तिर्पलको टुक्रा

विज्ञापन

आख्यान

पत्ता लाउँदा दार्जीलिङका कुनै चिया बगानका अङ्ग्रेज म्यानेजरले छोड़ेर गएको पत्रुसँगै आएको थिएछ यो तिर्पलको टुक्रा। मूर्तिकलासँगै चित्रकलाका पारखी अमिर सुन्दास भन्छन् यो कुनै महान् चित्रकारको सृजना हो। समयमा बोल्नेछ यसको मूल्य क्यानभसमा अङ्कित यी चित्रहरूले।


शमशेर अली।


भारतवर्षकै चिकननेक मानिने व्यस्त शहर सिलगढ़ी। ठाउँ मल्लागढ़ी। पुरानो टिनको च्यादरले चारैतिर बारेको मैला झोपड़ी। एकापट्टी मात्रै उज्यालो र हावा छिर्नलाई झ्याल। ढाक्नलाई खुल्ला झ्याल, दुइपट्टीको कानमा डोरी छिराएर अल्झाएको तिर्पलको टुक्रा। अचानक चलेको चैते हुरीले भ्यार…भ्यार,,, उड़ाइरहेको तिर्पलको टुक्रा। नजिकै साइकलको पैयामा उभिएको ठेला गाड़ीमा चिया पसल। सिल्भरको ताप्केमा उम्लन लागेको चिया। ठेलागाड़ीमाथि सजाइएका दुइवटा खस्ता बिस्कुटको बयम। पसलको दुवैपट्टि एक एकवटा काठको बेन्च। बिहानै चिया पिउन आएका बिहारी रिक्सावालाहरू बिँड़ी फुक्दै एउटा खुट्टा बेन्चमा अर्को भुइँमा। सबैको नजर उम्लन लागेको चियाको दूध पानीमाथि।

अघिल्लो रात आसामबाट मूर्तिको अर्डर थापेर बाग्राकोट फर्केका मूर्तिकार अमिर सुन्दास। सिलगढ़ी अबेर साँझ आइपुग्दा मल्लागढ़ी आफन्तकोमा बास माग्न पुगेका। सखारै ब्यूँझदा घरकाहरू सबै मस्त निद्रामा। चियाको तल तल निक्कै, घरबाट बाहिर सड़कमा। उनी पनि बसे रिक्सावाला बसेको लामो बेन्चको एक छेउमा। भने चियावालालाई दिनू एक गिलास आफूलाई पनि। बोलमा भएका काँचका मसिना गिलासहरू कित्लीको तातो पानीले पखाले एकैचोटि चिया पसलेले बिँड़ी तान्दै। एल्यूमिनियमको ट्रेमा गिलास सजाएर भर्न लाग्यो उम्लँदै गरेको चिया छपनीमा तारेर। घुमायो चियाको ट्रे रिक्सावाला र अमिरलाई एक एक गर्दै। मागे अमिरले एउटा खस्ता बिस्कुट चियाको साथी भनेर।

चियापसल ठिक पछाड़िपट्टि रहेको पत्रुवालको झ्यालले आकर्षित गऱ्यो अमिरलाई। हावाले उड़ाउँदै बन्द-खुल्ला हुँदै भ्यार…भ्यार… आवाज आइरहेको थियो झ्यालमा झुण्डिएको तिर्पलको टुक्राबाट। एउटा रिक्सावालाको उड़ाउन खोजेको लुङ्गी पनि दुई घुँड़ाको चेपमा चेपिरहेको थियो। आकाश बादल ढाकेकोले पानी छिट्टाउने आशङ्का पनि थियो वातावरणमा।

बिहारी रिक्सावालाहरू देशको राजनीतिका कुरा भोजपुरीमा गर्दै थिए। अमिर मनमनै हाँसे उनीहरूको कुरो बुझेर। खुशी थिए सबैजना लालुप्रसादलाई जेल हालेकोमा। एकजना रिक्सावाला चाहिँ विरोधमा थिए पल्टुराम चाचा नितिश कुमारको। अमिर सोचिरहेका थिए, सकिँदैन यो बिहारी बङ्गालीहरूसँग। एक कप चियामा घण्टौँ राजनीतिका ठूला ठूला कुरा गर्न सक्छन्। हाम्राहरू भने भावनात्मक कुरोमा डुबेर काटमार, खेद्ने कुरा गर्छन्। उनीहरू कुनै विशेष राजनीति दलका किन नहोस्, परेमा एक हुन्छन्। बिहारी वा बङ्गाली। योबाहेक अरू केही बुझ्दैनन्। हाम्रोहरू ठिक विपरीत।

सबै रिक्सावालाहरू चिया पिइसकेर लागे ग्राहक खोज्न बस स्ट्याण्डतर्फ। रहे अमिर एक्लो बेन्चमा।

चिया बगानमा बस्ने चियाको भोगी अमिर। मगाए फेरि अर्को गिलास चिया। बिहानै चलेको चैते हुरीले एकप्रकारको आनन्द र शितलता प्रदान गरिरहेथ्यो अमिरलाई। हुरी नचलेको भए चैतमा बिहानदेखि गरम हुन थाल्थ्यो सिलगढीमा। दोस्रोपल्ट मगाएको चियाको चुस्कीसँगै पुनः आकर्षित बन्यो अमिर पत्रुवालको झ्यालमा हल्लिरहेको तिर्पलको टुक्रासँग। झोपड़ीको सानो आँगरभरि अँटाई नअँटाई लड़िरहेका थिए टिन फलामका पत्रु, प्लास्टिकका खाली जरकिन, गत्ताको थाक, फुटेको प्लास्टिकको बाल्टी, बोल, नाना धरिका समान। अमिरलाई भने बिघ्नै डिस्टर्ब गरिरहेको थियो झ्यालमा झुण्डिएको भ्यार…भ्यार… हावामा उडिरहेको तिर्पलको टुक्राले। यत्तिकैमा झोपड़ीको टिनको ढोका खोलेर तालु खुइले बिहारी बुढ़ो निस्के। लुङ्गी र स्यान्डो गन्जी, मुखमा दतिवन च्यापेका थिए। एकैछिन पछि एउटी अधवैंशे आइमाई पनि निस्किइन् बाल्टी बोकेर। उनको रातो साड़ीको पहिरन, पुछिएको लतपत रातो टिका र सिन्दुर देख्दा बुढ़ोकै स्वास्नी प्रतीत भइरहेथ्यो। केही पर गएर बुढ़ीले चापाकल थिचिन्। तालु खुइले बुढ़ो मुख कुल्ला गर्दै दतिवन हल्लाए मुखभित्र वरिपरि। मुखसँगै हात गोड़ा सबै धोए। स्वास्नीको निम्ति चापाकल थिचिदिए। बाल्टी भरेर दुवै दम्पति झोपड़ीभित्र पसे। झ्यालमा तिर्पलको टुक्रा हल्लिरहेकै थियो।

चिया पसलबाट उठेर घर पस्दा चिया बनाएर खोज्दैरहिछन् अमिरलाई बहिनी भारतीले। भाइ सोधे अमिरले, ‘कता छ?’ भनेर।

‘सुतिरहेकै छ उठेको छैन’ भनिन् भारतीले।

‘किन खोजेको?’ सोधिन् बहिनीले।

‘ऊ पर पत्रुवाल तालु चिण्डे बुढ़ोलाई चिन्छस्?’ सोधे बहिनीलाई अमिरले।

‘के भयो? किन चिन्दिनँ र राम खिलावन चाचालाई।’ जवाब दिइन् भारतीले।

अमिरले हाँस्दै बहिनीलाई भने, ‘खास कुरा चाहिँ के छ भने नि, त्यो बुढ़ोको झोपड़ीको झ्यालमा एउटा तिर्पलको टुक्रा झुण्डिएको छ त्यो मलाई जसरी पनि चाहियो। मान्यो भने 200 रुपियाँसम्म दिन्छु।’

‘कस्तो तिर्पलको टुक्रा भन्नू त?’ बहिनीले सोधिन्।

‘थोत्रो मैला तिर्पलको टुक्रा हावा पानी छेक्नुलाई उसले झ्यालमा झुण्ड्याएको छ।’ अमिरले बेवास्तासित भने।

‘आँच्ची! त्यस्तो थोत्रे तिर्पलको टुक्रा चाहिँ किन चाहियो तिमीलाई? म पाँच रुपियाँमै ल्याइदिन्छु। कोही बेला त राम्रै कुरो पनि पाउँछ। पोहोर एउटा अँगेटी 30 रुपियाँमा किनेर कालेबुङ आमालाई पठाइदिएँ। उता काम लाग्छ भनेर, कस्तो बलियो थियो।’ हाँस्दै भनिन् भारतीले।

‘ला यो दुइसय रुपियाँ बोकेर जा, ल्याइस् भने भन्छु किन चाहियो त्यो तिर्पलको टुक्रा।’ अमिरले बहिनीलाई पैसा दिए। बहिनी घरकै कपड़ामा फिलिलि कुदेर गइन्। एकैछिनमा तिर्पलको टुक्रा च्यापेर फर्किन् बहिनी।

‘दादा पचास रुपियाँभन्दा कममा दिनै मानेन बुढोले’ भन्दै डेढ़सय रुपियाँ अमिरलाई फर्काइन्।

अमिरले ‘तैँ राख् मिठाई खानू’ भने। बहिनीले नाई नास्ती गर्दै पनि खुशी भइन्।

अमिर चिया चमेना गरेर बिहानको बस पक्रेर फर्के आफ्नो घर बाग्राकोट। काखीमा पुरानो तिर्पलको टुक्रा च्यापेर। अमिर हिँड़िसकेपछि पत्रुवालको स्वास्नी पैसा कम्ति भयो भनेर झमेला गर्न आइछन्। भन्दै थिइन् रे, पचास रुपियाँमा झ्याल ढाक्ने पल्ला कसरी बनाउनु? अमिर भने उनको झ्याल ढाक्ने थोत्रो तिर्पलको टुक्रा च्यापेर हिँड़िसकेका थिए।

अमिर घर पुग्नसाथ ध्वाँसे मैलो तिर्पलको टुक्रालाई केमिकल लगाएर होशियार साथ सफा गरे। कानको दुइपट्टिको प्वाललाई नदेखिने पाराले टालटुल पारे। सफा गर्दै जाँदा तिर्पलको तल्लो भाग दाहिने कुनामा बुढ़ी औँलाको छाप देखे। त्यो ल्याप्चेलाई सफा गरेर जस्ताको त्यस्तै राखे। लगभग सय वर्ष पुरानो ध्वाँसो धुलोले पुरेको तिर्पलको टुक्रा बौरी उठ्यो। तिर्पलको पर्दामा पाँचजना तरूनी आइमाईहरूको एब्सट्रेक्ट आर्ट थियो। तस्वीरको ठिक अघाड़िपट्टि हातले कुँदेर बनाएको गोल आकारको सुन्दर ताँबाको भाँड़ा थियो। चित्रमा दुइजना आइमाईहरू अघाड़ि हाराहारीमा कुम जोड़ेर उभिएका थिए। रहल तीनजना पछाड़ि। उनीहरूका आँखा हेर्दा हर्ष विमर्श मिश्रित थिए।

हिजोआज रेडीमेड क्यानभसहरू प्रशस्त पाइन्छ। पुराना चित्रकारहरूको निम्ति क्यानभस तयारी पार्नु एउटा महत कार्य थियो। एकपल्ट तयारी पारेको क्यानभसले सैकड़ौँ सालसम्म चित्रकलालाई सजिव राख्न पर्थ्यो। विशेष द्रव्य एवं तेलहरूको प्रयोगमा निर्माण गर्थे आफ्नो क्यानभस। अमिरको सामुन्ने रातो र सेतो रङ मिश्रित त्यो अद्वितीय तैलचित्र र क्यानभस जीवन्त उदाहरण थियो। पत्रुवालको झ्यालमा झुण्डिएर घाम पानी झेल्नुसक्ने क्यानभस र तैलचित्र कस्तो होला? आफै विचार्नुहोस्।

पत्ता लाउँदा दार्जीलिङका कुनै चिया बगानका अङ्ग्रेज म्यानेजरले छोड़ेर गएको पत्रुसँगै आएको थिएछ यो तिर्पलको टुक्रा। मूर्तिकलासँगै चित्रकलाका पारखी अमिर सुन्दास भन्छन् यो कुनै महान् चित्रकारको सृजना हो। समयमा बोल्नेछ यसको मूल्य क्यानभसमा अङ्कित यी चित्रहरूले।

अमिर सुन्दासले भेट गरेको अमूल्य उपहार मेरो बैठक कोठामा सजाएर राखेको छु। पर्खिरहेछु यसको मूल्य अन्तर्राष्ट्रिय बजारमा। मेरो र अमिरको निम्ति। अवश्यै उचित मूल्य नपाएकी पत्रुवालाको स्वास्नीको निम्ति पनि।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया