
प्रेम : पुनर्भाषित
-प्रेम नर्बस् छैन अहिले
-प्रेम मौन छैन अहिले
-प्रेम टयाक्कै शालिन पनि छैन अहिले ।
फूलको दोष नै त्यो निर्दोष हुनु
काँडाको दोष नै त्यो विषालु हुनु हो भने
-पहिलोचोटी जुन दिन हो फूलको हातमा काँड़ाको डाली देखा परेको
र
काँडाको हातमा सुन्दर फुल्गुच्छा..
पहिलोचोटी जुन दिन हो प्रेमले मनमा घातको धारिलो औजार बोकेर हिँड़ेको
र
घातको आँखामा सेतो कमल फक्रेको
त्यही दिनदेखिन् हो प्रेमले रङ फेर्नु थालेको,
त्यही दिनदेखिन् हो प्रेमले बैरागी राग अलाप्नु छोडेको ।
किनभने काँडाले नै हो भन्दै-भन्दै आएको
कि फूल कति सुन्दर हुन्छ
कि फूल कति कोमल हुन्छ
तर फूलले त सधैँ यही भनिरहयो
कि काँडा जस्तो विषालु केही छैन
कि काँडा जस्तो खतरनाक केही छैन ।
फूलले काँडाको बढिबढाई गरेको कुनै आख्यान होला नहोला
तर काँडाले फूलको सौन्दर्यको रक्षा गरेको इतिहास प्रकृतिले दिन्छ,
तर जुन दिनदेखिन् हो फूल मनलाई बिझ्नु थालेको
त्यही दिनदेखिन् हो फूलको सम्मोहनबाट मन मुक्त भएको,
र त्यही दिनदेखिन् पनि हो काँडाको बिष बेअसर हुनु थालेको ।
जसरी फूलको आह्रिसले नै हो फूलले आफुलाई कुरूप पारेको
त्यसरी नै फूलप्रतिको आफ्नु प्रेम-समर्पणले हो काँडाले सुन्दरताको नयाँ आयाम स्थापना गरेको।
यसकारण पनि
अहिले घरि प्रेम नर्बस् छैन
अहिले घरि प्रेम मौन छैन
अहिले घरि प्रेमको नयाँ नमूनाले दुनियाँ जति उत्साहित
र
रोमाञ्चित छ त्यति त कहिले पनि थिएन
-काँडाको सुन्दरता निख्रेको दिनदेखिन् नै हो
प्रेम पुनर्भाषित भएको ।
अहिले प्रेमको नयाँ स्वरूपले मोहित छ दुनियाँ ।
उनीहरु
उनीहरुले जुनी फेरे होलान् भनेको एउटा भ्रमै रहेछ
उनीहरुले बाटो फेरे होलान् भनेको एउटा फ्यानटेसी नै रहेछ।
सबैले सीमानाहरु बाँडेका छन्
सबैले बार हालेर एरिया लगाएका छन्
सबैले बाटोघर आँगन बढाएर परसम्म लगेका छन्
सबैले आआफ्नो सुर्ताफिक्री पालेका छन्
स्वाभाविकै थियो कि
उनीहरुले जे गर्दै छन्
संसारले नै सिकाएको पाठ थियो ।
उनीहरुले आफ्नु घेरोदेखि बाहिर सधैँ दैलो, खिर्की सप्पै बन्द राखेका छन्,
दैलोभित्रका मात्र भित्रकाहरू
दैलोबाहिर सप्पै बाहिरेहरु
ठुलो बड़े घरको मूल दैलो ठुलो
र
दैलो मास्तिर भित्तामा एउटा माटाको मुखौटा कुनै दैत्यको ,
यसरी पनि एउटा नाथे घेरो कोरेर उनीहरु अलग बसिरहे
बसिरहे ,
यसरी पनि एउटा बड़े से दैलो थुनेर भित्र बसिरहे,
हाँस्दा उनीहरुले यही बुझे दुनियाँ रुँदैछ
रमाँउदा उनीहरुले यही बुझे दुनियाँ रुँदैछ
रमाउने उनीहरु मात्र
उनीहरु सधैँ एक्लै बाँचिरहे
उनीहरु, उनीहरुकै लागि बाँचिरहे
कहिले हाम्रा भएनन्
उनीहरुले यसरी हामीलाई मारे
हामिसँगसँगै समाज, देश दुनियाँलाई पनि मार्दै आए
मारीरहे ।
उनीहरु कुन बंशज्का थिए
कुन जातगोष्टी, समाजका थिए
कुन जाति भाषा विशेषका थिए
उनीहरु केही जानदैनन् थिए
उनीहरु केवल आफ्नै मात्र थिए
एकदिन अनुसन्धान होला।
सत्ते,
उनीहरु उनीहरु कै जस्ता थिए
हाम्रो इतिहासको कुनै पनि अध्याय र हरफहरुसँग
मेल नखाने उनीहरूको चालढाल
न त संस्कृति
हाम्रो भूगोलको कुनै पनि पत्र र भविष्यको अभिलाषाहरुसँग
नमिल्ने उनीहरूको महत्वाकांक्षाहरु
कहाँबाट आएका हुन उनीहरु ?
त्यो कुन उत्स हो जहाँबाट उनीहरु उम्रे ??
उनीहरु आफै कुनै महाग्रहका एलियन्स प्रजातिका पो थिए कि?
भविष्यले नै खोजिनिकाल्ला
अहिलेको लागि उनीहरु अजबकै खलनायकहरु
अहिलेका लागि उनीहरु युगकै नरपिशाचहरु
अहिलेको लागि उनीहरु …
अन्धकारका अवतारहरु
उनीहरुलाई उनीहरुकै अनुहारको प्रतिबिम्बन गर्ने कुनै ऐना पनि होला कि यो संसारमा??
कि कुनैदिन
उनीहरुको घर वापसी हुन्छ!
संसार
कुरा एउटै हो
अर्थात
तिमीले पहिरेको त्यो ड्रेसकोड
तिमीले ओढेको त्यो छालाको अनुहार
तिमीले बोल्दै गरेको भाषा
जममै उतार
नाङ्गो पार आफुले आफुलाई
मैदानमा ओर्ल
र
एउटा नाङ्गो महासङ्ग्राम लड़
००
त्यसपछि मात्र यो संसार रोगमुक्त हुनेछ
त्यसपछि मात्र यो संसार दासमुक्त हुनेछ
त्यसपछि मात्र यो संसार डरमुक्त हुनेछ ।
००
पहिलोचोटी जब तिमीले सभ्यताको
भाषा बोलेका हौ
छालाको अनुहार खोपेका हौ
र
उद्वेगको ड्रेसकोड पहिरेका हौ
तबदेखिनै शुरू भएको हो तिमीले गुमाउनु पर्ने क्रम
र अहिले सर्वस्व !
यसरी नै हराउँदै गएको हो उज्यालो संसारबाट
र हराउँदै गएको मान्छे त्यही अँध्यारोभित्र।