सांस्कृतिक लेखनका धरोहर अर्थात चिनुवा अचेबे

विज्ञापन

 सांस्कृतिक विम्ब

पश्चिमको वर्चस्ववादी विचारको  र राजनीतिको शिकार हुनु भाषा साहित्य र सांस्कृतिक कुराहरूमा दास बन्दै जानु, आर्थिक अवस्थामा पछाडिँदै र आत्मनिर्भरताको बाटो जोखिम बनाउनु हो।  अचेबेले नाइजेरियाको निम्ति विशेष रूपले सत्ताको दुरूपयोग विरूद्ध सङ्घर्ष गरिरहे। उनले औपनिवेशिकवादका शिकार भएकाहरूलाई त्यस विरूद्ध खडा हुन र आफुमाथि गर्व गर्न सिकाए र आधुनिक्तावाद प्रश्न गर्न सिकाए। त्यही नै मुक्ति पाउने सबैभन्दा ठुलो मन्त्र साबित भयो।                 


रवि रोदन


 

आमा, कोलाको रूखको हाँगा र लेखन चेत

चिनुवा अचेबेका पिता पेशाले एक शिक्षक थिए । आफ्नै घरमा ठेलीका ठेली किताब थुपारेर आफ्नो सुसम्पन्न पुस्तकालायमा बसेर घण्टौ किताब पढ़िरहन्थे। आमा जस्तै  उनी कम बोल्थे तर उनी चहान्थे उनलाई मनपर्ने सारा किताब उनका नानीहरूले पढ़ुन् ।

बाइबलका पदहरू पढ़ेर सुनाउँथे उनी ।

आइताबार गाउँका सारा भुराभुरीलाई भेला पारेर दया र न्यायको पाठ सिकाउँथे उनका पिता। कठीन अङ्ग्रेजीलाई इग्बो भाषामा अनुवाद गरी गरी बुझाउँथे उनी। गरीबका नानीहरूलाई आफ्नै खर्चमा शिक्षा दिलाउँथे। शिक्षाले मान्छेमा समझ र चेतना जगाउँछ भन्ने कुरामा उनका पिता विश्वस्त थिए।

एउटा घटनाले लेखनमा ज्यादै प्रेरित गरेको कुरा आफ्नो आत्मकथामा चिनुवा बताउँछन्।

आमा गम्भिर  शालिन र मौन प्रवृतिकी थिइन्। देख्दा सबै सहेर चुपचाप बस्ने जस्तो। गम्भीर र विचारशील थिइन् । चुपचाप बस्ने आमाको वास्तविक रूप र त्यसपछिको सामर्थलाई उनले गाउँमा घटेको एउटा घटनाबाट देखे र बुझे।

ईसाई भए पनि गाउँमा यिनका आफन्तहरू इग्बो परम्परालाई मान्ने गर्थे। सामाजिक परम्पराले सृजना गरेको जटिल कुराको सामना गर्ने स्थिति भइरहन्थ्यो।

एक प्रहर उनको आमाले आँगनमा भएको कोलाको रूखको हाँगा तोडेर त्यसबाट पाकेको केही फल तोडिन्। यो तोड्दै गरेको फल छिमेकमा बस्ने एक पुरूषले देखे। रूखको फल तोड्नु सहज मानिए र सुनिए पनि  इग्बो स्त्रीले त्यसरी फल टिप्नु  परम्परागत तरिकाले घोर अपराध मानिन्थ्यो।

कोलाको फल आफै पाकेर भुइँमा झरेपछि त्यसलाई पुरूषले मात्र उठाउने चलन थियो  र  स्त्रीलाई टिप्न बटुल्न पाबन्दी थियो ।

इग्बो समाजमा कोलालाई पवित्र फल मानिन्थ्यो जो त्यस समयको इग्बो परम्परा, जीवन शैली  र संस्कृतिसित जोड़िएको थियो। अचेबेका आमाले यो परम्पराको विरूद्ध बढो निडरता साथ कोलाको फल तोडेकी थिइन् । यो कुरा जब गाउँको मुखियाको कानमा पुग्यो, गाँउमा हल्लीखल्ली मच्चियो। त्यो परम्परा र धर्मको अपमान हो भन्नेबारे हल्लीखल्ली थियो। गाउँका सबै पुरूष भेला भए। यस दुस्साहसको निम्ति दण्ड दिने तय गरियो । लामो बहस चल्यो । तर चिनुवा अचेबेको आमा निडरतासाथ आफ्नो कुरामा अडिग रहिन् ।

उनले भनिन्, ‘एक मान्छे भएको नातामा मलाई पुरा अधिकार छ कि म कोलाको फल बोटबाट सोझै तोड्न सकूँ अनि  त्यतिखेर जब त्यो बोट मेरै घरको आँगनमा फलेको होस्।’ उनको तर्क र विचार अघि पुरूषहरू हारे र शिर निहुराएर बाटो लागे । एउटी पटक्कै नबोल्ने स्त्रीले वास्तवमा समाजिक कुरिति विरूद्ध आफ्नो मौनता तोड़ेर एक योद्धा जस्तो आफ्नो निर्णयमा अडिग भएर अचेबेका आमाले त्यसै समय नारी हकसित जोडिएको लडाईँ जितेकी थिइन्।

यस घटनाले चिनुवा अचेबेलाई सामाजिक विसङ्गति विरूद्ध लड्ने चेत दियो। अफ्रिकी साहित्य लेखनमा चिनुवा अचेबेले लेख्ने प्रेरणा यस्तै कुराहरूबाट लिएका थिए।

उपनिवेशवादी समयको विरोधाभासिक ऐना र उपन्यास लेखन

चिनुवा अचेबेका दुई किताबहरूको शीर्षक ‘थिङ्ग्स फल अपार्ट’ र ‘नो लङ्गर एट इज ’ आइरिश र अमेरिकी कविहरूको कविताको पङ्क्तिहरूबाट नै प्रभावित भएर यिनले राखेका थिए। यसो गर्नु एक प्रकारले अरूको ध्यान आफुतिर खिच्नु र आफु अङ्ग्रेजीको विद्वान भनी देखाउनु थियो भनी स्विकार्छन् उनी।

ती कविहरूको कविताबाट भाषाप्रतिको माया राम्रो लाग्थ्यो उनलाई। उनले अङ्ग्रेजीमा जनरल डिग्री सिद्धाएका थिए।

साहित्यमा आफ्नो अभिरूचि देखाउन अघि चिनुवा इबादन विश्वविद्यालयमा चिकित्साबारे अध्ययन गर्दै थिए। क्यामब्रिज विश्वविद्यालयबाट यिनलाई स्नातक गर्ने अनुमति दिइएन।  इबादन विश्वविद्यालयमा अचेबेले जायस केटीको एउटा नस्लवादी कथाकृतिको विरोध जनाउँदै त्यस विरुद्ध शिकायत दर्ता गरेका थिए। यस घटनामा एक अङ्ग्रेज प्राध्यापक मि. जोन्सनले मुरमुरिँदै अचेबेलाई भनेका थिए – तिमी आफै आफ्नो उपन्यास किन लेख्दैनौं ?

पछि गएर अचेबेले त्यही गरे। यसअघि लामो समयसम्म अचेबेले बुझेकa कुरा थियो गोराहरू सुन्दर, सभ्य, शक्तिशाली र बुद्धिमान हुन्छन् ।

तर अफ्रिकीहरू असभ्य, मुर्ख, कुरूप छन् जसको आफ्नै अस्तित्वको कथा नभएको खतरा अचेबेले महसुस गरे ।

एउटा गज्जब भनाई छ- “जबसम्म सिंहको पक्षबाट इतिहास लेख्ने कोहr हुँदैनन् ,तबसम्म शिकारको इतिहासमा शिकारीकै वर्चस्व रहन्छ।

अचेबे बाँचेको समय यस्तै थियो जहाँ अश्वेत -(काला)हरूलाई असभ्य , जङ्गली र   स्वेत- (गोरा) हरूको शान्ति खलबलाउनेहरू भनिन्थ्यो।

यस्ता घटनाहरूले अचेबेलाई ब्युँझायो र उनलाई लाग्यो उनी लेखक बन्नुपर्छ।  यी कुराको बोध अचेबेलाई निकै पछिबाट भयो। यो उपनिवेशवादी समयको विरोधभासको ऐना थियो। अचेबे मान्थे कि जोसेफ कानराडले जस्तो अन्य कुनै लेखकले पनि पश्चिमी दृष्टिकोणलाई अप्नाएनन्। सन- 1975 मा आफुले लेखेको एउटा निबन्ध एन इमेज अफ अफ्रिका-मा अचेबेले भनेका छन्, हार्ट अफ डार्कनेस  उपन्यासमा अफ्रिकाको छविलाई  युरोपको ठीक विपरित असभ्य भनेर अपमान जनक रूपमा देखाइएको छ। अफ्रिकाज टारनिश्ड नेम शीर्षकमा निबन्ध लेखेर अचेबेले प्रतिदवाद जनाउने काम गरे।

दासप्रथालाई कायम राख्दै उपनेवेशीकरणलाई जायज ठहराउन कुनै जाति संस्कृति र परम्परालाई अपमानित गर्न गोराहरूले कुनै कसर छोडेनन्।

अफ्रिकालाई लिएर बनाएको हजार वर्ष पुरानो भयानक र अपमानजनक भ्रामक्ताले एउटा अलग रूप लिइसकेको थियो। सिनेमादेखि पत्रिकारिता, मानवशास्त्र र मिशनरीसम्मले यी मनगड़न्ते भ्रमलाई पालेर अफ्रिकाको तस्वीर अर्कै बनाइ दिएको थियो। 2000 ईस्वीमा प्रकाशित इकोनोमिस्ट पत्रिकाले आफ्नो मुख पृष्ठमा अफ्रिकालाई एउटा निराशजनक महादेश भनेर लेख्यो।

अफ्रिकी हुनुको अर्थ कुनै पोस्टरमा दुर्दशाग्रस्त कङ्गाल बच्चाहरूको तस्वीर जस्तो देखिनु थियो।

अचेबेले ठाने उनी लेखक बन्नुपर्छ। उनलाई यो बोध भएको थियो कि उनलाई इतिहासकार बन्नु छ र यो एक्लै सम्भव छैन तर सामुहिक  रूपमा यसको प्रतिवाद गरिनु आवश्यक छ। शिकारको इतिहासमा सिंहको पीड़ा र सहासलाई झल्काउन जरूरी सम्झे अचेबेले।

  जातीय अस्मितामाथि सचेत भएर लेख्ने लेखकहरू कम नै छन्। धेरै नामी लेखकहरूले पनि बढ़ी पश्चिमि साहित्यको प्रभाव र प्रयोगमा आफ्नो लेखनको बाटो बनाउँदै गए। चिनुवा आफ्नो  जाति र संस्कृतिलाई लिएर चाँड़ै सचेत भए। यिनलाई थाहा भयो आफ्ना जातिलाई सचेत बनाउन लेख्नु आवश्यक छ।

अचेबेको उपन्यास ‘थिङ्ग्स फल अपार्ट’को पाण्डुलिपीको एउटा लामै कथा छ। यो लगभग हराइसकेको थियो। 1957 तिर  स्कलरसिप पाएर अचेबे  बीबीसी पढ्न लन्दन गएको बेला यिनले आफुसित उपन्यासको पहिलो ड्राफ्ट लिएर गएका थिए।  त्यहाँ पुगेर उनले त्यो ड्राफ्ट आफ्ना नाइजेरियन मित्रले भने अनुसार बीबीसीका इन्सट्रक्टर तथा उपन्यासकार गिलबर्ट फेल्फ्सलाई हात लगाए।  पाण्डुलिपी हात पारेपछि उनले कुनै उत्सुक्ता देखाएनन्। तर पछि त्यो ड्राफ्ट हेरेपछि उनी प्रभावित बने र उनलाई खोज्दै आइपुगे। त्यस समय अचेबे लन्दनबाट बाहिर थिए।  पछि लन्दन आइपुग्दा गिल्बर्टले त्यो पाण्डुलिपी निकै गज्जब रहेको बताए  र प्रकाशनको निम्ति उनले जानेको प्रकाशकलाई दिने कुरा बताए।  अचेबेले तर त्यस उपन्यासमा अझ काम गर्नुपर्ने कुरा जाहेर गरे। 

उपन्यासको फर्म ठीक नभएको र त्यसमा तीन परिवारको गाथा समेट्न चहान्थे उनी। उनले उपन्यासमा केही रोचक र  फरक कलेबर दिन सकिने कुरा बताए।

इङ्गल्याण्डमा टाईपिङ एजेन्सीको एउटा विज्ञापन देखेपछि अचेबेलाई लाग्यो एउटा प्रकाशकलाई हातले लेखेको ड्राफ्ट भन्दा टाईप गरेको कामले बढ़ी प्रभावित पार्न सक्छ। त्यसैलै उपन्यासको ड्राफ्टमा थप काम गरी सकेपछि नाइजेरियाबाट उनले त्यो इङ्ग्ल्याण्ड पार्सल गरिदिए।

पाण्डुलिपीको टाइपिङ प्रति कपीको हिसाबले 32 पाउण्ड लाग्ने भयो। ब्रिटिश पोस्टल आर्डरबाट उनले सो रकम पठाइदिए। एक महिना बितेपछि उनले चिट्ठी लेखे जवाफ आएन। आफ्नो उपन्यासको ड्राफ्टलाई लिएर अचेबे सुर्ताएर  दिनदिनै कमजोर र दुब्लो हुँदै गए। तर भाग्यवश जुन ब्रोडकास्टिङमा उनी काम गर्थे त्यस ब्रोडकास्टिङका हाकिम (बोस)  विदामा लन्दन जाने भए। अचेबेले आफ्नो उपन्यासको ड्राफ्टबारे बताए। लन्दनमा पुगेर निकै कोशिस गरेपछि अचेबेलाई ड्राफ्टको एक होइन तर दुई कपी प्राप्त भयो। अचेबेले त्यस उपन्यासको ड्राफ्ट आफ्ना प्रकाशक हिनमैनलाई पठाइदिए।

हिनमैनले यस अघि कुनै अफ्रिकी उपन्यास देखेका थिएनन्। छाप्नु कि नछाप्नु भन्ने कुरा लिएर हिनमैन असमञ्जसमा परे। उनले यो ड्राफ्टलाई लन्दन स्कुल अफ इकोनोमिक्सका इकोनोमिक्स र राजनीति शास्त्रका प्राध्यापकलाई पठाएर सल्लाह लिए। प्रकाशक अनुसार ती प्राध्यापकले उपन्यासलाई लिएर सबैभन्दा छोटो टिप्पणी गरेका थिए- विश्वयुद्धपछिको सर्वश्रेष्ट उपन्यास

यसरी अफ्रिकी राइटर सिरिज अस्तित्वमा आयो। उपन्यासको शीर्षक  विलियम बटलर यीट्सको कृति द सेकेन्ड कमिङ-बाट टिपेका थिए। त्यस कृतिमा कविताको पङ्क्ति थिङ्ग्स फल अपार्ट ; द सेन्टर केन्नट होल्ड निकै प्रचलित बनेको थियो।  अचेबे आफ्ना कथाहरूलाई दुखान्त दृश्यबाट अन्त गर्थे। उनी भन्थे, हाम्रा भावी पिढ़ीलाई हाम्रै कथाहरूले बचाउने हो, कथाले हाम्रो बाटो बचाएर राख्ने हो, कथा बिना हामी अन्धो हुन्छौं । अचेबेलाई अफ्रिकी साहित्यको जनक मानिन्छ।

अचेबे एक सफल लेखक , सासंकृतिक अहङ्कार र निरकुंशताबाट उत्पन्न अमानवियताको आधुनिक त्रासदीलाई उनले गहिरो रूपमा चिनेका थिए।

उपनेशविरोधी अफ्रिकी साहित्य लेखेर संसारलाई अचेबेले अफ्रिका चिनाए।  अफ्रिकी संस्कृति र समाजमा औपनिवेशिकरणको विनासकारी प्रभावलाई देखाउन यिनले तीन कृतिहरू लेखे ‘थिङ्ग्स फल अपार्ट (1958), नो लङ्गर एट इज (1960) र  ऐरो अफ गड (1964)

थिङ्ग्स फल अपार्ट’का मुख्य पात्र आकोनक्वो त्यस महादेशमा औपनिवेशिकरणको मारले त्यसबाट उब्जेका चुनौतिहरूको  प्रतिनिधित्व गर्न जुर्मुरिन्छ। नाइजेरिया स्वतन्त्र हुन अघि 1960 को दशकमा ‘नो लङ्गर एट इज’ लेखिन्छ त्यस समय आकोनक्वोको नाती ब्रिटेनमा शिक्षा पुरा गरेर आइपुग्छ । उ सत्ता समर्थक छ। मुख्य पात्र औपनिवेशिक सिविल सेवामा एउटा उच्च पदमा तैनाथ छ । उसले त्यस जागिरबाट पाएको तनखा उसको परिवारको नम्ति कम भएको सोच्छ र उ घुस लिन थाल्छ र उ पक्राउ पर्छ र उसले दण्ड पाउँछ। तेस्रो उपन्यास ‘ऐरो अफ गड’ मा परम्परावादी एक इमान्दार पुरोहितको जीवनमाथि आधारित छ, जो औपनिवेशीकरणको सहयोगलाई इन्कार गर्छ। युरोपवासीको आक्रमणले अफ्रिकालाई उपनिवेश बन्नुको प्रतिरोध देखाउँछ यस उपन्यासले।

वैचारिक रूपले युरो-केन्द्रवादसित अलग हुनु थियो। पश्चिमको वर्चस्ववादी विचारको  र राजनीतिको शिकार हुनु भाषा साहित्य र सांस्कृतिक कुराहरूमा दास बन्दै जानु, आर्थिक अवस्थामा पछाडिँदै र आत्मनिर्भरताको बाटो जोखिम बनाउनु हो।  अचेबेले नाइजेरियाको निम्ति विशेष रूपले सत्ताको दुरूपयोग विरूद्ध सङ्घर्ष गरिरहे। उनले औपनिवेशिकवादका शिकार भएकाहरूलाई त्यस विरूद्ध खडा हुन र आफुमाथि गर्व गर्न सिकाए र आधुनिक्तावाद प्रश्न गर्न सिकाए। त्यही नै मुक्ति पाउने सबैभन्दा ठुलो मन्त्र साबित भयो। 1958 मा प्रकाशित अचेबेको ‘थिङ्ग्स फल अपार्ट’ अफ्रिकी साहित्यको इतिहासमा सबैभन्दा बढ़ी लोकप्रिय  कृति साबित बन्यो।

संसारभरि यो उपन्यास आठ मिलियन प्रति बिक्री भयो भने पचासभन्दा बढ़ी भाषाहरूमा यसको अनुवाद गरियो। अचेबेले अफ्रिकालाई लिएर पाश्चत्य देशमा लेखिएका साहित्यको जोड तोड आलोचना गरे। जोशेफ कोनराडको हार्ट अफ डार्कनेसको यिनले कड़ा आलोचना गरे।  भाषा साहित्य र संस्कृतिमाथि उठेका प्रश्नहरू लिएर निरन्तर विचारोत्तेजक कथा, कविता र निबन्ध लेखिरहे।  अचेबे भन्छन्- लेखक लेखक मात्र होइन उ नागरिक पनि हो राम्रा लेखक र साहित्य अस्तित्वमा तब आउँछ जब मानवताको हितमा भएर लेखिन्छ। अचेबेले सांस्कृतिक लेखनलाई स्थापित गरे।

अचेबेको अन्तिम कथाकृति ‘एन्थिल्स अफ द सवाना’ (1987) हो । उनले अन्य कृतिमा ‘द मोनुमेन्टलएरो अफ गड’ (1964), ‘ए मेन अफ दि पिपल’ (1966) , ‘नो लङ्गर एट इज’ (1960)  , ‘द मेजिस्ट्रियल  होप्स एण्ड इपिडिमेन्ट्स’ (1988) , ‘द ट्राबल विथ नाइजेरियो’(1983), ‘द एजुकेशन आफ द ब्रिटिश प्रोटेक्टेड चाइल्ड’ (2009), ‘देयर वाज अ कन्ट्री’ (2012) लेखे।

यी मध्ये अचेबेले लेखेको कृति ‘थिङ्ग्स फल अपार्ट’-ले नोबेल पुरूस्कार पाउनु पर्ने हो तर दुःखलाग्दो उनले पाएनन्।  सन 2007 मा  मेनबुकर अन्तराष्ट्रिय पुरस्कार पाए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया