पारिजातको ‘लाहुरेलाई एक रोगी प्रेमिकाको प्रेमपत्र’ पठन

विज्ञापन

कविता पठन

 प्रेमपत्रमा लाहुरेले मन खोलेर प्रेम अभिव्यक्ति दिएको प्रसङ्गहरूको चर्चा छ। तर ती सब चर्चाहरू मृत्युको विकराल सत्यअघि अप्रासाङ्गिक बन्दै गइरहेको आभ्यान्तरिक सत्यको अभिव्यक्ति छ।


निमा निची शेर्पा


 लाहुरेलाई एक रोगी प्रेमिकाको प्रेमपत्र पहिलोपल्ट ईशाब्द १९६४ मा रूपरेखा पत्रिकामा प्रकाशित भएको हो। फेरि तेइस वर्षको लामो अन्तरालपछि ईशाब्द १९८७ मा ईश्वर बरालद्वारा सम्पादित पारिजातका कविता कविता सङ्ग्रहमा सङ्ग्रहित भएर यो कविता पुनर्प्रकाशनमा देखापऱ्यो। यस कवितालाई पारिजातका स्वच्छन्दतावादी–अस्तित्ववादी धाराका प्रतिनिधि कविता मानिन्छ।

पारिजात (ईशाब्द १९३७ – १९९३) का स्वच्छन्दतावादी-अस्तित्ववादी धाराका कविताहरूमा प्रेमपरक अभिव्यक्तिहरू प्रशस्त परेका छन्। वास्तवमा यस धाराका कविताहरूमा रतिरागत्मक कविताहरूकै सङ्ख्यागरिष्ठाता छ। यद्यपि ती प्रेमपरक अभिव्यक्तिहरू युवासुलभ प्रेमको खहरे मात्र होइनन् न ता रतिरागत्मकताको नाममा अतिभावुकता र आवेशताको नाङ्गोचित्र मात्र हो। वास्तवमा ती प्रेमिल उच्छवासहरू उमेरले युवा तर अनुभवले प्रौढ मानसका उपज हुन्। ती अभिव्यक्तिहरू शारीरिक अपाङ्गता, असामान्य मनोस्थिति र मृत्यु चेतनाको कापबाट निसृत छन्। तिनमा विसङ्गतिवादी-अस्तित्ववादी दर्शनको गूढ पक्षहरू पनि उत्तिकै उज्यालिएका छन्। त्यसर्थ उनका प्रेमिल अनुभूतिहरू प्रेम, जीवन, मृत्यु आदि निगूढ तत्त्वहरूका गहन् र गम्भीर विमर्शका ढोका ढकढकाउन समर्थ देखिएका छन्।

लाहुरेलाई एक रोगी प्रेमिकाको प्रेमपत्रलाई यस कविता धाराका प्रतिनिधि कविता मान्न सकिने प्रशस्त आधारहरू छन्। अनुभूतिको तीव्रतम पवाहले, विचारको प्रोढता र स्पष्टताले, शिल्प-शैलीगत मनोहारिताले तथा विषय र रूपको घनीभूत तादातम्यता वा एकात्मले पनि हो, यस कविताले स्पर्श गरेको काव्यिक उच्चता। यस कवितालाई विश्व साहित्यकै अन्यतम प्रेमकविता मान्न सकिन्छ।

प्रस्तुत कविता उनात्तरवटा लामा छोटा पङ्तिहरूमा आबद्ध मझौला आयामको गद्य कविता हो। यसमा खण्ड दर्शन मार्फत समग्र दर्शनको पद्धति अवलम्बन गरिएको छ। कविता सोलोडोलो गतिका नभएर पाँचवटा लामा–छोटा पङ्तिपूञ्जमा विभाजित छन्। तिनलाई सङ्ख्यात्मक अनुक्रम समेत दिइएको छ। यति र गतिको संयोजन तथा प्रसङ्ग–सन्दर्भ परिवर्तनहेतू कवितामा खण्डीयकरण वा विभाजन नीति अवलम्बन गरिएको छ। पङ्क्तिगत वितरण र व्यवस्थापनका दृष्टिले पहिलो र दोस्रो भागमा बाह्र, तेस्रो र चौथो भागमा तेह्र अनि पाँचौ भागमा उन्नाइसवटा पङ्क्तिहरू चलाइएको छ। कवितामा एउटै भाव (लाहुरेलाई आमरण प्रेम गर्ने प्रतिबद्धता) को प्रधानता र कविता त्यही भावको वरिपरि फनफनी घुमेको देखिन्छ। यद्यपि कवितामा झिनो कथातत्त्व (लाहुरेले प्रेमपत्र पठाएको, शरीर र मस्तिष्क सीमित भएको, आफू मर्न लागेको आदि) को पनि अस्तित्व छ। यसै गरी गति र क्रियासूचक शब्दहरूको (बनाइसकेछ, आउँदिनँ, पोल्दै गर्दैछु, भइसकेँ, गाडिसकेँ आदि) पनि बग्रेल्तै प्रयोग पाइन्छ। कविता प्रवाहगत तीव्रता र अनुभूतिगत तीक्ष्णताले सरोवर भए तापनि ती आख्यान तत्त्व र शाब्दिक मितव्ययिताले कविताको गतिमा केही शिथिलता पनि थप्ने काम गरेको छ।

लाहुरेलाई आमरण प्रेम गर्ने प्रतिबद्धताको कवितात्मक अभिव्यक्ति नै यस कविताको अभीष्ट हो। यस प्रतिबद्धतालाई कविले अलिक खकुलो तुल्याएर प्रसङ र सन्दर्भअनुरूप पाँचवटा भागमा सुनियोजित गरेकी छन्। ती पाँचवटा भागमा स्थायी र अन्तराहरूलाई यसरी व्यवस्थापन गरिएको छ:

१.      लाहुरेलाई प्रेमपत्रको प्रत्युत्तर लेखेर पठाउने आभ्यान्तरिक ईच्छा तथा सो ईच्छा चाँडै सिद्धि हुन नसक्ने आशङ्काले व्यथित मनोभावको उद्घाटन छ। प्रेमपत्रमा सिङ्गै हृदय उनेर पठाउने तथा शताब्दी-शताब्दीअघिको प्रेमिल भावुकता दोहोऱ्याउने चाहना आफूमा विद्यमान रहेको तर आफ्नो कुँजिएको अस्तित्वले यसो गर्न नसकिरहेको विवशताको अभिव्यक्ति छ।

२.     राम्ररी हेर्न नपाइ आँखाबाट ओझेल भएका तथा मनभरी बोल्नै नपाई टाडा भएका लाहुरेसित भौतिक पुनर्मिलन लगभग असम्भव रहेको आभ्यन्तरिक सत्यको उद्घाटन छ। किनभने ढुङ्गामा परिणिता गौतमीझैँ आफू पनि शाररीक र मानसिक रोगले शिथिल र निष्क्रिय बन्दै गइरहेको अवस्थामा हुँदा सात समुद्रपारि लाहुरेलाई भेट्न जान नसक्ने मार्मिक आत्मस्वीकृतिको अभिव्यक्ति छ। त्यसर्थ, अबउसो आफ्नै मनोकाशमा लाहुरेसित साक्षात्कार गरिबस्ने प्रतिबद्धताको प्रकटीकरण पनि छ।

३.     प्रेमको स्वकीय परिभाषीकरण वा स्वदर्शनको अभिव्यक्ति छ। उखरमाउलो गर्मीमा थुम्कातिर चड्दै पानी हेर्दा घामले टल्कँदो परको बलौटा जमीनमा मृगले पानी देखेको भ्रमजस्तो लाग्छ कविलाई प्रेमको अस्तित्व। राती छुट्टिने चखेवाको बिहानीपख चखेवीसित मिलनको लोभजस्तो लाग्छ कविलाई प्रेम आसक्ति। काकाकुलीको अनन्त तिर्खाजस्तो पनि लाग्छ कविलाई प्रेम रस। सत्य प्रेम दुइ शरीरको समागमिक चिन्मयता हो – लाग्छ कविलाई। शरीर निष्क्रिय भए तापनि लाहुरेको अँगालोमा बेरिने इच्छा अझै भरिला नै रहेको तथा आफ्नै आन्तरिक संसारमा मीठा सपनाहरूसित खेल्दै–पोल्दै आफू बाँचिरहेको मार्मिक अभिव्यक्ति छ यस भागमा।

४.     लाहुरेले प्रेमपत्र पठाएको प्रसङ्गको सूचनात्मक अभिव्यक्ति छ। त्यस प्रेमपत्रमा लाहुरेले मन खोलेर प्रेम अभिव्यक्ति दिएको प्रसङ्गहरूको चर्चा छ। तर ती सब चर्चाहरू मृत्युको विकराल सत्यअघि अप्रासाङ्गिक बन्दै गइरहेको आभ्यान्तरिक सत्यको अभिव्यक्ति छ।

५.     शाररीक र मानसिक रोगले शनै: शनै: आफू शिथिल बन्दै गइरहे तापनि मृत्युको अन्तिम पदचापसम्म लाहुरेलाई आमरण प्रेम गर्ने प्रतिबद्धताको प्रकटीकरण छ।

प्रस्तुत कविता श्रृङ्गार रस प्रधान कविता हो। अझ विप्रलम्भ श्रृङ्गार रस प्रधान कविता। यसमा लाहुरे र म पात्रबीच परस्परमा रति भाव छ तर दुईबिच विद्यमान भौगोलिक दुरूत्व र म पात्रको खस्किँदो स्वास्थ्य तथा उनमा विद्यमान टडकारो मृत्युबोधले ती दुईबिचको प्रणय भावना विरह वेदनाको स्थितिमा छन्। अत् प्रस्तुत कविता विप्रलम्भ श्रृङ्गार रस प्रधान भए तापनि यो कविता करूण रसले छ्याप्छयाप्ती भिजेका छन्।

        कविमा अन्तर्निहित प्रेमभावलाई लाहुरेले पठाएको प्रेमपत्रले उद्दीप्त तुल्याउने काम गरेको छ। फलत प्रत्युत्तर प्रेमपत्रमा मनभरीका गाँठी कुराहरू वा अनुभाविक क्रिया-प्रतिक्रियाहरू अभिव्यक्त गर्दछन कवि। बोल्नै नपाई टाढा भएका, हेर्नै नपाई आँखाबाट ओझेल भएका प्रिय लाहुरेलाई आमरण प्रेम गर्ने प्रतिबद्धता प्रकट गर्दछन कवि। कुनै दिन मनभरी बोल्न पाउने, आँखाभरि हेर्न पाउने कुनै सम्भावना नभए तापनि जीवनको अन्तिम पलसम्म शताब्दी अघिको पतिव्रता नारीझैँ लाहुरेको प्रेममा निमग्न भई बाँच्ने ढृड सङ्कल्प व्यक्त गर्दछन्  कवि। भौतिक रूपमा लाहुरेसँग मिलन सम्भव नभए तापनि मनोकाशमै भेटेर चित्त बुझाउने अभिप्राय व्यक्त गर्दछन् कवि। जीवन बत्ती निभ्न लागेको छ, भौतिक मिलनको कुनै सम्भावना छैन। यद्यपि लाहुरेप्रतिको आमरण प्रेमको बत्ती जलिरहेकै छ तथा मृत्युले नछोपेसम्म जलिनै रहनेछ, सो कुरा प्रेमपत्र मार्फत लाहुरेसम्म सम्प्रषण गर्न चाहन्छिन् कवि। यद्धपि कविलाई प्रमपत्र लाहुरेसम्म पुग्ला कि नपुग्ला भन्ने घनघोर औडाहाले पिरोलेको छ कविलाई।

    एकातिर टड्कारो मृत्युबोध अर्कातिर प्रेमको अनन्त चाहना, एकातिर शिथील शरीर अर्कातिर प्रबल यौनेच्छा, यसप्रकारको विषम अन्तर्द्वन्द्वमाझ कवि आफूमा महर्षि गौतमका श्रापबाट ढुङ्गामा परिणत गौतमीको प्रतिबिम्ब पाउँछिन्। आफू मृत्युकै मुखेञ्जी उभिए तापनि लाहुरेको प्रेम र बलियो आलिङ्गनको अभीष्टले मृत्यु अल्झिरहेको लाग्छ कविलाई। तर यो स्थितिले धेरैबेरसम्म स्थिर रहन पाउँदैन। कविलाई चरम निराशाले छोपिहाल्छ। मृत्यु कटु सत्य र सन्निकट पाउँछिन।

   मान्छे फिनिक्स होइन। आफ्नै खरानीमा जूनी फेर्ने, मरेर फेरि बौरिने कला मान्छे जान्दैन। तसर्थ कविलाई परजूनी–पूर्वजूनीमा कुनै आस्था छैन। आफू त मरेपछि डुमै राजा तर बाँच्ने लाहुरेमा विरहको आँधी नचल्ला र! कवि लाहुरेको पाटाबाट पनि कुरा खेलाउँछिन्। लाहुरे प्रेम वियोगमा डुबेर जीवन सङ्घर्षको पथबाटै पो पलायन गर्लान् कि भन्ने चिन्ताले सताइरहन्छ कविलाई। तसर्थ कवि भन्छिन् – मेरो अन्त्यजस्तै तिम्रो आरम्भ पनि बलियो हुनुपर्छ। लाहुरेलाई आमरण प्रेम गर्ने, प्रेमको नाममा आफूसँग रहेका रहलपहल जे–जति छन् सबै लाहुरेमा समर्पण गर्ने प्रतिज्ञासहित प्रेमपत्र मार्फत भन्न चाहेका गाँठी कुरो खोलुवा गर्छिन् –

         जीवनसाथी तिमीलाई

         मेरो सबै प्यारको अवशेष।

प्रस्तुत कविताको भाषा सरल, सहज र स्वाभाविक रहेको छ। यसमा सामान्य बोलीचालीको भाषालाई प्राथमिकता दिइएको छ। कवितामा एकाधिक तत्सम (यथेष्ट, मस्तिष्क, मृगतृष्णा, नश्वर आदि) र आगन्तुक शब्दहरूको (राकेट्, वालेट्, फिनिक्स) प्रयोग गरिएका पाइए तापनि ती शब्दहरू नेपाली जनजिब्रोमा रत्तिसकेको हुनाले सम्प्रेषणीय नै रहेको छ। अनुप्रास र उपमा अलङ्कारको यथास्थान प्रयोगले कविता गेयात्मक, लयात्मक र सौन्दर्यात्मक बनेको छ। अन्त्यानुप्रास प्रयोगको सुन्दर नमूना पङ्क्ति हेरौँ –

प्रिय

म मरिसकेँ

तिम्रो प्रेमलाई आफूसँग जलाईसकेँ, गाडिसकेँ

म सुतिसकेँ

 

यसै गरी उपमा अलङ्कारको विभिन्न रूपहरूको कलात्मक प्रयोग पनि हेरौँ –

पेम एक मृगतृष्णा

प्रेम एक चखेवाको लोभ

मेरा निम्ति प्रेम एक निर्जीव सत्य

मानों काकाकूलको तिर्खा

मानों घामलाई प्रेम गर्दा गर्दै सूर्यास्तमा जाम परेको क्लीसो

अन्तर्सम्वादात्मक शैली पारिजातको अन्य कविताहरू जस्तै यस कविताको पनि एक महत्त्वपूर्ण विशेषता हो। प्रस्तुत कवितामा म पात्र र लाहुरेबिच सोझो कुराकानी वा वार्तालाप नभएर म पात्रको अन्तर्सम्वाद वा एकालापमा सीमित छ कविता। यसै अन्तर्सम्वाद वा एकालापमार्फत कविले आफ्नो आभ्यान्तरिक सत्यलाई कलात्मक वाणी दिन सफल भएका छन्। पत्रात्मक शैली यस कविताको अर्को एक महत्त्वपूर्ण विशेषता हो। नमूनांश हेरौँ,

प्रिय!

तिमीले लेखेका थियौ –

म तिम्रो वालेटको तस्विरमा मुस्कुराउँछु रे!

तिमी मलाई पाएर हराउन चाहन्नौ रे!

मेरो सम्झनापत्रले तिमीलाई फिनिक्सले झैँ बिउँझाउँछ रे!

मेरो माया तिमीलाई वटवृक्षको छायाँ रे!

आह! यी सब इतिहासबद्ध भइसके,

कसरी मैले बाँचेको थाहै नपाई

एक लामो अवधि बिताइसकेछु।

प्रस्तुत कवितामा एकाधिक कवितादोष पनि नभेटिने चाँहि होइन। जस्तै – कवितामा गौतमी मिथकको गलत र अप्रसाङ्गिक प्रयोग भेटिन्छ। लाहुरेलाई आमरण प्रेम गर्ने म पात्र र शिलभङ्ग गौतमीबीचको उपमान –उपमेय विसङ्गत प्रतीत हुँदछ। कवितामा कतै पनि परपुरूषको प्रसङ्ग छैन न ता आफ्नो चारित्रिक खोट वा पृष्ठभूमिको नै छनक छ। यसप्रकारको केही कवितादोषहरूलाई टकटकाएर भन्नु हो भने यो कविता पारिजातका सर्वश्रेष्ठ कविता मात्र नभएर नेपाली प्रेमकविताको अनमोल उपलब्धि पनि हो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया