
पुराना मानिस : पुराना कुरा
मन्सी बाबु भन्थे उनलाई। खेदेर निकाले उनलाई बाहिर। एउटाले ढुङ्गाले हान्यो। अर्कोले एका डन्ठा हान्यो। उनी घुप्लुक्कै ढले। जस्तो ढले, उनलाई खुकुरीले चकना चकना पारेर काटियो। एउटाले उनको हातको घड़ी खोलेर आफ्नो हातमा लगायो। त्यसपछि त्यो भिड़मा एउटा ठूलो आवाज आयो ‘काम भयो। काम भयो। जौं अब’ त्यसपछि त्यो झण्डावलाको लश्कर झण्डा बोकेर आफ्नो बाटो लाग्यो।
अर्जुन शर्मा निरौला, गीतखोला, कालेबुङ
ईश्वी सम्वद् 1978 अर्थात
बिक्रम सम्वद् 2035।
त्यो समयको घटना हो यो। हिउँदको समय। आकाश घमाइलो। वातावरण रमाइलो। पहाडी भेग। मौसम चिसो चिसो। बिहान बेलुकी आगो ताप्नु पर्ने। मेरो दैनिक कार्य गाई बाख्रा गोठालो गर्नु पर्ने।
मेरो गाउँ- गीतखोला। कालेबुङको एउटा सानो ठाउँ। गीतबियोङ खास महल। पारि अङ्ग्रेजको जमानाको चियाबारी। पास्टीन कमान।
ईश्वी सम्वद् 1890 तिर अङ्ग्रेजहरूले ल्याएका यो कमान। हाम्रा पिता पुर्खाहरूले रोपेका। पास्टीन कमान यसको पुरानो नाम। हिजआज सामाबियोङ चियाबारी भनिन्छ। मेरो च्याब्जु पनि यही चियाको बुट्टा रोप्न यहाँ ढाकर बिसाएका। मेरा स्व. बाबा पनि कमानकै श्रमिक। कारखानामा कार्यरत। चिया कारखाना हाम्रो घरको नजिकै। त्यहाँको आँतभेउ सबै थाहा पाएको मैले।
अब खास घटना तर्फ लाग्दैछु म। त्यो समय रोजगारीको निम्ति अनिकाल थियो। कमानको श्रमिकबीच कामको निम्ति झगडा हुन्थ्यो। त्यतिबेला कमानमा सत्ताइस वटा पर्मानेन्ट कामको नयाँ सिफारिस आएको थिएछ। यहाँ दुईवटा राजनैतिक दल कम्युनिस्ट पार्टी अफ इन्डिया (एम) अनि अर्को काङ्गेस पार्टी थियो।

नेताहरू थिए कमानमा दुवै दलका। दुई दल माझमा केही दिनदेखि उक्त कामको निम्ति तानातान भइरहेको थियो। बगानको शासनको बागडोर काङ्ग्रेसीहरूको हातमा थिएछ।
एकदिनको कुरो। म चिया कमानमा गाई बाख्रा चराइरहेको थिएँ। म झैं अन्य फुच्चे साथीहरूसित। कमानको डाँडाबाट देखें- एक हुल मानिसहरू रातो झण्डा बोकेर चिया कारखानातिर आइरहेका थिए। बिहानको एघार वा यस्तै समय हुनुपर्छ। पछि सुन्दा दुवै दलमाझ झगड़ा हुने पक्का पक्की थिएछ।
काङ्ग्रेसी दलका नेताले त पुलिस पनि ल्याएका थिएछन्। अर्कोदलका नेतालाई एरेस्ट गर्न। पुलिसले पनि कुटाई खाएको थियो त्यो दिन। अर्को दलका मानिसहरू पनि कमानको कारखानामा हतियारसँग बसेका थिए रे। मैले कमानको चिया कारखाना नजिकै रहेको डाँडाबाट उक्त दृश्य हेरिरहें।
झण्डा बोक्ने मानिसहरूको हुल आइपुग्यो कारखाना नजिकै। मान्छेहरूको निकै सल्याङमल्याङ भयो त्यहाँ। झन्डा बोकेर आउने दलका मानिसहरूले ढुङ्गा हान्न लागे बाहिरबाट कार्यालयमा। म हेरिरहेछु। खेदाखेद भइरहेको थियो त्यहाँ। कारखाना भित्रका मानिसहरू भागेछन् भित्रतिर। कोही कारखानाको माथ्लो तलामा चढेछन्। कोही चिया पेल्ने मसिनको भित्रतिर लुकेछन्। बाहिरबाट पस्ने मानिसहरूले खोज्न लागेछन् तर भित्र लुकेका गोर्खाली दलका नेताका मूल नाइकेलाई भेट्न सकेनछन्।
भागेर माथि बसेका मानिसहरूले चिया कारखानाको माथ्लो तलाबाट ढुङ्गा गोऱ्याउन लागेछन्। बाहिरकाहरूका केही सिप चलेन।
म हेरिरहेछु। केही मानिसहरूले नजिकैको जङ्गलबाट दुइवटा रूख काटेर ल्याए अनि सिँढी बनाए। त्यहीँ सिँढीबाट कारखानाको छानोमा चढे उनीहरू। छानोको च्यादर उक्काउन थाले। केही क्षणमा केही मानिसहरू खुकुरी, भाला इत्यादि बोकेर त्यो छानोबाट भित्र पसे। त्यतिबेला माथिल्लो तलामा लुकेका मानिसहरू भागेर फेरि तल्लै तलामा झरेर चारैतिर लुकेछन् ।
म हेरिरहेछु। अब त्यहाँ ताण्डव शुरू भइसकेको थियो। कारखानाको आँगन, चिया घाममा सुकाउने प्लास्टर भन्थे मेरो बाबा त्यो आँगनलाई। त्यहाँ खेदाखेद भइरहेको थियो। मान्छेले मान्छेलाई काट्दै थिए। कोही रक्ताम्मे भएर भाग्दै थिए। कोही त्यहीँ लड़े। म हेरिरहेछु। भित्रबाट खेद्दै ल्याउँदै काट्दैछन्।
एकक्षणमा कारखानाको चिया पेल्ने मसिन स्टार्ट गरियो। डायर चलाइयो। कोही फेनबेल्टले चेप्टिएर मरेछन्। कोही डायरको तातो हावाले निसास्सिएर। मान्छे धेरै मरिसकेका थिए तर दलका नाइके फेला परेका थिएनन्। उनी पनि चिया कारखानाको रङघरभित्र लुकेर बसेका थिएछन्। मोटा थिए उनी। मन्सी बाबु भन्थे उनलाई।
खेदेर निकाले उनलाई बाहिर। एउटाले ढुङ्गाले हान्यो। अर्कोले एका डन्ठा हान्यो। उनी घुप्लुक्कै ढले। जस्तो ढले, उनलाई खुकुरीले चकना चकना पारेर काटियो। एउटाले उनको हातको घड़ी खोलेर आफ्नो हातमा लगायो। त्यसपछि त्यो भिड़मा एउटा ठूलो आवाज आयो ‘काम भयो। काम भयो। जौं अब’ त्यसपछि त्यो झण्डावलाको लश्कर झण्डा बोकेर आफ्नो बाटो लाग्यो।
अब कारखाना सुनसानमा थियो। म हेर्नको निम्ति नजिकै आएँ। प्लस्तरभरि लाश। मासुका चोक्टाहरू लड़िरहेका। आँगन रक्ताम्मे थियो। भुइँभरि दोकानका सरसमान छरपस्ट थियो। सबै कुरो तोड़फोड़ गरिएको थियो।
बेलुकी सधैं झैं गाई बाख्रा लिएर घर आएँ। भोलिपल्टदेखि पुलिस आयो। त्यहाँ बस्यो। बगान बन्द भो। हामी गाई बाख्रा चराउन सधैँ जान्थ्यौं। त्यहाँ पुलिस बसेका थिए। जाड़ोको समय थियो। उनीहरू आगो फुक्थे। म पनि उनीहरूसँग कुरा गर्दै आगो ताप्थें।
हुन सक्छ, उनीहरूले मबाट दोषी मानिसहरूको सूचना लिन चहान्थे। उक्त हत्या काण्ड भएको बिल्डिङको भुँइतलाको भित्तामा रगतको छाप भएको हातको राता राता छापाहरू भित्ताभरि थिए। मान्छे मारिसकेपछि उनीहरूले हातको छाप भित्तातिर अङ्कित गरेका थिए। त्यो दाग म ठूलो भइन्जेलसम्म भित्तामा त्यतिकै थियो। धेरै समय पछि म जवान भइसकेपछि थाहा पाएँ उक्त दिन ती झण्डावला मानिसहरूले बाटोमा बिसाएर सबैले रक्सी सेवन गरेका थिए रे अनि खोलामा आइपुगेपछि सबैले हतियार उध्याए रे। उनीहरूका नेताको हुकुम अनुसार।
सन् 1978 सालको त्यो लड़ाईमा आठ जना मानिसहरू मारिएका थिए अनि केही मानिसहरू घाइते पनि बनेका थिए। त्यस लड़ाईमा मारिनेहरूमा एउटै परिवारका चारजना सदस्यसमेत थिएछन्। बाबु, छोरा अनि नाती।
त्यतिबेला बङ्गालमा वामपन्थीहरूको राज थियो। कालेबुङबाट श्रीमती रेणुलिना सुब्बा विधायक थिइन् गोर्खालिग पार्टीबाट। यो सामाबियोङको हत्याकाण्डलाई बङ्गालको विधानसभामा उनलाई कुरो उठाउन दिइएनछ त्यो बेला।
यस्तै सुनें धेरै पछि मैले। यो लेख लेख्दै गर्दा मैले तत्कालीन कालेबुङमा विधानसभा समष्टिका एमएलए श्रीमती रेणुलिना सुब्बासँग टेलिफोनिक सम्पर्क राखें। उक्त घटना सम्बन्धी थप जानकारीको निम्ति।
उहाँले भन्नुभएअनुसार त्यो बेला उहाँ कुनै सम्मेलनमा आसामको गुवाहाटीमा हुनुहुन्थेछ। उक्त घटनाको खबर सुनेपछि उहाँ तत्काल कालेबुङ आउनु भएर पास्टिन कमान आउनु भएछ। त्यसपछि सबै बुझेपछि डीएम, एसडिओ सबैसँग सम्पर्क राख्नु भएछ। मूल हत्याराहरू भागेका थिएछन्। उनको पहलमा हत्याराहरुलाई एरेस्ट गरिएछ तर तत्कालीन बङ्गालको वामफ्रन्ट सरकारले उक्त घटना दबाउने कोशिश गरेछ।
बङ्गालको कानुन व्यवस्था ठिक छ भनेछन्। ‘त्यतिबेला अहिले झैं सोसियल मिडिया थिएन। फोटोहरू खिचिएनन्। पत्रकारहरू आउनु सक्थेनन्,’ उनी भन्छिन्, ‘ त्यतिबेला उनलाई बङ्गाल विधानसभामा उनलाई यो विषयमा बोल्न दिइएनछ। यो उनको आरोप झूटो हो भनिएछ। यही विषय लिएर विधान सभाबाट निलम्वित गरिएछ उनलाई।
उनी रिसले सिधै बजार आइछिन् अनि एउटा खेलौना पिस्तोल किनिछिन् अनि बङ्गालको कानुन मन्त्रीको पुत्ला बनाएर त्यो पुत्ला र पेस्तोल बोकेर फेरी विधान सभा भवन गइछिन् अनि गेटबाट जब्बरजस्ती चढेर भित्र पुगेर एक्लै नारा लगाइछिन् अनि त्यो नक्कली पेस्तोल फायर गरिछिन्। त्यो पुत्लालाई रातो रङले पोतिछिन्।
उनलाई पुलिस लगाएर, घिसारेर विधानसभा भवनबाट बाहिर निकालिएछ अनि एरेस्ट गरेर लाल बजार थाना लगिएछ। पछि उनले चलाएको पेस्तोल नक्कली हो भन्ने थाहा पाएपछि उनलाई छोड़िएछ।
त्यसपछि बङ्गालको एक छानबिन दल दार्जीलिङ जिल्ला तथा पास्टिन कमान आएर छानबिन गर्दा उक्त घटना सत्य पाएपछि उनलाई बङ्गाल सरकारले माफी माग्दै उनको सस्पेन्स वापस लिएर उनलाई विधान सभामा बोल्न दिइएछ।
त्यसपछि उनले ती पीड़ितहरू जो थिए उनीहरूलाई चियाबारीकै जमिनबाट पाँचपाँच ऐकर जमिन खेती गर्नको निम्ति मन्जुरी गरिछिन्। त्यसपछि कमान धेरै लामो समयसम्म बन्द भयो।
यो घटना घटेको पनि अब त छ्यालिस वर्ष बितिसकेछ। उ बेलाको सबै दोषी पीडित तथा अन्य धेरै मानिसहरू बितिसके। एकाध जिउँदा होलान्। अहिले त यो कमान अर्कै कम्पनीले चलाउँछ। त्यतिबेला नन्दराम कैयाँको थियो यो कमान। अहिले कारखाना पनि अर्कै ठाउँमा नयाँ तथा आधुनिक ढाँचामा बनाइएको छ।
त्यो 1978 सालमा लड़ाई भएको उक्त चिया कारखाना 1988 सालको गोर्खाल्याण्ड आन्दोलन कालमा जल्यो वा जलाइयो। यस चियाबारीका ऐतिहासिक कथाहरू धेरै छन् । अङ्ग्रेजको शासन, कैंयाको श्रमिकमाथिको अत्याचार, टिबेटको काँचा शुरो भोटेहरूको कथा तथा चाँदीको टाँगा रूपियाको कुरो। । भोटे गोली चिया, जो टिबेट जान्थेछ। याटुङबाट खच्चड़को लश्कर। चौरीको छालाको मल। छालाभित्र चाँदीको रूपियाँ। कुरा र कथा धेरै छन्। अन्य कुरो समयमा लेख्दै जाउँला।
नोट: यो लेख भित्रका कुराहरू मैले सुनेको र बालक कालमा स्यंमले देखेको आधारमा लेखेको छु। लेखका तथ्यहरू तत्कालीन एमएलए श्रीमती रेणुलिना सुब्बासँग टेलिफोन मार्फत लिएको हुँ। यो लेखमा केही छुटेका छन् तथा लेखिएका कुराहरू सही नहोलान्। यो विषयमा समयमा आउने पिँढीले छानबिन गर्लान। अनुसन्धान गर्लान् नै। कसैसित कुनै तथ्य छ भने बताइदिनुहोला। मेरो फोन नम्बर 8154762243।