फासिस्ट/सर्वसत्तावादबाट बाँच्ने 15 बुँदे निर्देशिका

विज्ञापन

अनुवाद: मूल लेखक- मार्टिन मिसलिस्को


 मार्टिन माइसेलेस्कि पोल्याण्डका एक पत्रकार अनि एक्टिविस्ट हुन्। पोल्याण्डमा आफ्नो अनुभवको आधारमा उनले विश्वमा नै बढिरहेको अधिनायकवाद/ सर्वसत्तावाददेखि कसरी अस्तित्व जोगाउन सकिन्छ/ सुरक्षित रहन सकिन्छ भनी २०१७ साल मा एउटा 15 बुँदे निर्देशिका तयार पारेका छन्। उनको यो निर्देशिका विश्वका कैयन राष्ट्रहरूमा प्रयोग गरिएको छ। उनको यो निर्देशिकाको नेपाली रूपान्तरण।


अनुवादक : ज्योतिकुमार मुखिया


  1. डर, त्रासको वातावरण सृजना अनि सत्यको तोड मोड गरेर चलाएको चुनावी अभियान मार्फत तिनीहरू सत्तामा आउँछन्। उनीहरूको सत्तामा प्रवेश गणतान्त्रिक चुनाव प्रक्रियाद्वारा नै हुनेछ। तर सावधान! जब पनि उनीहरूको क्रियाकलापमाथि प्रश्न गरिन्छ उनीहरूको एउटै तर्क रहनेछ: हामीलाई जनताले जनादेश दिएर परिवर्तनको निम्ति पठाएका हुन्।

 याद राख्नुहोस्, गणतान्त्रिक ढङ्गमा सत्ता हासिल गऱ्यो भन्दैमा उनीहरुलाई कानुनको सिमाना तोड्न अनि गणतन्त्र कै अवहेलना गर्ने अनुमति दिइएको छैन।

  1. तिनीहरूले तोड अनि राज गर-को सिद्धान्त अपनाएर राज गर्ने छन। उनीहरूको शक्ति भनेकै एकजुटता, एक स्वर अनि एक आइडोलोजी/ विचारधारा हो। यही शक्ति तपाईंहरुको पनि हुनु पऱ्यो। उनीहरू आफ्नो अनुयायी अथवा समर्थकहरूलाई देशभक्त भनी सम्बोधन गर्छन्। तर जो उनीहरूको समर्थक होइनन्, तिनीहरूलाई देशद्रोही, राज्यको दुश्मन, विश्वासघाती, दलाल, भ्रष्टाचारी, सत्ता हडप्न खोज्ने पुरानो विचारधाराका राजतन्त्र। उनीहरूका समर्थक मात्र “जनता”, “स्वतन्त्र” जसले आफ्नो नेताको चयन गर्छन्। तिनीहरूलाई तोड्ने अनि भाग भाग गर्ने मौका नदिनुहोस्।

 याद राख्नुहोस्, तपाईंहरू नै एक जनता, एक राष्ट्र अनि एक उद्देश्यको अङ्ग हुनुहुन्छ। प्रत्येक बिक्री नभएका मिडियाको पक्षमा आवाज उठाउनुहोस्, ब्यान गरिएका, बोल्नमा प्रतिबन्ध लगाइएका, कामदेखि बर्खास्त गरिएका, राष्ट्रको दुश्मन भनी घोषित गरिएका प्रत्येक पत्रकारको पक्षमा आवाज उठाउनु होस्। जहाँ स्वतन्त्र पत्रकारिता पाईँन्दैन त्यहाँ स्वतन्त्रताको आशा धुमिल बनेको हुन्छ।

  1. कमजोर कानूनको प्रयोग अनि कहिले काँही धम्क्याएर पनि मेन स्ट्रिम मिडियालाई आफ्नो वश मा राख्छन् अनि स्वतन्त्र प्रेसलाई कुँजे बनाउँछन्। आलोचनात्मक मिडियालाई तिनीहरू दूर किनार गर्छन्। यस्ता मिडियालाई तिनीहरू “झूटा” “फेक न्युज” जस्ता अलङ्कारले नामाङ्कित गर्छन्। यी मिडियालाई “राष्ट्रविरोधी” को उपमा दिइन्छ अनि जनताको विरुद्ध काम गर्ने मिडिया भनी अफवाह फैलाउँछन्।
  1. तिनीहरू अन्योलता सृजना गर्न माहिर हुन्छन्। सदैव तनाव अनि खतराको आभाष दिन्छन्। भन्छन् देश खतरामा छ। यसै स्थितिको आधारमा नयाँ सत्तावादी कानुन स्थापना गर्न खोज्छन्। प्रत्येक नयाँ कानुनले तपाईं अनि मेरो नागरिक हक अनि स्वतन्त्रता पल पल खोसिएको हुन्छ। तिनीहरू भन्छन्, यो नयाँ कानुनले जनताको सुरक्षा गर्छ, कानुन जनताको हितको निम्ति हो।

तनावलाई होइन तर तनाव भित्र पसेर हेर्नुहोस्। कृतिम खतरालाई नियाल्नु होस। फासिष्ट अनि सर्वसत्तावादी राष्ट्र भएछ भनेर झस्किनु अघि नै यस्ता कृतिम तनाव अनि खतरालाई उदाङ्गो पार्नुहोस्।

  1. तिनीहरू सत्यको तोड मोड गर्छन। तथ्यको इन्कार गर्छन। मुख अघिनै ढाँट्नु निपुण हुन्छन्। सही तथ्यहरु तपाईंको मानसपटलबाट हटाउन तिनीहरू प्रयासरत् रहन्छन्। सत्य के हो जान्न खोज्ने तपाईंको चाहनालाई सुस्त पारिदिन्छन्। तपाईंको मस्तिष्कमा “पोस्ट ट्रूथ” अनि “विकल्प तथ्य” ले भर्छन्। ज्ञान अनि तर्कलाई आख्यान अनि भावनाले प्रतिस्थापित गर्छन।

सदैव आलोचत्मक भएर सोच्नु होस् (Critical thinking)। तथ्यहरूको जाँच गर्नुहोस्। सत्य के हो देखाउनु होस्। अनभिज्ञता सँग सङ्घर्ष तथ्यले गर्नुहोस्।

  1. तिनीहरू उक्साउँछन त्यसपछि कृतिम स्क्यान्डल लिक गर्छन्। तिनीहरू विपक्षी माथि तुच्छ आक्षेप लगाउँछन्। आक्षेपलाई बृहत आकार दिन्छन् अनि आगोमा घिउ छर्कन्छन्। यो केवल सत्तावादी अवधारणालाई कानुनी मुर्तता दिने छद्म योजनाको कडी हो।

मेन स्ट्रिम मिडियामा के प्रसारित भइरहेको छ,  राम्ररी हेर्नुहोस् अनि यथार्थमा तिनीहरू के गर्दैछन विचार गर्नुहोस्।

  1. तपाईंको आक्रोसलाई हावा दिनु तिनीहरू मानिसलाई झट्का दिने कानुन ल्याउने प्रस्ताव ल्याउछन्। तपाईंको ध्यान अनि ऊर्जा यस्तो प्रस्ताव विरुद्ध सङ्घर्षमा लगाउनु हुन्छ। अब तिनीहरू तपाईंको सङ्घर्षको फलस्वरूप पछि हट्छन्। तपाईंलाई लाग्छ, तपाईं विजय बन्नु भयो। तिनीहरू अब कम ध्यान आकर्षण गर्ने कानुनलाई अगाडि ल्याउछन्। यसरी बिस्तारै डेमोक्रेसीलाई भित्र भित्रै खोक्रो पार्छन्।

तपाईंको सङ्घर्ष त्यहाँ होस् जहाँ सङ्घर्षको अत्यन्तै जरुरी छ।

  1. तिनीहरूले तपाईंको उदारवादी सोचमाथि गर्ने हमलाको शिलशिलामा, हमला नारी अनि अल्पसंख्यक माथि गर्नेछन्। तिनीहरूको क्रियाकलापमा देखिन्छ कि लोकतन्त्र भनेको नै बहुसंख्यकको अल्पसंख्यक माथि सत्ताशिन हुनु हो। विदेशी अनि देशमा पलायन भएर बसेकाहरु तिनीहरूको निम्ति खतरा हुन् भनी देखाउँछन्। नारीको सामाजिक वैधानिकता अमान्य छ। लैङ्गिक समानतालाई कमजोर बनाउन चाहन्छन।

यसको अर्थ हो तिनीहरूको सत्ताको निम्ति नारी अनि अल्पसंख्यक खतरा हुन्। त्यसैले यी शक्तिहरु नै तपाईंको शक्ति बनाउनुहोस्।

  1. तिनीहरूले न्यायपालिकालाई आफ्नो अधीनमा राख्न प्रयत्न गर्ने छन्। उच्च न्यायालयमाथि आक्रमण गर्नेछन्। अवैधानिक कानुन पारित गर्न अड्चन आउने सबै निकायहरु ध्वस्त पार्ने छन्।

न्यायालयको स्वतन्त्रताको कुनै हालतमा पनि रक्षा गर्नुहोस्।लोकतन्त्रको सुरक्षाको अन्तिम कबच नै न्यायपालिका हुन्।

  1. तिनीहरूले मानिसलाई एक जगहमा एकत्रित हुनु दिँदैनन्। भन्छन्, देशको सुरक्षाको निम्ति यसो गरिएको हो। तिनीहरू राष्ट्रमा कस्तो किसिमको रैली, कार्यक्रम गर्न सकिन्छ, कस्तो विचारधारा राख्ने सङ्घ संस्थाले सामुदायिक कार्यक्रम गर्न सक्छन्, त्यसमाथि पनि कानुन बनाउने छन्। कानुन अन्तर्गत पर्ने त्यस्ता कार्यक्रमहरू मात्र सडकमा देखिने छन्। अन्य कार्यक्रमका सहभागीहरूलाई जेल बन्दी बनाइने छन्।

एकत्रित पनि हुनु नपाइने कानुनको जमेर विरोध गर्नुहोस्।

  1. तिनीहरूले जनमानसको भाषामाथि पनि अतिक्रमण गर्नेछन्। मानिसको भाषाको तोड मोड गर्नेछन्। नयाँ शब्दावली को प्रयोग गर्नेछन्। तबसम्म ती शब्दावलीको प्रयोग गर्नेछन् जबसम्म ती जनमानसको जिब्रोमा साधारण शब्द अथवा दैनिक प्रयोगको शब्द बनिँदैन। जस्तै “चोर” “झूटा” “देशको दुष्मन” को अर्थ हुन्छ विपक्ष। “देशभक्त” को अर्थ बन्छ तिनीहरूको समर्थक अनि अनुयायी। तिनीहरूले लगाउने नारा दुई अर्थ लाग्ने नारा हुन्छ, एक अर्थले समर्थकको हौशला बढाउँछ भने अर्को अर्थले विपक्षमा आक्रोश जगाउँछ।

 इतिहास साक्षी छ,प्रत्येक सत्तावादी, अधिनायकवादी अनि फासिष्ट सत्ता अन्तत विफल नै भएको छ। जनतालाई धन्यवाद।

जनमानस अथवा जनजिब्रोको भाषाको सही अर्थमा यदि परिवर्तन देख्नुहुँदैछ भने, सही अर्थलाई यथास्थितिमा राख्न लड्नुहोस्। शब्दको अर्थ परिवर्तन गर्नु नदिनुहोस्।

  1. तिनीहरूले राष्ट्रलाई चिनिने विम्वहरु/ प्रतिक माथि कब्जा गर्छन्। ती राष्ट्रिय प्रतिकहरुलाई तिनीहरूको सत्तालाई सुहाउँदो बनाएर आफ्नो शक्तिको प्रदर्शन गर्छन्। तिनीहरू चाहान्छन कि तपाईं आफ्नो देशको झण्डा, राष्ट्रिय गान, राष्ट्रिय चिन्हहरू बिर्सनु होस्, जुन तपाईंको हो। साधारण जनताको हो।

तिनीहरूलाई यी सब कब्जा गर्न नदिनुहोस्।  जति उनीहरू यी सबैलाई गलत ढङ्गमा देखाउँछन् त्यो भन्दा बेसी तपाईं आफ्नो विद्रोहमा यसको प्रयोग गरेर यिनीहरूको योजनालाई उदाङ्गो पार्नुहोस्। राष्ट्रिय प्रतीकहरुलाई गर्वसँग प्रयोगमा ल्याउनुहोस्। यी प्रतीकहरु तपाईँको निम्ति प्रेरणाका श्रोत बनोस्, साहस देओस् न कि देशमा भई रहेको निरङ्कुशतासितको सम्बन्ध।

  1. तिनीहरू इतिहासलाई आफ्नो पक्षमा लेख्न चाहन्छन अनि आफ्नो एजेण्डालाई सहयोग पुऱ्याउने शिक्षा प्रणालीको प्रयोग गर्न चाहान्छन्। जुन व्यक्तिले, ऐतिहासिक व्यक्ति होस् या जीवित व्यक्ति, तिनीहरूको कार्यलाई सहमति दिँदैन, ती व्यक्तिहरूको छविलाई विकृत पारी दिन्छन्। मुखमा कालो मोशो पोत्नेछन्। व्यक्तिको चरित्र हरण गर्छन्, उसको जीवन गाथा नै अर्कै बनाई दिन्छन्। लाग्छ, ती व्यक्ति साच्चै यस्तै थिए। तिनीहरू विद्यालयमा इतिहासको पठनलाई प्राथमिकता दिन चाहन्छन् तर तिनीहरूले लेखेको इतिहास अनि दर्शनको पुस्तिका मार्फत। तिनीहरू विकार गरिएको इतिहास पढाएर, विश्व को वैकल्पिक चित्रण गरेर नयाँ पिँडीको भोटरको जमात तयार गर्छन् जसले तिनीहरूको विचारधारालाई समर्थन गर्छन्।

 आफ्नो नानीहरूको शिक्षाको सुरक्षा गर्नुहोस्। नानीहरूलाई सोच्नु सिकाउनु होस्। नानीहरूलाई उदार मस्तिष्कको बनाउनुहोस्। आफ्नो इतिहास अनि सम्पदाको संरक्षण गर्नुहोस्।

  1. तिनीहरूले विदेशी सहयोगी अनि गठबन्धनलाई टाढो राख्नेछन्। तपाईंलाई विश्वास दिलाउनेछन् कि यिनीहरू तपाईंको निम्ति उपयोगी छैनन्। तिनीहरू भन्नेछन् कि तपाईँको देशलाई महान बनाउँदा विदेशी सहयोगीहरुलाई संसारको कुनै वास्तै छैन।

तिनीहरू आफ्नो पोपुलिस्ट चुनावी प्रतिज्ञाहरु पूरा गर्ने क्रममा देशको अर्थव्यवस्थालाई नै ध्वस्त पार्छन्। तिनीहरू यो बिर्सन्छन् कि देशका जनता पनि विश्वकै एउटा अङ्ग हो जसको विकास अनि उन्नति निर्भर गर्दछ सहयोगितामा, साझामा अनि व्यापार वाणिज्यमा।

तिनीहरूलाई  समृद्ध बनाउने सेतुको बद्ली सुरक्षाको नाममा पर्खाल बनाउनु नदिनुहोस्।

  1. तिनीहरू अन्तत चुनावी प्रक्रियालाई नै म्यानुपुलेट गर्नेछन्: खराब सिस्टमलाई सच्याउनुको नाममा, विश्वका अन्य बेहेतर चुनावी प्रक्रिया सरह बनाउनुको नाममा, चुनावलाई निष्पक्ष बनाउनुको नाममा। तिनीहरूको कुरामा विश्वास नगर्नुहोस्। यदि तिनीहरूलाई परिवर्तित प्रक्रियाले फाइदा नदिने हो भने यो क्षेत्रमा काम नै गर्ने थिएनन्।

सत्तावादी शासनले चुनावी कानुनमा फेरबदल ल्याउन खोज्छ भने त्यसको विरोध गर्नुहोस्। याद राख्नुहोस् यो परिवर्तन तिनीहरूलाई सत्तामा राख्ने परिवर्तन मात्र हुनेछ।

याद राख्नुहोस तपाईं इतिहासको उज्यालो पक्षमा उभिएको हुनुहुन्छ। त्यसैले निडर बन्नुहोस, मजबूत  बन्नुहोस्।

इतिहास साक्षी छ,प्रत्येक सत्तावादी, अधिनायकवादी अनि फासिष्ट सत्ता अन्तत विफल नै भएको छ। जनतालाई धन्यवाद।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया