विवादित नेताका सचेत जनता : न्युजभ्युज भिडियो

विज्ञापन

न्युजभ्युज

विवादमा आइरहन मनपराउने यी गोरामुमो नेता र भाजपाका विधायकले सिक्किमे जनतालाई क्षमा नै त मागेनन् तर फेरि अर्को विवाद छोडिराखे।उनले भने, सिक्किमका जनता भोटमा च्यादरमा बिक्रीभएजस्तो, हामी गोर्खाल्याण्डको मुद्दामा बिक्री भएका हौं। जिम्बाले आफूहरूले छैटौं अनुसूचीको निम्ति, क्रामाकपाले अर्कै, गोर्खालिगले अर्कै, गोजमुमो-1-ले अर्कै मुद्दामा भाजपासित चुनाउमा गठबन्धन गरेको क्लियरकट कुरा राख्दा पनि दार्जीलिङका सचेत जनता पटक्कै नबोल्नुको अर्थ के हो त?


खबरम्यागजिनडेस्क


पार्टीको कार्यकर्ता भएर होइन भारतीय गोर्खा जनता भएर सुन्नुहोला, बुझ्नुहोला, गम्नुहोला।

परिपक्व नेताले कसैलाई नबिझाई आफ्नो स्वार्थ निप्ट्याउँछन्, अपरिपक्व नेताले आफ्नो स्वार्थको लागि सबैलाई बिझाउँछन्। यसै भनाईबाट स्पष्ट हुन्छ, जो हचुवाको भरमा नेता बन्छ, उसको न सोच ढङ्गको हुन्छ न काम ढङ्गको हुन्छ।

जो आफै नेता बनेर आउँछन्, उनी नीजि स्वार्थ बोकेरै आउँछन्, जसलाई जनताले नेता बनाएर उभ्याउँछ, उ जनस्वार्थ बोकेर नै हिँड्छ

दार्जिलिङ पहाडका नेताहरू आफै बनेका हुन् कि जनताले बनाएका हुन्, यसबारे विचार गर्ने स्पेस जनतालाई नै छोडिदिन्छु।

म जोड्न चाहन्छु, यदि परिपक्व मुद्दालाई अपरिपक्व नेताले बोक्यो भने त्यो मुद्दा बाँदरको हातमा नरिवल बन्ने सम्भावना चाँही व्यापक बन्छ।

कुन नेता मुद्दाप्रति कति इमान्दार छन्, कुन नेताको एजेन्डा जनसरोकार हो, त्यो बुझ्नु हो भने उसले बढाइरहेको गतिविधि, उसले गरिरहेको बयान र उसले देखाइरहेको रणनीतिमाथि गिद्धे दृष्टि त राख्नैपर्छ।

अर्थात कुरा स्पष्ट छ, राम्रो नेताको आँलकन, उसको कामबाट नै गरिन्छ। यदि उ कामको जिरो र मुखको हिरो निस्कियो भने उसलाई कुन दर्जा दिएर राख्नुपर्ने हो, त्यसको निर्णय यदि कसैले गर्छ भने उ सचेत जनता नै हो। तर कति सचेत जनता हो, त्यो जनता नै जानुन्।

दार्जिलिङका विधायक निरज जिम्बाका विवादित न्युजमाथि आजको भ्युज राखिरहेका छौं।

निरज जिम्बा यसकारण, कि सिक्किममा उनको वयानको चौतर्फी विरोध भयो। उनका वयानहरू हेर्दा लाग्छ, विधायक जिम्बा दार्जिलिङ पहाडको लागि विवादका पर्याय हुन्। उनी जहिले जे पनि बोल्छन्, एउटा न एउटा विवाद उठ्छ नै। एउटा विवाद साम्य हुन्छ, अर्को विवाद शुरु।  चाहे त्यो चुनाउको बेला होस् वा चुनाउ सकेर होस्, चाहे विधायक बन्दा होस् वा विधायक बनेपछि होस्।

राजनैतिक दाउपेजको सवालमा कतिपय विवाद अनिवार्य पनि हुन्छ। अनि यसप्रकारको विवादले मुद्दाको महत्व र यसको अनिवार्यतालाई निखार्छ। र विवादले मुद्दालाई बहसमा पुऱ्याउँछ। मुद्दालाई बहसमा पुऱ्याउने विवादलाई कुटनीतिको पहिलो शर्तकोरुपमा लिँदा खेरो जाँदैन। जुन विवादले मुद्दा र जनतालाई फाइदैफाइदा पुऱ्याओस्।

तर जहाँसम्म निरज जिम्बाको ताजा विवादको सवाल छ, त्यसले फाइदा दिन त टाडाको कुरा दार्जिलिङ-सिक्किमबीचको मित्रतामा भने आँच आउने पक्का चरित्रलाई नै पश्रय दियो।

सिक्किम र दार्जीलिङको नाता नङ र मासुको जस्तै हो। दार्जीलिङलाई पर्दा सिक्किमलाई दुख्छ, सिक्किमलाई पर्दा दार्जीलिङलाई। यो यथार्थलाई कुनै पनि नेताको निकृष्ट सोचले बदल्न सक्दैन।

जिम्बाले एउटा अन्तरवार्तामा सिक्किमको जनतालाई च्यादरमा बिक्री हुने बताएका थिए। यसो त उनले विहार, दिल्ली, युपीका जनतालाई पनि उत्तिकै हियाएका छन्।

28 मिनट चवन्न सेकेन्डको अन्तर्वातामा 34 सेकेण्डभित्र जिम्बाले जे पनि बोलेका छन्, त्यसलाई बुझ्न पुरै अन्तरवार्ता हेर्नै पर्दैन। 34 सेकेन्डमा नै उनको सिक्किमेजनताप्रतिको सोच बुझ्न पर्याप्त छ। विहारका, युपीका दिल्लीका जनताप्रतिको सोच बुझ्न पर्याप्त छ। युपी र बिहारलाई छाडौं, दिल्लीलाई मात्र लिने हो भने पनि दिल्लीका जनताले काम गरेकै कारण फेरि केजरीवाललाई सत्तामा राखे। केजरीवालको दिल्ली मोडल देशभरि फलो गर्नेहरूको होड चलिरहेको छ।

दिल्लीका जनताले आश्वासन दिनेलाई होइन, काम गरेर देखाउनेलाई सत्तामा राख्यो, तर जिम्बालाई लाग्छ, दिल्लीका ती सचेत जनता निकम्मा हुन्।

सही नेतृत्व सत्ताको लागि छनौट गर्ने दिल्लीका सचेत जनता के साँच्चै निकम्मा हुन्? मौका पाउने वित्तिकै आफ्नो दलीय स्वार्थको लागि जनसपनाविरुद्ध बारम्बार भाका फेर्दा, रणनैतिक दाउपेचको साटो निरर्थक वयानबाजी गर्दै दलीय एकता विथोल्ने वयान दिँदा पनि चुपचाप बस्ने दार्जिलिङका जनतालाई ‘सचेत जनता’ भनेर  दार्जिलिङका जनतालाई सकारेका हुन् कि खिल्ली उडाएका हुन्, त्यो त जनताले नै बुझ्लान्। 

गोर्खाल्याण्डको साटो स्थायी राजनैतिक समाधान भनेर जनतालाई लाटा बनाएकै हो त भन्ने प्रश्नको उत्तरमा दार्जिलिङका जनता सचेतताको हिसाबमा विश्वभरिमा नै नम्बर एकमा आउने अनि दार्जिलिङको जनता सिक्किमको जनताजस्तो च्यादरमा बिक्री नहुने जिम्बाको जिकिर हो। जुन वयानको चौतर्फी विरोध हुन थालेपछि उनलाई विधायक बनाउने विमल गुरुङसमेतले जिम्बाले माफी माग्नुपर्ने बताए। जिटिए विओए अनित थापा, विनय तामाङ, गोविन छेत्रीलगायतका विभिन्न नेताले जिम्बाले माफी माग्नुपर्ने आग्रह गरे।

सिक्किमका एकेएम होस्, वा सांसद इन्द्रहाङ सुब्बा, साधारण जनता होस् वा बौद्धिक सबैले एउटै कुरा गरे, जिम्बाले विनाशर्त क्षमा माग्नुपर्छ।

क्षमा कसरी माग्ने हो, त्यो त जिम्बालाई नै थाहा होलान्। तर सिक्किममा चुलिएको विवादले दार्जिलिङका नेता र जनतालाई दुइवटा कुरा भने सिकायो, पहिलो,  सिक्किमका जनता दार्जिलिङका जनताजस्तो लाटा चाँही छैनन्। सिक्किम र सिक्किमेको छविमा आँच आउने कुनै पनि कुराको विरोध सिक्किमले डटेर गर्छ। तर दार्जिलिङका जनता, सँधै मौन बस्छन्।

अर्को कुरा, नेता हुनै वित्तिकै मुखमा आएजत्ति सबै कुरा बोल्नु हुँदैन। नेताको बोलीमा कुटनीति त हुनैपर्छ, कोमलता र प्रेम पनि झल्किनुपर्छ। दिमागले बोल्नुपर्छ, मुखले होइन।

विवादमा आइरहन मनपराउने यी गोरामुमो नेता र भाजपाका विधायकले सिक्किमे जनतालाई क्षमा नै त मागेनन् तर फेरि अर्को विवाद छोडिराखे।

उनले भने, सिक्किमका जनता भोटमा च्यादरमा बिक्रीभएजस्तो, हामी गोर्खाल्याण्डको मुद्दामा बिक्री भएका हौं।

यसप्रकारको वयानले राजनीतिक समाजमा कस्तो अर्थ राख्छ, त्यो त राजनीतिज्ञहरूलाई नै थाहा होला।

जिम्बाले भनेजस्तो के साँच्चै दार्जिलिङका जनता सचेत छन् त? जिम्बाको विवादित वयानको आधारमा दार्जिलिङका जनताको सचेतताबारे पनि कुरा गरौं।

जिम्बा भन्छन्, दार्जिलिङका जनता विश्वभरिमा नै सबैभन्दा सचेत जनता हुन्। तर अफसोसको कुरा ती नै सचेत जनतालाई जिम्बाबाट नै जनसपनाविरोधी वयान आउँदा समेत मौन देखिन्छ? किन?

साथीहरू, यो यस्तो विडम्बना हो, जहाँ जनता सचेत हो कि अचेत हो भनेर विधायकले बताइदिनुपर्छ, तर सिक्किमका जनता दार्जीलिङका जनताजस्तो जनविरोधी बयान दिने जिम्बालाई सहीबस्ने स्तरका भने अवश्यै छैनन् भन्ने कुरा स्पष्ट भइसकेको छ। तर दार्जिलिङका जनता कति सचेत, त्यो स्पष्ट भइसकेको छैन।

निरज जिम्बाले विश्वभरिमा नै सबैभन्दा सचेत भनेको दार्जिलिङको जनता त्यतिखेर पनि पटक्कै बोलेनन्, जतिखेर सारा महिलाहरूलाई कमजोर जातिकोरुपमा व्याख्या गर्ने अथवा पोथी बास्नु हुँदैन भन्नेजस्ता पितृसत्तात्मक उखानमा गर्व गरिरहेका थिए-जिम्बा।

जिम्बालाई उखानले बोकेको अर्थबारे थाहा नहोला, तर यस्ता उखानहरू जो पितृसत्ताले महिलालाई कमजोर जातिकोरुपमा व्याख्या गर्न बनाएको छ, त्यसलाई बुझ्ने केही बौद्धिक, सचेतहरूबाहेक दार्जिलिङका सचेत जनतालाई मौन देखियो।

नेताले गलत बोल्दा चुप रहने दार्जीलिङका जनतालाई जिम्बाले सचेत जनता भनेका हुन् भने अनुमान गर्नुहोस्, दार्जिलिङको जनताको स्थिति कस्तो छ।

ठिक छ, पोथी बास्यो भन्ने विषय नारीको विषय हो भनेर दार्जिलिङका जनता नबोलेको रे भनेर मानौं, तर जनताको सरोकारको मुद्दामा मुखमा जे आयो त्यही बोल्दासमेत मौनता साँध्ने दार्जीलिङका जनता के साँच्चै सचेत जनता हुन् त?

धेरै टाडा नजाऔं, कोरोनाअघि र पछिसम्म मात्र जिम्बाको विवादित वयान केलाऔं, जुन वयानको संवेदनशीलता धेरै भए पनि दार्जिलिङका जनता पटक्कै बोलेनन्।

जिम्बाले भने, एनआरसीले पहाडको स्कुस् फर्सीलाई पनि छुँदैन। जिम्बा जो सांसद भाजपाका हुन् र नेता गोर्खाराष्ट्रीय मुक्ति मोर्चाका, उनैको पार्टी गोरामुमोका प्रवक्ता महेन्द्र छेत्रीले एनआरसीले स्कूस फर्सी त के सबैलाई छुन्छ भनिदिए। यो यस्तो संवेदनशील मुद्दा हो, एनआरसीले कसलाई कति छुन्छ भन्नेबारे आसमका गोर्खाहरूलाई दिएको सङ्कटले बताइसकेको छ। तर यतिखेर पनि जिम्बाले सचेत मानेका पहाडका जनताको मुख खोलिएन।

के साँच्चै एनआरसीले पहाडको स्कूस, फर्सीलाई पनि छुँदैन त? के अनआरसीको भूतले गोर्खालाई तर्साएको छैन त? के एनआरसीले निम्त्याएको सङ्कटबाट बच्ने तौरतरिकाबारे विधायकले सचेत गर्नुपर्ने होइन र? तर जिम्बाले यस्तो संवेधनशील मुद्दामा पनि अनुत्तरदायी र गैरजिम्मेवारी वयान दिए। तरै  पनि बोलेनन् दार्जीलिङका सचेत जनता। तब कसरी दार्जिलिङका जनता सचेत?

के विधायक निरज जिम्बाले मौनबस्ने दार्जिलिङको जनतालाई सचेत भनेर खिल्ली उडाएका हुन् त? दार्जिलिङका जनताले सोच्नुपर्ने हो। यदि दार्जिलिङका जनता सचेत छन्, भने पक्कै पनि सोच्नेछन्।

अर्को कुरा स्मरण गरौं, चुनाउमा निरज जिम्बाले छुट्टै राज्य गोर्खाल्याण्ड अर्थात स्थायी राजनैतिक समाधानको निम्ति जनतालाई भोट मागे। जनताले विश्वास गरे। भोट दिए। तर भोट जितेर जाने वित्तिकै भने, राज्य वा युटी जे दियोस्, त्यसमा छैटौं अनुसूचीको आत्म हुनुपर्छ भने।

भोट माग्दा छैटौं अनुसूचीको आत्मा भएको स्थायी राजनैतिक समाधानको लागि मलाई भोट दिनुहोस् भनेनन् जिम्बाले। अर्थात उनले सरासर ढाँटे र भोट मागे। जितेपछि स्थायी राजनैतिक समाधानमा छैटौं अनुसूचीको आत्म हुनुपर्छ भने। यतिखेर पनि दार्जिलिङका सचेत जनता बोलेनन्। किन भने दार्जीलिङका जनता सचेत छन्, सचेत जनताले सायद प्रश्न गर्दैनन्।

स्थायी राजनैतिक समाधानको निम्ति रणनीति तयार गर्न जब देशभरिका स्टेक होल्डरहरूलाई लिएर स्टेयरिङ कमिटी बनाउनुपर्ने थियो, त्यतिखेर जिम्बाको दल छैटौं अनुसूचीको वकालत गर्दै थियो। यसले विवाद चुलिएपछि गठबन्धित दलबीचकै बैठकमा पनि जिम्बाले खुलेर छैटौं अनुसूचीकै वकालत गरे, त्यतिखेर पनि  दार्जिलिङका सचेत जनता बोलेनन्।

यहाँसम्म त केही छैन, तर जब जिम्बाले भारतीय जनता पार्टीसित गोरामुमोले गठबन्धन नै छैटौं अनुसूचीको लागि गरेको हो भनेर खुलासा गरे, त्यतिखेर पनि दार्जीलिङका सचेत जनता बोलेनन्।

थाहा नपाएर पो दार्जिलिङका जनता नबोलेका हुन् कि?

जिम्बाले आफूहरूले छैटौं अनुसूचीको निम्ति, क्रामाकपाले अर्कै, गोर्खालिगले अर्कै, गोजमुमो-1-ले अर्कै मुद्दामा भाजपासित चुनाउमा गठबन्धन गरेको क्लियरकट कुरा राख्दा पनि दार्जीलिङका सचेत जनता पटक्कै नबोल्नुको अर्थ के हो त?

नेताले झुटा कुरा गर्दा, ढाँट्दा, धोका दिँदा नबोलेकै कारण दार्जिलिङका जनताले बारम्बार दुःख पाएका हुन्। जिम्बाले सचेत भनेका जनता नेताका धोकापूर्ण वयानलाई लिएर पनि नबोल्नु भनेको फेरि अर्को दुःख निम्त्याउनु नै हो।

अचम्म लाग्छ, प्रतिनिधिलाई जे बोल्नको निम्ति जुन ठाउँमा पठाइएको हो, त्यसको साटो मुद्दा नै अन्योलमा पार्ने, जनताको सपनामाथि तुसारोपात गर्ने, जनताको भरोसा तोड्ने, जनताको आस्थामा लात हान्ने वयान दिँदा पनि पटक्कै नबोल्ने दार्जीलिङका जनतालाईजिम्बा कसरी सचेत देख्छन्, किन सचेत देख्छन्, त्यसपछिल्तिरको राजनीति बुझ्ने जनता पहाडमा होला?

यसको जवाब जनतासित  नै होला।

बारम्बार विवादमा तानिनु जिम्बाजस्ता प्रतिनिधिको नीजि स्वाभाव होला, तर उनको नीजि स्वाभावले घरि महिलालाई, घरि सिक्किम, विहार दिल्लीका जनताको अपमान भयो भने, घरि दार्जिलिङकै जनताको सपनासित खेलवाड भयो भने त्यो स्वाभावलाई रुचाउने कि त्याग्ने, यसको निर्णय के दार्जीलिङका सचेत जनताले गर्लान् त?

यो जनताको विषय हो, जनतालाई नै छोडिदिउँ।

पार्टीको कार्यकर्ता भएर होइन भारतीय गोर्खा जनता भएर सुन्नुहोला, बुझ्नुहोला, गम्नुहोला।

 

 

 

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया