भानुभक्तका कवितामा समय सापेक्षित प्रखरता

विज्ञापन

पठन        

  कुनै पनि साहित्यकारको साहित्यिक अवदान उसको समयको परिप्रेक्ष्यमा गरिनु पर्दछ। भानुभक्तलाई यदि आजका आँखाले हेर्यौ भने उनमा अनेकौ कमजोरी देखिएलान्। आर्थिक अनि सामाजिक स्थितिले कुनै पनि मान्छेको चेतनाको निर्धारण हुन्छ भन्ने मार्क्सवादी विचारधारालाई आत्मसात गरेर हेर्दा भानुभक्तमा तत्कालीन समयको छाप प्रशस्तै पाइन्छ। तर सत्ता स्तुतितर्फ नलागेर लोकको हितको निम्ति काव्योन्मुख हुने भानुभक्त आफ्नो युग भन्दा धेरै अघि छन्। उनको आदर्श नेपाली समाजको निर्माणतिरको हनुमाने पाइला नेपाली साहित्यको इतिहासमा सुनौलो अक्षरमा लेखिएको छ।         


 कबीर बस्नेत


  भानुभक्तबारे अनि उनका प्राप्य कृतिहरूबारे प्रशस्तै मात्रामा लेखाजोखा भइसकेका छन्। समालोचना गर्ने क्रममा कतिले भानुभक्तलाई ईश्वरकै अवतार, कतिले नेपाली जातिका तारणहार, भाषिक एकिकरणका पृथ्वीनारायणसम्म भनेका छन् भने कसैले उनलाई मनुवादी संस्कृतिमा हुर्किएका परम्परावादी बुर्जुवा नारीविरोधी कविसम्म भन्न हिच्किचाएका छैनन्। दुवैथरिका यस्ता अतिवादीहरूका प्रभावहरूबाट बाँचेर भानुलाई अध्ययन गर्ने, उनलाई चिन्न खोज्ने, उनलाई उनकै समयसापेक्ष राखेर उनका कृतिहरूलाई बुझ्न खोज्ने समालोचकहरू थोरै देखिन्छन्। भानुभक्त जन्मिएको ठाउँको इतिहास, त्यहाँको समाज व्यवस्था, तत्कालीन जनताको मानसिकता, धार्मिक अवस्था, जाति प्रथा, समाजमा नारीहरूको स्थान, राजनैतिक अवस्था, उनको बाल्यकाल, शिक्षा-दीक्षा, किशोरावस्था, उनको मृत्यु, मृत्युका कारण, मृत्यु पछिका घटनाहरू,  भर्खरै आफ्नो स्वतन्त्रता गुमाउनु परेको तनहुँवासीहरूका नयाँ नेपाल राष्ट्रप्रतिको भावना आदिको सूक्ष्म रूपमा अध्ययन नगरी आजकै समयको आधारमा भानुभक्तलाई अध्ययन गरिनु अनि निर्णय दिनु अवैज्ञानिकता हो भन्न सकिन्छ।

    भानुभक्तको जन्म काठमाण्डौबाट १२५ किलोमिटर टाढा पश्चिममा रहेको तनहुँ जनपदमा भएको थियो। यस जनपदमा सम्वत १८३९ सम्म पाल्पाली सेनहरूको प्रशासन थियो। सम्भवत उनको पूर्वजहरू विक्रमको पन्ध्रौं शताब्दीतिरै पाल्पाली सेनहरूसँगै आएका थिए । सेन राजाहरूसँगको असल सम्बन्ध रहेको कारण उनीहरूलाई आदर गरी भूमिदान समेत दिइएको जानकारी पाइन्छ।[1] भानुभक्तका बाजे श्रीकृष्ण आचार्यसम्म यो समृद्धि यथावत रहेको देखिन्छ। आफ्ना खरदार पिताको नामबाट आफ्नो परिचय नदिएर आफ्ना बाजेको नामबाट परिचय दिने भानुभक्तले समेत बाजेको पौरख अनि प्रभाव कति थियो त्यसको छनक दिएका छन्। त्यो समृद्धि अनि प्रभाव बाँचिरहेको भए निश्चय पनि धनञ्जय अनि भानुभक्तलाई जागिर खाइरहने आवश्यक्ता पर्ने थिएन, अनि जागीरकै कारण भानुभक्तलाई जेल जान पर्ने थिएन। यसकारण तत्कालीन नयाँ शासन व्यवस्थासँग भानुभक्तहरू त्यति खुसी थिए होलान् भन्ने विषयमा ठूलो शंका उत्पन्न हुन्छ।  

     मोतिराम भट्टले भानुभक्तको जीवनी लेखेर नेपाली समाजलाई भानुसित परिचित गराए। तत्कालीन आवश्यकतालाई ध्यानमा ऱाखेर उनले कतिपय काल्पनिक घटनाहरू जोडेर भानुभक्तलाई महापुरूष बनाउने प्रयास गरे। रामायणको प्रचारको निम्ति यो तत्कालीन समयको आवश्यकता नै थियो।  मोतिराम भट्ट इतिहासकार होइनन् केवल जीवनी लेखक मात्र हुन् तर परवर्ती समालोचकहरूले उनैलाई आधार मानेर भानुभक्तको अध्ययन गर्ने परम्परा बसाले। तत्कालीन समयमा काशीमा बसेर अध्ययन गर्ने बीस वर्षे तरूण मोतिरामलाई तनहुँ गएर सामग्री सङकलन गर्ने न साधन थियो न त समय नै थियो। यसैले उनले जे जति काशीमा अध्ययन गर्न आएका अनि नेपाल जाँदा त्यहाँ भेटिएका व्य़क्तिहरूबाट जानकारी पाए त्यसैको आधारमा भानुभक्तको जीवन चरित्र नामक कृति तयार पारे। त्यसपछि धेरै समयपछि भानुभक्तका पनाति मुक्तिनाथ आचार्यद्वारा उनीबारे केही तथ्यहरू खोज्ने काम भयो। यी दुइ जीवनी लेखकहरूकै कृतिका आधारमा भानुभक्तको विषयमा अध्ययन अध्यापन भइरहेको देखिन्छ।

    मोतीराम भट्टले घाँसीद्वारा प्रेरणा पाई भानुभक्त कवि बनेका कुरा लेखेका छन्। धेरैले भानुभक्तको जीवनीलाई रोचक बनाउन मोतीरामले नै यो कथा कथेको हो भनेका छन् । नेपाली समाजमा रामकथा कुनै नौलो थिएन। नेपाल जस्तो धार्मिक मुलुकमा वाल्मिकी रामायण मात्र होइन रामानन्दको अध्यात्म रामायण, तुलसीदासको रामचरितमानस पनि अत्यन्त लोकप्रिय थियो। रामायणको सहज सम्वेद्य कथा सुनेर त्यसलाई लयबद्ध गरेर लोक कविहरूले गाउने परम्परा नेपालमा धेरै अघिदेखि रहेको अध्येताहरूले चर्चा गरेका छन्।  सम्भव छ, लोक कविहरूले रचेको रामाय़णको दुइ वा तीन श्लोक घाँसीले गाएको भानुभक्तले सुने होलान् अनि त्यहीबाट उनले रामकथा भाषा श्लोकमा रचन सकिँदो रहेछ भन्ने प्रेरणा पाए होलान। पछि यही प्रसङ्ग मोतीरामले सुनेर त्यसमा केही थपघट गरी नयाँ कथा बनाए होलान्। तर यसको कुनै प्रामाणिक तथ्य हामीसँग छैन।

    भानुभक्तको कान्तिपुरी कवितालाई त्यस समयको कान्तिपुरको वर्णन भन्ने अभिधात्मक अर्थमा लिने गरेको पाइन्छ. तत्कालीन नेपालको इतिहासलाई हेर्दा यो कवितामा तत्कालीन समयप्रति व्यङ्ग्य रहेको जस्तो देखिन्छ। यस कविताका पङ्क्तिहरू केलाउँदा यो कुरा अझ स्पष्ट हुन्छ।

   चपला अबलाहरू एक सुरमा

   गुनकेशरीका फूल लि सिरमा

     तत्कालीन नेपालको सामाजिक- राजनैतिक स्थितिलाई हेर्दा नेपाली नारीहरू यसरी गुनकेशरीका फूलहरू सिरमा राखी हिड्दा हुन भन्ने कुरो अपत्यारिलो लाग्छ। यी नारीहरू सम्भवत दरबारमा काम गर्ने सुसारेहरू,अथवा दरबारसँग सम्बन्धित नारीहरू थिए होलान्। स्वाभाविक रूपले उनीहरू दरबारमा सिँगारिएर जाँदा हुन्।

यति छन् गन्नु कहाँ धनियाँ

खुसी छन् मनमा बहुतै दुनियाँ

     युद्ध अनि आपसी कलह, विभिन्न षडयन्त्रहरू, शासकका विलासिता आदिले देशको आर्थिक अवस्था डाँवाडोल स्थितिमा थियो। सरकार सैनिकहरूका तनखा दिन नसक्ने स्थितिमा पुगिसकेको थियो। शासक दलका एक मुठी सदस्यबाहेक राजधानीका सबै जनता आर्थिक विपन्नताको मारमा परेका थिए । राजा, मुख्ततियार अनि  दरबारका प्रभावशाली व्यक्तिले चाहे कसैको पनि सर्वस्व हरण गर्न सक्थे । भर्खरै कोत पर्व,भण्डारखाल हत्या जस्ता जघन्य घटनाहरू घटेका थिए । दिनरात दरवारमा षडयन्त्र चल्थ्यो । प्रजाहरूका सुख- दु:ख सोच्ने कसैको फुर्सद थिएन । जङ्गबहादुरको उदय भइसकेको थियो । आफ्नो अभीष्ट सिद्ध गर्न दरबारीहरू कुनै हदसम्म पनि गिर्न सक्दथे। वाधा बन्न आउनेहरू मूला फाडे झैं फाडिन्थे। अलिकति पनि मुख खोल्नु भनेको आफ्नो मृत्युलाई निम्ताउनु थियो । शङ्काको भरमा अभियोग सिद्ध हुन्थ्यो। मुद्धा नलडी अभियुक्तलाई दण्ड दिइन्थ्यो । मानिसहरूले श्रद्धा गरेका वीरहरू एक एक गर्दै काटिएका थिए । दामोदर पाण्डे, माथवरसिहं थापा, भीमसेन थापा फत्तेजंङ्ग चौतारिया, अभिमानसिहं बस्नेत,जस्ता वीरहरू अपमानित बन्दै हत्याको शिकार बनेका थिए।[2] रणबहादुर शाह, शेरवहादुर शाह पनि हत्याका शिकार बनेका थिए। राजेन्द्रविक्रम शाहको बौलाहपन अनि उनकी जेठी महारानीको कोपले काठमाण्डौ हाहाकार बनेको थियो।[3] भीमसेन थापाको शरीरलाई टुक्रा-टुक्रा पारेर गिद्ध अनि कुकुरहरूलाई खानको निम्ति फालिएको थियो।[4] झण्डै ३१ वर्षसम्म एकछत्र सुशासन चलाएर जनतामा आस्थाको दीयो जलाउने अनि एशियामा नै सर्वप्रथम अङ्ग्रेजहरूको विरूद्धमा एशियाई एकताको निम्ति प्रयत्न गर्ने भीमसेन थापाप्रतिको दरबारीय अन्याय अनि उनको मृत्युलाई जनताले सहजै पचाउन सकेका थिएनन्। यस्तो भयावह जीवन बाँचिरहेका नेपाली जनता (दुनियाँ) खुसी छन् भन्नु निश्चय नै अभिधात्मक अर्थ होइन।

कहीं भोट र लण्डन चीन सरी

कहीं कालभरि गल्ली छ दिल्ली सरी

    नेपाल र चीनको सम्बन्ध प्राचीन कालदेखि नै विद्यमान थियो। एक समय भोटमा नेपालकै मुद्रा प्रचलनमा थियो। पछि सम्बन्ध बिग्रिएपछि भोटसँग नेपालको युद्ध शुरू भएको थियो। यो युद्धको समय नेपाली फौजले भोटका अनेकौं विहारहरू लुटेका थिए।[5] सन १७९२ को चीनसँगको युद्धमा पराजित भएपछिको सन्धि अनुसार नेपालको उपहारको साटोमा नेपालले चीनबाट अनेकौं बहुमूल्य उपहारहरू प्राप्त गरेको थियो।[6] राणाहरूका घरहरूमा यस्ता उपहारहरू प्रशस्तै रहेका थिए होलान्। सन् १८५७ को भारतीय स्वतन्त्रता सङ्ग्राम मानिने सिपाही विद्रोहमा नेपालले अङ्ग्रेजहरूलाई सघाएका थिए। भनिन्छ त्यसबेला लखनउका नवाबहरूका सम्पति लुटनमा अङ्ग्रेजहरूले कुनै कसर बाकी राखेका थिएनन्। नेपाली फौजको यसमा के कति भूमिका थियो त्यो अनुसन्धानको विषय रहेको देखिन्छ।

तरवार कटार खुडा खुकुरी

पिस्तौल र बन्दुकसम्म भिरी

अति सूर र वीर भरी नगरी

    आफ्नो सत्ता कायम राख्न मुख्तियारहरू आफू विरूद्ध सम्भावित षडयन्त्र अनि विद्रोहको भयले शहरभरि आफ्नो भरपर्दो सैनिकहरू सेवामा खटाएका हुन्थे। काठमाण्डौ आउने प्रत्येक व्यक्तिको खान तलासी हुन्थ्यो। अलिकति पनि शंकास्पद व्यक्ति भेट्टाइएमा मृत्युदण्ड दिन सैनिकहरू तत्पर रहन्थे। दरबारमा षड्यन्त्रको श्रृखला अखण्ड चल्थ्यो। यसरी षडयन्त्रै षडयन्त्रैले भरिएको, छलै छलले जेलिएको, भाइ भाइमा विद्वेषपूर्ण सम्बन्ध रहेको, सत्ताको खातिर कस्तै पनि पाप गर्न नहिच्किचाउने जङ्गेहरूको राज भएको काठमाण्डौलाई कविले यसो भन्नु अभिधात्मक अर्थमा लिन सकिँदैन। काठमाण्डौ धाइरहने सूक्ष्म दृष्टिका कविको आँखाबाट यो कुरो ऩिश्चय पनि लुकेको थिएन।  यस्तो परिस्थिति माझ जेलिएको मुलुकमा ऱिस राग केही छैन भन्नुलाई कविको यथार्थ कथन भन्न मिल्दैन।

रीस राग कपट छल छैन जहाँ

तब धर्म कति छ कति यहाँ

    अन्तमा उनले पशुपतिलाई सम्झेका छन्। यस्तो परिस्थितिमा पनि यो राष्ट्रलाई पशुपतिले नै रक्षा गरिरहेका छन् भन्ने आशय कविता मार्फत पोखेका छन्। एउटा नयाँ बिहानीको निम्ति ईश्वरसँग कविले प्रार्थना पनि गरेका छन्  –

पशुका पति छन् रखवारि गरी

शिवका पुरि कान्तिपुरी नगरी

    नेपालको यो दयनीय स्थिति कविको दृष्टिबाट लुक्न सकेको थिएन। त्यसकारण कवि समाजलाई दिशा निर्देश गर्न चाहान्थे। भाइ भाइमा आदर्श प्रेमको विजारोपण गर्न चाहान्थे। मानवताविहिन यी शासकहरूलाई मानवताको शिक्षा बाँडन चाहान्थे। भानुभक्तको काव्य जीवनको स्वीकृति अनि सामन्ती शोषणको सक्रिय विरोधको काव्य हो उनले आफ्नो समयको कठोरता अनि सामाजिक विषमतालाई देखेर नै रामराज्यको कल्पना गरेका थिए। समतामा आधारित एउटा सुखी समाजको कल्पना गरेका थिए। यसरी तत्कालीन व्यवस्थाप्रति अनास्था देखाएर आफूलाई साधारण जनताको पक्षमा उभ्याएका थिए।

    रावण ज्ञान अनि विज्ञानप्रति सजग हुँदा-हुँदै पनि अहंकारी छ। उसको व्यक्तित्वको सर्वोच्च शक्ति निम्नतम प्रवृतिहरूका सन्तुष्टिको निम्ति साधन मात्र छ। ऊ आफूलाई सबैभन्दा बुद्धिमान सम्झन्छ, सत्य परमार्शलाई तिरस्कार गर्दछ। उसको लङ्का भौतिक उन्नतिको चरम शिखरमा पुगेको छ। सारा जगत उसको चरणमा छ तर आफ्नो चरित्र दोष, अहंकार अनि अमानवताको कारण आफूलाई नष्ट गर्छ। भौतिक सम्पदाको तुलनामा  आउन नसकेता पनि आध्यात्मिक दृष्टिले सम्पन्न अयोध्याको समाजमा उच्तस्तरीय जीवनको पवनधारा प्रवाहित हुन्थ्यो जहाँ जीवनको सर्वस्व मानवीय मूल्यको चरम प्रतिष्टाको कारण सुखी अनि सन्तुष्ट नागरिकहरू बसोबासो गर्दथे। प्रजावत्सल राम प्रजाहरूलाई आफ्नो सन्तान झैं माया गर्दथे। आफ्ना अग्रजहरूका आदर गर्दथे, आफूभन्दा सानाहरूलाई प्रेम गर्दथे । उँच नीचको भावना उनमा थिएन। शत्रुहरूलाई पनि उनी आदर गर्दथे। यस्ता रामको कथा सुनाएर भानुभक्तले निश्चय पनि तत्कालीन अहंकारी अनि सत्ताको मदमा मस्त भएका अन्धा शासकहरूलाई नैतिक शिक्षा अनि मानवताको पाठ पढाउन चाहान्थे।

    न्याय दर्शनमा वात्सायनले मानवताको दश रूप मानेका छन्। दान, परिमाण अनि सेवा यी तीन शारीरिक मानवताहरू हुन् अर्थात मानवको शरीरले दान रक्षा अनि सेवा यी कार्यहरू गर्नुपर्छ। प्रिय भाषण, सत्य भाषण, हित भाषण अनि स्वाध्याय यी चार वाचिक मानवताहरू पालन गर्नुपर्छ। सन्तोष, जितेन्द्रियता अनि श्रद्धा यी तीन मनद्वारा पालन गर्नु पर्ने मानवताहरू हुन्। यही दशवटा मानवताहरू भानुभक्तले रामायणको माध्यमबाट तत्कालीन समाजलाई दिन चाहान्थे जो आज पनि त्यतिकै सान्दर्भिक लाग्छ।

    भानुभक्तको रामायणको मुख्य आधार अध्यात्म रामायण थियो तर त्यसको दुरूस्तै अनुवाद उनले गरेका थिएनन्। कति त उनले थुनामा पर्दा सम्झनाकै भरमा अनुवाद गरेका थिए भन्ने अनुमान गरिएको पाइन्छ। उनले अध्यात्म रामायणमा रहेको लामो अवतारको कथा चटक्कै छोडिदिएका छन्। नचाहिने स्तुतिपरक अध्यात्मलाई पनि उनले त्यति स्थान दिएका छैनन्। नेपाली कविताको वीरकाल अनि भक्तिकालमा प्रखर रूपमा देखिने सत्ता स्तुति भानुभक्तमा नपाइनुले उनी तत्कालीन व्यवस्थासँग पटक्कै खुशी थिएनन् भन्ने कुराको अनुभव त हुन्छ नै त्यो व्यवस्थालाई सुधार्ने प्रबल चाहना पनि थियो भन्ने कुराको पुष्टि हुन्छ। उनले नेपाली समाजलाई चाहिने कुरा मात्र राखेका छन्, नेपाली संस्कृति अनुसार यसलाई ढालेका छन्। बाल्मिकीका पुरूषोत्तम रामभन्दा पनि भिन्नै किसिमको नेपाल राष्ट्रलाई सुहाउने राजा रामलाई उनले आफ्नो नायक बनाएका छन्।

    कुनै पनि साहित्यकारको साहित्यिक अवदान उसको समयको परिप्रेक्ष्यमा गरिनु पर्दछ। भानुभक्तलाई यदि आजका आँखाले हेर्यौ भने उनमा अनेकौ कमजोरी देखिएलान्। आर्थिक अनि सामाजिक स्थितिले कुनै पनि मान्छेको चेतनाको निर्धारण हुन्छ भन्ने मार्क्सवादी विचारधारालाई आत्मसात गरेर हेर्दा भानुभक्तमा तत्कालीन समयको छाप प्रशस्तै पाइन्छ। तर सत्ता स्तुतितर्फ नलागेर लोकको हितको निम्ति काव्योन्मुख हुने भानुभक्त आफ्नो युग भन्दा धेरै अघि छन्। उनको आदर्श नेपाली समाजको निर्माणतिरको हनुमाने पाइला नेपाली साहित्यको इतिहासमा सुनौलो अक्षरमा लेखिएको छ।


सन्दर्भ सूची

१ नेपाली चित्तरञ्जन, जनरल भीमसेन थापा र तत्कालीन नेपाल,रत्न पुस्तक भण्डार, काठमाण्डौ, दोश्रो संस्करण

२. शर्मा बालचन्द्र, नेपालको ऐतिहासिक ऱूपरेखा, तेस्रो संस्करण २०२६, वाराणसी

३. शर्मा पुण्यप्रसाद(सं), केही समालोचना आदिकवि भानुभक्त आचार्य, जनपक्ष प्रकाशन सिक्किम, २०१०

४ यादव पीताम्बरलाल, नेपालको राजनैतिक इतिहास, राजविराज २०४९

५. आचार्य शिवराज कौण्डिन्न्यायन(सं), भानुभक्तकृत भाषारामायण, रत्न पुस्तक भण्डार काठमाण्डौ, वि.सं. २०६७

६.ज्ञवाली सूर्यविक्रम(सं), भानुभक्त स्मारक ग्रन्थ, नेपाली साहित्य सम्मेलन दार्जिलिङ,२०२६

७. भण्डारी ढुण्डिराज, नेपालको ऐतिहासिक विवेचना, वाराणसी २०१५

७. Kirkpatrick W.I. An Account of the Kingdom of Nepal 1811

 

[1] शिवराज आचार्य कौण्डिन्न्यायन(सं) भानुभक्तकृत भाषारामायण, रत्न पुस्तक भण्डार काठमाण्डौ, वि.सं. २०६७ पृष्ठ संख्या ३३

[2] बालचन्द्र शर्मा, नेपालको ऐतिहासिक ऱूपरेखा, तेस्रो संस्करण २०२६, वाराणसी पृष्ठ संख्या २८३

[3] ऐजन पृष्ठ संख्या २८६

[4] चित्तरञ्जन नेपाली, जनरल भीमसेन थापा र तत्कालीन नेपाल,रत्न पुस्तक भण्डार, काठमाण्डौ, दोश्रो संस्करण,सं. २०२२ पृष्ठ संख्या ६४

[5] बालचन्द्र शर्मा, पूर्ववत, पृष्ठ संख्या २४२

[6] ऐजन पृष्ठ संख्या २४४

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया