन्दगीमा सुखद अरू के होला ! हामीसँग हाराहारी बसेकी केटीकै नजीर लिऊँ, जसले हिज यतिबेलासम्म प्रेममा धोखा खाएर आफैलाई हदैको हतभागी ठानिरहेकी थिई होली तर आज अचानक त्यो युवक प्रहरीलाई भेटेर संसारकै सौभाग्यशाली ठानेर अहिले हाम्रो सामुन्ने आनन्दको पराकाष्ठमा रमाइरहेकी थिई । ती युवतीको वियोग र संयोगले भीम र मलाई पनि जीवनलाई नौलो आयामबाट हेर्ने हौसला दिइरहेको थियो ।

हामी चारजना गाडीभित्र थियौं । बाहिर सिमसिम पानी परिरहेको थियो तर दुईजना भने प्रेमको ठूलो झरीमा निथ्रकुक्क भिझेका थिए। केटी प्रहरीको छातीमा समर्पित भावमा ढल्केकी थिई । प्रहरीको दाहिने हात ढाल बनेर केटीको छातीलाई बेर्हेको थियो । केटीले प्रहरी प्रेमीको कानमा केके भन्ने, घरि चुम्मा खाने, घरि अङ्गालोमा बाँध्ने लीला जारी थियो । ड्राइभर घरिघरि पछाडि फर्केर मुस्कुराउँथे । हामीलाई केटौले देखेर होला उनीहरू निसङ्कोच आफ्नै धुनमा थिए । उनीहरू दुईजनालाई देख्दा जन्मजन्मान्तरदेखि प्रेममा डुबेको कुनै लैलामजनुभन्दा कम महसुस हुँदैनथ्यो।

केटीका चिम्से आँखाहरू रोएर सुनिएका भए पनि अनुहार आन्तरिक खुशीले प्रदिप्त थियो । त्यहाँ हिजको पीडाको डाम कहीँ थिएन । प्रेमले मनको सबै मैलो मेट्दो रहेछ । उनीहरूलाई छोडेर हाम्रो कुरा गर्ने हो भने, त्यो बेलासम्म हामीसँग प्रेमको भौतिक आनन्दको अनुभव नभए पनि मनमा भने आदर्श प्रेम यसरी नै अचानक, सहज र प्रगाढ हुनुपर्छ भन्ने मीठो भाव जमिसकेको अवस्था थियो । त्यसैले उनीहरूको प्रेमलीला देख्दा हामीलाई कुनै अश्लीलताको अनुभूति भएको थिएन ।

हिन्दी फिल्मको रिलजस्तो गाडी दौडिरहेको थियो । तल टारमा टिनैटिनको छाना भएको सानो फिदिम बजार देखिँदै थियो, अचानक सडकलाई छेकेर दसबाह्र जनाको हूलले गाडी रोक्यो । गाडी मत्थर के भएको थियो, त्यो प्रेममा डुबेकी केटी प्रेमीको बन्धनबाट फुत्केर आमा भन्दै दौडेर गएर एउटी मुजेत्रो ओडेर सडक छेऊ उभेकी आइमाईलाई अङ्गालो हालेर रून थाली । उनीहरू आमाछोरीलाई घेरेर आइमाईहरू झुरूम्म भए । प्रहरी टोपी मिलाउँदै विस्तारै गाडीबाट ओर्लियो । त्यहाँ भेला भएका केटाहरूले प्रहरीलाई घेरेर खूबै गर्मजोशीको साथ पालैपालो हात मिलाउन थाले । हामी बसभित्र उभेर तमाशा हेर्न लागेका थियौं, त्यतिकैमा गाडी घेल्चेक्क… गरेर अघि बडेको थियो ।

त्यसपछिको शेष यात्रा हामी दुईले त्यो लिम्बुनी केटी र प्रहरीको प्रेमको हेङओभरमा गरेका थियौं ।

सानो फिदिम बजारमा मन नअढेर हामी त्यही दिन इलाममा बस्नेभनेर फर्केका थियौं । हामी इलाम पुग्दा अन्धकार भइसकेको थियो । हामीले पुरै नेपालमा बिजुली बत्ती छैन भन्ठानेर बस पार्क छेउको अन्धेरो होटलमा एउटा सस्तो रूम बुक गरेका थियौं। त्यो रङरोगन नगरेको धसिङ्गारे चारतल्ले बिल्डिङ कुनै बेरोजगार नेपालीको थियो जो त्यतिबेला कुनै खाँडीमुलुकमा वैदेशिक रोजगारको बिल्ला भिरेर ऊष्ण मरूभूमिमा ढाँड पिल्साउँदै थिए।

यता चैं उसको स्वास्नीले डाँडामा पुगेको आफ्नो वैंशलाई क्रिमपाउडरले जगटेर होटेल चलाउँदै थिई । भरै हामीलाई कस्तो बिस्वाद भएको थियो भने नि खासमा बजार चैं अलिक माथि थिएछ जहाँ बिजुली बत्ती झलल बलिरहेको थियो । हामी बसेको तेस्रो तल्लाको माथि होटेल मालिक्नी सपरिवार बस्दा रहेछन् । राति दुई क्वाटर नेपाली रम खाएर सुत्न लाग्दा भीमले बिरही बनेर बाँसुरीमा तान छेडेको थियो। भीम राम्रै बाँसुरी वादक थियो । त्यतिको उमेरमै उसले स्कुलतिर, गाउँघरका कार्यक्रमतिर बाँसुरी बजाएर थुप्रै तरूणीहरूको दिलको धड्कन बढाइसकेको थियो । त्यसपछि घटना के भयो भने, भीमको बाँसुरीको धुन सुनेर वरपर बसेका भारतीय मधिसेहरू हाम्रो रूममा बराम लागेको थियो । सर्केर भीम आकाशमा पुगेको थियो । एकक्षणमा होटेल मालिक्नी र उनको टिनेज छोरी पनि दर्शक हुनु आइदिएर झन् भीमको ढाँडमा पखेटा पनि रोपिदिएका थिए। खुला दैलोभित्र पसेपछि मालिक्नीले दुइटै हत्केला हात्ते पङ्खाजस्तो हल्लाउँदै भनिन्–‘ छ्या हौ, भाइले कति दामी बाँसुरी बजाउँदो रैछ । म त हुरूक्कै भएँ।’

यता भीम हुरूक्कै भइसकेको थियो । उसले सर्किएर झन् कानको मुनिको नसा फुलाईफुलाई बाँसुरी बजाउन थालेको थियो । मधिसेहरूले पनि टेबल ठट्टाउँदै वाह वाह भनिरहेका थिए । ती नक्कली मालिक्नी र हाम्रै उमेरकी छोरीले गीत सक्नु नपाई थप्पडी मार्दै फेरि अर्को भन्दै भीमलाई उक्साइरहेका थिए । मैले भीम र त्यो हाम्रै उमेरकी आँखा ठुलो भएकी केटीलाई विचार गर्दै थिएँ। त्यो केटीको आँखा स्थिर भएर भीमको अनुहारमा अड्केको थियो । उसको फुट्टा सुन्तलाको केस्राजस्तो रसले भरिएको ओंठ भने बेलाबेला स्वतः चल्दै थिए जस्तो कि कल्पनामा कुनै मीठो चीज मुखमा चुहुँदै गरेको होस् । भीमको गोलभेंडाजस्तो आँखा पनि त्यही केटीमाथि खाउँलाजस्तो गरेर खनिएको थियो । भीमले रफीको ‘मैं कहीं तेरे प्यारमें कवि नबन जाउँ ए कविता’ भन्ने गीत बजाउन शुरू गऱ्यो । मलाई त्यो गीतको मुखडा बाहेक उता केही थाहा थिएन तर भीमले त्यो गीतको धुन निकै लामो बजायो जस्तो कि त्यो गीत अक्षरशः उसलाई थाहा थियो जुन कुरा मलाई ताज्जुब लागेको थियो। त्यो धुनपछि छोरीको कर्तुत देखेर होला होटेल मालिक्नीले छोरीलाई लिएर जानलाई उठी । छोरी जानु नमान्दै थिई, आमाले लगभग घिसारेर लगी । मलाई पनि आह्रिसआह्रिस लाग्न थालेको थियो, गएर हाइसञ्चै भएको थियो । उनीहरू गएपछि भीमले बाँसुरी बन्द गरेर मधिसेहरूलाई पनि खेदेको थियो । रूममा हामी दुईजना मात्र भएपछि मैले आश्चार्य प्रकट गरेको थिएँ – ‘तैले लास्ट गीतको धून त सानो लामो बजाइनस् त !’

‘काँ मलाई पनि फस्ट लाइन बाहेक उता केही थाहा थिएन नि । मैले अरू लाइन चैं मनमनमा लभ लेटर लेखेर त्यो केटीलाई सुनाको पो त।’ भीम मलाई हेर्दै मरिमरि हाँस्दै थियो ।

‘अन्त तेरो लभ लेटर त्यो केटीले बुझ्यो ?’

‘किन नबुझ्नु ? आजकलका केटीहरू कम्ति बाठी हुन्छ । मलाई हेर्दै लजाएर कसरी मुस्कुराउँदै थियो, तैंले देखिस् होला !’ भीमले अझै पनि मुख मिट्ठाइरहेको थियो ।

‘केटी पनि कति राम्री नि ! तर आमाले पो रड्डी गऱ्यो हगी।’ मैलै पनि थपिदिएँ ।

‘किचक्नी ।’

भरैभरै गम्भीर भएर भीमले भन्यो – ‘भगाएर लैजाउँलैजाउँजस्तो लागिराको छ ऐ !’

भोलि बिहानैको बसमा चढेर हामी सिलगढी हिँड्यौं। बाटोभरि भीमले त्यही हिजको केटीको कुरा गरेर थकथक मानिरहेको थियो । उसले कुनै नामीगिरामी कविजस्तो प्रतिक, बिम्ब, अलङ्कार प्रयोग गरेर त्यो केटीको सुन्दरताको बखान गरेको सुन्दा म आश्चर्यचकित हुन्थें । घरिघरि ‘फर्केर लिन जाऊँ कि के भन्छस्’ भनेर मलाई सोध्थो पनि । घरि ‘जिन्दगीमा यति सुन्दर केटी पाउँदिन होला’ भनेर हरेसपनि खान्थे। उसको मानसिक अवस्था देख्दा हाँसोसँगै मनमा सहानुभूति पनि जाग्थ्यो । तर उसको चर्तिकला हेर्दैमा मेरो बाटो कटनी मज्जाले भइरहेको थियो ।

राति आठ बजीतिर सिलगडी पुगेर जङ्सनको भुटान होटेलमा भात खाएपछि त्यो नेपालको लिम्बुनी केटीजस्तो कोही अलपत्र परेको केटी भेटिन्छ कि भनेर हामी दुई घुम्दैफिर्दै एसएनटीको बस स्टेन्ड पुगेका थियौं। एसएनटी परिसर सबै बस हिँडिसकेको कारण सुनसान थियो । गेटमा झालमुरीवालालाई घेरेर दुईतीनजना मान्छेहरू उभेका थिए । हामी गेटभित्र पस्यौं । बिजुलीको मद्धिम प्रकाशमा सार्वजनिक पाइखाना बाहिर एउटी साडी लगाएकी  चिटिक्कको आइमाई बसिरहेकी हामीले देख्यौं । छेउमा गएर हेर्दा, गाजल,लिपिस्टिक, पाउडर धसेकी बाहुनीजस्ती ठूल्ठूला आँखा भएकी राम्री केटी थिई !

‘किन एस्तो राति एक्लै बैनी ? कोही साथी छैन ? कसैले अभर पारेर छोडेर गयो ?’ कतै नभएको उद्धारकर्ता भएर मैले सोधेको थिएँ ।

केटी गालाभरि मुस्कुराउँदै उठेकी थिई । उठ्दा केटी मभन्दा एक हात अग्ली थिई । उसले ठूल्ठूला आँखा नचाएपछि घिच्रोलाई झट्काएर भनेकी थिई– ‘ए कान्छा ! यता आना !’

म जान लागेको थिएँ भीमले तानेर गेटबाहिर लाँदै भनेको थियो– ‘भाग, छक्का रैछ !’

मैले त्यसबेलासम्म छक्का देखेको थिइन । छक्का भन्ने सुनेको भए पनि असली छक्का कस्तो हुन्छ मलाई थाहा थिएन । तर त्यो भीमले भनेको छक्काले हामी दुईलाई पच्छाउँदै कराउँदै आउँदै थियो – ‘ए कान्छा, मेरो बात सुन्ना !’

म पछाडी नहेरीमनमनमै कसैले नदेखोस् है प्रभु पनि भन्दै शेरे-ए-पञ्जाब होटेलतर्फ दौडेको थिएँ । अलिक पर एनजेपीबाट आएका होलान्, रिक्सामा सुटकेसको भारीमाथि बसेका दुईजना नेपाली केटीहरू हामीतर्फ हेर्दै मुख छोपेर हाँसिरहेका थिए। मैले यसो पछाडि फर्केर हेरेको भीम त कमिज आँखासम्म उचालेर विस्तारी     हिँड्दै आउँदै पो रहेछ । म मात्रै स्याँस्याँ र फ्याँफ्याँ हुँदै स्ट्रिट लाइटको झलमल्ल प्रकाशमा बेतोडले दौडिरहेको थिएँछु । तर अझै त्यो छक्काले भने कालो फिलाको चेप देख्नेगरि साडी उचालेर मलाई पच्छ्याउन छोडेको थिएन।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया