के अनित र विनय मात्र दोषी हुन्?

विज्ञापन

विमर्श

यस परिस्थितिमा फेरि कसै न कसैले सत्तासित सम्झौता गर्ने नै छन्। उ घिसिङ, बिमल, बिनय, अनित नै हुनु पर्छ भन्ने केही छैन। सम्झौता यिनीहरुको व्यक्तिगत इच्छाले कदापि हुँदैन। किन भने यिनीहरु अहिले व्यक्तिगत जीवन नै जिउन सक्दैनन्। सम्झौता व्यक्तिले होइन हाम्रो सामजिक ढाँचाले गरेको हो।


कमल भुजेल


5 सेप्टेम्बर 2017 को दिनको कुरा हो, पहाडमा अनिश्चितकालिन बन्द चलिरहेको बेला बिमल जङ्गल पसिसकेका थिए।  विनय रिम्बिक तिरबाट निर्देशन दिँदै थिए। अनित महानदी उता जङ्पाना चिया बगान तिर छ भन्ने सुनिन्थ्यो। जुलुस सधैँ झैं भइरहेको थियो। तर मञ्चमा बोल्ने जति सबैलाई पक्रेर जेल हाल्न थालिसकेको थियो। अलिकति पनि नाम चलेका नेतालाई जुलुसमा हिँड्दा समेत पक्रिन थालेको थियो। जनता सडकभरि लछेप्रै हुन्थे तर तिनीहरुलाई सम्बोधन गर्ने कोही हुँदैन थियो।

कुरा खरसाङको मोटर स्ट्याण्डको गरिरहेको छु। मोटर स्ट्याण्डमा मैले जीवनको पहिलो भाषण आग्सुको (All Gorkha Students Union) सुनेको थिएँ। त्यही मोटर स्ट्याण्डमा छैटौँ अनुसुची हुने खुशीमा पटेका पढ्काएर सबै हरियो भएर गोर्खे होली खेलेको पनि देखेँ। प्रेम कुमार आले सरसित जुलुसमा थिएँ। थियौं। फूलपाती समारोह वर्षैनी देख्थ्यौँ। शान्तिनकेतनका छात्राहरुले सडकमा विभिन्न आकृतिहरु कोरेर सामाजिक सन्देश दिएको पनि देखेँ। सडक नाटकहरु देखेँ। धर्मको प्रचारहरु पनि सुनेँ।

2007-को प्रशान्त फिवरमा राजनीतिकरण भएपछि गोरामुमो फुट्ने क्रममा बिमल गुरुङको प्रथम भाषण पनि त्यहीँ नै सुनेँ। आन्दोलन शुरु भएपछि हामीले पनि विद्यार्थी को नातामा सहभागिता जनाएका थियौँ। एउटै नारा एउटै लक्ष्य “गोर्खाल्याण्ड”। सबै यसैमा लागेका थिए। तर त्यो नारा पछि जिटिए-मा टुङ्गिएको पनि देखेँ।

2017-सम्म आइसक्दा दशक नै बितेको थियो। 2017-मा पनि आन्दोलन चड्कियो गजबले। ‘यसपालि व्यवस्थामा मान्दैनौं, मान्दैनौं’ भन्दै सबैले मच्चि-मच्चि गरेको भाषण पनि त्यही स्ट्याण्डमा सुनेको हुँ। ‘जसले सम्झौता गर्छ त्यसलाई सबैभन्दा पहिले मैले काटेको हुन्छु’ भन्ने धेरै थिए। जनताले यस्तै कुराहरुबाट नै नेताबिना पनि आन्दोलन जारी राख्ने आँट पाएका थिए।

5 सेप्टेम्बर यानी शिक्षक दिवस । मोटर-स्ट्याण्डमा जनता लछेप्रै बसेका थिए। वरिपरि पुलिस कोही बोल्यो कि पक्रनु रेडी बसेका थिए। हामी केही शिक्षकहरु अन्यको सहयोगमा “गोर्खा जन पुस्तकालयमा” बन्दावधिमा बोर्डका परीक्षार्थीहरुलाई पढाउने काम गरिरहेका थियौँ। यसलाई पार्टीले पनि रोकेन न त पुलिसले नै। त्यस दिन एनजिओका भाइहरुले तपाईँ बोलिदिनुहोस् भने। म पार्टीको कुनै पोर्टफोलियो लिएर बसेको पनि थिइनँ। नत मेरो नाम डिआईबीको लिस्टमा नै थियो। र मलाई पक्रिहाल्छ जस्तो थिएन। मैले शिक्षक दिवसको दिन सम्बोधन गरेँ।

सम्बोधनमा मैले यसरी कुरा राखेको थिएँ, आज शिक्षक दिवसको दिनमा बन्दभए पनि गाँउ घरका समाजघरहरुमा बिवाह-मरौ मात्र हुने ठाँउमा शिक्षा दिइने काम हुँदैछ। विद्यार्थीहरुमा पढ्ने आतुरता निकै घतलाग्दो देखिरहेकाछौँ, भीडमा समाचारहरुको चर्चाहरु गर्न थालिँदैछ। तर दु:ख केमा लागिरहेछ भने हामीले अझसम्म पनि हाम्रो नेतृत्वलाई प्रश्न गर्न सिकेका छैनौ।

नेताहरुले गोर्खाल्याण्ड चाहिन्छ भनेर आन्दोलन त गर्छन् तर कसरी पाउँछौ गोर्खाल्याण्ड भनेर हामीले कहिले सोध्ने आँट गर्दैनौँ। हामीलाई भन्दैन पनि। प्रश्न गर्ने संस्कार नै छैन। गोर्खाल्याण्ड एउटा राज्य बनिनको निम्ति मापदण्ड के चाहिन्छ? भन्दा यी चार बुँदा भनेको थिएँ।

भौगोलिक सिमाना, 2) हाम्रो अर्थनीति, 3) मानक भाषा र 4) समान संस्कृति। यी चार वटै मापदण्ड हाम्रोमा छ। तर पनि यसरी यी कुराहरु व्यवस्थित ढङ्गमा चर्चा नगरी भावनात्मक नारामा मात्र कसरी राज्य प्राप्ति गर्न सकिन्छ? आन्दोलन तर्कले किन निर्देश गर्दैन?

हाम्रोमा कलेज-युनिभर्सिटी छैन र पनि हामीले पढ्नु छोड्नु हुँदैन। जति बन्दको यातना बढ्छ हाम्रो त्यति नै चेतना खोलिनुपर्छ।

बिच-बिचमा थपडी बज्दा मैले भनेँ, अहिले थपडी नबाजाउनुहोस्, यसरी जुनैकुरोमा पनि थपडी बजाउनु हुन्छ र नै हाम्रा नेताहरुले मनमानी गर्छन्। मैले देखेको छु, यही स्ट्याण्डमा गोर्खाल्याण्डको निम्ति यसरी थपडी बजाएको, बङ्गाल हाम्रो चिहान हो भन्नेले बङ्गाल कै मुख्यमन्त्री लगायात अन्य नेताहरुलाई निमन्त्रना गरेर हामीलाई गालीदिनु लगाउँदा पनि यसरी थपडी बजाएको।  स्टेजमा नेता र भाषणहरु मात्र बद्लिए तर थपडी बजाउने हातहरु बद्लिएनन्।

मैले अझ भनेको थिएँ, यो पालीको आन्दोलन पनि बिफल हुन्छ भने यस बिफलताको जिम्मारी हामी सबैको हुन्छ। तलबाट कस्तो कुरा गरेको भनेर गुनगुन हुँदैथियो। र मैले स्पष्टीकरण दिने क्रममा जोडेँ। हेर्नुहोस्, यसअघि पनि व्यवस्था थापिसकेको छ। यसले के गरेको छ भने, गाँउको साना-साना नेताहरुले गाउँका नालीहरु खाए, अलिकति समष्टि स्तरकाले अलिक ठूलो झोडाहरु खाए। महकुमा स्तरमा अझ ठूला ठूला हलहरु, स्कीमहरु खाए र सबै भन्दा माथिका नेताहरुले “मुद्दा” नै खाए।

यसरी टुप्पोदेखि फेदसम्मै भ्रष्ट बनिएको व्यवस्थामा प्रश्न कसले गर्ने? जति पनि आन्दोलनहरुले ठेकादारहरु नै त जन्माए। सर्टकटमा बेसी कमाउने मानसिकता जन्माए। तर संयोगको कुरा, जसले जति छिटो छिटो महल ठडाए ती सबै छिटो-छिटो नै भत्केका पनि देखें। शिक्षालाई पर सार्ने काम गरे।

नभन्दै केही दिन पछि अनितले बन्द खोल्ने जमर्को गर्न थाले र पछि अनित र बिनय दुई कलकत्ता गएर जिटिए-2  पनि थापे। तिनीहरुलाई दार्जीलिङ छिर्नु साह्रो परेको हो। त्यस पछि प्रशासनलाई नियन्त्रणमा ल्याउन निकै गाह्रो भए पनि विभिन्न कसरत गरेर यहाँसम्म आइपुगे।

सांसद र विधानसभा दुइटै चुनाव पनि हारे। र पनि आज बिनय पछि अनितले कार्यभार सम्हालेर निरन्तर अघि बढिरहेका छन्। निश्चय नै यात्रा कठीन छ, अनि अविश्वासकै भरमा पनि अघि बढिरहेका छन्।

अब प्रश्न, यी घिसिङ, बिमल, बिनय वा अनितहरु को हुन्? र किन यिनीहरुले मुद्दालाई बेचे?

व्यक्तिगत रुपमा यिनीहरु कसैको छोरा कसैको श्रीमान, कसैको बाबा, दाजु-भाइ यस्तै के-के हरु हुन्। तर गोर्खाल्याण्ड आन्दोलनलाई प्रतिनिधित्व दिने यिनीहरु एउटा आन्दोलित कसरतबाट निस्किएका ऐतिहासिक छविहरु हुन्। यिनीहरु अब केवल एक व्यक्ति मात्र होइनन् तर गोर्खाका ऐतिहासिक सङ्घर्षको कसरतका उपजहरु हुन्।

अब यिनीहरु कसरी यस्ता जन्मिए? किन आन्दोलनलाई टुङ्गो लगाउन सकेनन्? के तिनीहरुको व्यक्तिगत जीवनलाई मात्र दोष्याउन मिल्छ होला र?

बिज गुनाको फल भने झैँ अब हाम्रा ऐतिहासिक कसरतहरु कस्ता थिए भनि बुझौं। हाम्रा सामाजिक ढाँचाहरुमा कति भूलहरु छन्, यसरी यस्ता नेताहरु जन्माउनमा, त्यो पनि विश्लेषण गर्नु पर्ने हुन्छ।

“गोर्खाल्याण्ड” हाम्रो गन्तव्य हो भने यो गन्तव्यसम्म पुऱ्याउने वाहक (गाडी) भने आन्दोलन हो। आन्दोलनको प्रकार धेरै हुनै सक्छ। यस आन्दोलनलाई लक्ष्यसम्म पुग्नको निम्ति ईन्धनको आवश्यक्ता पर्दछ। इञ्जिनहरु ठीक हुनु पऱ्यो। एक्स्ट्रा टायरहरु बोकेको हुनुपऱ्यो। गाडीमा बस्ने ठाँउ कति छ त्यो अनुसार नै यात्रीहरु (आन्दोलनकारीहरु) हाल्नु पऱ्यो।

ओभरलोड भयो भने दुर्घट्ना हुने डर हुन्छ। अब गाडी कुद्ने बाटो निश्चय नै सरल-सहज त छैन नै। भने पछि चालक पनि प्रशिक्षित हुनु पर्ने हो। तर भयो के भने, गाडीको क्षमता भन्दा धेर आन्दोलनकारी हालेर अनुभव नै नभएको चालकको भरमा कुदेको गाडी, जसमा आधा बाटोबाट चालक नै उत्रिए, अब खलासीले हाँक्नु पऱ्यो।

तर खलासीलाई भने पहिले देखिनै थाहा थियो कि गाडीमा तेल कम्ती छ भनेर।  गाडीको इञ्जिनले एकोहोरै डिस्टर्व गरिबस्छ भनेर। तेल पनि सकियो। ईञ्जिन पनि ठूलो गियरमा बेसी रेस गरेर ओभर-हीट भएर डाउन नै भयो। गाडी बिग्रिएर फेरि ग्यारेजमा जब थन्काउन गए, त्यतिबेला दोष भने खलासीलाई मात्र लागे।

खलासीहरुले हार खाएनन् जसोतसो ग्यारेजबाट काम चलाउ बनाएर निकालेर आज आफैले लोकल खेपिरहेका छन्। र आफै ड्राइभर पनि बनिसकेका छन्। तर गाडी हाइवेमा निकालेन भनेर अरुहरुले फेरि ड्राभर फेर्ने निधो गरिसकेका छन्।

यसरी खेप-खेपमा हाम्रो गोर्खाल्याण्डको गाडी बाटैमा बिग्रिन्छ र दोष ड्राभरलाई मात्र दिने गरिन्छ। यो आन्दोलन सबैको हो भने जिम्मेवारी पनि सबैले लिनु पर्ने होइन र?  आन्दोलनमा होमिनु भनेको सडकमा उत्रेर जुलुस नारा, पुलिसको धुलाई खानु सराहनीय काम भए पनि यतिले मात्र भने पुग्दैन।

आन्दोलनलाई चाहिने धेरै कुराहरु हुन्छन्। जसलाई हामीले अन्देखा गर्ने गर्छौँ। प्रत्येक नागरिकको आ-आफ्नो भूमिका हुन्छ। यसरी अबको आन्दोलनमा पनि बिना तयारी गयौँ भने फेरि पनि बाटैमा दुर्घट्ना हुनेछ। यसरी आजको दिनमा यस परिस्थितिमा फेरि कसै न कसैले सत्तासित सम्झौता गर्ने नै छन्। उ घिसिङ, बिमल, बिनय, अनित नै हुनु पर्छ भन्ने केही छैन। सम्झौता यिनीहरुको व्यक्तिगत इच्छाले कदापि हुँदैन। किन भने यिनीहरु अहिले व्यक्तिगत जीवन नै जिउन सक्दैनन्। सम्झौता व्यक्तिले होइन हाम्रो सामजिक ढाँचाले गरेको हो।

यसरी हाम्रो सामाजिक संरचनाले जन्माएको सम्झौतामा कसै एक्लैको मात्र गल्ती देखाए अझ फेरि हामी हाम्रो गाडीको ईञ्जिन ठीक गर्न पट्टी लाग्दैनौँ।  ईन्धनको जोगाड गर्दैनौँ। हुन त गोर्खा समाजमा सबै संसाधन भए पनि ती तत्वहरुको ठीकसँग संश्लेषण गर्ने पारा ल्याउने व्यक्ति भने छैनन्। भान्सामा सबै सब्जी भए पनि पकाउनु जानेन भने त खिचडी नै त हुन्छ नि। तरकारीमा हाल्नै पर्ने हर्दी पनि पाकिसकेर माथिबाट छर्के त्यो सब्जी कतिले खानु सक्ला र?  यसरी समाजको हरेक तत्वको सठीक महत्व बुझेर कार्यान्व्यन गर्नु पर्ने हुन्छ।

अनि त्यसो त दोष यिनीहरुलाई मात्र नदिएर यो कसरी हाम्रो समाजको उपज भयो? हाम्रा सामाजिक जिम्मेवारीहरु के के हुन्, खासमा दोष कस्को हो? हाम्रा सामाजिक ढाँचागत त्रुटीहरु के-के हुन्? केलाउनु पर्दैन र? क्रमश: …


दिलाराम चिया बगान, खरसाङ।


 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया