अभिव्यक्ति र कला

विज्ञापन

 

काव्यवृत्त-[ एक ]

     कलाको अस्तित्व बाँच्छ अभिव्यक्तिमा । बिनाअभिव्यक्ति कला देखिन्छ नै पो कहाँ? उसरी नै अभिव्यक्ति दिगो बाँच्छ त्यसको कलात्मकतामा । हैन, अभिव्यक्ति नै कला हो । अर्थात् कला भन्नु नै अभिव्यक्ति । त्यसैले, अभिव्यक्ति तर अभिव्यक्ति नै नभइदिए त्यहाँ कला हुँदैन ।


मनप्रसाद सुब्बा


कुनै गम्भीर रचनाको सृजन-प्रक्रियामा प्रसूतिकालको पिडानुभव धेर-थोर मात्रामा प्रत्येक इमान्दार रचनाकारलाई हुने गर्छ । आघात होस् या आल्हाद, विरक्ति होस् या द्रोह, अनुभूतिको गर्भमा एक विशेष आकृति खोजेर विकसित हुने क्रमसित त्यो विस्तारै बोझिलो स्थितिमा आइपुग्छ, त्यसपछि त्यसले अभिव्यक्ति मागिरहेको क्षणहरूमा यस्तो पीडानुभव हुने गर्छ । अनुभूतिको गहनता अनुरूप यस्तो पीडाको उठान हुन्छ, अनि त्यसको तीब्रताको मात्राले नै अभिव्यक्तिको घनत्वलाई प्रभावित पार्छ ।      

   अन्तर्मन र अन्तश्चेतनाको संयुक्ति (फ्युजन)-मा उठेको भावले इमान्दार अभिव्यक्तिको आग्रह गर्दै पक्रिरहँदाको अवस्थामा नै चुहिन्छ कविता । नत्र त कविता लेख्नैपर्छ भन्ने वाध्यता नै के छ र ! रहर मात्रको कोराइमा अनुभूतिको तीब्रता र भाव-गाम्भीर्यको अभाव या न्यूनता खट्किनु कुनै अचम्म होइन । तर इमान्दार काव्यसाधक त्यस अवस्थामा पुगेको हुन्छ जहाँ उभित्रका कविताहरूले शब्दहरूमा अवतरित हुने आग्रह गरिरहन्छन् । अनि शब्दहरूमा अवतरित भएरै ती बाँच्छन् तथा मर्यादित हुन्छन् ।

     It is quite true that things are better in the mind than in themselves, that they acquire their full stature only when they have been expressed, that they themselves pray to be assumed into the heaven of metaphysical or poetical thought, where they proceed to live outside time with a life which is universal. What would have become of the Trojan War without Homer ?

     कलात्मक अभिव्यक्तिको महिमा गाउँदै व्यक्त गरिएको ज्याक्स म्यरिटेन-को यो सूक्ष्म विश्लेषणात्मक टिप्पणी । यसबाट प्रमुख दुइ कुराहरू यसरी बुझिन्छन् : १. वस्तुहरू आफैमा नभइरहेर सर्जकको मानसगर्भमा अनुभूति पाक्दै अभिव्यक्तिमा रूपायित भएपछि मात्र ती व्यक्तित्ववान बन्छन् । २. वस्तुहरू स्वयंले सूक्ष्म तथा काव्यात्मक भाव-विचारको आल्हादिक रूप प्राप्त गर्ने आग्रह गर्छन् ताकि तिनीहरू विश्वजनीन जीवनसित कालातीत भई बाँचिरहुन् ।

     उद्धरणमा, होमरबिना ट्रोय युद्धको कथाको के हाल हुन्थ्यो होला भने झैं वाल्मीकिबिना राम-रावण युद्धको आख्यान, वेद्व्यासबिना कौरव-पाण्डवको महाकथा के भैसक्थ्यो होला ! घटना > कवि > कविता (अभिव्यक्ति)-को अन्तर्सम्बन्धले नै  जितेको छ कालको क्षयीकरण वा विस्मृतिकरणलाई अनि जितेको छ इतिहासको ढुँडी र एकालापलाई पनि । 

     वस्तु अर्थात् घटना आफैमा वस्तु / घटना मात्रै हुन् । अनुभूतिले तिनीहरूलाई कलात्मक व्यक्तित्वको गरिमा प्रदान गर्छन् । र, त्यो व्यक्तित्व प्रकट हुन्छ सर्जकको अभिव्यक्तिमा। संवेदनमा तरङ्गिएर वस्तु / घटनाले अनुभूतिलाई आग्रह गर्छ सूक्ष्म अभिव्यक्तिको निमित्त । अनुभूतिको तीब्रता- गहनता अनि सौन्दर्यबोधको प्रखरता नै अभिव्यक्तिका स्वरूप-सृजनमा निर्णायक तत्वहरू हुन्छन् ।

     वस्तु वा घटना आफैमा स्वतन्त्र छन् तर तीबाट उत्प्रेरित अनुभूति र अभिव्यक्ति सर्जकको आफ्नो हुन्छ । त्यसो त अनुभूति पनि कति हदसम्म साझा हुन सक्छन् तर अभिव्यक्ति नितान्त वैयक्तिक हुन्छ यद्यपि यो, व्यक्तिको (सर्जकको) आफ्नो लागि नै चैं हुँदैन । अनुभूतिको अन्तर्क्रियाबिना अभिव्यक्ति सायद सम्भव छैन पनि । बयान तथा विवरण त वस्तुस्थितिको स्वातन्त्र्यमा त्यसै पनि छँदैछ । वस्तु या घटनाबाट जे जति भाव-विचार उद्रेक हुन्छ त्यो अनुभूतिजन्य हो । त्यसैले अभिव्यक्तिमा मात्र जीवन्तता उद्घाटित हुन्छ ।

     अव्यक्त स्थिति केवल अन्धकारको पर्याय हुनसक्छ, महाविष्फोटन (बिग ब्याङ)अघिको अन्धकार । अव्यक्तता, तसर्थ अनस्तिता जसको तर अनुभूति नै हुँदैन । फेरि अनुभूति अनुभूत हुनलाई चेतना हुनैपऱ्यो । निश्चेतनमा अनुभूति नै कहाँ ? अनुभूति र चेतनता अन्योन्याश्रित, स्पेस – टाइम जस्तै ।    

     कलाको अस्तित्व बाँच्छ अभिव्यक्तिमा । बिनाअभिव्यक्ति कला देखिन्छ नै पो कहाँ? उसरी नै अभिव्यक्ति दिगो बाँच्छ त्यसको कलात्मकतामा । हैन, अभिव्यक्ति नै कला हो । अर्थात् कला भन्नु नै अभिव्यक्ति । त्यसैले, अभिव्यक्ति तर अभिव्यक्ति नै नभइदिए त्यहाँ कला हुँदैन ।  

     अभिव्यक्तिका अनेकन् उपायहरू छन्, विविध साधन र माध्यमहरू छन् । अभिव्यक्ति (कला)-का ती विविध साधनमध्ये एक अप्रतिम विधा हो कविता । विधा तर माध्यम मात्र होइन । माध्यम यान्त्रिक हुन्छ, विधा जीवन्त । यही जीवन्तताले हामी स्पर्शित हुन्छौं विभिन्न विधाहरूमा — चाहे त्यो कविता होस् या नाटक, कथा होस् या निबन्ध । कविता शाब्दिक अभिव्यक्तिको यौटा यस्तो साधन हो कि यसमा प्रवेश गरेपछि त्यो साधन मात्र हुनुदेखि धेरै माथि उठेर साधना बन्दछ, यौटा साध्य साधना ।        

         

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया