हस्तक्षेप, अर्को लश्कर र हर्कबहादुर

विज्ञापन

समालोचना

हस्तक्षेपीहरू समाजमा भएको विसङ्गति अनि शोषणलाई काईजेन हेर्न चाहन्छन् अनि समस्या चिन्हित गरेर प्रतिहस्तक्षेप गर्न चाहन्छन् अनि समाजको, समाजबाट , समाजलाई लेखनमा उतार्न चाहन्छन् । तर कुन बिन्दुबाट ? पुँजीवाद, साम्राज्यवाद, शोषण, विप्लव, विस्तारवाद, उपनिवेशवादका कुरा गर्छन, मार्क्सको आधारभूत समाज परिवर्तनको कुरा बाहेक । तर समाजलाई रिप्लेस गर्न चाहँदैनन्। यो पनि यथास्थितिवाद नै त हैन ? इन्द्रबहादुर राईलाई आरोप लगाए जस्तै । यही यथास्थितिलाई  डा. राईले लीला देखे, हस्तक्षेपीहरू प्रतिहस्तक्षेप गर्न चाहन्छन् । तर कसरी ? सायद सुन्तला बारी (horticulture) लाई कृषकले हेरे जस्तै । बोटलाई उखल्न चाहँदैनन् । कीरा लागेको-लागेको हाँगामा हस्तक्षेप गर्न चाहन्छन् । काइजेन् अप्रोच पनि यही हो । के कम्पनीको सिईओका निम्न तहका वर्कर, जहाँ समस्या छ त्यही प्रतिहस्तक्षेप गर्दछ। तर सम्पूर्ण सिस्टमलाई परिवर्तन (रिप्लेस) गर्दैनन् ।


प्रणय शङ्कर


 

मेरो सरोकार कविको राजनीतिसँग होइन

+

 “अर्को लश्कर” कविता सङ्ग्रह विषयमा कहिले सुनेको थिइनँ। सुन्ने मौका नै पाएको थिइनँ सायद। म भर्खर पहाड़ चढ़ेको थिएँ, धेरै बर्षवाद। मिरिक आएर ह्वात्तै कवि हुने मौका पाएँ;  कविको ट्याग पाएँ सायद । ख्याल ख्याल मै मिरिकका कवि सवीर दिलपाली (नुहाङ) अनि मुक्तककार रणजित गुरुङको तत्वधानमा साहित्य सङ्गमको मञ्चमा मेरो पहिलो एकल कविता वाचन सम्पन्न भयो।

कार्यक्रममा अन्य सर्जकगण सँगै राजा पुनियानी विशेष निमन्त्रणामा थिए । कार्यक्रम पछि हाम्रो एकछिन गफसफ भयो साँझमा । गफको बीच बीचमा “अर्को लश्कर” को प्रसङ्ग त उठेकै हो । तर राम्रोसँगले केही ठिम्यानै सकिनँ त्यससमय ।

मिरिकका अर्का कवि विजय बान्तवा ” कैलासी ” -सँग कुरै कुरामा एकदिन भनेछु-, “हन यो राजाको किताब चै कुन हौ “!

” लौ , थाहा छैन, अर्को लश्कर हौ । एउटै हो मोराको, जुलुम छ नी । “

” कैलाशी ” पारामा उत्तर सुन्दा पो थाहा भयो अहो ” अर्को लश्कर ” को त्यस समयको प्रसङ्ग । एकदिन फेसबुक च्याटमा प्रसङ्ग उठाएँ राजासँग ।

 पठाइ दिए पीडीएफ । बिस्तारै पढ्दै गएँ । पढ्दै गएँ । एउटा प्याट्रन बनिँदै गयो । पाठ ( टेक्स्ट)  आफै बिस्तारै बोल्दै जान थाल्यो । म साधारणतय पाठलाई नै बोल्न दिन्छु बेसी। त्यसो गर्दा म भित्रको सर्जक जीवित हुँदै जान्छ । असल  लेखकलाई मार्दै । तर यस पटक कुरा अर्कै छ ।

एकदिन कुरै कुरामा  अर्को लश्कर त अलिक पोस्ट मोडर्न छ त  हौ ब्रो! भनेर प्रसङ्ग उठाउँदा अलिकति हच्किएका थिए राजा। मैले ठिकसँग बुझिनँ कुरालाई त्यस समय। पछि पढ्दा राजाले यस्तो लेखेका रहेछन् हस्तक्षेप-को दोस्रो अङ्कमा, पोस्ट मोडर्निस्म  वा उत्तरआधुनिक धारणा होद डेथ अफ अथर। अर्थात लेखकको मृत्यु। यता चिन्तक इन्द्र बहादुर राईलेलीला लेखनमा यिनै बार्थलाई सूत्रधार बनाएका हुन्। लेखक के साच्चै मर्छ त ?………यो सोंचले विशेष गरेर लेखककोआईडियोलोजिकललेखनदर्शनलाई किनारा लगाउँदछ । उत्तरआधुनिक आँखालाई इतिहास र वर्तमानको विद्रुपहरु नदेखने गगल्स साबित भई दियो लेखकमृत्यु सिद्धान्त।” 

जब राजाले अर्को लश्कर लेख्दै थिए, त्यस समय पाठकको रूपमा म उनको कल्पनामा अवश्य थिइनँ। अर्को भाषामा, कृति लेख्दा हरेक सर्जकले एउटा पाठकको कल्पना गर्दछ, जसमा सर्जकले भन्न चाहेको विषय, मुद्दाको अर्थ त्यसरी नै पुगोस् जसरी उसले चाहेको छ । एउटा कल्पित पाठक । अनि अर्को तर्फ, पाठ साँच्चै हातमा आएर पाठले आफ्नै अर्थ दिइरहेको वास्तविक पाठक । जसलाई वुल्फग्याङ इसरले साङ्केतिक (implied) पाठक अनि वास्तविक ( actual) पाठक भनेँ। म पछिल्लो पङ्क्ति कै पाठक हूँ । किनभने मेरो सरोकार टेक्स्ट सँगको हो । कविको राजनीतिसँग होइन।

कविताले सत्ता परिवर्तन गर्दैन

+

कविता के अनि को हो? यस विषयमा अहिले चर्चा नगरेर, कविताले  समाज अथवा सत्ता परिवर्तन गर्न सकिन्छ भन्ने कथनमा विश्वास नगर्ने पाठक म हुँ, कथनलाई यसलेखमा अघि सार्न चाहन्छु । जब समाजमा कुनै पनि सत्ता परिवर्तनको उथुल पुथुल आउँछ, थुप्रै कारकहरू मध्ये जनमत सङ्ग्रहको एउटा ठूलो आवाज कविता बन्न सक्छ । तर परिवर्तन पछि पुरानो भग्नावशेषबाट निर्मित नयाँ सत्ताको अख्त्यारमा को बस्छ त्यो निर्णय लिने क्षमता कवितालाई दिएको छैन। यसैले सत्ताको खेल चलिरहने छ, हेप्ने हेपिनेको आफ्नै प्रकार। मेरो साहित्यिक चासो पनि यहीँ छ । यसैले कविता सधैं आवाज भएर मात्र रहन्छ । तर यदि कुनै कविता कालजयी बन्छ  भने त्यो कविता भित्रको विचारको कलात्मक अभिव्यक्तिले मात्र हो । तर एउटा कुरा, कविताभित्रको विचार सधैं सबैको निम्ति विभिन्न देश, समय-कालमा समकालीन नै किन रहन्छ त ? हरेक समाजको, देशको अनि प्रत्येक मान्छेको समकालीनताको आफ्नै स्टेज अनि समय हुन्छ । कोही ढिलो, छिटो,  कोही घुमिघुमि त्यही बाटो जीवन भोगाइका समयहरू लिएर हिँडिरहेका हुन्छन् । तर मैले  यो सत्तालाई सत्ताच्युत गरेर असल सत्ता स्थापित गरेर आएको छु” भनेर उभिएको कविता कहीँ भेटेको छैन।

 नेपालमा माओवादी आन्दोलनका सहयोगी कविताहरूले अहिले उनीहरूले चाएकै जस्तै सत्ता के पाए त ? बोल्सेभिक बिद्रोह पछि आएको नयाँ सत्तामा भएको नरसंहारलाई बोल्सेभिक बिद्रोहका सहयोगी कविताहरूले के न्याय दिन सक्छ ?

आधुनिक कविताको नाजी नरसंहारमा मौनधारण, पश्चिममा कवितामा आधुनिकताको प्रणेता इजरा पाउण्ड नाजीसँग संसर्गको आरोपमा थुना परे। के, उनको कविताहरुले यो कुरालाई डिफेन्ड गर्न सक्छ?

विश्वकै सामाजिक सञ्जालले ल्याएको पहिलो बिद्रोह ” अरब स्पिरिङ बिद्रोह ” ट्युनिसियामाबाट शुरू भएर सिरियासम्म आइपुग्दा विश्वले नै नदेखेको नरसंहार ( deish) आइएसआइएसको अगुवाइमा देख्यो । लिब्या, लेबनान इजिप्ट, सिरियाको अहिलेको हाल। ज्ञात होस्, अरब स्पिरिङ विद्रोहको समय सत्ता परिवर्तनका लागि कविहरूले कविता लेखिरहेका थिए ।

 हाम्रै आँगनमा  राजनैतिक  विकास गोतामे  अनि आरबी राईहरूको जाति भन्दा पार्टी प्रतिको कटिबद्धताले उपजाएको विरोधाभासलाई उनीहरुको कविताले अहिले कसरी परिभाषित गर्दछ ?

घिसिङले आफ्नो सत्तामा दबाएको साहित्यिक आवाजको इतिहास हेर्दा घिसिङलाई साहित्यकारको रूपमा कसरी हेर्नु ?

 यसैले सत्ता परिवर्तन कविताले ल्याउने कुरामा कसैको पनि विश्वास डगमगाउन सक्छ । म मात्र यस्तो विचार राख्दिनँ । हस्तक्षेपीहरु पनि यस्तै विचार राख्छन् । हुन सक्छ कन्टेक्स्ट भिन्न हो । मानसिक प्रस्तुतिमा साहित्यको गजबकै रोल हुने हो। अर्को कुन कुरामा प्रष्ट हुन जरुरी भने साहित्यले कहिल्यै भौतिक परिवर्तनका लागि चलाइने सामाजिक आन्दोलनलाई लिड गर्ने क्षमता राख्दैन राख्नु हुँदैन पनि  ( हस्तक्षेप दोस्रो अङ्क) ” ।

१८९० को “जोसेफ बलोच”लाई लेखेको चिट्ठीमा एङ्गेल्सले पनि यै कुरा राखे । टेरी एगिल्टन (मर्कसिजम एण्ड लिटरेरी कृटिसिस्म) मा त्यस कथनलाई यसरी राख्छन् ” The materialist theory of history denies that art can itself change the course of history; but it insist that art can be an active element in such change ” (4). समाज निर्माणका एकाईहरुमा आधार ( base) र सुपरस्टरक्चर (superstructure) का कुरा गर्छन मार्क्सहरू । आधार (base ) आर्थिक एक्टिभिटी हो, समाजमा एकअर्कासँगको आर्थिक एक्टिभिटीको प्रक्रियामा जुन विचार-भावको उद्बबोधन हुन्छ, साधारण भाषामा त्यो नै हो अधिरचना ( superstructure) । सुपर स्टक्चरमा धर्म, कानुन, राजनीति सबै आउँछन् । अनि साहित्य पनि । त्यो नै पछि आइडियोलजी बन्दछ मार्क्सिस्ट भाषामा। समाजको अर्थ थन्त्र ( उत्पादनको प्रक्रिया) कस्तो प्रकारको छ त्यसले निर्धारण हुन्छ -आइडियोलजी ।

यहाँ कविता र कविलाई अलग राख्न सकिन्न । कवि समाज भित्रै कै उपज हो अनि कवि कविताको सर्जक। यसरी समाज, कवि अनि कविता एकअर्काका सम्पूरक हुन । तर हस्तक्षेपीहरू के भन्छन् त? ‘मार्क्सभौतिकवादीले जस्तै वस्तु  हरेक विचारको कोख् ( म्याट्रिक्स) हो विचार हरेक सिर्जन कर्मको कोख हो भनेता पनि  मान्छेले आफैंलाई मान्छे बनाउनु पनि विचार थियो त्यो कसरी भने घर बसाउनु, बस्तीगाउँशहरसमाजसभ्यता बनाउनु पनि विचार थियो मान्छेको आर्थिकसामाजिक अस्तित्व गतिविधि विचार कै उपज हुन्

यो कुरा मार्क्सको भनाईको ठीक विपरीत धुरीमा छ । मार्क्स भन्छन ” मानिसहरूको चेतनामा ( विचारमा) उनीहरूको अस्तित्व निर्भर हुँदैन, तर, यसको उल्टा, उनीहरूको सामाजिक अस्तित्वमा उनीहरूको चेतना ( विचार ) निर्भर हुन्छ ।”  यसर्थ मार्क्सको निम्ति वस्तु (अर्थ तन्त्र, आर्थिक प्रक्रिया) परम सत्य ( absolute) थियो । यसैले आर्थिक स्थिति या प्रक्रियाको आमूल परिवर्तनले नै सत्ता अनि त्यस सँग आउने ( attended) आईडियोलजी परिवर्तनको कुरामा आश्वस्त थिए मार्क्स । तर डा. इन्द्रबहादुर राई झैँ या उत्तरआधुनिकहरू झैं  हस्तक्षेपले कुनै अब्सोलुटेस्म-माथि विश्वास राख्दैन। परम भन्ने थोक केही छैन। सापेक्षिताको सिद्धान्त साहित्यमा लागू गर्दा जे पाइन्छ त्यहीँ अन्तर्वस्तु माथि हिँड्नु हस्तक्षेपको अभिप्राय हो – हस्तक्षेपीहरूले भनें ।

हस्तक्षेपीहरू आक्रोसित साहित्यकारहरू हुन्

+

जो मार्क्सको आधारभूत दर्शनसँग द्वन्दमा छ। हस्तक्षेप देब्रेगामी भएकै भएपनि मार्क्सवादी हो भनेर दावा आफै गरि हाल्न हस्तक्षेपको वैज्ञानिकता हो मार्क्सलेले  तल देखि उभो  ( bottom up )  सामाजिक परिवर्तनको कुरा गरे, ( आर्थिक स्थिति, समाज, राजनीति ) भने हस्तछेपीहरु माथि देखि तल  ( top- down) सामाजिक परिवर्तनको कुरा गर्छन ” ( राजनीति, समाज, आर्थिक स्थिति)

समाजको पुरानो भौतिक ढाँचालाई धक्का दिने, धक्का दिएर लडाउने वा फेर्ने काम राजनैतिक आन्दोलनले मात्र गर्न सक्छ । यस अर्थमा हस्तक्षेपीहरू मार्क्सिस्ट होइनन् । मार्क्स-एङ्गेल्सले साहित्य कलाको विषयमा गहिरो तर्क राखेनन्। उनीहरूको फोकस राजनैतिक अर्थतन्त्र थियो । वर्ग विहीन समाज – परिवर्तनको अध्ययन थियो । तर हस्तक्षेपीहरु राजनैतिक-अर्थशास्त्री होइनन् । राजनैतिक परिवर्तन चाहन्छन् तर राजनेता पनि होइनन्, विप्लवी पनि होइनन्, उनीहरू आक्रोसित साहित्यकारहरू हुन् ।

 फेरि भन्छन्, साहित्यले समाज परिवर्तन गर्ने क्षमता राख्दैन । के हस्तक्षेपीहरू आफ्नै विचारको भुँवरीमा रुमलिएको हो त ? यहाँसम्म आइपुग्दा त, हो  हस्तक्षेपीहरू मान्छन् प्रगतिवाद  भनेको मार्क्सवादी सैद्धान्तिक प्रतिमानलाई मानेर व्यवहारमा गरिने प्यासनेट – अग्रेसिव साहित्य हो।…. हस्तक्षेप व्यापक मार्क्सवादी लेखन नै त हैन न प्रगतिवादी लेखन नैं हो।

मनोज बोगटी अर्को लश्करको सन्दर्भमा लेख्छन् , वास्तवमा राजाका कविता एक स्वतन्त्र  मार्क्सवादी  चरित्रले सम्बोधन गर्ने चेतना संवेग बाट नैं सुरू भएको छ।

 शैलीका क्षत्री लेख्छन्- पुननिर्माण पुन निर्धारण समात्ने  माक्सवादी  दर्शनको परिमार्जित भावमा लेखिएको हस्तक्षेपधर्मी राजा पुन्यानीको अर्को लश्कर।

 

मार्क्सवा हस्तक्षेपीहरूको एक्स गर्लफ्रेन्डजस्तै हो

+

अब हस्तक्षेपको मार्क्सवादसँग कस्तो सम्बन्ध छ त ? मार्क्सवाद हस्तक्षेपीहरूको  एक्स गर्लफ्रेन्ड  जस्तै हो, जसको सम्झनाले घरी घरी हस्तक्षेपीहरू झक्झकी रहन्छन् तर सँगै कहीँ पनि देखिन चाहँदैनन् !

सामाजिक समस्याको निराकरण राजनैतिक अभियानबाटै मात्र सम्भव त्यो अर्थमा हस्तक्षेप समाजको भौतिक परिवर्तनका लागि चाहिने मानसिक प्रस्तुतिको बाटो खुलाउने अभियान हो । अब हस्तक्षेपीहरूले सबैलाई खुलस्त पारुन् त्यो राजनैतिक अभियानको प्रारूप, स्वरूप कस्तो छ या हुन पर्ने ?  उनीहरू समाज परिवर्तनको पथ काइजेनिक एप्रोच अपनाउन चाहन्छन् ।

 काईजिनिक शब्द पुँजीवाद अर्थतन्त्र / व्यवसायमा (ट्योट कम्पनी management) प्रयोग भएको समस्या चिन्हित अनि निदान गर्ने एप्रोच हो । काई ( परिवर्तन) जेन ( असल) जो आफै कुनै पनि परिवर्तनको  बटोम-अप अप्रोच ( bottom-up approach) हो । हस्तक्षेपीहरू समाजमा भएको विसङ्गति अनि शोषणलाई काईजेन हेर्न चाहन्छन् अनि समस्या चिन्हित गरेर प्रतिहस्तक्षेप गर्न चाहन्छन् अनि समाजको, समाजबाट , समाजलाई लेखनमा उतार्न चाहन्छन् । तर कुन बिन्दुबाट ?

 पुँजीवाद, साम्राज्यवाद, शोषण, विप्लव, विस्तारवाद, उपनिवेशवादका कुरा गर्छन, मार्क्सको आधारभूत समाज परिवर्तनको कुरा बाहेक । तर समाजलाई रिप्लेस गर्न चाहँदैनन्।

हस्तक्षेप यथास्थितिवाद हो

+

यो पनि यथास्थितिवाद नै त हैन ? इन्द्रबहादुर राईलाई आरोप लगाए जस्तै । यही यथास्थितिलाई  डा. राईले लीला देखे, हस्तक्षेपीहरू प्रतिहस्तक्षेप गर्न चाहन्छन् । तर कसरी ? सायद सुन्तला बारी (horticulture) लाई कृषकले हेरे जस्तै । बोटलाई उखल्न चाहँदैनन् । कीरा लागेको-लागेको हाँगामा हस्तक्षेप गर्न चाहन्छन् । काइजेन् अप्रोच पनि यही हो । के कम्पनीको सिईओका निम्न तहका वर्कर, जहाँ समस्या छ त्यही प्रतिहस्तक्षेप गर्दछ। तर सम्पूर्ण सिस्टमलाई परिवर्तन (रिप्लेस) गर्दैनन् ।

यो समस्या ( issue ) प्ररक दृष्टिकोण ( approach)  हो। यसरी नै हस्तक्षेपीहरू कविता रेसिस्टेन्सको रूपमा प्रयोग गर्न चाहन्छन् । समकालीन समयमा देखा परेका पोस्ट मार्क्ससिस्ट (हेजेमोनी) अन्तनियो ग्राम्ची, ओडोर्नो, उत्तर-उपनिवेशवाद ( नोम चोमस्की)  सबल्टर्न (गायत्री स्पिभाक) प्रतिरोध ( अरुन्धती रोय वा थोमस डीलान, माया अन्जोलो ) सांस्कृतिक भौतिकवाद ( रेमन्ड वल्लियम) का कुराहरूसँग उभिन चाहन्छन् । यस्तै एप्रोच हामी अर्को लश्कर देख्नमा सक्छौं।

समालोचक रुपेश शर्मा  अर्को लश्कर को सम्बन्धमा लेख्छन्, उत्पीडक सत्तालाई प्रतिस्थापित गरेर एउटा, सुखद बहुजन हितायसत्ताको परिकल्पना राजाको कवितामा भेटिन्न …..सत्तामा आमूल परिवर्तनले मात्र कुख्यात प्रतिमानहरुको परिवर्तन ( प्याराडाइम सिफ्ट) गर्ने सकिन्छ भन्ने कुरामा राजा मौन छन्।

 वस्तावमा हस्तक्षेपीहरू वैचारिक तौर मै सत्ता परिवर्तनको कुरालाई साहित्य देखि अलग राख्छन् । यसैले अर्को लश्करले सत्ता परिवर्तनको कुरा गर्दैन । आधुनिक कविताले टुक्रा टुक्रा ( fragmented) अनि पलायन ( alienated) जीवनको विलाप गरे, उत्तर आधुनिकले यथास्थितिको आत्मसात गरेर सेलिब्रेट गरे, समाधान खोजेनन् । मार्कसिस्टले यथास्थितिको परिवर्तन चाहन्छन्। अर्को लश्कर, काइजेन् ( असल परिवर्तन) हस्तक्षेप गर्न चाहन्छन् अनि परिवर्तनको राजनैतिक माहौल सृजना गर्न चाहन्छन् ।

°

अर्को लश्कर

+

 

लश्कर शब्दले लाम, लश्कर जे बुझाएता पनि यो कुनै भीड होइन । आक्रोशको बिम्ब होइन, उन्मादको लाम होइन, तर एक पङ्तिमामा गइरहेको लामो जमात हो । लश्करमा मान्छे कतिबेला हिँड्छ ? आतङ्कित भीड लस्करमा हिँड्दैन । हर्ष उल्लासमा पनि हिँड्दैन । रिसको आवेगमा भएको बेला पनि हिंड्दैन।  ज्याङ्गो अनचैनड ( Django unchained)  फिल्ममा एउटा सिन छ, अफ्रिकी दासहरुलाई अघि अघि दुई गोराले साङ्लोले बाँधेर हिँडाएको लामो दृश्य ( scene), त्यस लाममा बाँधिएर हिँडिरहेका दासहरुको, निराशा,  हतोत्साहित स्थिति अनि आफ्नै नियतिलाई स्वीकाररेर हिँडिरहेका भाव स्पष्ट देखिन्छ । त्यस्तै अर्को लश्कर आफ्नो गाँस र बाँसबाट पलायन ( alinated ) अगमसिंह गिरीय लामो लश्कर हो । जस्तो कि बिहान कमान ( चिया बगान) मा गइरहेको मर्द या औरतको लश्कर । जो मशिन ( mechanical) बनेका छन् । जो आफ्नै भूमिमा विस्थापित छन् । जो आफ्नै गाँस ( उत्पादन) देखि पलायन ( alienated)  छन् । यो त्यही गिरीय ( गाँस खोसिएको,  बास लुटिएको) भिड हो जस्सँग कवि राजा यहाँ पनि संवादमा देखिन्छन् –

थाप्लोको नाम्लो खिइएर सकिन्छ …… लु सत्तेसत्ते भन्न होस गुमान सिंह

कहिल्ये सोच्न भएको गुमानसिंह

तपाईंको संसार थाम्ने नाम्लोमा यो कसको हस्तक्षेप/ यो कस्तो हस्तक्षेप

( हस्तक्षेप- एक)।

हस्तक्षेप ( दुई) कविता  अर्को लश्कर सङ्ग्रहको अगमसिंह गिरीका  तिमी यहाँ नचिनिने भएछौ पछि लेखिएका सर्वोउत्कृष्ट ( पाठीय पुस्तक पर्फेक्ट) जातीय कविता हो । कविता व्यङ्गात्मक भङ्गीमा सुरु भएको छ।

हन तैंले जित्न नै भुलिसकिस कि क्या हो जेठा?

तेरो कथा भरि तँ हारेकै मात्र छस्

 जेठा शब्द कसैको पनि पहिलो जन्मेको छोरालाई गाउँ बस्तीको लोक लवजमा स्नेह ( patronising ) गरेर प्रयोग गरिएता पनि….गिरीको ” तिमी त यहाँ ” भन्दा भिन्न छ । गिरीको कवितामा ” तिमी त यहाँ ” शब्दले कहीँबाट आएको बुझाउँछ, प्रवासी बुझाउँछ भने जेठा शब्दले सब भन्दा पहिलेको अनि त्यही जग्गा (भूमि) को उत्तराधिकारी बुझाउँछ ।

तँ पनि यो धर्ती कै जेठा छोरा होस   गिरीको कठ कारागारको यातना भोगी विरक्त बन्दी जस्तो , यहाँ पनि जेठा  तेरो गुलाम गिदीले / तेरो कठपुतली जिब्रोलाई / तिनीहरुकै भाषा बोल्न लगाउँदैछ

जेठा, हन भेउ कि छैन हाँ तँलाई?

गिरी अझ अघि भन्छन्, बितेका गौरव गाथा कहन आएको होइन  भनेँ  भने राजा पनि त्यही प्रवाहमा   तेरो कथा भरि तँ हारेकै मात्र छस्  बोल्छन् । दुवै कविले गोर्खाली गौरव गाथाको इतिहासलाई इङ्गित ( allude) गरेका छन् । तर दुई कविताको समानता यहीँ सकिन्छ ।

राजा अझ अघि बढेर, जेठाको युद्ध विजेता इतिहास मात्र कोटाउँदैनन्, यस कवितामा कविले मिथ अनि बिम्बको प्रयोगले एतिहासिक समय देखिनै जेठा आफ्नै बास भूमिको प्रश्नमा अल्झिएको / चिर निद्रामा परेको कुरा उठाउँछन् ।  

तँ हेर तेरो कुम्भकर्ण इतिहास …… तँ कहाँ उभिएको छस् ?

तेरो जहाज कुन हिउँको ठोसमा ठोकिएको ?

राम्ररी हेर , तेरो खुट्टामा ठोकिएको हइकमी काँटीलाई।

पहिलो पङ्क्तिमा टाइटनिक जहाज डुबेको विम्बलाई लिन सकिन्छ भने दोस्रो पङ्क्तिमा यीशुको खुट्टामा काटी परेको बिम्ब पढ्न सकिन्छ । यहाँ जहाज र खुट्टा प्रवाह ( movement)  उन्मुक्तिको विम्ब हो भने,काँटी र हिँउको ठोसाले प्रवाहलाई रोक्ने या डुबाउने अजेय बाधाको विम्ब हो । अनि दुवै एतिहासिक घटना हो, जेठा, हेर गाँठे……अझ एउटा दललाई शताब्दी  त्यसै नपुसंक गल्ना लागेको छस्।  जसरी जेठाको पलायन बचाई यहाँ एतिहासिक छ। त्यति मात्र होइन  वर्तमानको पाठे घर , पिरामिडको मम्मीको गुप्ताङ्ग” ,  नपुसंक जस्ता शब्दहरुको कवितामा प्रयोगले कुनै पनि कुरा यहाँ जीवन बँचाईको आयाम उर्वर नभएको भावको अनुभव दिदछ।

अझ – तेरो भुइँ कतातिर सर्दै ?

…… जेठा, तँ जुवाको दाउ

जता परिस उतैको/ देख्दैछस् के तेरो कथाको अपहरण भएको?

यस पंक्तिले दार्जीलिङ पहाडको राजनैतिक सिमानाको छेड खानीको सिङ्गो इतिहास बोकेको छ। उ यहीँ छ एतिहासिक समय ( कुम्भकर्ने इतिहास) देखि। कुनै समय यो भुइँको सिमाना, नेपालको भूभागमा थियो भने कुनै समय सिक्किममा, कुनै समय ब्रिटिसको अधीनमा थियो भने भारत स्वतन्त्र हुँदा, एकदिनको निम्ति तत्कालीन पूर्व बङ्गाल ( पाकिस्तान) को झण्डा फर्फरिएको हो। केही दिन भगालपुरमा(बिहारमा) गाभिएको थियो भने अहिले पश्चिम बंगाल।

यसरी पहाडको जेठा अनि उसको भुइँको राजनीतिकरण चलिरहेको छ मानो उ कसैको जुवाको दाउ! जसको अनि जता परे त्यतैको ! तर एतिहासिक सत्य जेठा यहाँ कहींबाट आएको हैन । अनि यहाँबाट कहीँ गएको पनि छैन ।

अर्को लश्करभरि कहीं कतै क्लियरकट विद्रोह र जातीय उन्मुक्तिको कुरा छ भने त्यो यही कवितामा छ। गिरी  तिमी तिमी नै हौ की हेर्न आएको  भन्छन भने राजा लु, पानी छम्की

युगौँ देखिको तेरो सुख्खा आँखामा

 जलाइदे तेरो गुलामीका सारा तम्सुक,  खोलिदे! नखोलिएको भतकाइदे दैलोहरू……. पल्टाइदे समयको लेउ लागेको यो इतिहासको चट्टानलाई।

तर यहाँ विद्रोह डिरेक्ट एक्शन नभएर वैचारिक प्रतिहस्तक्षेपको छ ।  च्यात चुत परिदे तेरो गिदी माथिको हस्तक्षेपलाई, त्यसैले कमसेकम सोंच्नु थाल/सोच्नु नै अहिले तेरो लागि मुक्तिको ठूलो सर्त हुनेछ  

जेठा तँ हार्नु हारि सकिस्

सुर्ता अब तैंले जित्न मात्र बाँकी

अब प्रश्न छ जेठालाई किन अर्को लश्करमा प्रतिहस्तक्षेप गर्न पऱ्यो त?

 अर्को लश्कर पढी  सिध्याउँदा त्यस भित्रको घटना- पात्रहरू झण्डै काफ्कीय ( kafkaisk) देखा पर्दछ । यो अर्थमा की काफ्काका पात्रहरू जीवनको ताना बाना भित्र रुमलिएर समाधान बिनाको अनन्त जीवनमा अस्तित्ववादी सङ्कट ( existentialist crisis) मा देखा पर्दछन्। तर फरक यति छ कि विसङ्गति अनि विरोधाभासमा अस्तित्ववादी पात्रहरुले व्यक्तिगत स्वतन्त्रता अनि आधुनिक ब्युरोक्रेसीको भ्रष्ट तामझाम भित्र आफ्नो विसङ्गति बँचाईसँग सङ्घर्ष गरिरहेका थिए भने अर्को लश्करका जेठाहरु शताब्दीदेखि पहिचान , अस्मिता अनि आर्थिक अलिनेशन अनि उन्मुक्तिको सामूहिक जीवन राजनैतिक चक्र भित्र रुमलिएको छ ।

देश बुझ्छ हर्कबहादुर

राजनीतिको कर्तुत ठम्याउन सक्छ हर्कबहादुर

भ्रष्टाचारको शिष्टाचार देख्छ।

हर्क बहादुर सबसब बुझ्छ बुझ पचाउँछ। 

यसैले अर्को लश्करको स्वरमा आक्रोशको आगो छैन । यो कुनै एक्टिविस्ट ” कविको स्वर होइन । उन्मत्तमा राँकिएको भीडलाई दिशा निर्देश दिने बिद्रोहको घोषणा होइन। समालोचक रुपेश शर्मा अनि मनोज बोगटी अर्को लश्कर अराजक देख्छन्। अराजकवादीहरू हिँसात्मक विद्रोहद्वारा विद्यमान कुनै पनि शासक, शोसक तत्वलाई भत्काउन चाहन्छन्।  तर अर्को लश्कर अराजक होइन।

 बरू iconoclast हुन सक्छन् ! स्थापित प्रतिमान (image) चहान्छन् ।

कविता हस्तक्षेप मा

आगो बाल आगो!

यो कविता होइन

नारा हो नारा दलसिंह!

स्पष्ट एक्शनको आह्वान भएता पनि कविताको  अन्तिम पङ्क्तिले बोल्छ।

विचारमा तिम्रो हस्तक्षेपको आगो बाल

तब मात्र तिनीहरूको हस्तक्षेप डढेर खाक हुनेछ दलसिंह

 द मिथ अफ सिसिपस्- मा जीवनको बचाई आधारभूत रूपमा विसङ्गति ( absurd) छ, बताएका छन् अल्बर्ट कामुले । छोटकरीमा, उनी मान्छन् हामीले यस संसारबाट के चाहन्छौं (order) अनि के पाउँछौ ( chaos)  त्यहाँ आधारभूत द्वन्द छ । जीवनमा हामीले चाहेको अर्थ ( meaning) कहिले पाउने छैनौं । यसर्थ हामीसँग दुईवटा बाटो छ । की हामीले ईश्वर माथि आस्था राखेर जीवनको अर्थ पहिल्याउन पऱ्यो या जीवनको कुनै अर्थ, उद्देश्य छैन भनेर आत्महत्याको बाटो रोज्नु पऱ्यो । अब यी दुईवटै बाटो नपहिल्याउनेको जीवन बेअर्थ को हो त ?

सिसिपस  कामुको संसारमा विसङ्गति जीवन सङ्घर्षको आदर्श नायक हो । जो सफलताको निम्ति अनन्त सङ्घर्षमा होमिए पनि तर उसलाई सफलता कहिले हात लाग्ने छैन । उसले एउटा ठूलो डुङ्गा पल्टाउँदै पहाड़सम्म चढाउनु पर्ने छ तर त्यो ढुङ्गा फेरि पल्टेर फेदमा नै आउने श्रापमा अल्झिएको छ। उसले यही प्रक्रिया जीवन भर दोहोऱ्याई बस्न पर्ने छ । यस्तै अवस्थामा अस्मिताको लामो आन्दोलनमा जाति यहाँ होमिएको छ। बारम्बार असफलता अनि राजनैतिक हार हात लागेकोले सम्पूर्ण जाति नै शिथिल बनेको छ ।

हर्क बहादुरलाई के भएको हो अचेल कुन्नि..

हर्कबहादुर को बाक्के बसेको छ। केही बोल्दैन।

हन हर्कबहादुरलाई चिमोट्दा पनि दुख्दैन !

कसैले कुल्चिँदा आईय्या सम्म भन्दैन के भएको  त्यस्तो? ” ( हर्कबहादुर चार)

पाश्चात्य संसारमा हेर्ने हो भने प्रत्येक सामाजिक,  राजनैतिक उथुल पुथुल पछि वैचारिक, दार्शनिक, कला साहित्यिक विचारधारामा परिवर्तनको लहर देखा परेको छ । पहिला समाज परिवर्तन भए । समाजको अन्य भागमा प्रभाव देखियो । त्यो प्रभाव देखाउन नयाँ बिम्ब अनि भाषा लिएर साहित्य देखा पऱ्यो । फ्रान्सेली बिद्रोह पछि विश्व साहित्यमा रोमान्टिसिज्म देखा परे , पहिलो विश्वयुद्ध पछि आधुनिकता अनि दोस्रो विश्व युद्ध पछि उत्तर आधुनिकता हुँदै एउटा लिनेअर ( linear)  प्रगति देखिन्छ। दार्जिलिङ भेकमा आर्थिक एकाई चिया गाछ, सिन्कोना बगानको जग बसाई सँगै माइग्रेशन, आर्थिक शोषण, गाँस र बाँसको पलायन ( alienation) भूमिहिन बोधको प्रश्न तड्कारो छ । अहिले सम्म पनि – हाम्रो सामूहिक बँचाईमा कुनै परिवर्तन छैन ।

 जोस ( excitement ) छैन । यहाँ हामी एउटै जीवन बँचाइलाई भिन्न आयामबाट हेर्ने कोशिश मात्र गरिरहेका छौं । गिरी अनि साथीहरूले चेप्टो भएर हेरे ( आरोप लागे) । इन्द्र बहादुर भ्रममा आइपुगे (आरोप लागे), किनारीकृतहरुले ” हामी त किनारमा रहेछौं” को कुरा गरे । समावेसीहरुले ” हाम्रो त कुरै आएन  यो महाआख्यानमा’  भन्दैछन् अहिले। हस्तक्षेपीहरुले फुटाउन पर्छ यही जिन्दगीलाई हस्तक्षेप गरेर ! एउटा गहिरो सत्य भनौं, यहाँ आधारभूत जीवन बँचाईको प्रकार अनि आयाममा कुनै परिवर्तन छैन । एउटा चिया गाछलाई सोध्नुहोस् तीन पुस्ताको पसिनाले उ सिचिएको कथा कथ्ने छ ।

( उसको कथित उमेरले उसलाई स्वस्थ जवान देखिएपनि देखिए झैँ युवा तन्दरुस्त थिएन उसको बर्थ सर्टिफिकेटमा उसको उमेरले थुप्रै दसक पार गरिसकेको थियो एउटा शताब्दी पार गरेको उसको उमेरले थुप्रै सम्भावना खोजेको थियो सुगौली सन्धि हुँदा जन्मेको थियो कि भ्रूण अवस्थामा थियो

 अबिर खालिङ दार्जीलिङ मेटामोरफोसिस ) 

 मेरो बराजुको नाम हर्कबहादुर मेरो बाजेको नाम हर्कबहादुर मेरो बाउको नाम हर्कबहादुर मेरो नाम पनि हर्क बहादुर

 हर्कबहादुर (उन्नाइस) ।

 गाउँको कुनै घुम्ति वा शहरको कुनै मोडमा गुमनाम हर्कबहादुरलाई भेटे यो बद्नाम हर्क बहादुरले सोध्दै थियो भन्दिनु होला ! / नबिर्सी सोधिदिनु होला/- उसले अचेल देख्छ की देख्दैन सपना? हर्कबहादुर (बीस)

यहाँ एतिहासिक हर्कबहादुर अनि वर्तमान हर्कबहादुरको बँचाईमा कुनै फरक छैन । अस्तित्ववादी सङ्कट ( existential crisis) बाँचेका छन् । यसरी बाँचेका हर्कबहादुरलाई झकझाकाउने संवाद/ हस्तक्षेप हो -अर्को लश्कर ।

अब हर्कबहादुरको हो त ? यो बुझ्न अघि यस कुरा हेरिहालौं ।

अर्को लश्करमा चारवटा लश्कर श्रृङ्खलाका कविताहरु छन् । पहिलो लश्करभित्र अझै छवटा श्रृङ्खला कविताका १ ) हस्तक्षेप २) हर्क बहादुर ३) सत्ता ४) कुना ५ ) उज्यालो ६) पछिल्लो बेञ्च बाट अनि हरेक कविताको आफ्नै ५ देखि २० वाट आफ्नै श्रृङ्खला छन्। त्यसरीनै दोस्रो लश्कर मा १) चौकी २) दैलो ३) भित्ता , तेस्रो लश्करमा १) नेपाल २) भुटान अनि चौथो  लश्कर मा १) मन २) बर्खा कविताहरु आफ्नै कविताहरुका श्रृङ्खला लिएर उभिएका छन् । हरेक लश्करका कविताहरु एकअर्कासँग गाँसिएको छ,  अर्को लश्कर  भिन्दा भिन्दै पात्रहरुको कथा होइन तर एउटै पात्रको श्रृङ्खला वा बहुरुप्रदर्शक ( kalesdekopic) कथा हो।

प्रत्येक कविताको इन्स्टलमेन्टमा नयाँ दृश्य देखा पर्दछ । तर जब सानो सानो कविता श्रृङ्खलालाई पढ्दै जान्छौं एउटा ठूलो कथा बनेर हामी सामु देखा पर्दछ । श्रृङ्खला कविता-काव्य आख्यानमा नयाँ कुरा होइन । खण्डकाव्य, महाकाव्यमा कथा भन्ने चलन उहिलेदेखि चलिआएको हो । तर समसामयिक साहित्यमा श्रृङ्खला कविताले सर्जकलाई बेसी ठूलो स्पेस दिन्छ, ठूलो कुराहरूलाई अलग राखेर पनि मसिना कुराहरूको आख्यान ( न्यारेशन ) गर्न स्पेस दिँदछ । एलिजाबेथ बर्रेटले सुन्दर व्याख्या दिएका छन्, हुन सक्छ श्रृङ्खला कविताले घमासान युद्धको वर्णन गर्दै अघि बढिरहेको समयमा पनि, यद्दपि पर्खन सक्छ त्यो एक्लो सिपाहीलाई जसले युद्धमा कुल्चिएको ङ्गली फूललाई हेरिरहेका छन् अनि युद्धले ल्याण्ड स्केपमा परिरहेको असर हेरि रहेका छन्।

अर्का लश्करभित्र परेका कविता श्रृङ्खलाहरुको आफ्नै व्यक्तित्व छ र पनि हरेक कवितालाई गाँस्दै जाँदा पहाडे दार्जिलिङ / हर्कबहादुर को जीवनको एउटा सिङ्गो पिक्चर बनिन्छ।  अर्को लश्कर हर्कबहादुरहरूको श्रृङ्खला कवितामा उत्तरआधुनिक खण्डकाव्य बनिन्छ। ज्ञात होस्, यहाँ उत्तरआधुनिक शब्द जीवनदर्शन बुझाउनलाई प्रयोग गरिएको छैन तर अर्को लश्करको लेखन टेक्निकलाई बुझाउन गरिएको हो । अर्को लश्करमा कवि एक दुई जग्गा आगो लगाउने कुरा गर्छन्, एकदुई जग्गा तपाईंलाई यत्ति अल्छी लगाउँछ की, तपाईंको हड्डी समेत अल्छिले गलाई दिन्छ। मलाई रौं उज्याउने पाठको भागसँग त्यति सरोकार छैन कारण मनोज गिरी, मनोज बोगटी, रुपेश शर्मा अझै अरूले येथेष्ट पठन विपठन गरिसकेका छन् । मलाई सोच्न बाध्य बनाउने भनेकै अर्को लश्करको टेक्स्टको अल्छी लगाउने भाग नै हो । राजालाई मञ्चमा बोलाएर हाथमा माइक्रोफोन दिनुहोस् , “एण्ड द रेस्ट इस हिस्टोरी” भनेँ झै अर्को लश्करका कविताहरु व्यानल ( banal) छन् । ब्यानल शब्दको शब्दकोषमा यस्तो अर्थ छ (  so lacking in originality as to be obvious and boring). यहाँ नै राजाको अर्को लश्करको ब्युटी छ, ओरिजिन्यालिटी छ ।

पाश्चात्य परम्परामा जीवन सँगै लेख्ने टेक्निक पनि उत्तरआधुनिक छन् । अर्को लश्करमा   परम्परा अनि समसामयिक  साहित्यिक तत्वको नवीन प्रयोग भएको छ। । विषय वस्तु प्रगतिवादी/प्रगतिशील अनि लेख्ने टेक्निक उत्तरआधुनिक । यो नै अर्को लश्करको नवीन प्रयोग पनि हो। अनि राजाको साहित्यिक हस्तक्षेप ( iconoclasm) । कसरी हेरौं त ।  ब्यानल  शब्द खसालेर (pejoretive) अर्थमा हेर्ने  छैनौं । अर्को लश्करका कविताहरु दोहोरिएको ( repetative) छ, एउटै ईमेज घरिघरि हरेक कवितामा आइरहन्छ, ओरिजिनल छैन। एउटा साधारण पुरुष, आधाबैँसे, समय अनि देशदेखि पलायन, व्यवस्थाले शोषित, दमित, आवाज विहिनको छवि । प्रगतिवादी धारामा यो पात्रको एउटा लामो परम्परा छ । गिरीले यही छविको प्रयोग गरे, प्रगतिवादीहरूको एउटा परम्परा नै छ, हस्तक्षेपीहरू पनि यही चलाउँछन् । अर्को लश्करमा त झण्डै ” अण्डी वारहोल” का उत्तरआधुनिक ” appropriation pop art ”  जस्ता छन् । अनि त्यसको बहु (मल्टिपल) सृजना। यसपछिको विचार तपाईंलाई झकझकाउनु होइन। विद्रोहमा उठाउनु होइन।

अन्डी वारहोलले सुप क्यान् (soup can) को पोर्टेट बनाए । थुप्रै (मल्टिपल ) प्रकारको पोर्टेट। उपभोक्तावाद, फास्टफुड, बजारीकरण, मास प्रोडक्शन आदिका विचार-बिम्ब देखाए । अर्को लश्करमा  हस्तक्षेप, हर्क बहादुर अनि सबै कवितामा एउटै प्रकारको कविताको लश्कर छ। झट्ट हेर्दा के सारो वाक्क लाग्दो एउटै को अनुभव दिने खालका कविताहरू छन् ।

यो नै उत्तरआधुनिक पप आर्टको टेक्निक हो । तपाईंको घटना बिनाको ( uneventful) जीवन माथिको चिन्तन हो । अन्तरपठन (Intertextuality) अनि परोक्ष उल्लेख (allusion) का टेक्निक पाइन्छ । हामी एकदमै इन्टर कनेक्टेड संसारमा छौं । सूचना, विचार अनि अनुभवको साझा यति तरल ( fluid) भएको छ कि कसको ओरिजिनल कस्को नकल ( imitation)  बुझ्नै सक्दैनौं । हामी माझ गाउँ माथिको कविता यति छ कि, को हो सुरुवातमा लेख्ने…कसको ओरिजिनल कसको नकल ( Xerox) छुटाउनै गाहरो छ । अनि यो गलत होइन। नकारात्मक दृष्टिमा हर्दैनौँ । झट्ट हेर्दा एउटै लागे पनि उत्तर आधुनिक टेक्निकमा यसलाई पाठको बिपठन-अन्तर्पठन मान्न सकिन्छ ।

 अर्को लश्करमा हरेक कविताको आफ्नै श्रृङ्खला छ । यहाँ आफ्नै पाठको अन्तरपठन मात्र छैन, प्रगतिवादी परम्परामा लेखिएको सबै हर्कबहादुर -पाठको अन्तरपठन पनि हो । अन्तरपठन (intertextuality)  पछिको विचार के हो भने कुनै पनि पाठ अघिको पाठहरू सँग जटिल सम्बन्धमा गाँसिएको हुन्छ। कुनै पनि पाठ आफैंमा पूर्ण हुँदैन तर सबै पाठले आफू अघि आएका पठीय विचार अनि संस्कृतिबाट प्रभाव भएका हुन्छन् । उत्तर संरचना जुलिया कृष्टेवाले सुरू गरेको शब्द अन्तर्पठन ( intertextuality) ले पाठले अघिको पाठहरुलाई इङ्गित ( convocation ) गरेर

आफैंमा नयाँ अर्थ सृजना मात्र गरेका हुँदैनन् तर अघिको पाठको पनि नयाँ , खुलस्त रूपमा अर्थ दिई रहेका हुन्छन् ।

 पछिल्लो बेञ्चबाट  सम्पूर्ण कविता श्रृङ्खला नै  बा पाठसाला जान्न / इतिहास पढाइन्छ त्यहाँ मरेका दिनहरूको  हरिभक्त कटुवालको  रहर  कविताको अन्तरपठन मात्र नभएर रहर  कविताको विनिर्माण पनि हो।  कुना   कविता  कौशिक मुखर्जी  भारतमा प्रतिबन्धित कल्ट फिल्म गाण्डु बाट अनुप्रेरित छन्, कवि आफै भन्छन्।  यो पनि अन्तरपठन हो । यति मात्र होइ शोषितको सोच नै शोकको सबै भन्दा धारिलो हतियार हो। (स्टिभ) बान्तु विको  (हस्त क्षेप दुई)

बेलुकी पिढिमा बसेर

बिडी तानी सके पछि

नारायण गोपालको  पर्खिबसे  गाउँछ हर्क बहादुर” (हर्क बहादुर एघार)

(नेपाल तीन) कविता लेखनाथको  पिँजडाको सुगा र रिमालको आमाको सपनाको अन्तरपठनबाट नयाँ सृजना हो। अँध्यारोको एउटा क्षणले हामीलाई अन्धो बनाउने होइन/ हामी कुनै व्यथा बिना मर्ने छौं। -( पाब्लो नेरुदा) नेपाल पाँच) , यहाँ/ कुनै सुरुवात छैन, कसैसँग एउटै पनि दैलो छैन/ बालुवाको हरेक बाटो खोलिणदैछ मात्र त्रास तिर

(पाब्लो नेरुदा- नेपाल आठ) ।

यी सबै अन्तर पठनका उदाहरणहरू हुन। उत्तर आधुनिक कविता( आख्यान) टेक्निक एक परिभाषामा समेट्न सकिन्न । यसमा एउटा डोमिनेट शैली पाइँदैन। आधुनिक अनि त्यसभन्दा अघिका कविताहरू लेखन शैलीमा जुन सौन्दर्य अनि मूल्य लिएर उभिएको थियो त्यस माथि हस्तक्षेप हो । अर्को लश्कर वैचारिक हस्तक्षेप मात्र होइन । कवितामा पाइने उच्च काव्यिक सौन्दर्य अनि शैली माथिको हस्तक्षेप पनि हो ।

कुना   कविता श्रृङ्खला झट्ट हेर्दा  यो कविता नै हो    जस्तो अनुभव दिन्छ । गद्यात्मक मात्र नभएर दिनचर्याको रेकर्डिङ छ, कथा छ । डाईरी, जर्नल जस्तो । उत्तरआधुनिकमा यस शैलीलाई  काव्यात्मक डाईरी, जर्नल ( poetic dairy) मानिन्छ । यहाँ ( कन्सेप्ट) विचारको प्रधान त छ । उत्तरआधुनिक संसारमा परमसत्य ( absolute ) जस्तो केही छैन । सबै सापेक्ष छ । यसैले असल, खराब, हाई, लो, यस्ता शैली केही छैनन् । यसैले अर्को लश्करका कविताहरूमा मिश्रित काव्यिक प्रवाह छ । सुरूमा कविताहरू सामूहिक बचाई माथि हस्तक्षेपी स्वर छन् भने अन्तिम “वर्षा” श्रृङ्खलामा आइपुग्दा त्यों स्वर एकदमै व्यत्तिक्त बन्छन ।” झ्याल”, उज्यालो, ” दैलो”  “चौकी ” श्रृङ्खलामा उत्कृष्ट कविता सृजनाका नमूनाहरू छन् । अन्यमा हाइकु जस्तो कविता छन् भने, “कुना” डाइरी जर्नल जस्तो । यहाँ डोमिनेट स्टाइल छैन।

°

हर्कबहादुर

+

अब हेरौं हर्कबहादुर को हो त !

हर्कबहादुर, नेपाली समाजको दमित हेलितहरुको एक प्रतिनिधि पात्र हो ।

हर्कबहादुरको एउटा थाप्लो छ। त्यो थाप्लो चाम्रो

हर्कबहादुर को थाप्लोमा नाम्लो छ। त्यो नाम्लो बलियो छ।

प्रगतिवादी, प्रगतिशिल लेखनमा हर्कबहादुर पात्रको लामो काव्यिक इतिहास छ । तर अर्को लश्करमा हर्कबहादुर देश र काल देखि पर झण्डै ( transcendental) बनेका छन् । समाजको एक तप्काको प्रतिनिधि मात्र नबनेर – सिंगो दार्जिलिङ वा नेपाली संसारकै प्रतिनिधि बन्न पुगेको छ । हर्कबहादुर शब्द सम्पूर्ण गोर्खे/ नेपाली बँचाई-अनुभूति अनि प्रक्रियालाई नै समावेश गर्छ-अर्को लश्कर।

हर्क बहादुर कसैको नाम होइन।

हर्कबहादुर ङ्गा प्रसाद होइन। हर्कबहादुर अरिबहादुर होइन हर्कबहादुर डा. इन्द्र बहादुर होइनगणेश लाल.. ईश्वरवल्लभघिसिङहर्कबहादुर.. अरूणा लामा .. विमल..होइन हर्क बहादुर एकको नाम होइन हर्कबहादुर कुनै एकको नामै होइन। हर्क बहादुर यी सबैको नाम हो। यहाँ हर्कबहादुर एक लिङ्ग भेद विहिन  ( genderless) विचार  ( concept) पनि हो।

सुश्री हर्कबहादुर राम्री छे। सुश्री हर्कबहादुर दिल्ली ..कलकत्ता..खाडीगएकी.. छैन के भो..? अब जान्छे नी।  हर्कबहादुर झण्डै (Omni present) – धर्मिक, लैगिङ्क, भाषिक, वर्ण देखि पर एउटा सिङ्गो निर्गुण विशेषण बनेका छन् । “अर्को लश्कर ”  मूलतः दार्जिलिङगे गोर्खाली अस्तित्वको चित्रण हो । ८० को दसक पछि सम्पूर्ण जाति नै एउटै ” गोर्खा ” अस्मिताको राजनैतिक लड़ाई लडिरहेको छ । गोर्खाल्याण्ड आन्दोलन छुट्टै राज्यको सङ्ग्राम मात्र नभएर अहिले बङ्गालको उच्चकुलीन वर्चस्व बनाम गोर्खा गौरव- अस्मिता बीचको उपनिवेशी द्वन्दको प्रारूप पनि हो । तर एउटा रहस्य को कुरा  अर्को लश्कर- मा गोर्खा शब्द नै गायब छ। निषेध जस्तै गरिएको छ । अब यसलाई कसरी पढ्ने त? दार्जिलिङ गोर्खा अस्मिताको निम्ति लडिरहेको छ । नेपालले नेपाली, सिक्किमले सिक्किमे, भुटानको नेपालीले ल्होत्साम्पा अनि दार्जिलिङले आफैंलाई गोर्खा अस्मिता अनि चिनारीसँग आफैंलाई सङ्घघर्षरत रहेपनि भारतीय मुख्य भूमिको दृष्टिमा सम्पूर्ण जातिनै हर्क (बहादुर) नसलभेदिय नोमेनक्लेलेचर देखि भाग्न सकेका छैन । बहादुर ( साहसी) शब्दले गोर्खा पराक्रमको इतिहास कुनै समयमा बोकेता पनि अहिलेको भारतीय  परिप्रेक्षमा बहादुर ( दरवान) खसालेर ( pejorative) अर्थ भएर उभिएको छ ।

यो पालि साह्रो है हर्कबहादुर/ हर्कबहादुर अर्थात् बहादुर। यहाँ गोर्खा/ नेपाली तीन धरातलमा चेप्टिएका छन् । अस्मिताको चपेटमा, आर्थिक दुर्निती अनि नस्लभेदकोको चपेटमा । बहादुर शब्दले नस्लभेदिय अर्थ प्राप्त गरिसकेको छ। हामी  बहादुर  रहदैनौं अब/ यो अभिसप्त उपनामको भीरमा झुन्डिएको चिन्डो हामी/ हाम्रो बहादुर  नामको घाउ अब क्यान्सर हुने क्रममा

यस शब्दले हामीलाई देशको मुख्यधारा देखि किनारिकरण (othering) प्रक्रियालाई देखाउँदछ । गोर्खा शब्द लिएर चिन्हारीको आन्दोलन गर्नु पनि दार्जीलिङमा यो बहादुर( दर वान) जातिले पाएको नोमेन्क्लेचर देखि आफैलाई उकास्नु ( redeem) पनि हो ।

यसैले बहादुर शब्दले नेपाल,  भुटान अनि सम्पूर्ण भार भरि छरिएर बसेका गोर्खा/नेपालीको यहाँ किनारीकरण ( othering) प्रक्रियालाई  समेट्छ । यी सबै कुराको पीडा बहादुर शब्दले बोकेको छ । तर अझै एउटा कुरा, अहिले गोर्खा जाति नभएर , जात जात भएर बाँच्न सिकिरहेको समय हो । जाति विभाजित बनेर जात जात भित्रै प्रतिस्पर्धा छ । तर जतिनै टुक्रिए पनि  मुख्य धाराले उसलाई हेर्न दृष्टिकोण बहादुर बाट उम्कन ऊ उम्कन सक्दैन  ।

टाँसी गयो उपकाउनु , राख्नु/ यो बहादुर नामको रञ्च्यासे बिल्ला  यसैले बहादुर शब्द नै अर्को लश्करमा सान्दर्भिक अनि समसामयिक देखा पर्दछ ।

अर्को लश्करको सत्ता

+

अब कुरा गरौं, अर्को लश्करले उठाएको सत्ताको कुरा ।

सम्पूर्ण सङ्ग्रह नै सत्तासँगको प्रश्नमा छ । पुँजीवादी सत्ता , राष्ट्रिय सत्ता , क्षेत्रीय सत्ताको हर्क बहादुर माथिको हस्तक्षेपलाई टेक्निकल्ली स्पष्ट प्रतिहस्तक्षेप गरेका छ्न् । तर ” अर्को लश्कर ” को कमजोरी पनि यहीं छ । 

राजनीति खासमा मान्छेको सोचमा व्यवहारमा आफ्नो अस्तित्वको हमेस्सी दावा गरिरहेको मान्छे खासमा निर्णय नियन्त्रणको सामाजिक समीकरणमा हुन्छ यही हो पावर गेम ( हस्तक्षेप दोस्रो अङ्क) भनेता पनि अर्को लश्कर प्रतिहस्तक्षेपमा स्पष्ट ( obvious) सत्ता देखि अघि ( beyond) जान सकेका छैनन् । राजनैतिक सत्ताको प्रतिवाद मार्क्सवादी/प्रगतिवादी परम्परामा नयाँ होइन । अर्को लश्कर पनि यही परम्परा मै रुमलिएको छ । विद्यामान सत्तालाई प्रश्न गर्नु अनि सत्ता स्थापित गर्ने शक्ति ( powers) लाई नै हस्तक्षेप गर्नु दुई भिन्न कुरा हुन् । काईजेन एप्रोचले सत्ता निर्माण हुन अघिनै हस्तक्षेप गर्छन् । अर्को लश्करलें त्यस्ता शक्ति न देखाउन सकेका छन् न सत्ता ( obvious) देखि उता जान सकेका छन् । अब नयाँ सत्ता कहाँ बनिँदैछ हेरौं । यहाँ हर्क बहादुर विभिन्न बिम्बमा उभिने छ ।

प्रतिरोधको रूपमा कविताको मृत्यु

+

 Death of poetry as resistance , प्रतिरोधको रूपमा कविताको मृत्यु  । कुनै पनि साहित्यमा यो शब्द प्रयोग भएको पहिले देखिएको छैन । यसैले साहित्यिक विचारको रूपमा सर्जक, सत्ता अनि हर्कबहादुर ( जनता) को अहिलेको परिप्रेक्ष्यमा परिवर्तित सम्बन्धलाई हेर्ने नयाँ दृष्टकोणको रूपमा अघि ल्याउने जमर्को हो ।  कसैले पहिलै नै कहीँ प्रयोगमा ल्याएको छ भने मलाई बताइदिनुहोला।   प्रतिरोधको मृत्यु  ( death of resistance )  शब्द साइकोथेरापीमा सर्वप्रथम १९८४ मा स्टिभ डे सहजेरले प्रयोग गरे। यो विचारले बिमारी ( client) अनि डाक्टर ( therapist) माझको सम्बन्धलाई हेर्ने दृष्टिकोणमा आमूल परिवर्तन आयो । मनोविश्लेषणका जनक फ्राइडले प्रतिरोध ( resistance) को विचार मनोविश्लेषणमा चलनमा ल्याएका थिए । उनको भनाइ अनुसार बिमारीले धेरै जसो डाक्टरलाई प्रतिरोध ( resist)  गर्दछन् । धेरै पटक बिमारी यथास्थितिमै बस्न चाहन्छन् । चाहे डाक्टरले जतिनै कोसिस किन नगरोस् ।

 यो विचार हाम्रो उखानमा फ्राइड भन्दा अघि देखि नै चलनमा छ, जस्तो- मादौराले माड खाए पो माड लाग्छ! जहाँ विभिन्न therapeutic टुल्स्को उपलब्धिले वर्तमानमा क्लाइन्टले थेरापिस्टलाई प्रतिरोध ( resist) गर्न सक्दैन भनेर सहजेरले  प्रतिरोधको मृत्युको कुरा गरे भने ठीक त्यसको विपरीत कविताले जसको( हर्कबहादुर) विषयमा प्रतिबद्धता देखाउँदैछ उ भित्र नै यस परिवर्तित संसारमा प्रतिरोधको लक्षण देखपर्दैछ । अब यसलाई यसरी हेरौं । प्रगतिवाद/ प्रगतिशील/ हस्तक्षेपी परम्परामा समाजमा शोषक सत्ता, शोषित हर्कबहादुर, अनि सर्जक छन् । सत्ताले सधैँ आफ्नो शक्ति / वर्चस्व कायम राख्न हर्कबहादुर ( निमुखा, सुबाल्टर्न ) लाई शोषण/दलेर/ बसिभुत राख्छन् यसर्थ कवि/सर्जकले हर्कबहादुर / हेपिएको, प्रति प्रतिबद्धता देखाएर आफ्नो सृजना गर्न पर्छ । अब कवितालाई जसले( सर्जकले) प्रतिरोध ( resistance) को हिसाबमा प्रयोग गर्दैछन् उ दोहोरो मर्कामा परेका छन्। यहाँ सोसियल मास मीडियाको ठूलो भूमिका छ । एउटा (mass surveillance govt) सरकारले टेक्नोलोजीको  सहायताले प्रतिरोध-लेख्ने क्षमतालाई नै निमात्यन्न पार्दैछन् भने अर्को तर्फ जसको कथा माथि प्रतिबद्धता देखाइँदैछ उ आफैले प्रतिरोध देखाउँदैछन् । यो प्रतिरोध दुई सतहबाट काम गर्दछ । सत्ताले हर्कबहादुरको विषयमा बोल्न दिँदैन । सामाजिक सञ्जालको प्रयोगले छानी छानी सरकारले आफ्नो इच्छा अनि समय अनुसार एक्लै छुटाएर प्रतिरोधको आवाज उठ्न नपाई सत्ताले पानी खेदो गर्दैछन् भने अर्कोतर्फ  हर्कबहादुर आफैले बोल्न दिरहेको छैन । किनभने हर्कबहादुर  ट्रोल्स र मिम्स ( trolls and memes) भइसकेका छन् । तर अहिले सामाजिक सञ्जालमा फेक न्युज , धार्मिक कट्टर संस्कृति, आईटी सेल्स,  कोल्टे मीडियाको प्रोपोगान्डाइस्ट एप्रोच , ट्रोल्स र मिम्समा, भाइरल भिडियोमा यति प्रतिक्रियावादी भइसके कि उ आफ्नै सबाल्टर्न ( अवस्था ) चेतना देखि अलग छ।

हिंसाको साधरणीकरण ( normalization) व्यापक छ । सर्वभारतीय परिप्रेक्षमा हेर्‍यो भने, कोविड १९ ले कस्तो माइग्रेन्ट क्राइसिस खडा भयो? त्यसको संवाद मुख्यधाराको मीडियामा त आएन आएन त सामाजिक सञ्जालमा पनि कुनै खासै चर्चा भएन । किनकि अब विश्वका मजदुरहरू, एउटा ( आर्थिक) वर्ग विशेष रहेन । वर्ग चेतना रहेन । अब ऊ हिन्दू मजदुर या त मुस्लिम मजदुरमा विभाजित भइसकेको छ । यसरीनै दलित या आदिवासी, या किसान या प्रवासी मजदुर ( migrant Labor) । या मात्र ऊ नवउधारवाद राष्ट्रवादी अर्थ तन्त्र भित्रको कामदार ( employee) जसले बौद्धिकता हराइसकेको छ । सत्ताको विभाजन अनि शासनको जुन दर्शन थियो अब त्यही दर्शन शोषित (हर्कबहादुर) वर्गमा व्यापक फैलिएको छ । अब हरेक हर्कबहादुर नै सत्ताको सानो सानो( exact mirror image ) बनिसकेको छ ।

शोषितको सोच नै शोषकको सबैभन्दा धारिलो हतियार हो । (हस्तक्षेप दुई)

सामाजिक सञ्जालले वर्ग विशेषमा संवाद निर्माण प्रक्रियालाई निर्मूल बनाई दिँदैछ । सही संवादको सृजना हुन नसक्ने अवस्थामा छ । हालै सुशान्त सिंहको आत्महत्यामा भाई भतिजावादको चर्चा चल्यो, धेरै भाइरल भिडियोहरु आए । तर त्यो संवाद होइन । भाई भतिजावाद ( नेपोटिस्म) माथि कै डिस्कोर्स किन भाइरल भएन ? तर सलमान खान ( मुस्लिम ) विरुद्धको भिडियो किन भाइरल भयो ? करण जोहर ( तेस्रो लिङ्गी/ gay ) को विरुद्धको विडियो किन भाइरल भयो ? त्यसको ठीक चार दिन अघि सुशान्त सिंहको पूर्व म्यानेजर ( नारी) शङ्कास्पद बिल्डिङबाट झरेर मरेको कुरा किन भाइरल भएन ? यो सत्य हो, नेपोटिस्म बलिउडमा गाडेघाउ हो । तर काउन्टर न्यारेटिभ कस्तो आयो ? यो मुख्यधारामा ( हिन्दु- मुस्लिम) चल्दै गरेको डिस्कोर्सको सब टेक्स्ट कै रूपमा भाइरल भयो । खान समूहको दबदबाले बलिउडमा भित्रिय एउटा विद्रोहको अण्डर करेन्ट छ । त्यस विरुद्ध कै रङ लिएर आयो । अब हर्कबहादुरहरु किन होमिए त यो न्यारेसनमा ? यहाँ असल गलत कुरा चर्चा गरिने छैन । तर हामीलाई यो जान्न जरूरी छ । इन्टरनेट/ सामाजिक सञ्जालको समयमा हर्कबहादुरहरु ( users)  डेटा ( data) मात्र हो । Binery numbers मात्र हो । एल्गोरिदम ( algorithm) अनि आर्टिफिसियल इन्टिलिजेन्स  ( A.I) को लागि एक कम्बिनेसन ( combination) । सोसियल इफुलेन्सर ( जसले भाइरललाई म्यानिपुलेट गर्दछ) को लागि प्रोस्पेक्ट ( prospect )। अब हरेक भाइरल कन्टेन्ट ( manipulated) को पछि सत्ताको एउटा उद्देश्य हुन्छ । एउटा आख्यान निर्माण गर्नु । उत्तरउपनिवेशवादी  स्पिभाकले भने सुबल्टर्न बोल्न सक्दैन । अर्थात् हर्कबहादुरले संवाद ( डिस्कोर्स) सृजना गर्न सक्दैन । अर्को अर्थमा यसको अर्थ लाग्छ, उनीहरुको कुरा डिस्कोर्स बनिँदैन । या सुनिदिँदैनन् । ( यसैले सांसद बाहिरबाट मागाउँछन) । अहिलेको परिप्रेक्ष्यमा ” सबाल्टर्नले ”  बोल्न सक्छन् । हरेक विषयमा  सामाजिक सञ्जालमा प्रतिक्रिया दिरहेका छन् । तर के कुरा बोल्न पर्ने हो साँच्चै हर्कबहादुरलाई थाहा छ त ? जे बोल्छन् उसको वर्गको हित र अधिकारको विषय हुन्छ त ? यो चिन्तनको विषय हो ।

तेरो गुलाम गिदी ले/ तेरो कठपुतली जिब्रोलाई

तिनीहरूकै भाषा बोल्न लगाउँदैछ

जेठा, हन भेउ कि छैन हाँ तँलाई।” ( हस्तक्षेप दुई )

अब हर्कबहादुर ( subaltern) आफैलाई ऊ हर्कबहादुर ( subaltern)  हो भन्ने कुरा नै थाहा छैन भने के मधौरालाई माड लाग्ला त? अहिले भारतमा जुन डिस्कोर्स छ, त्यसको मूल आधार बाबरी मस्जिद डेमोलिसन अनि गुजरात दङ्गामा पाउन सकिन्छ । यहाँ क्लासिक उदाहरणको निम्ति  चार पात्रहरुको नाम लिउ। बाबरी मस्जिदको मुख्य गुम्बज भत्काउन सब भन्दा पहिला चढने  तीनजना थिए। तीनजना मध्ये एकले केही महिना नबित्दै आत्माहत्या गरे भने, बलवीर सिंह अनि योगेन्द्र पालले आफूले गरेको कार्यको आत्मग्लानी सहन नसकेर केही वर्षपछि इस्लाम धर्म अपनाए अनि १०० वटा मस्जिद निर्माण अनि जीर्णोद्धार गर्ने प्रण लिएर अनि हालसम्म ९० वटा गरिसकेको कुरा छापामा छ ।

त्यस्तै गुजरात दङ्गामा दुईवटा फोटोले विश्व थर्कायो । दङ्गामा फसेका  “कुटुबुड्डिन अंसारी” हाथ जोडेर ज्यानको भिख माग्दै गरेको रक्तरञ्जित खेलको आइकोनिक ( iconic)  बिम्ब हो भने , अर्को तर्फ ” अशोक मोची ( दलित) ” हातमा रड लिएर सडक बीचमा रातो पट्टी बाँधेर दङ्गा भडकाउँदै उभिएको फोटो।

 अहिले भारतको घृणा र रिसको क्लासिक बिम्ब हो ।” कुटुबुडिन ” अनि “अशोक मिची” दुवै सबाल्टर्न हुन् । दुवै घृणाको आख्यानमा होमिए, एउटा भिक्टिम भएर अर्को  उत्पीडक (culprit) भएर ।  अहिले दुवै दलित-मुस्लिम एकताका काम गरिरहेका छन्। दुईवटै केसमा के भएको हो त ? किन घटनाहरु पछि यी पात्रहरुमा यस्तो परिवर्तन आए त ? दुई वटै केसमा उनीहरूले जुन सत्ताको लड़ाई लडिरहेका थिए त्यो उनीहरुको वर्गको थिएन।

 उनीहरूले आफ्नो भाषा बोलेका थिएनन्। केही वर्ष अघि गुजरातमा मरेको गाईको छाला उतारेको आरोपमा दलित परिवार ( subaltern) माथि गौरक्षक दलद्वारा निर्मम प्रहार भएको विडियो भाइरल भयो। अशोक मोचीले त्यस घटनाको विरुद्धमा अघिबाट आन्दोलनको नेतृत्व दिए। जुन सत्ता निर्माणमा अशोक मोची ( सबल्टर्नले) ले पहिलै सघाएका थिए के अब स्थापित सत्ताले उसको कुरा सुन्छ र ? अब यो समस्या यहाँको मात्र होइन। विश्व कै  परिप्रेक्ष्यमा हेऱ्यो भने धार्मिक बाहुल्यता अनि कट्टरपन्थी आधारमा सत्ता निर्माण हुँदैछ । नवपुँजीवादी चीन अघिनै बाह्य संसार देखि बन्द छ , मानव अधिकार हनन् चरममा छ । यूरोपीय महासङ्घ भित्र दाहिने पन्थी सरकारको दबदबा छ ।

 अमेरिकामा नस्लभेदिया भाषा उत्कर्षमा छ। बर्मा , श्रीलङ्कामा बौद्धहरुले अल्पसंख्यकमाथि अत्याचार गरिरहेका छन्। इस्लामिक देशहरुमा धर्मको नाममा हत्या अनि अल्पसंख्यक माथिको अत्याचार पराकाष्ठामा छ । तर सबभन्दा खतरानाक कुरा राष्ट्रसङ्घ अनि मानव अधिकारवादी सङ्गठनहरू कमजोर हुँदैछन् । 

इस्लामिक देशहरुमा सबै मुस्लिम नै भएपनि इस्लाम भित्रकै  विभिन्न सेक्टमान्नेहरूलाई धर्मको नाम मारिँदैछ । चाइनामा ” हान चिनियाँ ” बाहेक कोई सुरक्षित छैनन् । अमेरिकामा कालेहरू क्रिश्चियन नै भएपनि उनीहरुको चर्चलाई गोराहरु चर्च मान्दैनन्। भारतमा दलित आदिवासी आफैलाई हिन्दू माने पनि सत्ताले राजनैतिक हिन्दू मात्र हो, सामाजिक हिन्दू होइन यसैले जात आधारित हिंसा बढिरहेको छ ।

अब के हर्कबहादुरहरू यहाँ सुरक्षित होला त?

+

जहाँ जहाँबाट हर्कबहादुरहरू पलायन भए आसाम , मणिपुर , बर्मा, भुटान, उसको धार्मिक (afilation) ले गर्दा भएन । तर उसको अनुहारको बनोटले । भुटानबाट पलायन हुँदा हर्कबहादुर ( हिन्दू) नै थिए तर किन भारत/ नेपालमा बास् पाएन ? हर्कबहादुरलाई यो थाहा छ कि? हर्कबहादुरहरूले जून सत्तालाई बलियो बनाउँछ,  जुन दिन त्यो सत्ता हर्कबहादुर माथि नै  हावी हुन्छ, हर्कबहादुर त्यस समय बोल्न सक्छ कि ? अल्टुइसरले भने  “स्टेट अपराटस” द्वारा सत्ताले आइडियोलिजी ( सत्ताको विचार) समाजमा व्याप्त फैलाउँछन् , तर बलको प्रयोगले होइन, हर्कबहादुरको आफ्नै स्वइच्छा-अनुमतिले । यो कुरालाई हामी अर्को तर्फबाट ग्राम्ची हेजीमोनीबाट हेर्न सक्छौँ । सत्ताले जनसमुहलाई हिँसाद्वारा होइन तर परिवार, धर्म-शिक्षा , अनि संस्कृति आदिको बल ( coercion) द्वारा अधीनमा राख्छ । हेजीमोनीमा जनतालाई थाहा नै हुँदैन उ सत्ता ( विशेष वर्गको ) अधीनमा छ । सामाजिक अधिरचनाको उ जुन भाग हो, त्यहीँ बाट उ परिचालित ( manipulated) छ । अब हर्कबहादुर आफै  सवाल्टर्न हो,  मुख्य धाराको परिप्रेक्षमा । अब हस्तक्षेपीहरुले यसलाई वैचारिक तौरमा कसरी हस्तक्षेप गर्ने ? प्रगतिवादीहरूको भाषा लेनिन र माओ मै घुमिबस्ने की ? प्रगतिशीलहरु पनि प्रगतिवादी स्वाइरवाद ( म भन्न मन पराउँछु) मा नै घुम्ने की ? कवितालाई प्रतिवाद ( resistance ) को रूपमा कसरी प्रयोग गर्ने ? नयाँ संवाद कसरी सृजना गर्ने? यदि यसको उत्तर नभए, साँच्चै ” कविताको मृत्यु प्रतिरोधको स्वरको रूपमा निश्चित छ ” ( poetry as a dead voice of resistance is imminent) ।

सत्ताको इतिहास लेखेर बस्ने /

ए इतिहासका कसाईहरू

होस् गर

इतिहास अन्तै कतै बनिँदैछ

जहाँ तिम्रो दस्ते को कलम पुग्दैन

जहाँ तिम्रा झूटा शब्दहरूको बाटो टुङ्गिन्छ

जहाँ तिम्रो सत्ताको मृत्यु गीत गुञ्जन्छ

त्यहाँ, हो त्यहाँ

लेखिँदैछ इतिहास

मान्छेको खुन, पसिना र आँसुले।

इतिहास अन्तै कतै बनिँदैछ

– त्यसलाई देखेर पनि तिमी देख्न सक्दैनौ।

– त्यसलाई मेटेर पनि तिमी मेटन सक्दैनौ। ( सत्ता सात )

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया