भानु जयन्तीको समाजशास्त्र

विज्ञापन

बहस

‘मनोज भाइ, लौ न हामीलाई यहाँका नेपालीहरू हेर्नु छ, कसो गरौं ?  ,’ कवि मनु मञ्जिलले भने । मैले कालेबुङ बजार फनफनी घुमाइदिएँ । होटेलमा आइसकेर कवि मनु मञ्जिलले नै फेरि सोधे, ‘घुम्न पाउँदा खुसी लाग्यो मनोज भाइ, तर नेपालीहरू चाहिँ कहाँ बस्छन् ? ’ उनको प्रश्न सुनेर हामी सबै हाँस्यौँ । त्यो हाँस्नै पर्ने प्रश्न थियो त ?    उनलाई मैले जति पनि ठाउँ घुमाएँ, उनले कतै पनि नेपाली देखेनन् । किनभने कालेबुङ बजारमा मारवाडी, बिहारी, बंगाली र अन्य अनेपालीहरूकै ‘पसल’ धेरै छन् । कहीँकतै दुई एक नेपालीहरूको पसल छन् । मञ्जिलले त सोचेका रहेछन्, कालेबुङ भनेको नेपाली बस्ने ठाउँ हो, तर उनले त्यही कालेबुङमा नेपाली थोरैमात्र देखे ।


मनोज  बोगटी


भानु जयन्तीको माने र याद

एसबी सरले सोध्नु भो, ‘नाटक को को खेल्ने ?       ’

प्रभातले मलाई ‘हात उठा न’ भनेर कर गर्‍यो ।

खासमा म साथीहरूलाई आफूले हेरेका फिल्मको डायलग फट्कारेर हिरोको एक्टिङ गरिबस्थेँ । ‘कुत्ते कमिने, मै तेरा खुन पि जाउंगा,’ भन्दै मैले धेरैपल्ट पाखुराले घाँटी बेरेर प्रभातको घाँटी निमोठी सकेको थिएँ । आफूलाई धर्मेन्द्रजस्तो लाग्थ्यो तर मेरा पाखुराहरू लुते थिए, सिन्काजस्ता । प्रभातहरू हाँस्थे ।

धनकुमार एउटी केटीको एकपाखे प्रेममा परे । मैले प्रकाश कोविदको उपन्यासहरूबाट थुतेका हरफहरू मिलाएर उसको लागि प्रेमपत्र लेखिसकेको थिएँ । गोजीमा बोकेरै च्यातियो त्यो, धनकुमारले प्रेम प्रस्ताव राखेन ।

‘धने, इस्कका मजा ही चुपके करने मे है,’ मेरो डायलग सुरु भइहाल्थ्यो । ससाना सायरी लेख्ने कामले म स्कुलमा चर्चित थिएँ । हिरोहरूको एक्टिङले केटाहरू पीडित ।

‘सर मनोज खेल्छ’, प्रभातले भन्यो ।

त्यसपछि मेरो कालो अनुहार पनि रातो बन्यो ।

स्कुल जानु अघिको ड्युटी थियो, एक भारी घाँस ।

झिसमिसेमै नाम्लो, सिक्कल बोकेर जङ्गल पस्नु, यस्तो दैनिकी थियो, जोबाट हजार कोसिस गरे पनि भाग्न मिल्दैनथियो । गाई, बाख्रा कराउन थालेपछि सबै मेरो अनुहार हेर्थे । हतारमा सोहोरेको घाँस मन नपराएर बाख्रा कराउन थाल्थ्यो । गाई घरतिर हेरेर उस्तै गरी कराउने ।

कुनैबेला म गाईलाई नाम्लोले पिट्थेँ । ‘केस्सारो कराको, त्यसको बाउको साउ,’ यसरी गाली पनि गर्थें तर जबसम्म रुच्ने घाँस पाउँदैनथ्यो, गाईबाख्रा कराउन छोड्दैनथे । त्यसकारण पनि स्कुल जानुअघि छानीछानी घाँस काट्नुपथ्र्याे । कुनै दिन ढिला हुन्थ्यो । ढिला भएको दिन म सयपल्ट उठबस गर्ने मानसिक तयारीमा नै क्लास पस्थेँ ।

साथीहरू निक्कै दिन हिरोले उठबस गरेको भन्दै चिडाउँथे ।

एसबी सरले एकदिन भानुभक्तको कथा हाले । खासमा त्यो भानुभक्तको जीवनी थियो ।

घुम्न निस्केको भानुभक्त थाके । बसेकै ठाउँमा निदाए । ब्यूँझँदा छेउमा घाँसी देखे ।

‘घाँसी दाइ, यो घाँस के गर्छौ ?  ,’ भानुभक्तले सोधे ।

‘बेच्छु, बेचेको पैसा जोगाएर राखेको छु । यो ठाउँमा खानेपानीको इनार छैन, पछि त्यो पैसाले इनार बनाउँछु’, घाँसीले उत्तर दिए ।

त्यसपछि भानुभक्तको बुद्धि खोलियो रे ।

‘म भानुभक्त भइकन किन यस्तो…’ एसबी सरले घाँसी कविता फरर सुनाए ।

‘बुझ्यो केटा हो, घाँसीको प्रेरणाले भानुभक्तले धेरै काम गरे । नेपालीमा रामायण लेखे,’ एसबी सरको पढाउने शैली राम्रो लाग्थ्यो, ‘भानुभक्तले नेपालीमा रामायण लेखेकोले हामीले भाषा पायौं।’

मलाई घाँसी खुब मन पर्‍यो । मैले घाँसीकै रोल मागें र डालयग रट्न थालेँ, ‘म इनार बनाउँछु, नाम कमाउँछु….।’

नाटकको शीर्षक नै ‘भानुभक्त र घाँसी’ थियो । १३ जुलाई नजिक आइसकेको थियो । धुमधामले भानुजयन्ती मनाउने दिन ।

‘मनोज, दौरा सुरुवाल तयार गरिस् ? ,’ भानु जयन्ती आउन केही दिनअघि एसबी सरले मलाई सोधे । त्यसपछि पो गल्यो मेरो हात पाखुरा ।

युनिफर्मसमेत सेकेन्ड ह्यान्ड लगाउने मैले दौरा सुरुवाल कताबाट पाउनु ?   घाँसीले मैलेजस्तो हाते सियोले फाटेको सिलाएर टालेको हाफपेन्ट लाउँथेनन् । उनी त घाँस काट्दा दौरा सुरुवाल लगाउँथे । अनि दौरा सुरुवाल हाम्रोतिर ठूलाठालाले भानु जयन्ती र दसैंमा लगाउन सिउँथे । यी दुवै अवसर नभएको बेला कसैले पनि दौरा सुरुवाल लगायो भने भनिन्थ्यो, ‘भानु जयन्ती आयो क्या हो, कविजी ।’

भानु जयन्ती आउनु दसैं आउनुजस्तै थियो । यस दिन र्‍याली निकालिन्थ्यो । भानुभक्ते रामायणका डायलग, कविताका हरफहरू लेखेका प्लाकार्ड बोकेको लामो लस्कर सडकमा एकफन्को लगाएर स्कुल फर्किएपछि सुरु हुन्थ्यो भानु जयन्ती ।

बगान छुट्टी हुन्थ्यो यस दिन । साराका सारा क्लबका गायकहरू यस दिन गीत गाउँथे, डान्सरहरू नाच्थे । गन्यमान्य जति सबै मञ्चको पहिलो लहरमा बस्थे । पालैपिलो भानुभक्तबारे दर्शकलाई बुझाउँथे । भन्थे, ‘भानुभक्त हाम्रो भाषाका जनक हुन्, रामायणले नेपाली भाषाको प्रचार गर्‍यो…।’

१९औं शताब्दीको अन्त्यतिर रामायण छापिन अघिदेखि नै भाषा हामीसितै रहेको कुरा उनीहरू भुल्थे । यसरी भुल्ने परम्परा नै बस्यो ।

गैरीबास उच्च विद्यालयले हरेक वर्ष क्लबहरूसित मिलेर भव्य भानु जयन्ती मनाउँथ्यो । म त्यही स्कुलका आठौं   श्रेणीको छात्र । जो भानु जयन्तीमा नाटक खेलिरहेछ ।

मैले नाटक खेल्ने हल्ला गाउँमा भयो । सारा गाउँका मानिसहरू घर बन्द गरेर भानु जयन्ती मनाउन पुग्ने ठाउँ त्यही गैरीबास उच्च विद्यालय त थियो । वर्षमा एकदिन यस्तो उत्सव आउँछ, जहाँ कुलैन बगानका        श्रमिक, बेरोजगार, धनिमानी, बुद्धिजीवी, कवि, लेखक, नेताहरूले साहित्यिक भाषण सुन्न पाउँछन् । नाटक हेरेर भुँडी मिचिमिची हाँस्न पाउँछन् । आफ्नै गाउँका कलाकारहरू छमछमी नाचेको देख्न पाउँछन् । गाउँका लता, किशोर, नारायण गोपालहरूले भाका हालीहाली गाएको सुन्न पाउँछन् । गाउँका कविहरूको दिन हो आज, मनका भावनाहरू खिपिखिपी पोख्न पाउँछन् ।

त्यसपछि धेरै दिन उनीहरूको चर्चा चल्छ, गाउँगाउँमा । वाकपटुता, कविता प्रतियोगिता, रामायणका श्लोक वाचन, लोकगीत, नृत्य, मारुनी, नाटक सबैमा प्रतियोगिता । जसले नि जित्यो बस्, उसको थै थै । यस्तोमा मैले नाटक खेल्नु गाउँको नाक उचो राख्नु पनि त थियो । सब थियो, थिएन त दौरा सुरुवाल ।

आमालाई मैले पीडा सुनाएँ ।

घरबाट सुटुक्क निस्किनु भएको आमाले साँझमा सुनाइन्, ‘तल विक्रम अंकलकोमा जा, मैले भनिदिएको छु ।’

पुग्दा विक्रम अंकल केही लेखिरहेका थिए । कवितावाचन प्रतियोगिताको निम्ति आएका कविताहरू संशोधन गरिरहेका रहेछन् ।

‘तिमी कविता लेख्छौ ? ,’ अंकलले मलाई सोधे ।

मैले ‘न’ भन्न टाउको हल्लाएँ । उनले कुच्चिएको लुगाको पोको निकालेर भने, ‘हेर त यो हुन्छ होला तिमीलाई, मलाई साँघुरो भो यो ।’ मैले हेरेँ । मेरो सिकुटे जिउमा यति खकुलो हुने दौरा सुरुवाल थियो, बाबाको प्यान्ट लाएजस्तो सुरुवाल, तीनफन्को लगाउँदा मात्र मिल्ने । दौराको अवस्था पनि उस्तै ।

‘यसैले काम चलाउ, अब, बाँधबुँध गरेर,’ मैले त्यही बोकेँ ।

‘यसपालि नाटक खेल्दैरैछौं, अर्को पालि कविता सुनाउनु ल ?       ,’ अंकलले भन्नु भो । मैले ‘हस्’ भन्न टाउको हल्लाएँ ।

मेरो दुईवटा जीउ छिर्ने त्यही दौरा सुरुवाल लगाएर मैले नाटक खेलेँ । तपाईं सम्झनुस्, त म घाँसीलाई कस्तो देख्यो होला त ?    तर राम्रो भो, नाम कमाउन मलाई घाँसीले ठूलो स्पेस दियो । भानु जयन्ती नहुँदो हो त, म कलातिर कसरी लहसिन पाउँथेँ ?       

भानुभक्तको जमानामा घाँस बेच्थ्यो भन्ने कुरा सुनेर अहिले हाँस उठ्छ । तरै पनि ‘पुण्यको काम गर्ने शिक्षा दिन’ भानुभक्तले घाँसी पात्र निर्माण गरेर गतिलै काम गरेका रहेछन् । ‘विचार’ भन्न यस्तै विम्बहरू, मिथहरू आउनु स्वाभाविक पनि त हो । मलाई भानुभक्तको घाँसीबारे विवाद गरिरहनु मुनासिव लाग्दैन । पहाडमा इनार खनोस् कि नखनोस्, मैले लेखनको किनार भानुभक्तकै घाँसीबाट पाएँ । भानु जयन्तीको माने यसकारण पनि धेरै छ दार्जिलिङमा ।

तपाईंहरूलाई हेक्का होस्, दार्जिलिङमा भानु जयन्तीले तयार पारेका कविहरूको जनसंख्या दार्जिलिङको मोठ जनसंख्याको आधा त छन् नै होला । त्यसैले पनि दार्जिलिङमा आख्यान र अरू विधाभन्दा धेरै कविता लेख्ने परम्परा बस्यो । यो परम्पराको स्थापनामा भानु जयन्तीको ठूलो रोल छ ।

त्यसपछि लगातार स्कुल पढिञ्जेल मैले भानु जयन्तीमा भाग लिएँ । अर्को वर्ष ‘दाइजो’ नाटक खेलेँ र त्यही वर्ष जीवनमा पहिलोपल्ट मञ्चमा उभिएर आफूले लेखेको कविता सुनाएँ । कविताको शीर्षक थियो, ‘हे भानु तिमीले ।’

आदर्शीकरणको राजनीति

‘हे भानु तिमीले,’ खासमा यो कविताको शीर्षक रहेनछ । यो त भानुभक्तलाई गरिएको आदर्शीकरणको गतिलो ‘केस’ थियो । त्यसपछिका जति पनि भानु जयन्ती आयो, मैले पाएको ‘भानुभक्त आचार्य नेपाली भाषाका जनक’ नै थियो । भानुभक्तले रामायण नलेखेको भए हामीले कुन भाषा बोल्थ्यौं होला, हगि ?       

पृथ्वीनारायण शाहको राष्ट्रिय एकीकरणले ल्याएको ‘एउटै भाषा नेपाली’ अभियानले नेपालमा जुनजुन सांस्कृतिक-भाषिक अन्तरविरोध खडा गर्‍यो, त्यसबारे अझ पनि बहस चलिरहेकै छ । यता नजाऔं । पृथ्वीनारायणको एकीकरणबाट बोकिल्याएको ‘भाषा’ले भारतीय गोर्खाहरूलाई गोलबद्ध गर्ने काम गरेको भने साँचो हो ।

सन् १९२० तिर भारतीय राष्ट्रियता भाषा केन्द्रित बन्यो । गान्धीको पार्टी कंग्रेसले राष्ट्रिय सतहमा भाषिक चेतना तयार पार्‍यो । गान्धीजीले त ‘भाषाकै आधारमा भारतीय संघ पुनर्विभाजनमा आउनुपर्छ’ भनेका थिए । यो सुनेपछि राजनैतिक रूपमा दार्जिलिङ सचेत नहुने कुरै आएन । त्यसपछि भारतका अल्पसंख्यक नेपालीहरूलाई राजनैतिक सुरक्षा दिने एउटै मुद्दा थियो, ‘भाषा ।’

उतिखेर भानुभक्तलाई आदर्शीकरण गर्ने सूर्यविक्रम ज्ञवालीहरूको एजेन्डा जे पनि होस्, तर भारतमा बढ्दै गइरहेको भाषीय चेतनाले भानुभक्तलाई ‘रोल मोडल’ बनाउने स्पेस गज्जबले नै दियो । दार्जिलिङमा यसैको प्रभावमा नेपाली साहित्य सम्मेलन (१९२४) बन्यो । रामायण र भानुभक्तको प्रचारमा ज्ञवालीहरूले यही सम्मेलनलाई प्रयोग गरे । पहिलोपल्ट भानुको सालिक यसैकारण नेपालमा नबनेर दार्जिलिङमा बन्न सकेको हो ।

सम्मेलनले रामायण प्रकाशित गर्‍यो । भानुभक्तको जीवनी लेखियो । भानु जयन्ती पालन गर्ने परम्परा बस्दै गयो । मैले नाटक खेलेको र कवितावाचन गरेको भानुजयन्ती त्यही परम्पराका नमुना हुन् । यो परम्परा अझै पनि छ । बंगालमा नेपाली भाषालाई सरकारी भाषाको रूपमा मान्यता दिनुपर्ने मागमा हुर्किएको राजनैतिक दार्जिलिङे समाजले सत्तरीको दशकमा नै नेपाली भाषालाई भारतको संविधानको आठौं अनुसूचीमा गाभ्नुपर्ने माग उठायो । त्यसपछि त भानु जयन्तीले परम्पराकै रूप धारण गर्‍यो । किनभने यही एउटा यस्तो पर्व थियो, जसले भारतीय नेपालीहरूको साहित्यिक उपस्थिति र भाषीय चेतनाबारे वरिपरिका मिश्रित समाजलाई केही भन्थ्यो ।

नेपाली भाषाका कुनै महान् व्यक्ति देखाउन पर्‍यो भने दार्जिलिङे प्राज्ञहरूसित भानुभक्तबाहेक अरू थिएनन् पनि । यस हिसाबमा भानुभक्त आचार्य भारतीय नेपाली समाजमा मातृभाषाको प्रबल प्रचारक भनेर प्रयोग गरिएका सर्जक हुन् । जातीय र भाषीय चेतना निर्माणको निम्ति भानु जयन्तीले ठूलो भूमिका निभाएकै हो । तर, भानुबारे अत्याधिक अपत्यारिला कुराहरूको प्रचार पनि सँगसँगै भयो । ‘भाषाका जनक’ ती अपत्यारिला कुराहरूमा प्रमुख हो ।

जनकहरूबारे भ्रम

भानुभक्त र रामायणलाई लिएर जति प्रचार गरियो, यसमा दुइवटा कूटनीति छ । पहिलो, दार्जिलिङे नेपाली भाषीहरूलाई रामआदर्श पढाएर धर्मको प्रचार गर्ने र धार्मिक र भाषिक रूपले नेपालीहरूलाई एकीकृत गरिराख्ने ।

दोस्रो, भारतमा गान्धीजीहरूले भाषाकै आधारमा भारतीय संघ पुनर्विभाजन गर्न खेलिरहेको राजनीतिबाट फाइदा लिने । राजनैतिक रूपले यी दुई कारणको निम्ति प्रयोगमा आएका भानुभक्तको देवत्वरणले भने केही भ्रमहरूको सिर्जना पनि गर्‍यो । यताका लेखकहरूले पनि ‘नेपाली भाषाका जनक भानुभक्त नै हुन्’ भन्दै आए ।

पृथ्वीनारायण शाहको जातीय एकीकरणको निम्ति भानुभक्तको रामायणलाई भाषा प्रचारको टुल्सको रूपमा प्रयोग गरिएको हुन सक्छ । तर दार्जिलिङ वा भारतीय नेपालीको सन्दर्भमा यो ‘टुल्स’कै कारण यता बोल्ने नेपाली भाषाको प्रचार भएको कुरा साँचो होइन । किनभने रामायण छापिनुभन्दा धेरै अघि मिसनरीहरूले नेपालीमा व्याकरण (जे.ए.एटनद्वारा १८२०) लेखिसकेका हुन् । १८२१ मा नै नेपालीमा बाइबल र १८४० मा कोश पनि तयार भइसकेको हो ।

समस्या के हो भने पृथ्वीनारायण शाहको ‘एकीकरण’लाई शिरोपर गर्ने नेपालका साहित्यकारहरूले (मोतीराम भट्टहरू) ‘नेपाली भाषाको झुल्के घाम रामायणबाट नै लागेको हो’ भनेर लेखेका ‘लिटरेचर’ यताका साहित्यकारहरूले पछ्याइदिए । र, अझसम्म यता भानुभक्त आदर्श र भ्रमसितै बाँचिरहेका छन् ।

२० अगस्त १९९२ मा भारतमा नेपाली भाषा आठौं अनुसूचीमा गाभिएपछि भने भानुभक्तीय आदर्श विस्तारै विवादमा तानिँदै आइरहेको हो । भानुभक्तलाई सांस्कृतिक र भाषिक बिम्ब नेपालमा छुट्टै र भारतमा छुट्टै कारणले बनाइएको हो । अंग्रेजको उपनिवेश झेलिरहेको दार्जिलिङे हिन्दु नेपाली भाषीहरूलाई स्कटिस मिसनरीहरूले नेपाली भाषालाई धर्म प्रचारको रूपमा प्रयोग गरिरहेको थाहा नहुने कुरै थिएन । जसरी भानुभक्तलाई दार्जिलिङमा नेपाली भाषाको प्रचारक प्रणेताको रूपमा स्थापित गरियो, उसरी नै पादरी गंगाप्रसाद प्रधानलाई नेपाली भाषा प्रचारक प्रणेताकै रूपमा प्रचार गरेको देखिन्छ ।

उनले १९०१ मा गोर्खे खबर कागत प्रकाशित गरेर नेपाली भाषाको सेवा गरेको भन्ने गरिएको छ । मिसनरीहरूले प्रकाशित गरेको यो पत्रिकाको अन्तर्यमा ‘इसाई धर्मको प्रचार’ लुकेकोले पनि पादरीलाई नेपाली भाषाको जनक भनेर दार्जिलिङेहरूले मान्न आनाकानी गरिरहेकै छन् । भानुभक्तलाई दार्जिलिङमा ‘नेपाली भाषाको जनक’ मान्ने स्थिति कसरी हुन्थ्यो र ।

जातीय असुरक्षा र भानुभक्त

‘भारत-नेपाल काव्य संवाद’मा नेपालका केही कविहरूलाई बोलाएको थिएँ । कवि भूपिन, हेमन यात्री, चन्द्र गुरुङ, देवान किराँतीलगायत मनु मञ्जिलसम्म कालेबुङ आएका थिए ।

‘मनोज भाइ, लौ न हामीलाई यहाँका नेपालीहरू हेर्नु छ, कसो गरौं ?  ,’ कवि मनु मञ्जिलले भने । मैले कालेबुङ बजार फनफनी घुमाइदिएँ । होटेलमा आइसकेर कवि मनु मञ्जिलले नै फेरि सोधे, ‘घुम्न पाउँदा खुसी लाग्यो मनोज भाइ, तर नेपालीहरू चाहिँ कहाँ बस्छन् ? ’

उनको प्रश्न सुनेर हामी सबै हाँस्यौँ । त्यो हाँस्नै पर्ने प्रश्न थियो त ?    उनलाई मैले जति पनि ठाउँ घुमाएँ, उनले कतै पनि नेपाली देखेनन् । किनभने कालेबुङ बजारमा मारवाडी, बिहारी, बंगाली र अन्य अनेपालीहरूकै ‘पसल’ धेरै छन् । कहीँकतै दुई एक नेपालीहरूको पसल छन् । मञ्जिलले त सोचेका रहेछन्, कालेबुङ भनेको नेपाली बस्ने ठाउँ हो, तर उनले त्यही कालेबुङमा नेपाली थोरैमात्र देखे ।

पक्का छ, उनको प्रश्न हाँस्नुपर्ने प्रश्न थिएन ।

अघिबाट अंग्रेजी उपनिवेश खपेको दार्जिलिङ बंगालको एउटा जिल्ला हो । सरकारी निकायको कुनै पनि ठूला पदमा नेपालीहरू नियुक्त हुँदैनन् । दार्जिलिङ हिन्दीभाषीहरूबाट कखरा सिकेर हुर्किएको ठाउँ हो । नेपालको ह्रस्व र दीर्घ यहाँ छोटाइकर, बढाइकर, छोटा उकर, बढा उकर हुन्छ ।

दार्जिलिङको अर्थनीति अरू भाषीकै हातमा छ । सरकारी कार्यालयतिर, ठूला पदतिर अरू भाषी नै छन् । कुल जनसंख्याको ७० प्रतिशत  श्रमिक रहेको चिया बगानका मालिक नेपाली भाषी छैनन् । रोजगार, शिक्षा, स्वास्थ्य, यातायातजस्ता आधारभूत निकायमा नेपाली भाषीहरूको निम्ति भनेजस्तो न आरक्षण नै छ, न त अवसर । प्रशासनदेखि दोकानसम्म, बगानदेखि बाहनसम्म नै अवसर नपाएका नेपाली भाषीहरूले जुन असुरक्षा अनुभव गर्छ, त्यसैबाट ‘आन्दोलन’ हरूले प्र श्रय पायो । त्यो भाषाको आन्दोलन होस् वा राज्यको ।

भाषाले एकीकृत गरिराखेका नेपालीहरूलाई जोडेर राखिराख्न कोही महापुरुष चाहियो । भानुभक्तले त्यहीँ ठाउँ लिए । उनको ‘रामायण’ले सिकाएको आदर्श नै त्यही ‘एकता’ हो । भानु जयन्तीले सांस्कृतिक पर्वको रूप लिनुमा त्यही असुरक्षा प्रमुख कारण बन्यो । विभिन्न जात, धर्म, संस्कृतिका दार्जिलिङेहरूलाई ‘गोर्खा’ जाति नामको छातामुनि बस्नैपर्ने बाध्यता त्यही जातीय असुरक्षाले नै प्रदान गरेको हो । नेपालमाभन्दा धेर दार्जिलिङमा भानुभक्तले पाएको मान, सम्मानको पछिल्तिर त्यही जातीय असुरक्षा नै प्रमुख कारक हो ।

पहिचानको संकट

‘भानुभक्त आचार्य कहाँका लेखक हुन् ?  ’, सुवास घिसिङलाई यसको उत्तरले धेरै पिरल्यो । १९७९ मा प्रधानमन्त्री मोरारजी देशाईले ‘नेपाली’लाई ‘विदेशी भाषा’ भनिदिएपछि यहाँका नेपालीहरूको दाँतमा ढुंगा लाग्यो । ब्रिटिस भारतको अभिन्न अंग बनिसकेको दार्जिलिङ भारत बनिसक्दा भारतीय बनिसकेको हो । यद्यपि, देशको मूलधारले भारतीय नेपालीहरूलाई हेर्ने प्रतिनिधि दृष्टिकोण मोरारजी देशाईकै हो ।

गोर्खाल्यान्ड आन्दोलनलाई हिंसातिर लगेर सुबास घिसिङ भारतमा गोर्खाहरूको पहिचान खोजिहेका थिए । १९५० को भारत-नेपाल सन्धि जलाउँदा धेरै आन्दोलनकारीहरूलाई अर्धसैनिक बलका जवानहरूले गोली हानेका थिए । मान्छे मर्नु र मार्नु सामान्य बनिसकेको थियो ।

१९८६ को कुनै एकदिन दार्जिलिङमा हाहाकार मच्चियो । चौरस्तामा रामायण बोकेर उभिरहेका भानभक्तको सालिकमा टाउको थिएन । भानु जयन्तीमार्फत दार्जिलिङे नेपालीहरूलाई जोडेर राख्ने भानुभक्तको टाउको चुँडिएको थियो । जातीय असुरक्षा भोगिरहेका गोर्खा जातिलाई एकीकृत गर्न महान् योगदान दिने महापुरुष भानुभक्तको सालिकको टाउको जातीय असुरक्षाकै कारण चुँडियो ।

के दार्जिलिङे समाज भानुभक्तको योगदानलाई भुल्न सक्छन् ?      

 टाउको काटेर त्यति कृतघ्न बन्न सक्छन् ?      

 के दार्जिलिङे नेपाली भाषीहरू त्यति स्वार्थी छन् ?      

 यसको उत्तर सारा संसारले पाइसकेको छन् ।

किनभने अहिले सुवास घिसिङ छैनन् । तर, भानुभक्त त्यही चौरस्तामा छन्, त्यसरी नै रामायण हातमा बोकेर, शिर ठाडो गरेर ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया