भिजन दार्जीलिङ अनि अनित थापाको भिजनिङ

विज्ञापन

दृष्टिकोण

अब ‘दार्जीलिङ भिजन’ मार्फत दार्जीलिङ पर्यटकको निम्ति preferred destination बनोस्, विद्यार्थीहरुको निम्ति दार्जीलिङका विद्यालय preferred schools बनोस्। बिरामीको निम्ति preferred rejuvenation destination बनोस्। फिल्म सुटिङ को preferred location बनोस्।


 ज्योतिकुमार मुखिया, खरसाङ


कोरोना महामारीको लकडाउन पनि धेरै फलप्रद लाग्यो। विभिन्न सामाजिक सञ्जालमा गोर्खा सम्बन्धित अनलाइन वार्ता, विचार विमर्श सुन्न पाइयो। त्यसरी नै हाम्रो पहाडको समाजलाई चाहिने अन्य विषय पनि सम्बन्धित विषयका स्रष्टा अनि विशेषज्ञको सोच अनि टिप्पणी धेरै आत्म चिन्तनको विषय बन्यो। राजनीतिदेखि लिएर पत्रकारितासम्मको गहन बौद्धिक मन्थन सचेत नागरिकको निम्ति आत्ममन्थनको विषय अवश्य नै हो। टिक टकले दिने मनोरञ्जन जतिको आवश्यक छ हाम्रो मानसिक स्वास्थ्यको निम्ति त्यो भन्दा बढी आवश्यक बौद्धिक विमर्श अनि चिन्तन चाहिएको छ समाज निर्माणको निम्ति। समाज यिनै बौद्धिक चिन्तनले नै विकशित हुन्छ।

गोर्खाल्याण्डको करेन्ट स्टेटस

जोएल राई भन्नु हुन्छ, गोर्खाल्याण्ड अनि गोर्खा शब्दले राजनैतिक परिवेशमा राजनैतिक वैधानिकता पाएको छ। गोर्खा शब्द अहिले हाम्रो पहिचान/ चिनारीसँग जोडिएको छ। तर हामीले अन्य भारतीय समाज अनि बौद्धिक जमात माझ अझ पनि गोर्खा जाति खाँटी भारतीय हुन भन्ने मानसिकता निर्माण गर्न सकेका छैनौं।

डा हर्क छेत्री भन्नुहुन्छ, किन हामी अझ पनि चिनारी विषयमा नै अल्झिरहेका छौं? सरकारले आम नागरिकलाई चिन्ने भनेको, त्यो नागरिक समुदायलाई प्रतिनिधित्व गर्ने सांसद अनि विधायक मार्फत हुन।  यसको कारण मलाई लाग्छ भारतको जुन ठाउँमा हाम्रो मुद्दाको असल सुनवाई हुनु पर्ने थियो त्यहाँ हाम्रो आवाज पुग्न सकेको छैन।

वरिष्ट पत्रकार प्रमोद गिरी पत्रकारिताको महत्व विषय भन्नुहुन्छ,  अङ्ग्रेजी शब्द “डेंगु” लाई आनन्द बजार पत्रिकाले “डेंगी” भनी प्रयोगमा ल्याए। आज डेंगी शब्द आधिकारिक शब्द कोषमा हालिएको छ।

गिरीज्यूको विचार के हो भने यदि मुद्दाको सही ठाउँ अनि सही प्रकारले वकालत गर्नु सकियो भने मुद्दा पार लगाउनु सकिन्छ। मुद्दालाई सही दिशा दिनु पत्रकारिताको ठूलो भूमिका रहन्छ।

 डा. विमल खवास भन्नु हुन्छ, विकास भनेको झोडा बान्नु, बाटो बनाउनु मात्र होइन। जीटीए एकर्डको आधारमा दिइएको अधिकारलाई एउटा फ्रेम वर्कमा बाँधेर काम हुनु पर्छ। यही एकर्ड नै जीटीएको विकाशको रिफरेन्स डकुमेन्ट हुन्। यहाँ नै पाइन्छ विकासका बुँदाहरु/ पाटाहरु।

यी माथिका उद्धरणले के देखाउँछ भने गोर्खाल्याण्डको मुद्दाको करेन्ट स्टेटस राजनैतिक नाफा नोक्सानको मुद्दामा मात्र सीमित छ। हाम्रो मुद्दा अघि नसरेको कारण माथि उद्घृत विशेषज्ञको विचारले धेरै कुरा बुझाउँछ।

पहाडको बदलिँदो परिवेश

कोरोना सङ्क्रमणले हाम्रो परिवेशमा परिवर्तन ल्याएको छ। राजनैतिक परिवेश, आर्थिक परिवेश, सामाजिक परिवेश अझ माथि उक्लेर हेऱ्यौं भने अन्तराष्ट्रिय जियो पोलिटिक्सको परिवेशमा नै परिवर्तन आएको छ। विश्व युद्ध लड्नु कुनै अणुबम फोड्नु पर्दैन। अदृश्य भाइरसको शक्ति नै काफी छ।

कोरोना महामारीले ल्याएको परिवर्तित परिवेश पहाडमा पनि देखा पर्न थालेको छ।  यही परिवर्तित परिवेशमा केही दिन अघि मात्र जीटीए (बीओए) अध्यक्ष अनित थापाले एउटा समारोहमा बोल्दै भन्नु भयो, यदि दार्जीलिङलाई उच्चकोटिको सहर बनाउनु हो भने भिजन लिएर चल्नु पर्छ।   उनले दार्जीलिङ भिजन कमिटी गठन गर्ने घोषणा गर्नु भयो। दार्जीलिङ मात्र नभएर, कालिम्पोङ, खरसाङ, मिरिक भिजन कमिटी पनि आगामी दिनमा गठन गरिनेछ। उनको फेसबुक पेजमा भिजनिङको प्रक्रिया पनि समावेश गरिएको छ।

अनित थापाको भिजनिङ

पत्रकार सचिन चाम्लिङ भन्नु हुन्छ,  वैचारिक मन्थन मुद्दा केन्द्रित बन्नुपर्छ न कि नेता केन्द्रित। जनसरोकारलाई नै प्राथमिकता दिनुपर्छ न कि सत्ता हत्याउने नेताहरूको चलखेललाई। सत्ता ठड़िन्छ अनि ढल्छ। नेता आउँछ अनि जान्छ। त्यति फरक पर्दैन। तर जब मुद्दा केन्द्रित राजनीति सत्ता केन्द्रित बन्नथाल्छ साथै स्थानीय जनसरोकार केन्द्रित राजनीति दलाली राजनीतिमा परिणत हुन्छ तब धेरै फरक पर्छ।

यहाँ आउँछ असली कुरा। गोर्खाल्याण्ड सत्ता केन्द्रित भएको छ कि मुद्दा केन्द्रित? मुद्दा केन्द्रित राजनीतिले सदैव भिजन बोकेर राजनीति गरेको हामी पाउँछौँ। सिङ्गापुरलाई आजको रूप दिने लि कुआन को यो भनाइ सान्दर्भिक छ, मसँग दुईटा विकल्प थिए। पहिलो-म भ्रष्टचारी भएर मेरा शाखा-सन्तानलाई फोर्ब्सको धनाढ्यको सुचिमा पार्ने र मेरा जनतालाई दुःखमै राख्ने। दोस्रो-म मेरो देश र जनताका लागि काम गरेर, मेरो देशलाई धनी बनाउने। मैले दोस्रो रोजेँ।

 अनि उनले विदेशबाट भिक्षा/ दान होइन अपितु विदेशी बिजिनेस लिडर र लगानिकर्ताहरुलाई संसार मै सस्तो र राम्रो वस्तु र सेवा उत्पादन गर्ने सिङ्गापुरको ‘भिजन’ उपर विश्वास दिलाए। त्यसका लागि देशमा आवश्यक वातावरण बनाए। वैदेशिक सहयोगको याचना गर्दै विदेश डुल्ने गरीब देशका सरकार प्रमुखको हुलमा बिजिनेस लगानिको माग गर्ने ली कुआन यु एक्ला थिए। त्यसैले बिजिनेस लिडर र लगानिकर्ताको विश्वास जिते। आफ्नो जनताको सम्मान जिते र अहिलेको सिङ्गापुर बनाए।

कुनै पनि राष्ट्र, संस्था, सहर, गाउँ यहाँसम्म कि परिवारको उन्नति अनि समृद्धिको निम्ति भिजन शक्तिशाली औजार हो। भिजन नै नभएको समाज, संस्था, देश अविकसित हुनु कति समय पनि लाग्दैन। अनित थापाको दार्जीलिङलाई उच्चकोटिको सहर बनाउन भिजन लिएर काम गर्नु पर्छ। जीटीएलाई भिजनेरी मानिसहरूको सल्लाह चाहिन्छ। थापाज्यूको यो वक्तव्य केवल जुम्ला नभएर वर्तमान परिस्थितिको माग हो। सीके श्रेष्ठ भन्नु हुन्थ्यो, तरुल एकपट्टिबाट खन्दा निस्केन भने अर्को पट्टिबाट खनेर निकाल्ने प्रयास गर्नु पर्छ। आजसम्म पहाडले लुटी ल्यायो भुटी खायोको सिद्धान्त अपनाएर जीटीए प्रशासन चलाए। जीटीए क्षेत्रले कति प्रगति गऱ्य लेखा जोखा गर्नु अझ बाँकी नै छ।

गोर्खाल्याण्ड आन्दोलन तुहिनका धेरै कारण मध्ये आन्दोलन भिजनलेस भएर बहकिनु पनि थियो। जहाँ भिजन स्पस्ट हुन्छ त्यहाँ रणनीति तगडा बनिन्छ, नेतृत्व अनि जनता सचेत, नडगमगाउने बन्छन्। उत्तराखण्ड बनिनुमा नेतृत्वको स्पष्ट भिजनको पनि देन हो। आज पहाडमा पनि एउटा नेतृत्वको उदय भएको छ जसले पहाडलाई चाहिएको सोचको कुरा गर्दैछन्। दार्जीलिङ सहरले नयाँ काँचुली फेर्छ नै फेर्छ यदि दार्जीलिङलाई माया गर्ने विद्वान, युवा, विज्ञ , बिजिनेस समुदाय, पर्यटन उद्योग आदि नयाँ सोच, नयाँ सपनाहरू लिएर मैले हेर्न खोजेको दार्जीलिङ बनाउन एकजुट बन्छन। दार्जीलिङ ‘पहाड कि रानी’ भनेर हामी सानो छँदा किताबमा पढ्थ्यौ, अब ‘दार्जीलिङ भिजन’ मार्फत दार्जीलिङ पर्यटकको निम्ति preferred destination बनोस्, विद्यार्थीहरुको निम्ति दार्जीलिङका विद्यालय preferred schools बनोस्। बिरामीको निम्ति preferred rejuvenation destination बनोस्। फिल्म सुटिङ को preferred location बनोस्।

भिजन केवल नेतृत्वको विषय होइन। भिजन तब मूल्यवान बन्छ जब सम्पूर्ण नागरिक भिजनिङ प्रक्रियामा संलग्न बन्छन्। आज अनित थापाले भिजनको बीज रोपी दिएका छन्। हामी सचेत, माटोको माया गर्ने नागरिकले पनि जमर्को कस्नु पऱ्यो। प्रशासन, नेतृत्वलाई झक्झकाउनु पऱ्यो। के थाहा एकदिन ममता व्यानर्जीले दार्जीलिङलाई स्विट्जरल्याण्ड बनाउँछु भन्थी (वास्तवमा जीटीएको प्रशासन स्विट्जरल्याण्डको प्रशासनिक ढाँचामा बनाउँछु भनेकी थिइ)। मुख्य मन्त्रीको मुखमा सरस्वतीको बास भएकै होस्। हामीले अवश्य दार्जीलिङको नयाँ रुप हेर्न पाउनेछौं।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया