अधिक भाड़ा असुले लाग्नेछ पैसा धुतेको मुद्दा

खबरम्यागजिन प्रतिनिधि

दार्जीलिङ, 26 मई 2017


अब दार्जीलिङमा कुनै पनि होटल अनि गाड़ीहरुले पर्यटकहरुबाट अधिक भाड़ा असुले पुलिसले यस्ता होटल अनि गाड़ी चालक विरूद्ध पैसा धुतेको मुद्दा लगाउने चेताउनी दिएको छ। दार्जीलिङमा पर्यटक मौसम शुरू हुनसाथ गाड़ी भाड़ाका साथै होटल भाड़ामा अत्यधिक वृद्धि हुने विषयलाई ध्यानमा राखेरनै आज दार्जीलिङ पुलिसले यहाँका होटल मालिक, गाड़ी सिण्डिकेट अनि टूर ओपरेटरहरुलाई लिएर एक बैठकको आयोजना गरेको थियो। जसमा दार्जीलिङ सदरका पुलिसय डीएसपी सिद्धार्थ दोर्जीले भने-दार्जीलिङका अधिकांश होटल अनि गाड़ीहरुले पर्यटकहरुबाट अत्यधिक भाड़ा असुलेको आरोप आइरहेको छ। यसैले यस विषयमा नियन्त्रण गर्ने उद्देश्यलेनै आज पर्यटनसित सम्बन्धित सबै निकायलाई लिएर बैठकको आयोजना गरिएको हो।

अब जुन होटल अनि गाड़ीले पर्यटकहरुबाट अधिक भाड़ा लिएको आरोप आउँछ, उक्त होटल अनि गाड़ी मालिक वा चालक विरूद्ध पैसा धुतेको मुद्दा लगाइनेछ। यसमाथि अझै कठोर नजर राख्न पुलिसले एउटा टास्क फोर्स पनि तयार गर्ने र उक्त टास्क फोर्सका सदस्यहरुले सादा पोसाकमा होटल, सिण्डिकेट आदिको भ्रमण गर्ने योजना बनाएको पनि दोर्जीले बताए। जसको प्रस्ताव उनले पुलिस अधीक्षकसमक्ष पेश गर्ने भएको पनि बताए।

उनले भने-यदि कसैलाई पनि यस्तो भएको खण्डमा पुलिसको हेल्पलाइन नम्बर 2252057, 2254400 र 2252525-मा सम्पर्क गरेर उजुरी दर्ता गर्न सक्नेछन्। यसरीनै उनले यहाँको ट्राफिक व्यवस्थामा केही सुधार ल्याउन अनि सर्वसाधारण जनता र पर्यटकहरुलाई सुविधा पुऱ्याउनको लागि पुलिसले जू नजिक, लाडेनला रोड आदि सड़कमा केवल गाड़ीहरुलाई यात्रीहरु झार्न मात्रै दिने व्यवस्था गरेको पनि बताए। होटलहरुले पर्यटकहरुबाट अधिक भाड़ा असुलेको आरोप सम्बन्धमा सोध्दा होटल मालिक संगठनका अध्यक्ष साङ्गे भोटियाले भने-यदि होटलहरुले यस्तो कार्य गर्दैछ भने यसको होटल मालिक संगठनले पनि विरोध गर्छ। तर जिल्ला प्रशासन अनि नगरपालिकाले पनि सबै होटलहरुको दर्जाअनुसार भाड़ा दर तय गर्नुपर्छ।

उनले दार्जीलिङमा रहेका 400 भन्दा अधिक होटलहरूमध्ये लगभग 80 प्रतिशत होटल बाहिरकाहरुलेनै लीजमा लिएको र यी होटलहरुलेनै होटलको भाड़ा जताभावी लिरहेको आरोप लगाए। तर अब सबै होटल अनि गाड़ी सिण्डिकेटहरुले आ-आफ्नो भाड़ाको दर टेरिफ सार्वजनिकरूपमा झुण्डाएर देखाउनुपर्ने पनि पुलिसले शर्त राखेको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन