किन बढ्यो भारतमा भानु भक्ति ?

विज्ञापन

बहस

हाम्रै कमजोरीमाथि टेकेर बङ्गाल सरकारले एकातिर बेलाबखत नेपाली भाषाको गला निमोठ्ने प्रशासनिक प्रयास चलाइरहेको छ भने अर्कोतिर जातीय अस्तित्वको माग गरिरहेको गोर्खा जातिलाई सधैंको निम्ति कोमामा हाल्ने सुनियोजित प्रयास गरिरहेको छ । अनि जान-अन्जानमा यो कार्यको पालन-पोषण हामीबाटनै  भइरहेको छ ।


सुबास सोताङ


भानुभक्त नेपालका भएपनि उनको रामायणले संसार हेर्ने, नेपाली संसारबीच बाँच्ने र वाचिइने मौका भने भारतबाटै पायो । सर्वप्रथम बनारसको भारत जीवन प्रेसबाट मोतीराम भट्टले सन् १८८४ मा बालकाण्ड अनि सन् १८८५ मा आफ्ना केही साथीहरूसित मिलेर आफ्नै सम्पादनमा सातकाण्ड रामायण छापेका थिए । त्यसपछि सन् १९३१ मा आठकाण्ड रामायणको पहिलो प्रकाशन सूर्यविक्रम ज्ञवालीद्वारा दार्जीलिङबाट भयो भने त्यसैको दोस्रो संस्करण पनि सन् १९५४ मा सूर्यविक्रम ज्ञवालीद्वारा नै भयो । यसबीचमा अनेक व्यावसायिक प्रकाशकहरूमाझ रामायण छापेर पैसा कमाउने होड़नै चलेको कुरा पनि थाहा पाइन्छ । नेपाली साहित्य सम्मेलनसँग संयुक्तरूपमा भारतको साहित्य अकादमीले मात्रै पनि यसका दुई –दुईवटा संस्करणहरू प्रकाशित गरिसकेको छ ।

भानुभक्तले आदिकविको श्रीपेच पनि सर्वप्रथम भारतबाटै पाए । सन् १८९१ मा मोतीराम भट्टले “भानुभक्तको जीवनचरित्र” छापेर भानुभक्तलाई आदिकविको संज्ञाले सुशोभित गरे । सन् १९३९ मा दार्जीलिङबाट सूर्यविक्रम ज्ञवालीको प्रयासमा “भानुभक्त स्मारक ग्रन्थ” प्रकाशित भयो । त्यसरी नै सन् १९५२ मा भाइचन्द्र प्रधानको “आदिकवि भानुभक्त आचार्य” नामक आलोचनात्मक ग्रन्थ प्रकाशित भयो भने त्यही साल डा. पारसमणि प्रधानको सम्पादनमा “भानुभक्त ग्रन्थवली” पनि प्रकाशमा आएको थियो ।

भानुभक्तको सालिग पनि सर्वप्रथम भारतमै स्थापित भएको थियो । दार्जीलिङको नेपाली साहित्य सम्मेलनद्वारा १७ जुन १९४९ का दिन आदिकवि भानुभक्तको पहिलो सालिग दार्जीलिङको चौरस्तामा अनावरण गरिएको थियो । नेपाली साहित्य सम्मेलनको नेतृत्वमा त्यसबेला मोतीचन्द्र प्रधान, सूर्यविक्रम ज्ञवाली, धरणीधर शर्मा आदि रहेका थिए । यसको ठीक दस वर्षपछि मात्र भानुभक्तको अर्को सालिग नेपालको रानी पोखरी छेउमा सन् १९५९ मा स्थापना भएको थाहा पाइन्छ । त्यसपछि कालेबुङमा नेपाली साहित्य अध्ययन समितिद्वारा (भानुभक्त लामिछानेको खर्चमा) १३ जुलाई सन् १९६६ का दिन भानुभक्त आचार्यको सालिग अनावरण गरिएको थियो।

भानुजयन्ती मनाउने थालनी र त्यसको व्यापक बनाउने काम पनि भारतबाटै भएको हो । १३ जुलाई १९४९ का दिन पहिलो भानुजयन्ती नेपाली साहित्य सम्मेलन, दार्जीलिङद्वारा गरिएको थियो । शिलाङमा सन् १९४८ तिरनै भानुजयन्ती मनाइएको भनिएतापनि त्यसको कुनै प्रमाण नपाइएको कुरा असमकै लेखक लीलबहादुर छेत्रीले उल्लेख गरेका छन् । छेत्रीअनुसार असम राज्यका दाङ जिल्ला र डिगबोइमा सन् १९५३ मा प्रथमपल्ट भानुजयन्ती मनाइएको हो भने गौहाटीमा सन् १९५५ देखि भानुजयन्ती मनाउने परम्पराको थालनी भएको थाहा पाइन्छ । 

त्यतिमात्र होइन आदिकवि भानुभक्तलाई सम्मान गर्दै सन् १९६९ मा दार्जीलिङको माल रोडलाई ‘भानु-सरणी’ नामकरण गरिन्छ  । त्यही सालदेखि भने उता नेपालमा पनि भानुभक्तको फोटोलाई हुलाक टिकटको रूपमा प्रयोग गरिएको थाहा पाइन्छ । यसपछि त भानुभक्तलाई भारतका विभिन्न क्षेत्रहरूलगायत नेपाल अधिराज्यभरि आदिकविको रूपमा पढ्न, बुझ्न, शोध र सम्मान गर्न थालियो । भानुभक्तलाई जातीय कविको रूपमा, राष्ट्रिय कविको रूपमा अनि नेपाली साहित्यका सर्वश्रेष्ठ पुरुषको रूपमा सर्वत्र चिन्न र पुज्न थालियो । भानुभक्तलाई सम्मान गर्न तथा उनलाई चिरस्मरणीय बनाइराख्न भानुसम्बन्धित विभिन्न पुस्तक र विशेषाङ्कहरुको प्रकाशनलगायत भानुपथ, भानुटोल, भानुभवन, भानुचोक, भानु समाज, भानु-उद्यान, भानु पाठशाला, भानु सदन, भानु पुस्तकालय आदिजस्ता नामकरणहरू गर्न थालिएको पाइन्छ ।

यसरी हेर्दा थाहा पाइन्छ, भानुभक्तलाई रामायण छापेर लोकप्रिय बनाउने, आदिकविको श्रीपेच दिएर सर्वोच्च स्थानमा पुऱ्याउने, सालिग बनाएर सम्मान गर्ने, जयन्ती मनाएर जिउँदो बनाउने, बाटो-घाटो, सङ्घ-संस्था, स्कूल आदिको नाम राखेर अमर तुल्याउने र पाठ्य-पुस्तकमार्फत विद्यार्थीहरूमाझ भानुभक्त चिनाउने काम सर्वप्रथम भारतबाटै भयो, अझ भनौं दार्जीलिङ्बाटै भयो । शायद त्यसैले होला बालकृष्ण समले दार्जीलिङ आएर भनेका थिए  –“दार्जीलिंग आज जे सोँच्छ, त्यो नेपालले भोलि मात्र सोच्नेछ ।” 

तर वास्तवमै भानुभक्तप्रति दार्जीलिङ किन यति विघ्न कृतज्ञ बन्यो ? किन दार्जीलिङले यति साह्रो भानुभक्तलाई पुज्यो ? किन यति धेरै दार्जीलिङले भानुभक्तलाई माया गऱ्यो ?  वास्तवमा भानुभक्तलाई नेपाली साहित्य र समाजमा बलियोसँगले स्थापित गराउने कृति नै रामायण हो । के त्यसो हो भने रामायणकै कारणले भानुभक्त यहाँका नेपालीहरूको निम्ति यति पूज्य बनेका हुन् त ? प्रश्नहरू स्वत: उप्जिन सक्छन् । अनि उत्तरहरू पनि देखा पर्न थाल्छन्, होइन भानुभक्तलाई दार्जीलिङले मानेको केवल रामायणले गर्दा होइन । दार्जीलिङबाहिरका नेपाली आवाद क्षेत्रहरूमा शिक्षाको उज्यालो छरिनमा भानुभक्तीय रामायणको गहिरो प्रभाव होला तर दार्जीलिङको स्थिति त्यस्तो थिएन । यहाँ त रामायणभन्दा अघिनै नेपाली बाइबल आइसकेको थियो । सन् १८८३ तिर नै  गङ्गाप्रसाद प्रधान र पादरी ए. टर्नबुलले बाइबलको नेपाली अनुवाद गरिसकेका थिए । यसभन्दाअघि सन् १८२० मा नै जे. ए. एटनद्वारा ‘ग्रामर अव् नेपालिज ल्यांग्वेज’ छापिसकेको थियो ।

भानुभक्तीय रामायणले दार्जीलिङ भित्रिने अवसर पाउँदा-नपाउँदै यता पाद्री टर्नबुलको अङ्ग्रेजीमा लेखिएको ‘नेपाली व्याकरण’ सन् १८८७ मा प्रकाशित भइसकेको थियो । सन् १८८४ मा भानुभक्तीय रामायण सर्वप्रथम काशीका मोतीराम भट्टद्वारा ‘भारत जीवन’ प्रेसबाट छापिएपनि तत्कालै उक्त रामायणको प्रचार-प्रसार दार्जीलिङमा भइनहालेको थाहा पाइन्छ । धर्म प्रचारकै उद्देश्यले भएपनि क्रिस्तान धर्मका प्रचारकहरूद्वारा नेपाली भाषामा पर्चा बाँड़्ने अनि कोश तयार पार्ने काम भानुभक्तको रामायण छापिएर प्रकाशमा आउनुभन्दाअघि नै भइसकेको कुरो इतिहासले बताउँछ । डा. पारसमणि प्रधानअनुसार त सन् १८९२ मा पण्डित विश्वराज हरिहर शर्माको गोर्खा कार्यालयबाट रामायण छापिएपछि मात्र त्यही वर्षदेखि पहिला कालेबुङ र त्यसपछि दार्जीलिङका अन्य ठाउँहरूमा रामायणका पुस्तकहरू बिक्री गरिएको बुझिन्छ । डा. प्रधानअनुसार उनका बुबा भाग्यमणि प्रधान जो काशीमा पण्डित विश्वराज शर्माका अधीनमा काम गर्दथे, उनले नै सन् १८९२ मा सर्वप्रथम एक भारी रामायण काशीबाट ल्याएर सर्वप्रथम कालेबुङको थाना डाँडाअघि (अहिले आदिकवि भानुभक्तको सालिग भएकै ठाउँमा) पसल थापेर बिक्री गरेका थिए । त्यसबेला यहाँ एकातिर इसाई धर्म प्रचारको निम्ति बाइबलको प्रचार-प्रसार गरिँदै थियो भने अर्कोतिर यहाँ भएका स्कूलहरूमा शिक्षाको माध्यम हिन्दी भाषा रहेको थियो ।

के त्यसो हो भने दार्जीलिङमा भानुभक्तीय रामायण प्रभावहीन थियो ? होइन, त्यसो चाहिं भन्न मिल्दैन । प्रारम्भिक कालमा नेपालीहरू यहाँ भूमिसँगै आएपनि, जङ्गल फाँड्दै आएपनि, बसाइ सर्दै आएपनि, सेनामा भर्ना हुँदै आएपनि, चियाको गाछ्मा पैसा टिप्न आएपनि ती शासक होइन, तर शासित थिए । शासित मात्र होइन उनीहरू अशिक्षित पनि थिए । त्यही अशिक्षाको प्रथम प्रहरतिर यहाँका नेपालीहरूले एकातिर अङ्ग्रेजी सत्ता र अर्कोतिर बङ्गाली बहुसङ्ख्यक समुदायबीच चेप्टिएर हिन्दी भाषामै भएपनि शिक्षाको भुकभुके उज्यालोलाई पछ्याउन थालेका थिए । तर अङ्ग्रेजी र हिन्दी भाषाको प्रभावमा नै भएपनि यहाँका नेपालीहरू जति जति शिक्षित बन्दै जाँदैथिए त्यति-त्यति नै उनीहरूमा आफ्नो भाषा पढ्न नपाउनुको पीडाबोध पनि हुँदैगएको थियो । अन्य समुदायका भाषा, साहित्य, समाज र संस्कृतिको प्रभावमा बाँच्न परेपछि उनीहरूको मनमा पनि विस्तारै आफ्नोत्वप्रतिको खोजी हुनथालेको हुनपर्छ । यस्तै अवस्थामा ढिलै भएपनि नेपाली लोकलयमा वाचिइने भानुभक्तीय रामायण पाएपछि नेपालीहरू यस पुस्तकप्रति झ्वाम्मै सम्मोहित भए । वास्तवमा भानुभक्त आचार्य यहाँका नेपालीहरूबीच एकाएक जातीय एकताका प्रतीकको रूपमा र भानुजयन्ती जातीय चाडको रूपमा स्थापित हुनमा तत्कालीन समयको विशेष भूमिका रहेको महसुस गर्न सकिन्छ ।

बीसौँ शताब्दीको सुरुवातसँगै यहाँका नेपालीहरूमा आफ्नो भाषा, साहित्य, संस्कृति -प्रतिको मोह र जागरण आउन थालेको थाहा पाइन्छ । उनीहरूका मथिङ्गलमा जातीय चिन्ता र चेतनाको बीजले जरो गाड्न थालेको बुझ्न सकिन्छ । सन् १९०७ मा नै दार्जीलिङका जातीय अगुवाहरूद्वारा दार्जीलिङको निम्ति छुट्टै प्रशासनिक व्यवस्थाको माग गर्दै भारतका तत्कालीन सचिव जन मोर्ले एवं गभर्नर जनरल मिन्टोसमक्ष मागपत्र बुझाइनु, सन् १९०९ तिर नै मिन्टोसमक्ष नेपाली भाषाले सरकारी भाषाको रूपमा मान्यता पाउनुपर्छ भन्ने माग राखिनु आदि तथ्यले यसको पुष्टि गर्दछ । सन् १९०१ देखि गङ्गाप्रसाद प्रधानको सम्पादनमा “गोर्खे खबर कागत” नामक पत्रिका दार्जीलिङबाट प्रकाशित हुनथालेको थियो भने सन् १९१३ मा खरसाङमा गोर्खा लाइब्रेरीको स्थापना, सन् १९१७ मा ‘हिल्समेन एसोसिएसन’-को उदय, सन् १९२४ मा दाजीलिङमा नेपाली साहित्य सम्मेलनको गठन, सन् १९३२ मा गोर्खा दु:ख निवारक सम्मेलनको स्थापना, सन् १९४३ मा दार्जीलिङमा अखिल भारतीय गोर्खालीग र भारतीय कम्युनिस्ट पार्टीको उदय आदिले भारत स्वतन्त्रतापूर्व कालदेखिनै भारतीय नेपालीहरू आफ्ना हकहित, भाषा-साहित्य, समाज र जातीय स्थिति र असुरक्षाबारे सचेत र सक्रिय बन्दैथिए भन्ने प्रमाण पाइन्छ ।

हिन्दी भाषामै शिक्षार्जन गरेपनि मनमा नेपाली भाषाप्रतिको अगाध माया यहाँका नेपालीहरूमा बढ्दै गएको प्रमाण डा. पारसमणि प्रधानबाट पाइन्छ । सन् १९१५ मा उनी दार्जीलिङ हाइस्कूलका विद्यार्थी हुँदा पुस्तकालयको निम्ति नेपाली पुस्तकहरू पनि किन्नुपर्ने भनी आफूले राखेको सुझाउ आफू संलग्न भएको ‘हिन्दी साहित्य समाज’-को कार्यकारिणी समितिले अस्वीकार गर्दा उनले तत्कालै उक्त समितिबाट राजीनामा दिएर ‘नेपाली साहित्य समाज’ नामक संस्थाको स्थापना गरेका थिए । त्यही साल कलकत्ता विश्वविद्यालयका उपकूलपति स्कूलको परिदर्शनमा आउँदा उनीसमक्ष पारसमणिले नेपाली भाषालाई पनि हिन्दी, बङ्गला, तिब्बती र उर्दू भाषासरह मान्यता दिइयोस् भनी विन्तीपत्र चढाएका थिए भने उपकुलपतिसँग आएका एकजना बङ्गाली भद्रलोकले कुरै-कुरामा “नेपाली भाषा त यहाँका कुल्ली-कवाडीले बोल्ने बोली हो, यो भाषा भइसकेको छैन” भनेकोमा बदलास्वरूप मौका पारेर उनले उक्त भद्रलोकलाई कारमाइकल होस्टेलमा साथीहरूसित मिलेर उत्तानो पारेर पछारेका पनि थिए ।

सन् १९१८ मा कलकत्ता विश्वविद्यालयले नेपाली भाषालाई स्वभाषा (भर्नाकुलर)-को रूपमा म्याट्रिक, आईए र बीए परीक्षाको निम्ति स्वीकृत दिएपछि आधिकारिक रूपमा कालेबुङको एसयुएमआइ र दार्जीलिङको सरकारी हाई स्कूलमा नेपाली भाषाको पठन पाठन सुरु भएको हो । कालेबुङको एसयुएमआईमा नेपाली भाषा शिक्षकको रूपमा पारसमणि प्रधान नियुक्त भए भने दार्जीलिङमा धरणीधर शर्मा नियुक्त भएका थिए । पाठ्य पुस्तकको अभावमा भानुभक्तीय रामायण लय हालेर पढाउन थाल्दा इसाई स्कूलमा हिन्दू धर्मको पुस्तक पढाउन थालियो भन्ने विवाद पनि उठेको कुरा पारसमणि प्रधानले उल्लेख गरेका छन् । सन् १९३१ मा दार्जीलिङबाटै भानुभक्तको आठकाण्ड रामायणको प्रकाशन सूर्यविक्रम ज्ञवालीद्वारा भएपछि त यसको प्रचार-प्रसार अरू तीब्र गतिमा भएको थियो ।

यसैबीच देशमा सुरु भएको स्वतन्त्रता आन्दोलनले पनि यहाँका नेपालीहरूलाई आफ्नो जातीय चिन्ताप्रति अझ आकृष्ट गरायो । यहाँका नेपालीहरू एकातिर देश स्वतन्त्रताको युद्धमा पनि सरिक बनिरहेका थिए भने अर्कोतिर उनीहरू आफ्नो स्वजातिको भाषिक, साहित्यिक, सांस्कृतिक र राजनैतिक स्थितिप्रति पनि उत्तिकै चिन्तित थिए । स्वतन्त्र भारतमा नेपालीहरूले पनि न्याय पाउने हुन् कि होइनन् भन्ने आशङ्का बढ्दो थियो । यसैले जातीय रूपमा सङ्गठित बनेर सङ्घर्ष गर्नको निम्ति अनि अन्य जातिलाई पनि नेपाली जातीय स्वत्त्वको बोध गराउनको निम्ति यहाँका पितृपूजक नेपालीहरूले, वीरपूजक नेपालीहरूले आदिकवि भानुभक्तलाई दह्रोसँग समाते । अन्य जातिका विराट साहित्यिक व्यक्तित्वहरूको सामू भानुभक्तलाई ठड़ाएर नै नेपाली भाषा, साहित्य र संस्कृतिको उत्थान गर्ने दिशामा यहाँका जातीय अगुवाहरू अग्रसर भए । र’ नै १५ अगस्त १९४७ का दिन देशले स्वतन्त्रता पाइरहँदा यहाँको नेपाली साहित्य सम्मेलनका नेतृत्वहरू भने सोही दिन दार्जीलिङ, कालेबुङ र खरसाङमा आदिकवि भानुभक्त आचार्यको सालिग बनाउने अपीलसहित ‘एउटा ऐतिहासिक पत्र’ सार्वजनिक गरिरहेका हुन्छन् । “यहाँ भानुभक्तको सालिग़ राख्न पाएको खण्डमा नेपाली जातिका सर्वश्रेष्ठ कविको परिचय भारतका भिन्न भिन्न प्रान्तमा समेत पुगी नेपाली साहित्य र नेपाली जातिको मान बढ्ने थियो औ यो वीर जातिले महान् कवि पनि सृष्टि गरेको रहेछ भनी भारतवर्षका विविध जातिले पनि थाहा पाउने थियो” भनेर उक्त ऐतिहासिक पत्रमा लेखिएको छ ।

१५ अगस्त १९४७ को मध्यरातमा भारतले अङ्ग्रेजहरूको दासत्वबाट मुक्ति पायो । यसपछि राज्य पुनर्गठन आयोगको सिफारिसअनुसार भाषाको आधारमा भारतीय राज्य र प्रान्तहरूको पुनर्गठन भयो । तर दुर्भाग्यवश नेपालीहरूले न भाषा पाए न भूमि ! नवस्थापित भारतको गणतान्त्रिक संविधानभित्र आफ्नो जातिले केही नपाउँदा भारतीय नेपाली भाषीहरूले अझ जातीय सङ्कटको सम्मुख परेको पीड़ा महसुस गरे । यही पीडाबोधले यहाँका नेपालीहरूलाई अझ गोलबद्ध हुने, जागरुक हुने र जातीय हितमा काम गर्ने अवसर र चुनौती प्रदान गऱ्यो । नभन्दै नेपाली साहित्य सम्मेलनद्वारा १७ जुन १९४९ का दिन आदिकवि भानुभक्तको पहिलो आधा कदको सालिग दार्जीलिङको चौरस्तामा निर्माण गरियो भने १३ जुलाई १९४९ देखि भानुजयन्ती मनाउन सुरु गरियो ।

यसैबीच यहाँका नेपालीहरूमा भाषिक असुरक्षाको बीज छर्ने काम गऱ्यो सन् १९५१ सालको जनगणनाले । उक्त जनगणनामा दार्जीलिङमा बसोबासो गर्दै आएका नेपाली जातिहरूमध्ये राई, लिम्बु, तामाङ, नेवार, गुरुङ, मगर, सेर्पा आदि गोष्ठीहरूलाई अलग्गै मानेर बङ्गाल सरकारले बाहुन, छेत्री, सन्यासी, कामी, दमाई र सार्की मात्रलाई नेपाली तोकेर दार्जीलिङमा २० प्रतिशत मात्र नेपाली भएको भ्रामक तथ्याङ्क प्रस्तुत गऱ्यो  मात्र होइन त्यही जनगणनालाई आधार गरेर तत्कालीन बङ्गालका मुख्यमन्त्री बीसी रोयको सरकारले बङ्गला भाषालाई मात्र बङ्गालको सरकारी भाषा बनाउने तत्परता सुरु गऱ्यो ।

यस्ता अनेक कारणहरू छन् जसले यहाँका नेपालीहरूमा जातीय चेतना आउनथालेदेखि नै उनीहरूलाई जातीय असुरक्षाको बोध बारम्बार गराइरहयो । यसैले यहाँका नेपालीहरू भाषालाई माध्यम बनाएर आत्मरक्षाको युद्धमा होम्मिन बाध्य थिए भने यस्तो अवस्थामा उनीहरूले भानुभक्तलाई जातीय सम्पति र भानुजयन्तीलाई आफूहरू एकत्रित हुने एउटा प्लेटफार्मको रूपमा पाए । रामायणको निम्ति त नेपालीहरू भानुभक्तप्रति आभारी थिए नै, तर दार्जीलिङ तथा भारतमा नै भानुभक्त र भानुजयन्ती त्यति साह्रो हिट हुनुमाचाहिँ भानुभक्तप्रतिको नेपालीहरूको गुणग्राहिताभन्दा पनि बढी तत्कालीन समयमा नेपालीहरूलाई भएको भानुभक्त र भानुजयन्तीको उपयोगिता र ऐतिहासिक आवश्यकता नै प्रमुख कारण मान्न सकिन्छ । यसरी भानुभक्त र भानुजयन्ती यहाँका नेपालीहरूका निम्ति जातिक, सामाजिक, भाषिक, साहित्यिक र सांस्कृतिक चिन्तन र सङ्घर्षको स्रोतविन्दु बनेर स्थापित भयो ।  दार्जीलिङे जनमानसलाई जातीय चिन्हारी, भाषा, साहित्य आदि विषयप्रति चिन्तित र एकत्रित हुने अवसर भानुजयन्तीले नै प्रदान गऱ्यो । भानुजयन्ती आदिकविको योगदानलाई सम्झने दिन मात्र होइन तर त्योभन्दा बढी यो दिन यहाँका नेपालीहरूका निम्ति एक-अर्कामा भेट गर्ने, आफ्नो भाषा, साहित्य, संस्कृति र समाजबारे चिन्तन-मनन् गर्ने, आफूले आफैलाई हेर्ने, आफ्नो जातीय उपस्थिति अरूलाई बोध गराउने तथा आफ्नो जातीय अस्तित्वका चिन्ता र चेतनाप्रति युवा पीढीलाई आकृष्ट र अग्रसर गराउने अवसरको दिन बन्यो । स्वतन्त्रतापूर्वकाल विदेशी दमन र स्वतन्त्रताउत्तरकाल स्वदेशी बहुसङ्ख्यक जातिगोष्ठीहरूको जातीय दम्भलाई झेल्नु परिरहेका नेपालीहरूले भानुजयन्तीलाई ती शक्तिहरूविरुद्ध लड्ने अघोषित अस्त्र र सांस्कृतिक शस्त्रको रुपमा पनि पाए । भाषिक, राजनैतिक असुरक्षाबोध गरिरहेका नेपालीहरूले यहाँको चोक-चोकमा भानुभक्तको सालिग ठडाएर आफ्नै जातित्वलाई विराजमान गराउने अनि भानुजयन्ती विराटसँगले मनाएर आफ्नो सांस्कृतिक धनाढ्यतालाई स्थापित गराउने प्रयास गरेका थिए ।

अर्को कुरा, विभिन्न जात संस्कार र धर्म सम्प्रदायमा विभाजित नेपाली सिङ्गो समाजले आफ्नो एउटा विशुद्ध जातीय चाड अथवा दिवसको अभाव महसुस गरिरहेको बेला भानुजयन्तीले सबैको साझा पर्वको रूपमा स्थापित हुने मौका पायो । सन् १९६१ देखि दार्जीलिङमा नेपाली भाषा प्रयोगको आन्दोलन थालिएपछि अनि सन् १९७२ देखि अखिल भारतीय नेपाली भाषा समितिको नेतृत्वमा नेपाली भाषाको संवैधानिक आन्दोलनलाई तीब्र बनाइएपछि त झन् भानुजयन्ती भारतभरि अझ व्यापक बनेर गयो । यसैको प्रतिफल हुनसक्छ आज दार्जीलिङलगायत भारतका विभिन्न प्रान्तहरूमा भानुजयन्ती भव्यररूपले मनाउने परम्परा बसिसकेको छ । भानुजयन्ती मनाउने परम्परा यहाँको नेपाली समाजमा यति गज्जबले स्थापित भयो कि बरू दुर्गाको मुर्तिपूजा नगर्नु भन्ने तथाकथित बादशाहको आदेश केही हदसम्म मान्यो होला दार्जीलिङले, तर भानुजयन्ती नमनाउनु भन्ने फरमान पटक्कै मानेन । उपद्रवीहरूले 10 जुलाई १९९२ का चौरस्तामा स्थापित भानुभक्तको अर्धकदको सालिगलाई तोडिदिए तर भानुप्रेमी दार्जीलिंगेहरूले नेपाली साहित्य सम्मेलनको नेतृत्वमा १३ जुलाई १९९६ मा अर्को नौ फिटको पूर्णाङ्ग सालिग ठडाइदिए ।

यसरी उपुर्युक्त विविध कारणले भानुजयन्ती मनाउने बलियो परम्परा त हाम्रो समाजमा बलियोसँगले नै गाडियो । तर मनमा एउटा के कुराले पिङ मचाइरहेको छ भने “भानुजयन्ती मात्र बलियो भएर हाम्रो भाषा चै बलियो भएन भने के हुन्छ” भन्ने ? हामीले जुन कुराको निम्ति भानुभक्तलाई मान्न थाल्यौँ, जुन कारणको निम्ति भानुजयन्ती मनाउन थाल्यौँ, ती कुरालाई किनारीकृत गरेर के हामीबाट जयन्ती मनाउने परम्पराको औपचारिकता मात्रको निर्वाह त भइरहेको छैन ? दिनोदिनको नेपाली भाषाको प्रयोगहीनता, रोजगारदेखि नेपाली भाषाको बढ्दो दुरुत्व, अङ्ग्रेजी भाषाको बोलबाला, विश्व संचारको आँधी र नेपाली भाषाको संरक्षण र संवर्द्धनमा सचेत जमातले देखाएको उदासीनताको पार्श्व प्रभावको कारण आज नेपाली भाषीहरू नै नेपाली भाषाप्रति वितृषित बन्दै जाँदैछन्, नेपाली भाषा विषय फोबिया बढ्दै जाँदैछ । रोजगारको माध्यम अङ्ग्रेजी भाषा बनेपछि नेपाली भाषा नसिक्दा हुन्छ, नजान्दा हुन्छ भन्ने मनोवैज्ञानिक नकारात्मक मनोस्थितिको शिकार बन्दैछन् सबै । नेपाली भाषा प्रयोगको आयतन घट्दै जाँदैछ । लिखित भाषाको प्रयोग त अचेल साहित्यकारहरूले रचनादि लेख्दा, नेपाली पत्रकारहरूले समाचार लेख्दा र नेपाली विषय पठन-पाठनमा मात्र गरिन्छ होला ! नेपाली भाषा लेखनको यो अवस्था छ भने धेरैजसो बोलचालमा बाँचेको नेपाली भाषा पनि चोखो छैन । प्रयोगहीनताको कारण विस्तारै नेपाली भाषाका मिठा-मिठा शब्दहरू नेपाली जनजिब्रोबाट डाइनोसोरझैँ विलुप्त हुँदै जाँदैछन् । 

वासभूमिको मागमा निरन्तर सङ्घर्षशील रहेको भारतीय नेपाली भाषी, त्यसमा पनि अझ आन्दोलनको केन्द्रीय थलो रहेको दार्जिलिङमा नेपाली भाषाको यस्तो दयनीय स्थिति नहुनुपर्ने हो । वास्तवमा भाषा, साहित्य र संस्कृतिलाई पन्साएर कुनै पनि जातीय आन्दोलनको परिकल्पना नै गर्न सकिँदैन । तर यहाँ त जातीय आन्दोलन भन्नबित्तिकै घरी खुकुरी उद्याउने र घरी डण्ठा तयार पार्ने परम्पराको निर्वाहले भाषाको विकासलाई पुरै उपेक्षा गरिएको प्रतीत हुन्छ । हामीले लडेका जातीय आन्दोलनहरूले हाम्रो जातीय स्थिति, उपस्थिति, अस्तित्व र अवस्थानलाई अझ झरिलो-भरिलो बनाएर लानुपर्नेमा उल्टा उपाहास र अन्योलतासम्मुख हुत्याइदिएको महसुस हुन्छ । हाम्रै कमजोरीमाथि टेकेर बङ्गाल सरकारले एकातिर बेलाबखत नेपाली भाषाको गला निमोठ्ने प्रशासनिक प्रयास चलाइरहेको छ भने अर्कोतिर जातीय अस्तित्वको माग गरिरहेको गोर्खा जातिलाई सधैंको निम्ति कोमामा हाल्ने सुनियोजित प्रयास गरिरहेको छ । अनि जान-अन्जानमा यो कार्यको पालन-पोषण हामीबाटनै  भइरहेको छ ।

अबका भानुजयन्तीहरूमा पुन: हाम्रा भाषिक र जातीय स्थितिमाथि चिन्तन-चर्चा हुन आवश्यक छ । भानुभक्तको भाषाले भारतको संविधानको आठौँ अनुसूचीमा मान्यता त पाएको २६ वर्ष भइसक्यो तर अब यसको व्यावहारिक प्रयोग र विकासको दिशामा भानुप्रेमीहरुले फेरि एउटा भाषिक रेनेसाँको अभियान चलाउनु आवश्यक छ । अर्कोतिर विश्व बजार, वैश्वीकरण र प्रशासनिक प्रश्रयमा ठूलो जातिका भाषा र संस्कृतिको बढ्दो अतिक्रमण साना जातिका भाषा र संस्कृतिमाथि भइरहेको परिस्थितिमाझ जातीय रूपले अस्तित्वमान भैरहन, भैरहनको बोध गराउन तथा हाम्रा जातीय चिज र चेतनाका कुराहरूप्रति युवावर्गलाई सचेत र सक्रिय गराउन पनि भानुजयन्तीको सान्दर्भिकतालाई अझ उक्कासिँदो बनाउनुछ । अझ चहकिँदो बनाउनुछ ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया