12 जुलाई घाँसी दिवस : घाँसी दिवस सीमान्तीकृतको पक्षधरताभएको अवधारणा- वैरागी काइँला

विज्ञापन

स्टोरी

‘भानुलाई भानु बनाउने घाँसी, 206 वर्षदेखि हरेक जयन्तीमा भानुलाई महिमित गरियो तर छायामा पारियो घाँसीलाई,’ पारसको भनाई छ, ‘ठिक त्यसरी नै यो देशमा हामीजस्ता गोठालाहरूलाई किनारमा पारिएको छ। समाज सेवा गर्ने घाँसी हुन्, त्यसको कथा हाल्ने मात्र भानु। आज भानुलाई सबैले जयजयकार गर्छन्, तर उनलाई कवि बनाउने घाँसीलाई भने बिर्सिन्छन्। किन?’


खबरम्यागजिन डेस्क


2019 को 12 जुलाईको दिन सिलगढीमा दोस्रो घाँसी दिवस धुमधामले पालन गरियो। कार्यक्रमका पोष्टहरू जताजतै देखापरे फेसबुकमा। ज्ञानेन्द्र खतिवडाको पोष्टमा एउटा कमेन्ट देखा पऱ्यो, वैरागी काइँलाको।

वैरागी काइँलाले जब फेसबुकमा घाँसी जयन्ती मनाइरहेको पोष्ट देखे, उनलाई त्यो पहलले तान्यो। उनले भने, ‘गोठमा घाँसी जयन्ती दिवस त नितान्तै नयाँ लाग्यो।’

काठमाडौंमा बसेर दार्जिलिङका गतिविधि चिहाइरहेका वैरागी काइँलाले स्पष्टै भने, ‘सीमान्तीकृतको पक्षधरताभएको अवधारणा ल्याएका छन्  पारसमणि छेत्रीले। सामाजिक, राजनीतिक तथा साहित्य लेखनमा, सोचमा नयाँ धार छ। साधुवाद।’

पारसमणि छेत्रीको विचारलाई काइँलाले काठमाडौं बसीबसी चिने।

काइँलाको साधुवाद पारसको लागि उर्जाको कारखाना नबन्ने त कुरै आएन। काइँलाको ठनाई हो, पारसणमि छेत्रीले घाँसी दिवसकोरुपमा जुन विचार अघि सारेका छन्, त्यो सिमान्तीकृतहरूको पक्षमा छ।

छायामा पाऱ्यौं घाँसीलाई

कसरी छ त घाँसी दिवसले बोकेको विचार सिमान्तिकृतहरूको पक्षमा?

त्यसबारे पारसको विचारतिर जाऔं।

दोस्रो घाँसी दिवसको छेकमा पारसमणि छेत्रीले सार्वजनिक अपिल सार्वजनिक गरे, जो यस्तो छ-
यहाँलाई यो जनाउन पाउँदा हामीले हामीलाई नै भाग्यमानी सम्झेका छौं। भाग्यमानी यसकारण कि हामीले जुन कार्यक्रम गर्न गइरहेका छौं, त्यो तपाईँबाट नै लिएको प्रेरणा हो। हो, यहाँले समाजलाई विभिन्न ठाउँमा विभिन्न चेतनास्तरका मानिसहरूलाई प्रेरणा दिइरहनु भएको छ। यहाँले हाम्रो सुर्ता गर्नु भएको छ। हाम्रो सुरक्षाको लागि दिलोज्यानले लागिपर्नु भएको छ। हाम्रो समाज र जीवनको विकास र रक्षाको लागि निरन्तर योगदान दिँदै आइरहनु भएको छ। हाम्रै भाषामा भन्नु हो भने, यहाँले हाम्रो गोठाला गरिरहनु भएको छ। चाहे जाति होस्, चाहे भाषा होस्, चाहे संस्कृति होस्, चाहे समाज होस्, सबैको सुरक्षा, सम्वर्धन र चिन्ता गर्नु भएको छ। यहाँ हाम्रो निम्ति उत्तरदायी गोठाला हुनुहुन्छ।
हामीलाई लाग्यो, हामीले धेरैलाई भानुभक्त बनाइसक्यौं। हामीले धेरैलाई प्रेरणा दिइससक्यौ। असल नागरिकको उत्तरदायित्व पनि यही हो। तर तपाईं एकक्षण सोच्नुहोस्, यहाँले जाति, भाषा, संस्कृति, समाजको जुन गोठाला गरिरहनु भएको छ, के त्यो कर्मको मुल्याङ्कन भएको छ त? जसलाई भानुभक्त बनायो, त्यो घाँसीको योगदानको कदर भएको छ?
भएको छैन। यसैले यहाँजस्तै चिन्तक, समाज सेवक, राजनीतिज्ञ, लेखक, विचारक, खेलाडी, कलाकार जसले आफ्नो ठाउँमा बसेर आफ्नो विधाक्षेत्रको गोठाला गरिरहनु भएको छ, धेरैलाई समाजमुखी बनाउन घाँसीको कर्तव्य निर्वाह गरिरहनु भएको छ, अब उनीहरूको मूल्याङ्कन हुनुपर्छ। मुल्याङ्कनसितै हरेक क्षेत्रका गोठालाहरू एकिकृत पनि हुनुपर्छ। अब सामुहिकरुपले गोठालाहरू गोलबद्ध हुनुपर्छ। समाज निर्माणमा गोठाला र घाँसीहरू प्रतिबद्ध बन्नुपर्छ। यही सोचेर तपाईँको हरेक योगदानको कदर गर्दै हामीले गोठाला नामक संस्था शुरु गरेका छौं। जसको तपाईँ आफै स्वतस्फुर्त सदस्य हुनुहुन्छ।
हामीलाई लाग्यो, अब गोठालाहरूको संस्थाले कुनै प्रभावकारी र दायित्वपूर्ण पहल गर्नुपर्छ। हामीले त्यो पहललाई घाँसी जयन्तीकोरूपमा व्यवहारिकता दिने सैद्धान्तिक अडान लिएका छौं। घाँसी, जसले भानुभक्तलाई कवि बनायो। कवि बन्ने प्रेरणा दियो। अनि भानुभक्तले लेखे, ‘घाँसी दरिद्र घरको तर बुद्धि कस्तो, म भानुभक्त धनी भइकन आज यस्तो

आजसम्म हामीले 204 औं भानु जयन्ती मनाइरहेका छौं। तर भानु जयन्ती मनाइरहँदा सँधै घाँसीलाई बिर्सिदिएका छौं। जुन घाँसीले भानुभक्त बनायो, उसैलाई हामी किन बिर्सिरहेका छौं? किन हामी केवल भानुभक्तलाई मात्र सम्झिरहेका छौं?
हामीलाई लागेको छ, अब भानुभक्तसँगसँगै घाँसीलाई पनि सम्झिइनुपर्छ। भानुभक्तकै लहरमा घाँसीलाई पनि राखिइनुपर्छ। 204 वर्षदेखि हरेक जयन्तीमा भानुको महिमा गायौं, तर छायामा पाऱ्यौं घाँसीलाई। ठिक त्यसरी नै यो देशमा हामीजस्ता गोठालाहरूलाई किनारमा पारिएको छ।
आजको सवालमा घाँसी हरेक सङ्घर्षशील, परिश्रमीहरूको लागि सङ्घर्षका मिथहुन्। भानुभक्त जस्तै लिजेण्ड हुन्। घाँसीको, गोठालाको जगमा समाज उभिएको छ। तर उनै घाँसीलाई, उनै गोठालालाई किनारीकृत गर्ने जुन सामाजिक संरचना छ, अब त्यो भत्किइनुपर्छ। अब घाँसी र गोठाला किनारीकृत बन्नु हुँदैन। तपाईँजस्ता घाँसी र गोठाला किनारीकृत हुनु हुँदैन।
यसैले हरेक 12 जुलाईको दिन हामी सबै घाँसीहरू, सबै गोठालाहरूको घाँसी जयन्ती पालन गरिरहेका छौं। तपाईं त्यही घाँसी, त्यही गोठाला हुनुहुन्छ। यसैले यो जयन्ती तपाईँको जयन्ती हो।

पारसमणि छेत्री के भन्न खोजिरहेका छन्, त्यो बैरागी काइँलाले बुझिसके, के हामीले पनि बुझ्यौ त?  पक्कै पनि बुझ्यौं।

घासी विचारको उत्पादन केन्द्र

1998 मा जलढका उच्च विद्यालयले भानु जयन्ती मनाएको थियो। समितिले कविता प्रतियोगिता राख्यो। कविता सुनाउन एक विद्यार्थी मञ्चमा चढ्यो। कविताको शिर्षक थियो- ‘भानु तिमी नआउ, बरु घाँसीलाई पठाइदेउ।’

‘12 जुलाई 1998 को बेलुकी एक भारी घाँस काटेर, गोठमा गोबर सोरेर, दूध दुहीसकेपछि ओछ्यानमा बसेर मैले जीवनमा पहिलोपल्ट लेखेको कविता थियो त्यो,’ 22 वर्षपछि गोठालाका पारसमणि छेत्री भन्छन्।

त्यही कविता लेखेको 22 वर्षपछि उनै कविले आज सिलगडीमा सामान्यरुपले बनाए घाँसी जयन्ती।

‘योजना त केक्के न थियो, कोरोनाले रोक्यो,’ भन्छन् पारस, यो तेस्रो घाँसी दिवस मैले परिवारमा नै पालन गरें।’

गोठाला धारणा

पारसमणि छेत्रीले खोलेको संस्थाको नाम हो-गोठाला। यो गोठालाहरूकै सङ्गठन हो। यही नाममा सिलगढीको सहिद नगरमा उनको दूध बेच्ने दोकान पनि छ। गोठालामा पानी फिटेको दूध पाउँदैन। डाल्डा, केरा मिसाएको घिउ पनि पाउँदैन। न त प्याकेटको दूधबाट बनाइएको दही नै पाउँछ।

अर्गानिक दूध, घिउ, दही पाउने दोकान भनेर सिलगढीमा चर्चित दोकानको सञ्चालन गर्ने व्यक्ति हुन्, 20 वर्षअघि ‘भानु तिमी नआउ, बरु घाँसीलाई पठाइदेउ’ शीर्षकमा कविता लेख्ने ती नै कवि- पारसमणि छेत्री।

पहाडमा गाई पालनलाई व्यावसाय बनाउन गोठालाहरूको हिम्मत अझसम्म जुटिसकेको छैन, तर सिलगडी मिलन मोडमा ती कविको गाई गोठ छ। अचम्म लाग्दो कुरा त के हो भने उनी आफै अधिवक्ता हुन्। न्याय र कानूनको कुरा गरेर मज्जैले घर चलाउन सक्ने क्षमता उनीसित नहुने कुरै भएन। तर मिलन मोडको गाई गोठमा 45 वटा गाई पालेर ‘गोठाला लाइफ’ धानिरहेका छन्।

ती नै गोठाला पारसमणि छेत्रीले 12 जुलाईको दिनलाई घाँसी जयन्तीकोरुपमा पालन गर्ने परम्पराको थालनी गरेका हुन्। यो ऐतिहासिक मात्र छैन  अहिलेसम्म कहीँ देखा नपरेको साहित्यिक, सामाजिक राजनैतिक डिस्कोर्स पनि बनेको छ। वैरागी काइँलाले सिमान्तिकृतहरूको पक्षघर भनेको पारसको विचारलाई ‘घाँसी डिस्कोर्स’-कोरुपमा बुझ्न सकिन्छ।

000

साहित्यिक बन्धुहरू अचेल व्यस्त छन्। कारण छ, भानु जयन्ती। धेरै लेखक-सर्जकहरू भोलि 13 जुलाईको भानु जयन्तीमा बोल्ने भानुकथा र कविता रच्नमा व्यस्त बनिरहेको बेला पारस भने ‘घाँसी जयन्ती’-को तयारीमा हुन्छन्।

सिलगढी वरिपरिका वरिष्ठ लेखक-समाजसेवकहरूलाई कार्यक्रमको नाम सुनेर हैरान बन्न करै लाग्यो।  बीबी विश्वकर्म, गोपाल लामा, राजु शासङ्करहरूसमेतले मुखै खोलेर भने रे ‘यो त विश्वमा नै पहिलोपल्ट भएको घटना हो। घाँसी जयन्तीलाई ऐतिहासिक दिन मान्नुपर्छ।’

2019 को घाँसी जयन्तीमा पुगेका थिए, कवि ज्ञानेन्द्र खतिवडा। जसलाई पारसको आइडियोलजी ताज्जुबकै लाग्यो। लेखक कालूसिंह रहपहेंली छक्क परे। कहिल्यै नसोचिएको विचार अघि आएकोमा मक्ख परे।

नेपालका प्रज्ञा प्रतिष्ठानका देवी नेपाली त कायलै भए। मुख्यअतिथिकोरूपमा आएका नेपालले 12 जुलाईको दिन नेपालमा समेत घाँसी दिवस बनाउने घोषणा गरिराखेर गए। थाहा छैन, आज 12 जुलाई नेपालले घाँसी दिवस मनाए कि मनाएनन्।

‘भानु जयन्ती त सबैले सुनेका होलान्, तर ‘घाँसी जयन्ती’ भारतीय नेपाली समाजले सुनेकै पहिलोपल्ट हो,’ भनेका थिए नेपालले।

सिमान्तिकृत घाँसी

पारस ठान्छन्, साहित्यिक समाजको आडम्बर बुझ्न भानु जयन्तीले पनि सहयोग गर्छ। ‘साहित्यले त समाजको उत्थान गर्न सिकाउँछ। साहित्यिक कार्यक्रमहरूको उद्देश्य पनि त्यही हो। भानु जयन्तीले पनि नेपाली समाजको उत्थान गऱ्यो होला तर निरन्तररूपमा अन्याय गर्न पनि सिकाएको छ,’ पारसको दृष्टिकोणले पारम्पारिक दृष्टिकोणलाई मात खुवाउँछ।

‘भानुलाई भानु बनाउने घाँसी, 206 वर्षदेखि हरेक जयन्तीमा भानुलाई महिमित गरियो तर छायामा पारियो घाँसीलाई,’ पारसको भनाई छ, ‘ठिक त्यसरी नै यो देशमा हामीजस्ता गोठालाहरूलाई किनारमा पारिएको छ। समाज सेवा गर्ने घाँसी हुन्, त्यसको कथा हाल्ने मात्र भानु। आज भानुलाई सबैले जयजयकार गर्छन्, तर उनलाई कवि बनाउने घाँसीलाई भने बिर्सिन्छन्। किन?’

पारसको किन? को जवाब कोसित होला?

त्यो जवाब पक्कै पनि मानिसको चेतना हो। जुन चेतनाले घाँसीजस्ता सिमान्तिकृतबारे बुझ्न थाल्छ, सबैले किन? भन्ने प्रश्न शुरु गर्न थाल्ने हो।

किन घाँसी जयन्ती?

13 जुलाई भानु जयन्ती। पारसले 12 जुलाईमा शुरु गरे घाँसी जयन्ती। उनी भन्छन्, ‘पहिले समाज सेवाको कुरा गर्ने घाँसी हुन्। घाँसीले गर्दै गरेको कुरा पछिबाट लेखियो, यसै कारणले 13 जुलाईको ठिक अघिल्लो दिन घाँसी जयन्ती मनाइएको हो। घाँसीको प्रतिकात्मक मुल्याङ्कनको निम्ति नै 12 जुलाई चुनिएको हो।’

पारसलाई लाग्छ, आजको सवालमा घाँसी हरेक सङ्घर्षशील, परिश्रमी, कृषक, गोठालाहरूको सङ्घर्षका ‘मिथ’ हुन्। भानुभक्त जस्तै लिजेण्ड। हरेक कृषकलाई किनारीकृत गर्ने जुन सामाजिक संरचना छ, त्यो नितान्तै निर्दयी र हिप्रोक्रेटिक छ। घाँसीले भानुलाई कवि बनाए। समाज सेवा गर्नुपर्छ भन्ने आइडियोलजी दिए। आइडियोलजी दिने मूललाई नै समाजले अहिलेसम्म सम्झिएनन्। कुनै लेखक, सर्जकले घाँसीको विम्बलाई बुझे न कुनै सङ्घसंस्थाले घाँसीको विचारलाई पछ्याए।

‘मैले 10 वर्षको हुँदैदेखि घाँस काटें। घाँस काटेरै हुर्किएँ, पढें। अधिवक्तासमेत बनिएँ तर मभित्रको जो घाँसी थियो, त्यसले मलाई कहिल्यै सञ्चोले बस्न दिएन। मुटुमा हेपिएको घाँसी बोकेर म अधिवक्ता बनेर जिउन सकिन,’ पारसले भन्छन्,, ‘206 वर्षदेखिदेखि घाँसीमाथि अन्याय भयो। दिमाग खोलिएदेखि मलाई यही लाग्यो, अब कोही पनि घाँसी, कृषक दबिनु हुँदैन। घाँसीलाई त्यति सम्मान त दिनैपर्छ, जतिको हकदार उ हो।’

घाँसी जयन्तीलाई पारसले शुरुवात मात्र मानेका छन्। धेरैवर्षदेखि मनमा बोकेको काम गर्न पाउँदा आफूलाई खुशी लागेको पारस भन्छन्, ‘‘गोठाला’ –लाई अब पहाड, तराईका सम्पूर्ण कृषकहरूको सङ्घर्ष गर्ने गोठ बनाउने योजनामा छु।’

हरेकवर्ष 12 जुलाई गोठालाले घाँसी दिवस मनाउँछ। ज्ञानेन्द्र खतिवडा पारसको घाँसी जयन्तीलाई नयाँ धारको सोचाई ठान्छन्। देवी नेपाल त अझ भन्छन्, ‘भानु जयन्ती सबैले मनाउँछन् तर भानुभक्तलाई भानुभक्त बनाउने घाँसीलाई कसैले पनि सम्झिँदैनन्। भानुभक्त त त्यतिबेला पनि उच्च वर्गकै थिए ! वास्तवमा हाम्रो वर्गचाहिँ घाँसीवर्ग हो । हाम्रो वर्गको प्रतिनिधित्व भानुभक्तले होइन, घाँसीले गर्छन्। त्यसैले भानु जयन्ती मनाउनुभन्दा एक दिन अगाडि नै घाँसीलाई सम्झनुपर्छ।’

प्रज्ञा प्रतिष्ठान काठमाडौंका सदस्य देवी नेपाललाई घाँसी जयन्ती भनेर पहिलोपल्ट सुन्दा  अचम्म लाग्यो रे तर जब पारसको विचार सुने नितान्तै नौलो पहल लाग्यो रे। ‘यो त नेपालले पनि पछ्याउनुपर्ने विचार रहेछ’, नेपाल भन्छन्, ‘घाँसी जयन्तीको प्रस्ताव म प्रतिष्ठानसित पनि राख्नेछु।’

नेपालअनुसार नेपालमा घाँसी दिवस मनाएको थाहा छैन। सीमान्तकृत, कृषक, श्रमिक, दलितहरूको साझा वैचारिकी घाँसीले बोक्छ। यसलाई अझ व्यापक बनाइन सकिन्छ। सिलगढीले ऐतिहासिक कार्यक्रम मात्र गरेन। अहिलेसम्म कहीँ देखा नपरेको साहित्यिक, सामाजिक राजनैतिक क्षेत्रमा अर्थ राख्ने घाँसी डिस्कोर्स अघि सारेको छ।

‘पोहोर त ठूलै कार्यक्रम गरिएको थियो। यसपल्ट कोरोनाको कारण ठूलो कार्यक्रम भएन तर मैले सबैलाई अपिल गरेको छु,’ भन्छन् पारस।

पारसको अपिल थियो, विगत 12 जुलाई 2018 देखि मनाउदै आइरहेको घाँसी स्मृति दिवस कोरोना महामारीको कारण सार्वजनिक रुपमा पछिल्लो वर्षहरुमा जस्तो मनाउन सकेनौ। यसर्थ गोठालाका सम्पूर्ण कार्यकर्ता एवं घाँसी प्रेमीहरुलाई आआफ्नो घरमा बसेर-

कि त दियो बालेर,  कि त एक लोटा भए पनि जल अर्पण गरेर,  कि त रुख रोपेर,  कि त श्रमदान (जहाँ खाँचो छ) दिएर,  कि त रक्तदान गरेर, कि त अरु कुनै पनि प्रकारले आफ्नो सुविधा र असुविधालाई ध्यानमा राखेर तेस्रो वर्षको  घाँसी स्मृति दिवस  अर्थात 12 जुलाई 2020, को दिन पालन गरिदिनु होला।

कालेबुङमा कवि मनोज बोगटीले रुखका विरुवा रोपेर घाँसी दिवस पालन गरे। चर्चित गायक पुष्पण प्रधानले दियो जनाएर पालन गरे, बीबी विश्वकर्माले दियो बालेर, आनन्द खड्काले जल चढाएर मनाए। तपाईँले कसरी मनाउनु भयो त?

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया