के अनित र विनय मात्र दोषी हुन्?

विज्ञापन

भाग- 2 : दृष्टिकोण

अहिलेका कम्पाउण्डर-धामी-धुपौरेहरु आफूले उपचार गर्नु सक्दैन अनि रोग नै निको हुँदैन भनेर दुष्प्रचार गरिरहेका छन्। नफल्ने बनतरुल त ब्लड-क्यान्सर नै हो भनिदिन्छन्। आफ्नो अयोग्यतालाई ढाकछोप गर्न रोगलाई दोष लगाउँदैछन् र आफू जोगिन्छन्। आफूले गरेको सम्झौताको चपेटमा परेर गोर्खाल्याण्ड पाउनु सजिलो छैन भनेर प्रचार गर्छन् र जनतालाई उदास-हतास बनाउने काम गरेर थकाउँछन्।


कमल भुजेल


किन भएन डाग्नोसिस्?

अनि त्यसो त दोष यिनीहरुलाई मात्र नदिएर यो कसरी हाम्रो समाजको उपज भयो?

हाम्रा सामाजिक जिम्मेवारीहरु के के हुन्, खासमा दोष कस्को हो?

हाम्रा सामाजिक ढाँचागत त्रुटीहरु के-के हुन्?

पहिलो भागमा यी प्रश्नहरु छोडिराखेको थिएँ। यसरी जति खेर पनि आन्दोलन तुहिँदा केवल एक निश्चित व्यक्ति वा दललाई मात्र दोष दिने गरेकोले, विफलताको कुनै विश्लेषण नै नगरिकन झप्कामा मात्र आन्दोलन गर्न थाल्ने प्रवृतिले पटक-पटक ठोक्कर खानुपरेको अनुभव खट्किरहेको हुन्छ। 

सम्झौता गर्ने, छिटो बिक्री भइहाल्ने प्रवृति के एकल व्यक्तिको व्यक्तिगत समस्या हो कि वा यो हाम्रो सामाजिक समस्या हो? हाम्रो सामाजिक ढाँचाहरुमा नै पो यी कमजोरीहरु छन् कि?

यसखाले प्रश्नहरुको साझा बहस नचलिकन नै समाजको प्रवाह अघि बढिरहेछ कुनै निर्दिष्ट बाटोबिनाको गन्तव्यतर्फ, दिशाहीन भएर।

यो पहाड इतिहासमा जन्मदेखिनै अपाङ्ग सरी छन्। बेला-बेलामा सही खोपहरु (Vaccine) लागउनु पर्ने थियो, कुपोषणदेखि बचाँउनु पर्ने थियो तर पहाडको उपचार गर्नको निम्ति सही डाक्टर देखिएनन्।

भुँई-फुट्टाहरुले आफै उपचार गर्न खोजे। अलि-अलि कम्पाउण्डरसम्म गरेकाहरुले सर्जिकल अपेरेशन नै गर्न खोजे।

धामी-झाँक्री गरेर नै बिमार ठीक पार्न खोजे। पहाडलाई त्यसैको साइड एफेक्टले अझ मार थपेको छ। त्यसैले पहाडको खास बिमार पत्तो नै लागेको छैन। वास्तवमा बिमार गोर्खाल्याण्ड भनिए पनि कसैले दागोपाप, जिटिए, जिटिए-2, छैटौंअनुसूची  अझै पुरानोमा प्रान्त परिषद, ग्रेटर नेपालको डाइग्नोसिस् गर्न खोजेका थिए। पहाडको कुनै पनि ब्लड टेस्टहरु नगरिकन नै कमन सेन्सले यी कम्पाउण्डरहरुले माथिको बिमार देखाइ दवाईहरु प्रिस्क्राइब्ड गरे। ती मध्येमा दागोपाप अलि लामो चले पनि अरु दबाइहरुले निको हुनु भन्दा पनि बेसी रियक्शन भयो।

पहाडलाई गोर्खाल्याण्डको डाइग्नोसिस गरेर सही दबाई गर्ने डाक्टर भने भेट्टाएको छैन। यसको बिमार पत्तो लगाउनु पऱ्यो, त्यसको उपचारको निम्ति सही अपेरेशनहरु हुनु पऱ्यो र अपेरेशन पछि खानाहरु बार्नु पर्नेहरु हुन्छ, रेस्ट गर्नु पर्ने हुन्छ, ती सबै पालना गर्नु पर्ने हुन्छ।

त्यसको निम्ति जुन डाक्टर आउँछ उसले डाक्टरी राम्ररी पढेको हुनुपऱ्यो, अनुभवी हुनु पर्नेछ। डाइग्नोसिस ठीकसँग गर्नुसक्ने, उपचार गरेर ठीक गर्छु भनेर ग्यारेन्टी दिनुसक्ने हुनुपर्छ। महाकाल-बाबाको कसम खाएर मात्र हुँदैन।

 अहिलेका कम्पाउण्डर-धामी-धुपौरेहरु आफूले उपचार गर्नु सक्दैन अनि रोग नै निको हुँदैन भनेर दुष्प्रचार गरिरहेका छन्। नफल्ने बनतरुल त ब्लड-क्यान्सर नै हो भनिदिन्छन्। आफ्नो अयोग्यतालाई ढाकछोप गर्न रोगलाई दोष लगाउँदैछन् र आफू जोगिन्छन्। आफूले गरेको सम्झौताको चपेटमा परेर गोर्खाल्याण्ड पाउनु सजिलो छैन भनेर प्रचार गर्छन् र जनतालाई उदास-हतास बनाउने काम गरेर थकाउँछन्।

पहाडलाई के-के बिमार लागेको छ सबै भन्न नसके पनि बिमार लाग्नुको सम्भावनाहरु भने अड्कल गर्न सकिन्छ।

कुरा पहाडको इतिहास लेखिएदेखि नै गर्नु हो भने यहाँको समाजिक विकासक्रममा प्रत्येक घट्नाहरुबाट उप्जिएका परिणतिहरुको फलस्वरुप नै पहाडी समाजको संस्कार पनि बनिएको हो।

पहाडमा शिक्षा भन्दा पहिले आधुनिकरण हुने क्रममा, रेलको विस्तार र चिया उद्योगको विस्तारले मान्छेको श्रमबाट नाफा कमाउने परम्पराले जरा गाड्यो। मिसिनेरीहरुले धर्म फैलाउनकै निम्ति शिक्षाको विस्तार गर्न स्कूलहरु पनि शुरु गरे।

पहाडमा मालिकहरु बाहिरबाट आए र यहीँ कै रैथानेहरुलाई मजदुर बनाए। ती मजदुरहरुमा अलिक चङ्खा-बाठाहरुलाई सरदारहरु पनि बनाइदिए। केही चुनिन्दा मान्छेहरुको जीवन-स्तर अलि बढेको जस्तो भए पनि बहुसंख्या भने गरिबीमा नै डुबिरहेका थिए र छन् पनि। अङ्ग्रेजको शासनमा मात्र यस्तो थिएन भारत स्वतन्त्र भएदेखि अहिलेसम्म पनि यस्तै छ। दरिद्रताको आकार बद्लिएता पनि दमन भने त्यो भन्दा बेसी छ, तुलनात्मक ढङ्गमा हेर्दा। फलत: शासक बद्लिए शोषण बद्लिएन।

दार्जीलिङको उत्पादन विश्व प्रसिद्ध भए तर त्यस उत्पादनमा जोडिएकाहरु भने बुनियादी कुराहरुबाट पनि वञ्चित रहे। तर दरिद्रतामा रहे तापनि आफ्नो उत्पादनको प्रसिद्धिमा आफू पनि खुशी नै बसे दु:खहरु सबै बिर्सेर। जसरी प्राइभेट कम्पनीमा गधाजस्तो खट्दा पनि दाम्मी आफिस, एसीहरुमा बस्दा आफू शोषित भएको अनुभुति हुन नै दिँदैन।

हामी मजदुरले तयार गरेको चिया विश्व प्रसिद्ध छ भनेर नै दु:ख भुल्न थाले। सिन्कोनाहरु पनि उमारे। बन-बस्तीमा पनि बसोबास थियो त धेरै खेती-पातीमा पनि लागेका थिए।

सबैको जीवन कष्टदायक भए पनि उद्योगमा काम गर्नेहरुको जीवनस्तर साह्रै नै निर्मम थिए वा अझै पनि त्यस्तै छ। आफू बसेको जमीनको पनि मालिकाना नभएको मानसिकताले धेरै मानसिक तनाव पुस्तैनीको निम्ति छोडेर गए। जसले आफू बसेको भूमि-प्रतिको मायामा पनि आशङ्काहरु उप्जिएकै हो। आफ्नो जन्म-मृत्यु हुने भूमिमा आफ्नै अधिकार नहुनाले पनि व्यक्तिगत विकासमा धक्का लागेर “स्व:”(Self) बलियो भएर ठीङ्ग उभिनु नै सकेन। जसको फाइदा दमनकारीले सधैँ नै उठाइबसे र यसलाई कहिले पनि विकास हुन नै दिएनन्। दिँदैनन् पनि।

बजारहरुको पनि बिकास भए र त्यहाँ पनि स्वामित्व भने बाहिरबाट कामाउन आउनेहरुकै बेसी हुनाले हाम्रै मानिसहरुको आधिपत्य भने कतै पनि स्थापित हुन सकेन। कोही-कोही सरदार-मण्डलहरुसम्म भए। चियाबगानका मालिकहरु सबै बाहिर कै थिए। हामी आफ्नै ठाउँमा दास हुनु परेको पीडा जेनिटिकल्ली पुस्तैनी सरेर जाने गरेकोले पनि उन्मुक्तिको कुरैले पनि हाम्रो मनमा झल्याँस्स दीयो बलिहाल्छ। अलिकति पनि खुशी देखिहाले भने त्यतै ढल्किहाल्ने मानसिकताको विकास भयो। हुनु चाहिँ एक-एक सिङ्गो व्यक्तिमा यसको विकास भएता पनि यो सामूहिक रुपमा नै देखिएको हो। तर सबैकोमा भए पनि एकले अर्कोलाई भने थाहा लाग्न दिएनन्। मुक्तिको बाटो एक्लै पनि खोज्दै थिए। कसरी एक्लै भए पनि यहाँबाट निस्किन सके भइगयो भन्ने मानसिकताको विकास हुनु पनि स्वाभाविक नै थियो।

यी सबै सामूहिक नेतृत्वको कमी भएकै कारणले घटेको थियो। यो मानसिकता, मजदुरहरुमा मात्र होइन तर मूलत पुरै समाजमा हावी भइसकेको थियो। त्यसैले एक्लै नै अघि बढ्नेहरु पनि धेरै थिए। उन्मुक्तिको सपना सामूहिकतामा होइन व्यक्तिगत विकासमा पनि देख्दै थिए। पछि गएर परिणतिस्वरुप बिकास-बोर्डहरुले यसको प्रमाण सिद्ध गरे भने गोर्खा एक हुन नसक्नुको एउटा मूल कारण पनि यही नै हो।

ठूल्ठूला महङ्गा स्कूलहरु बनिए, राजा-महाराजाका छोरा-छोरीहरु पढ्ने। सुविधाका ठाउँहरु सबै ठूला-बढाहरुले ओगटी हाले। बहुसंख्यक अँध्यारोमा रहेका जनताले अलिकति घामको धिप-धिप उज्यालो पनि पाए ताप्छु भन्ने स्थितिमा पुगेका थिए। ठूला-बढाहरु रमाएको, खुशी-भएको देख्दा त्यसरी नै जिउने सपनाहरु बुन्ने गर्थे र गर्छन् अझ पनि।

जीवनमा खुशी उन्मुक्तिले पाँउछ र उन्मुक्ति गोर्खाल्यण्डमा देखाइदिए। संस्थागत उन्मुक्तिको बृहत सङ्घर्ष भने घिसिङदेखि नै भएको मान्नु पर्छ। सपनामा उन्मुक्ति थियो तर उन्मुक्तिको परिभाषा नै थिएन र आजसम्म पनि परिभाषा बिनाको उन्मुक्तिको सपनामा लडिरहेका छौँ। शहीदहरु जन्माइरहेका छौँ।

86-को आन्दोलन अघिदेखि नै पहाडमा अभागोली, काङ्ग्रेस, कम्युनिष्ट पार्टीहरुको वर्चस्व रहे पनि समाजको मूल बिमारीको डाइग्नोसिस गर्ने काम गरेनन्। सबैभन्दा ढोङ्ग त झनै 86 अघिको कम्युनिष्टले गरे। हसिँया, मार्तोल तारा-को नारामा मजदुरको पार्टी भनिनेले जतिसक्दो मजदुरकै उल्टा दमन गरे। विशेष चिया श्रमीकहरुको जीवनमा त्यस्तो केही फरक पार्ने काम नै गरेन। र 86-को सङ्घर्षको बादमा 96 तिरको खोल फेरेको क्रान्तिकारी माकपाले पनि श्रमिकको लागि वा जाति उन्मुक्ति मार्गदर्शनमा त्यस्तो केही भूमिका नै निर्वाह गरेन। नाममा मात्र क्रान्तिकारी हाले तर क्रान्ति नै भने कतै भेटिएन नत सिद्धान्तमा नत व्यवहारमा नै। यसरी आशाजनक सम्पूर्ण राजनैतिक दलहरुले पनि जनतामा राजनैतिक चेतनाको विकास भने गरेनन् भनौ गर्न सकेनन्। कारण आफैहरु पनि मूलभूत राजनैतिक सचेतताबाट टाडै रहेका थिए।

राजनैतिक आधिपत्यले नै समाजको हरेक आयामलाई निर्धारण गर्ने हुनाले राजनीतिमा उत्रनेहरुले उन्मुक्ति कै सपना देखाउनु हो भने समाज माथिको अध्ययन सुक्ष्म स्तरदेखि विराट तहसम्म गरेको हुनुपर्छ।

समाजको आयामलाई नै नबुझी समाजमा केही पनि फड्का मार्न सकिन्न। समाजको रुपान्तरण गर्न सकिन्न। रुपान्तरणको रुपरेखा छर्लङ्ग देखाएको हुनु पर्छ। यी राजनैतिक दलहरुले जनतालाई सचेत पार्ने काम गरेनन्, साङ्गठानिक पद्धतिहरुको विकास गरेनन्। बिरलै पार्टीभित्र अनुशासन रहेता पनि निर्णायक भूमिका एक्लैले नै निर्वाह गर्ने चलन रह्यो।

गणतान्त्रिक अभ्यास नभएकै कारण पार्टीको शक्ति टाउकेकोमा मात्र केन्द्रित हुने चलन अहिलेसम्म पनि चलिआएको छ। (One man Army)-को परम्पराले ग्रसित पार्टीमा जनताको आवाज उठाउने ठाँउ कहाँबाट पाउने?

लुते साहित्य

राजनैतिक चेत नभएता पनि बौद्धिक विकासको नाममा साहित्यको विकास भने तीव्र गतिमा भइरहेकै थियो। 86 अघिसम्मको साहित्यले मुक्तिको स्वर कता-कता बोकेकै भए पनि साहित्यले दिशानिर्देश नै चाँहि गरेको थिएन। केही जन-साहित्यमा सङ्घर्षको आवाज निक्ले पनि साहित्यमा आक्रोशको भाव प्रतिबिम्वित नै भएन।

दलीय राजनीतिबाट टाडा रहेकाहरु साहित्यसँगको निकटताले पनि उन्मुक्तिको चेतना खोल्ने काम गरेन। अपितु साहित्यले गोर्खाको वीर-गाथाहरु लेखेर, चियाबारीको प्रशङ्सा गरेर मानिसहरुलाई आफूले भोगेको दु;ख विधाताको देन हो भन्ने भ्रामक कथनहरुले प्रतिशोधको क्षमतालाई दबाउने काम गरे।

मालिकको सोझो हुनु पर्ने। गोर्खा इमान्दार हुनुपर्छ भने तर कस्तो इमान्दार भने उल्लेख गरेनन्। आफ्नो सोझोपनसित उन्मुक्तिको सपनालाई तिलाञ्जली दिने खाल्को साहित्य हावी भए।

साहित्यको महारथी डा० इन्द्र बहादुर राईले “आज रमिता छ”-मा मानिसको भोगाइहरु छर्लङ्ग चित्रन गरेर “साहित्यको अपहरण” (मार्क्सवादीहरुको सन्दर्भमा) लेख्दा नेपाली साहित्यको दिशा जनताको उन्मुक्ति तर्फ नभएको झल्काइदिए। र प्रगतिशील साहित्यकारहरुले पनि कुनै ठोस प्रति-उत्तर दिन नसक्नुमा पनि क्रान्तिकारी संज्ञा फगत शब्द मात्रमा निहित देखियो।

प्रयास देखिन सक्छ तर उपलब्धि भने देखिएन। नेपाली साहित्यमा ईबराको आधिपत्य मानेर नै जीवनको मूल भोगाइहरु देखि  टाडा रहेर दमनमा पनि रमाउने साहित्यहरुको सृजना भइबसे। समाजको धारा पीडामा बगिरहेको थियो भने, अग्रिम पङ्तिका साहित्यले यथार्थदेखि टाडाको रमणीय भाव पोखिरहेको थियो। प्रतिरोधीको साहित्यले दम लगाउन नै सकेको थिएन। र यसरी साहित्यलाई मानिसको भोगाइदेखि टाडा लगेर मनोरञ्जनात्मक साधनको रुपमा परिणत गरिदिए। पुरस्कारको निम्ति लेखिने विधाको रुपमा खडा गरिदिए। जनताको स्वरलाई बोक्न नै दिएन जसले गर्दा जनता साहित्य देखि कोसौं टाडा पुगे।

86-को आन्दोलन र साइकोलोजिकल आघात (Psychological Trauma) र धार्मिक अतिक्रमण

आन्दोलनको हिंसाले प्राय: सबैको मनमा भय-त्रासले आघात पुगेको थियो। मानसिक रुपमा धेरै नै विचलित बनेका थिए जनता तथा नेताहरु। सबैलाई यो आघातबाट निकाल्न Mass Psychological Counselling- को आवश्यक्ता थियो। तर जाबो एउटा पार्टीलाई त साङ्गठानिक ढाँचा दिन नसक्ने बेला यसरी जनता अनि आन्दोलनकारीलाई Mass Psychological Back-up दिने सोँच त्यतिबेला नहुनु सही भएता पनि यो 2007 देखि  2017 को आन्दोलनमा पनि भएन जबकि समाज तक्निकि रुपमा धेरै अघि बढिसकेको थियो।

धार्मिक आस्था स्वभाविकै भए पनि राजनीतिमा धर्म हाले धेरै काम सजिलै गर्न सकिने भारतीय परिप्रेक्ष्यमा धेरै उदाहरणहरु देखेका छौँ र यसैलाई परम्परा नै बनाइदिए हाम्रोमा पनि। हिंसाले आघात बनेकाहरु कतै शान्ति नपाएर अब धर्मको शरणमा पुगे। धर्मले त्यसै त अन्धो बनाइदिन्छ भने पहाडमा बाहिरबाट उग्र रुपमा गुरुजी-बाबाहरु आउने कल्चर शुरु भयो।

भय-त्रासले आघात बनेका घाइते मनहरुले ती गुरु-बाबाकोमा शान्ति पाए। युद्धले थाकेका जोशहरु र ईमान ढलेका मनहरुले सोझै यी गुरुजी-बाबाहरुलाई स्वीकार गरिहाले। तर सरकारले आन्दोलन दबाउन कसरी यी गुरुजी-बाबाहरुलाई प्रयोगमा ल्याए भनेर कसैले प्रश्न मात्र पनि गरे भने उसलाई काट्न पनि बेर नलाग्ने परिस्थिति बनियो। भक्तहरु अन्धविश्वासमा नै रमे। धर्ममा शङ्का गर्ने ठाँउ नै हुँदैन र अन्ध-भक्तिको परम्परा पार्टीको नेतामात्रमा होइन मनमा झुठै भए पनि शान्ति जसले दिन्छ उसप्रति बनिन थाल्यो।

गुरु वा नेता कसैलाई पनि प्रश्न नसोध्ने संस्कार बनियो। धर्ममा अन्धो बनिएका जनतालाई झन् Backward बनाइयो। उन्मुक्तिकको नारामा धर्म मिसाइ राजनीति गरेर केही कम मान्छेले धनी हुने सपना देखेर त्यसैलाई बाटो पनि बनाए। यसरी धार्मिक कार्यक्रमहरुलाई धेरै उत्साह दिए। धेरै सरकारी कोषहरु पनि धार्मिक कार्यमा खर्चे जुन त्यस्तो आवश्यक थिएन। धार्मिक आस्थाको आडमा दह्रिलो राजनीति गर्न झन् सजिलो भयो।

हिन्दु धर्मको निकै प्रभुत्व रहेको समाजमा अरु धर्महरुलाई पनि आ-आफ्नो हिसाबले प्रयोग गरे। हिन्दु धर्मको रीति-थीति, ब्राह्मणवादको विरोध गरेर निक्लेको बौद्ध धर्म, जसले पुजा-पाठ, दान-दक्षीणा दिने संस्कारको विरोध गरे त्यही बौद्ध अनुयायीहरुलाई लामावादले यही संस्कार अझ तीब्र रुपमा गर्न वाध्य बनाए।

जुन बुद्धले भगवानको अस्तित्व छैन भने उसैलाई भगवान बनाएर पुज्दैछन् भने बुद्धले स्वर्ग-नर्क, पुणर्जन्मको कुरा नकारेका थिए तर अहिले बौद्ध अनुयायीहरु नै यही स्वर्ग पुग्ने दौडमा पुण्य कमाउन धेरै दान-दक्षिणाहरु गरिरहेका छन्। पुनर्जन्ममा आस्था राखेर आफूले भोगेका दु:खहरु पापको फलमा देख्छन्। र यस्ता आस्थाहरु नै हाम्रा नेताहरुले अझ बढावा दिने गर्छन्। किनकि हर्केको स्वास्नी सुत्केरी व्यथा खप्नु नसकेर मरी भने विधाताको नियति यस्तै थियो भनेर सकिदिहाल्छ। तर ती स्वास्नीको मृत्यु, मूलभूत स्वस्थ्य सुविधा ठीक नभएर, डाक्टरको कमीले, उसले पाउने हकहरुको पैसा अरु कसैले हीना-मीना गरेको छ भनेर भन्नै परेन।

जनताले भोगेको दु:ख सबै विधाताको नाममा तिलाञ्जली दिएर आफूहरु मौज गर्न पल्केकाले सही दिशा दिदैनन् नै। जनताले पाएको कष्टहरुको निवारण धर्ममा देखाइदिए।

बाचुञ्जेल पशु सरहको जीवन बिताउन परेकोलाई कम से कम मरे पछि त सुख होस् भनेर स्वर्गको आशमा  भनौं हिन्दु धर्ममा जातपातमा हुने छुवाछुतबाट बचाँउन पनि बाहिरी धर्महरुले मानिसलाई राहत दिने काम गरे। मानिसहरु यसरी आफ्नो मुक्तिको बाटो गणतान्त्रिक वयवस्थालाई नकारेर महाकाल बाबा, प्रभु, बाबा-गुरुजी, रिञ्पोछेहरुमा खोज्न थाले। जसले जनताको मागलाई झन् पछाडी धकेली दिए। धर्मको आस्थालाई राजनीतिकरण गरेर अन्ध-भक्ति जन्माउन झन सजिलो भयो। देवी-देउराली, महाकाल बाबा, सिञ्चेलको कसमहरुले चस्स छुइहाल्छ, विश्वास गरिहाल्न मन लाग्छ।

प्रश्नको मृत्यु

86-को आन्दोलन पछि निकैनै हाम्राहरु पनि मालिक बनिन पुगे। सम्पत्ति निकै थुपारे। एउटै समाजमा अब भने आर्थिक विषमता (असमानता) छर्लङ्ग देखिन थाल्यो। सम्पत्ति थुपारेकाहरुले अझ बेसी समपत्तिहरु थुपार्ने बाटोहरु खोज्ने क्रममा नै धेरै गलत बाटोहरु (दुई-नम्बरी) पनि छाने। यिनीहरुलाई हेरेर तलका गरीबहरुले पनि सम्पत्ति कमाउने सपनाहरु बुन्न थाले। भ्रष्टचारको बीज यसरी झन् गाडा भएर जनतामा पनि उम्रिँदै थियो।

समाज mass-corruption-को बाटोमा हाम फाल्ने क्रममा थियो। यसलाई तह ल्याउने कुनै शक्ति नै थिएन। सत्ताले नै भ्रष्टचारलाई प्रोत्साहन गरिरहेका थिए भने ज-जसले मौका पाए सबै प्रत्यक्ष-अप्रत्यक्ष रुपमा यसमा संलग्न हुन थाले। बिस्तारै आफ्नो निजी सहभागिताले पनि सत्तालाई प्रश्न गर्नबाट पर-पर भाग्ने बनाइदिए।

अरुलाई पनि प्रश्न गर्नु हुँदैन भन्ने मानसिकता बाँड्न थाले। अब लहरा तान्दा पहरा गर्जिने भयले प्रश्न गर्ने संस्कार नै हटेर गयो। यो सामाजिक हैजा यसरी फैलियो तर कसैले यसको लक्षणसम्मको पनि पत्तो नै  पाएनन्। अहिलेसम्म पनि पहाडको समाजमा सत्तासित मात्र होइन अरु कसैलाई पनि प्रश्न गर्दा झर्किने, उत्तर नपाउने परम्परा चलिरहेको छ। घरदेखि नै प्रश्न नसोध भनेर सिकाइन्छ र यस परम्परालाई धर्मले निकै ढाढस दिने काम गरेको छ।

अन्धविश्वासमा रमाउनु नै मज्जा मान्नु थाले। मुख नलाग्ने  नानीलाई गुड-गल, गुड-बइ भनेर मक्ख पारेर लठेप्रो बनाइदिन्छन् हाम्रै संस्कारले।

दागोपाप थापेर केही तप्काहरु सचेत बने, बाहिरको समाजसित मिसिन थाले, अब सिलगढी पनि नजिक हुन थाले, कलकत्ता पुग्न सक्ने भए। आफ्नोमा भएको क्षमताहरुको प्रयोग गरेर आफ्ना छोरा-छोरीहरु बाहिर पढ्न पठाउन थाले कसैले भने कसैले आफूले कमाएको सम्पत्ति तुर्ने माध्यम नै छोरा-छोरीको फुर्मासी बनाए। समाजमा व्याभिचार बढिरहेको थियो। सम्पत्तिले धनी भएता पनि वैचारिक रुपले गरीब रहेकाहरुले दूरदर्शिता राखेर आफ्नो संसाधन, सम्पत्तिको श्रीवृद्धि भने गर्न सकेनन्।

आफूले भोग्न नपाएको सुख-ऐश्वर्यहरु आफ्नो छोरा-छोरीहरुलाई भरसक दिए तर आफूले आर्जन गर्न नसकेको शिक्षा क्षेत्रमा भने उन्नति गरेनन् त्यति। त्यसैले क्षमता र मौका भएकाहरुले पनि सामूहिक रुपमा शैक्षिक विकास गरेनन्। आफूहरु त भोग-बिलासमा भुल्लिए-भुल्लिए त्यही संस्कार यातना भोगिरहेका जनतामा पनि थोपिनैरहे। जनतालाई मासु-भातमा र मताएर भुल्लाउने प्रथा पनि शुरु गरे। यो संस्कार भने सबै नेताले फलो-अप गरे।

बौद्धिकताको मृत्यु

बौद्धिक जमातलाई पन्साएर राजनीति गर्ने दागोपाप शुरु भए देखि नै वैचारिक खडेडी शुरु भएको हो। यो अनिकालमा धेरै भुखमारीहरु जन्मिए। जन्म-देखि मृत्युसम्म दमन सहनु पर्नेले माटोको लागि गद्दारी के हो भनेर मानसपटमा हाल्ननै सकेन। पन्सिएको बौद्धिक जमातले पनि दागोपापलाई प्रश्न गरिबस्ने औचित्य नै ठानेनन्।

नत विश्लेषण गरे वा समीक्षाको बाटोमा धकेल्ने जमर्को नै गरे। बौद्धिक जमात राजनीतिदेखि पर सरेर (Feel Safe) निरपत्ताको खेल खेले। माकपाबाट छुट्टिएर क्रान्तिकारी माकपाले केही सत्ताको (घिसिङ) विरोध गरे तर दीगो अनि फलदायक रहेन। विगतमा माटो विरोधीको धब्बा लागेकोले आफूलाई पखाल्न नै असमर्थ छन् क्रामाकपा। जनताले नपत्याएको भान छ यस्तो।

क्रमश:

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया