के अनित र विनय मात्र दोषी हुन्?

विज्ञापन

विमर्श- अन्तिम भाग

हामीले हामीभित्रको व्यक्तिगत लडाईँ होइन तर हामीभित्रको संस्कारसितको लडाईँ लड्नु पर्नेछ। हामीले नेतालाई बद्लेर मात्र मुक्ति पाउदैनौं नेतासित नेताको कुसंस्कारलाई पनि बदल्नु पर्नेछ। फेरि पनि ईख बोकेर आफ्नैलाई तल झार्ने मानसिकता हटाउन लाखेस गर्ने एउटा जमात खडा हुनुपर्छ।


कमल भुजेल


अघिल्लो दुइ भागलाई यहाँ क्रमैले राखेका छौं। छुटेको भए क्लिक गरेर पढ्नुहोला

भाग-एक

भाग-दुई


शैक्षिक वातावारण

पहाडमा एकापट्टी भने धनाढ्यहरुको निम्ति विश्व-स्तरीय स्कूलहरु थिए भने गरीबका लागि खोला तरेर जाँदा पनि चुने छाना भएका स्कूलहरुमा पनि राम्रा शिक्षा पाउन सकिने अवस्था थिएन। मिसिनेरीहरुले बरु स्वार्थमा भए पनि गरीबहरुलाई केही 10 क्लाससम्मको शिक्षा प्रदान गरे। 10 क्लास पछि पढ्नको निम्ति राम्रो व्यवस्था थिएन र छैन पनि। स्थानीय तहमा कुनै सरोकार राखेर त्यस्तो आन्दोलित भएर राम्रो शिक्षा संस्थानको दीगो माग पनि भएन।

राज्य सरकार र केन्द्र सरकारलाई त हाम्रो जाति शिक्षित नभएकै राम्रो। अशिक्षित, अप्रशिक्षित जनतालाई कम्ति ज्यालामा खटाएर लुट्नुमा नै फाइदा थियो। चिया उद्योगमा मजदुर घट्ने डरले पहाडमा उच्च शिक्षाको घडेरी नै बस्न दिएन। अझसम्म पनि कलेज –युनिभर्सिटीहरु बन्न दिँदैनन्। भएका कलेजहरुमा पनि राम्रो पढाइ हुने वातावारण नै हुँदैन र बेरोजगारहरु पैदा गर्ने गौशालामा परिणत गरिदिँदछ योजनाबद्ध भएर हाम्रा स्कूल-कलेजहरुलाई।

यस्तो नीतिलाई हाम्रै स्थानीय तहका मानिसहरुले कुनै विरोधबिनै लागु गरेर समाजमा हानी पुऱ्याउने काम गरिरहेका छन्। केही सचेत व्यक्तिहरुको अगुवाइमा शुरु भएका कलेज वा शिक्षण संस्थानहरुलाई सञ्चालन गर्न दिए पनि त्यहाँ शिक्षा कै खेती भने हुन दिँदैनन्। यस्तो परिस्थितिमा कसै पनि अब्बल बनेर निक्ले भने ती सबै उसको व्यक्तिगत खटाइको परिणाम हुन्। र यसरी सामूहिक प्रयासमा अघि बढाउने काम नभएकाले नै हाम्रा जातिबाट एक्लै अगाडी बढिहाले भने पनि सबैले आफ्नो व्यक्तिगत विकास मात्र गर्न खोजे।

सामाजिक उत्थानको चेतना बीज भएर पस्न नै पाएका थिएन। बीजारोपन गर्ने थालनी पनि भएन। व्यक्तिगत उन्नति गरेर पलायन हुने प्रथा हामीले भोगी नै रहेका छौं।

शिक्षण प्रणाली

पहाडको स्कूलहरुमा शुरुमा दक्ष शिक्षकहरु भए पनि पछि-पछि राजनैतिक नियुक्ति भए बापत शिक्षाको स्तर ख्वारल्वाप्पै घटेर गए। एक-दुई जनाको प्रयासमा दुबो सरह केही स्कूलहरुमा राम्रो स्तरीय शिक्षण भइरहेछ। इतिहासको शिक्षकले डा० कुमार प्रधान नचिनि इतिहास पढाइरहेका छन् भने भूगोलको शिक्षकलाई न त टाइगर हिलको सुर्योदयको सरोकार छ न त बालासनको पैह्रोको नै।

नेपाली शिक्षकको नानी कन्भेन्ट पढेर नेपाली बोल्न लजाउँछ। स्कूलदेखि नै हामीलाई आफ्नोपनबाट टाडा लाने काम भइरहेको छ। हामीलाई हाम्रै माटोको बारेमा शिक्षा नदिनाले पनि माटोप्रतिको मायामा ह्रास आइरहेको छ। कक्षामा शिक्षकबाट नै प्रश्न सोध्न दिँदैनन्। निर्धो असहाय जन्माउने खेती गर्नलाई पनि यस्ता शिक्षकहरुको नियुक्ति दिने गर्दछ।

एउटा सही शिक्षकले हजारौं विद्यार्थीको भविष्य उज्वल बनाउन सक्छ भने त्यही अयोग्य शिक्षकले हजारौंलाई बेकारी बनाएर अन्धभक्त बनेर गान्धी जता बाँडिन्छ त्यता जाने बनाउँछ। अन्धभक्तको खेती स्कूलदेखि पनि भैरहेको छ नि।

डा० कुमार प्रधान र दोस्रो प्रहरको कमी

पहाडलाई बुझ्नु हो भने डा० कुमार प्रधानको “पहिलो प्रहर” नपढी शुरु गर्नु पनि सकिन्न। भागिरत रावतको “बास सल्किरहेछ”-ले राजनैतिक इतिहास दिएको छ। ऐतिहासिक पृष्टभूमिमा सिङ्गो उभिएका स्रष्टाहरुले पनि ज्ञानको खेती एक्लै नै गरे। सामूहिकताको बीजारोपण गरेन। साङ्गठानिक ढाँचा दिएनन्। त्यसैले गर्दा कुमार सरले सुरु गरेको प्रथाको निरन्तरता हुनै सकेन। पहिलो प्रहरको बादमा दोस्रो, तेस्रो, चौथो प्रहर बितिसक्दा पनि गतिलो इतिहास लेखिएन। कन्टिन्युइटी नै भएन अरु क्षेत्रहरुमा पनि। यी सबैलाई पनि एकै साथ लिएर अघि बड्नु पर्ने जमर्को कस्नु  पर्छ।

चिया उद्योग वाधा कि बाटो ? 

“चिया” माथि कविता, कथा देखि अहिले पुस्तक हुँदै शोधकार्यसम्म भएर चर्चाको विषय मात्रैमा टुङ्ग्याउने काम भइरहेको छ। चियाको बुट्टाले चुसेको खुन र पसिनाको भन्दा विश्व प्रसिद्धको ढोंगमा 176 रुपिँयाले घर चलाउन सक्नुमा मक्ख पार्छन् मजदुरहरुलाई। मजदुरहरुकै पार्टी कम्युनिष्ट भनौदाहरुसम्मले पनि न्याय नदिएको इतिहासले मजदुरको आश सँधै ढलफल नै भैरहन्छ। आर्थिक मारको चपेटमा परेर सही-गलतको फैसला गर्न नसक्ने निमुखा मजदुरहरु राजनीति गरिने माध्यम मात्र बनाए।

न त चियाबाट भाग्न नै दिन्छन् न त आर्थिक शोषणबाट मुक्ति नै दिन्छन्।

समाजको आयाम धेरै भए झैं बिमलको बेला स्टडी फोरम बनाउन सफल राजनैतिक पार्टीको धेरै भातृ सङ्गठनहरु बनिएका थिए। त्यसरी नै अरु पुराना पार्टीहरुका पनि भातृ-सङ्गठनहरु पहिले देखि नै थिए।

विद्यार्थी मोर्चा

 पार्टीको अधीनमा भएकोले विद्यार्थीहरु कै समस्यामाथि यिनीहरु अग्रसर रहेनन्। यिनीहरु सैद्धान्तिक रुपमा कुनै पनि कुरोलाई समीक्षा गर्नु नसक्ने स्थितिमा थिए। विद्यार्थीहरुलाई एकत्रित गर्ने कामसम्म राम्रो गरे तर ती एकताले कतै शिक्षाको उन्नति गर्नमा फलप्रद भएन।

सबै पार्टीले विद्यार्थीको शक्ति राजनैतिक काममा मात्र प्रयोग गरिदिए। विद्यार्थी मोर्चा स्वयंलाई विद्यार्थीको “मोर्चा” किन बनिन्छ भनेर थाहा नै भएन। विद्यार्थीको समस्याको हल गर्ने बेलामा अझ पार्टीहरु नै बाधा भएर उभिए। कति विद्यार्थीहरु अधकल्चो पढे वा कति पढेर अधकल्चो बने। यिनीहरुको निम्ति कतै कुनै व्यवस्था पनि थिएन। कुण्ठा बोकेर एउटा शिक्षित जमातको भीड बेरोजगार बनिरहेकोहरुलाई राजनीतिले मज्जाले प्रयोग गरे। शिक्षित जमात नै अन्धविश्वासी बनिरहेका थिए। विद्यार्थीहरु आफ्नो मागको निम्ति पार्टीबाट अलग हुन नै सकेन।

नारी मोर्चा

 8-मार्च अन्तर्राष्ट्रीय महिला दिवस किन मनाइन्छ भनेर नजान्नेहरुले नारी मोर्चा सम्हाली रहेका थिए। बिमलको समयमा फेमस नारी-मोर्चालाई पनि नारीको बुनियाँदी समस्याहरुको बारेमा जानकारी नै थिएन। आन्दोलन वा दलीय आपसी झडपमा ढालको रुपमा भने फेमस नै हुन् यिनीहरु। एउटा दलको नारीलाई अर्को नारी मोर्चाले पार्टी अलग भएकै कारण मात्र पनि पब्लिक्ली कुटेर बेइज्जत गर्ने कामले पनि तिनीहरु नारीलाई सताउने एउटा पैतृक-नारी मोर्चाको रुपमा चिन्हित छन्।

नारी-मोर्चाले सामाजिक कुतत्वहरु हटाउन मुहिम नै चलाए पनि यसबाट त्रसित र पीढित भने कमजोर-गरीबहरु मात्र भए भने त्यही उच्च पदमा रहेका धनाढ्यहरुको अश्लीलतालाई भने छुन पनि सकेन वा कतिमाथि भने व्यक्तिगतरुपमा संलग्न बनेको खबरले नैतिक प्रश्नहरु पनि उठे।

यसरी नारी-मोर्चाले नारी-शोषणको विषय नउठाएर अरु-अरुमा भुल्लिँदा नारीहरु माथिको दमन झन् बढेर गयो। जस्ले गर्दा नारीहरुमा उच्श्रीङ्खलता आउनु स्वभाविकै हो। नारीको स्वाभिमानमा ठेस लाग्ने काम पनि धेरै भए र त्यसको सठीक समीक्षा नभएकाले पनि नारीहरुले बाटो पनि बिराए जसले गर्दा समाजलाई अर्को चोटको मार थपियो।

कोही प्रगतिवादी नारीहरुले अश्लीलता वा शोषणको विरोध गरेता पनि 86-को हिंसामा पहाडबाट खेदिएर तिलक मैदानमा शरण लिँदा आफ्नै कमरेडहरुबाट भएको शोषणको लेखा-जोखा गरेर न्यायको कसीमा राख्ने जमर्को कसैले गरको देखिँदैन। बरु पलायनको बाटो नै रोजेको भेट्छौं।

गोर्खा-सैनिक मोर्चा

देशको वा कसैको पनि सुरक्षा गर्न सक्नु एउटा गर्वको कुरा हो। यसरी हाम्रा गोर्खा सेनाले पनि देशको सुरक्षा गरेको एउटा सराहनीय र प्रशंसायोग्य योगदान हुन्। तर सधैँभरि वीरताको गाथामात्र गाएर मक्ख पर्नु भने ठीक होइन। गोर्खा सैनिकमा कम्ती पढेर भर्ती हुने प्रथाले पनि हाम्राहरुले सिपाहीदेखि माथि उठेर ठूलो लक्ष्य नै राख्न सक्दैनन्।  वीर भनेर चिनिसकेको जातिले वीर बाहेक अन्य क्षेत्रमा पनि परिचय दिन पर्नेछ।

रोजगारको साधन नै सिपाही हुनुमा देख्नाले शिक्षा वा अन्य क्षेत्रमा अघि बढ्न नै सक्दैनौ। “सिपाही बन्नाले खसीको चम्का राख्न पाइन्छ, दुधको कुल्ला गर्न पाइन्छ” तर समाजमा बौद्धिक स्तरको जीवन भने जिउन पाइन्न। चिट्ठी धरी पनि पल्लो घरकोलाई लेखिमाग्नु पर्छ। सम्मानको निम्ति खट्किनै रहनु पर्ने हुन्छ।

युवा-मोर्चा

 युवा त झन् सबैभन्दा उर्जावान शक्तिको रुपमा चिनिने एकाईलाई पनि अन्धभक्तिको नसाले आफ्नो क्षमतालाई परख गर्नु नै नसक्ने बनाएको स्थिति हो। युवाहरु पनि ढाल भन्दा बेसी केही पनि बनेन। युवालाई पनि युवाको समस्याहरुबाट टाडा राखेर गोर्खाल्याण्डले नै सबै समाधन हुन्छ भन्ने मानसिकता सेट गरिदिएर नारा लगाउने तप्काको रुपमा मात्र राखिदिए। युवाहरुसित सामाजिक समस्याहरु बढेको-बढेकै थियो तर निकासको बाटो भने कतै थिएन। राजनैतिक सङ्घर्षमा पेलिएकाहरु सबैलाई आर्थिक समस्याले सताइरहेको बेला नेताहरुले पुच्छर बनाएर पाल्ने काम गरे। नेताहरु स्वयं स्थायी थिएनन् तर युवाहरुको आर्थिक मार भने स्थायी थियो। यसरी आफ्नो आर्थिक समस्याले गर्दा घरि यता घरी उताको नेताबाट आर्थिक दान थाप्ने प्रथामा कसको बाट थाप्नु पर्ने कसको बाट नथाप्नु पर्ने चेत नै भएन। ने

ता कुन पार्टीको हो भन्ने परिचयले फरक परेन। जुनसुकै पार्टीको होस् आर्थिक समस्या मेटियो भने भयो। त्यसैले कतिबेला आफू बेचिपठाएको धरी थाहा पाउदैनन् यी नसामा डुबेकाहरुले। बेरोजगारीको खेतीले उप्जाएको उपज हो स्वाभिमान बेच्दा पनि पत्तो नपाउने प्रथा।

हाम्रा सेलीब्रेटीहरु र शिक्षित वा बौद्धिक जमात

हाम्रो समाजले पनि यतिका वर्षहरुमा धेरै सेलीब्रेटीहरु, शिक्षित वा बौद्धिक जमातहरु जन्माएका हुन्। हामीले हाम्रो परिचयको लडाईंमा हामीलाई मूलधाराले पनि चिनोस् भनेर भएभरको कोशिश गरिबस्छौ। मूलधाराको मान्यता र सराहनाबाट वञ्चित जातिले मौका पर्खिरहेकै हुन्छ आफ्नो पहिचान दिनको निम्ति। त्यसैको ज्वलन्त उदाहरण थियो “प्रशान्त तामाङ”। प्रशान्त तामाङको व्यक्तिगत गायन दक्षताको खाँचो भन्दा पनि हामीलाई मूलधारालाई हाम्रो परिचय दिने माध्यम थियो।

गोर्खा पनि पहिलो पल्ट त्यसरी राष्ट्रीय मिडियामा चम्किए। सबैले गर्व गरे। तर हामीले त्यसबाट के सिकेनौं भने, प्रशान्त तामाङ आधारभूत तौडमा गायन-विधालाई दिशा दिन सक्ने मान्छे थिएन। तिनी गीत गाउन मात्र सक्ने तर गीतको सृजना गरेर नेतृत्व गर्न सक्ने व्यक्ति भने थिएन। मिडियाले गट्ठे नै बनाएको बुझेनौं पनि र समीक्षा पनि गरेनौं। त्यो उपाधि कलाले भन्दा बेसी भोटले पाएको थियो। त्यसैले आज प्रशान्त गुमनाम छन्। हाम्रो समाजमा भूइँफुट्टाको निकै दबदबा रहेको हुनाले पनि प्रशिक्षण लिएर नै जित प्राप्त नगरेर सर्टकटमा सबै हासिल गर्ने बाटोहरु खोज्ने प्रवृत्तिले ग्रसित छौं हामी।

यसरी अन्य शिक्षित वा बौद्धिकहरु हाम्रा राजनैतिक पार्टीहरुको गतिविधिहरु देखेर भनौ वा तिनीहरुले भिक्टिमाइज गरेको देखेर आफ्नो मात्र हेर्ने गर्छन्।

एकलकाँटे नै बनेका छन्। सामाजिक दायित्वसित  सरोकार नै राख्दैनन्। यसो संघ-संस्थाहरुले सम्वर्धनाहरु जनाए खदा थाप्न भने आउछन्। यदि अनेपालीहरुको माझमा बस्छन् भने त झन् आफूलाई नेपाली धरी पनि सम्झँदैनन्। आफैलाई पलायन गरिसकेका छन्। र पढेका-जान्नेहरुलाई खेद्ने काम लेडे नेताहरुले झन् प्रोत्साहित गर्छन्। समाजलाई पिरोल्नेहरु निकै नै सङ्गठित छन् भने शिक्षित जमातहरु आफ्नै धुनमा एक्लै मग्न छन्। बाहिर पढ्न गएकाहरुले पनि बाहिर संसारको ज्ञानहरु बटुलेर हाम्रो समाजलाई समृद्ध गर्ने काम गरेनन्।

बाहिर गएर पनि अन्य समाजहरुसित सामाजिक आदन-प्रदान नगेरर कलकत्ता, दिल्ली, बेङलोरतिर आफ्नो-आफ्नाहरु एकठाउँ भेला भएर मिनी-दार्जीलिङ बनाएर बस्ने गरेकोले पनि बाहिरबाट पढेर आएकाले त्यस्तो समाजमा क्याटालिष्टको काम गरेन। तर अहिले घडी यो अलि बद्लिरहेको पाउछौं।

महेन्द्र पी लामा र यहाँका जनता

लामा सर शैक्षिक योग्यताले भरिपूर्ण। शायदै त्यही स्तरमा अर्को व्यक्ति पुग्न वर्षौ कुर्नु पर्ला। तर हालै संवाद कालेबुङले तिनलाई गरिएको प्रश्न “तपाई भारत सरकार पट्टी कि यहाँको जनता पट्टी?” भन्दा तिनको उत्तर “सरकारले काम दिएको छ सो सरकारसँग छु, यदि यहाँको जनताले काम दिए जनतासँग हुन्छु” भनेर उत्तर दिए। आशय के भने जनताले त 1907 देखि नै काम दिन थालिसकेको हो। वास्तवमा जनताले काम दिने पनि होइन अपितु आफ्नो योग्यता र क्षमताले जनताको सेवक भएर अर्पण गर्नाले पो जनताको छात्तिमा सधैँ बास पाउनेछन्। अपेक्षा छ जनताले कहिले काम दिने होला वा सर आफै स्वयं जनताको बीचमा जनता भएर काम गर्ने हुन् कि? हुन त सांसद विष्ट भूमिपुत्र भए पनि आयत नै गरेर ल्याएका हुन्।

हाम्रा जीवनशैलीमा खोटहरु: (Defects in our Life style)

 हामी बिफल हुनुमा सबैभन्दा ठूलो वाधा हाम्रो जीवन-शैलीका साना-साना कुराले भूमिका खेलेको छ। जब समाज तर्क-सङ्गत युक्तिपूर्ण वातावरणमा हुर्कन्छ त्यहाँ मानव जीवनको स्तर अलि दाम्मी, बाँचु-बाँचु लाग्ने खाल्को अनुकरणीय हुन्छन्। हामी समाजमा उमेरको सिनिओरिटी हेरेर कुरा राख्न दिन्छौं। सानो उमेरकोले सही कुरा राखे पत्तो दिँदैनौं। यद्यपी अनुभव कारक तत्वनै भएता पनि कतिको सान्दर्भिक छ त्यसलाई निर्णायक बनाउन आवश्यक हुन्छ। ठूलोको बीचमा सानोलाई बोल्न नदिनाले धेरै उदीयमान योजनाहरुको हत्या हुन सक्छ। ठूलो उमेरले होइन सही कुराले हुन्छ।

हामी समाजमा बस्छौं तर हाम्रा समाजहरुको रेजिस्ट्रेशन नगराइकन चलाउँछौं। सङ्गठनको नियमहरुको पालना गर्ने अभ्यासहरु गराइँदैन।  रेजिस्ट्रेसन नगर्नाले समाजको हिसाब-किताब भताभुङ नै हुन्छ। हिसाब-किताब कसैले खोज्दा रिसाएर खाता नै फ्याँक्ने चलन व्याप्त छ। यदि समाजहरुले भावी पिढीलाई यो संस्कार पहिलेदेखि नै हालिदिए, हिसाब दिनु र खोज्नु दुइटै जानेर आएपछि ठूल-ठूला सङ्गठनहरु चलाउन परे व्यवस्थित भएर सञ्चालन गर्न सक्छन्। अडिट हुन्छ भन्दा धर्ना दिनु पर्ने आवश्यक्ता पर्दैन।

गाउँ-ठाँउमा कुनै पनि आर्थिक गतिविधिमा हिसाब दिने चलन छैन। यसैको फलस्वरुप हाम्रो समाजमा घर-खर्चको हिसाब-किताब राख्ने चलन पनि थोरैकोमा मात्र पाइन्छ। आफ्नो घरको मासिक खर्च त अडकल (Estimate) गर्नु नसक्नेले दागोपाप वा जिटिए-का प्लानहरु कसरी तयार पार्ने? हामीले हिसाब दिनु पर्दैन र नै हामीले सामान किन्दा बील पनि माग्दैनौं र सानो-सानो कुरामा पनि ठगिन्छौं।

हामीले आफ्नो व्यक्तिगत अनुभवबाट सिक्ने कुराहरु पनि हेल्चेक्राइ गर्छौं। हेपिनु वा ठगिनु आदात हो, जसरी ज्ञानी हुनु पनि आदात नै हो, किनकि माहन बुद्धि लिएर आउने मात्र ज्ञानी हुँदैनन् अपितु ज्ञानी हुनुको निम्ति आफूलाई सबै कुरा सिक्नको निम्ति आग्रही राखे ज्ञान प्राप्त गरिन्छ। हाम्रो दैनन्दीनको सानो-सानो काम-कुरोले समाज निर्माणमा ठूलो भूमिका खेल्दछ। एउटा उदाहरण लिउ: मलाई कलकत्ताका एकजना पुलिस दाजुले सधैँ यसो भनि सम्झाउनु हुन्थ्यो कि, दाजुको साथीका एकजना शिक्षकले के सिकाएका थिएछन् भने “बाटोमा हिँड्दै गर्दा बीचमा उभेर कहिल्यै बात नगर्नु”। हुन पनि मानिसहरु त्यसरी उभेर बात गर्दा निकै भीड हुने गर्दछ र जाम पनि लाग्ने गर्दछ। यही घट्ना म गङ्गटोक गएको बेला अनुभुति गरें। गङ्गटोकमा जाम लागिरहने हुनाले त्यहाँका ट्राफिक नियमहरु पनि फेरबदल गर्ने क्रममा मैले के देखें भने गङ्गटोकमा फुटपाथ अलग्गै भए पनि बीचमा उभेर बात गर्नाले सानो फुटपाथ जाम लाग्दो रहेछ र मानिसहरु सडकमा हिँड्न थाल्दा गाडीको बहाउलाई निकै असर गरेर जामलाई अझ बढाएको देखें।

अर्को कुरा ती उभेर बात गर्नेहरुमा ज्यादा युवा अर्थात विद्यार्थीहरु र केही शिक्षकहरु पनि देखें। साधारण मानिसहरु पनि थिए। अब ती शिक्षकहरु पनि सचेत भएका भए र विद्यार्थीहरुलाई पनि सिकाइएको भए त्यहाँ उभिएर अन्य बात गरे पनि सिकाइन्थ्यो होला उभिनु हुँदैन भनेर। सानो कुराले पनि असर गर्छ। सन्दर्भ गङ्गटोक मात्र लिएको हो तर यस्ता अन्य ठाउँ पनि लिन सकिन्छ।

यसरी अनुशासन मार्क्सको लागि मात्र होइन जीवनको लागि पनि उपयोग गर्दा त्यसले सामाजिक समस्यालाई समाधान गर्ने काम सरकारको मात्र होइन भन्ने पनि दर्शाउँछ। 

हाम्रो फेशनहरु र हाम्रो वैचारिक आधुनिकिकरण मिल्दैन। फेशनले हामी अति आधुनिक देखिएता पनि वैचारिक रुपमा पछौटे नै छौं। यसैलाई ढाकछोप गर्ने प्रवृत्तिले नै वैचारिक विकासमा पनि अवरोध सृजना भएको हो। हामीले अरुको अनुकरण मात्र गर्छौं। चाहे लगाउने लुगा होस् वा खाने खानाहरु। हामीले हाम्रै कुराहरु पनि अरुले गरिदिएको मनपराउछौं। हाम्रो जीवनको डिजाइन पनि अरुलाई नै गर्न दिन्छौं।  जीवनमा खप्नु नसक्ने पीढा भोगेर पनि बाहिरी खुशी नै देखाएर बाँच्न अभ्यस्त बनेको मनमा आक्रोशको ज्वाला जलिहाल्दैन। हामीलाई पीढा दबाएर बाँच्न सिकाइन्छ।

बिमल-बिनय खेमा बीचको द्वन्द्व र कुड्कीहरु

वर्तमानमा सबैको मनमा खट्किरहेको कुरा के भने बिनयले प्रशासन लगाएर जनतालाई त्रसित बनाएको वा धढ्पकढ गरेर बिमल-खेमाका “भक्त”-हरुलाई बन्धी बनाएको हो। यसैलाई गणतन्त्रको हनन भएको भनिरहेको छ। आरोप सही हो, जे भइरहेछ, केही न्याय-सङ्गत भइरहेको छैन। तर हामीले यहाँ बिनय वा अनितले व्यक्तिगत हिसाबले गरेको भनेर आरोप लगाउँछौ त्यो गलत हो। यो बिनय-अनितले होइन तर यो हामी माथिको सत्ताले गरेको हो। यसखाले सत्तामा भोलिको दिन जो नै आए पनि यस्तै गर्ने हो र गरेको पनि हो।

घिसिङ पालामा पनि सत्ताले धेरै राजनैतिक हत्याहरु गरेकै हो। दार्जीलिङ, कालेबुङको गल्ली-गल्लीहरुमा स्याल खेदाइ गरेर।

6 इन्च घटाउने प्रथाले त्यतिबेला सबैलाई चुप बनाएकै हो। जिउँदोको त के कुरा गर्नु, निर्जीव भानुको मुर्ति धरी हत्या भएकै हो। बोल्न कसले पो पाउथ्यो र? कम्युनिष्टहरुको उठिबास लगाएर कति घर जलाए कतिलाई छप्काए-छप्काए।

बिमलको पालामा पनि “मदन तामाङ”-को ऐतिहासिक हत्या भयो मध्ये दिनमा। हत्यारालाई सबैले देखे पनि चिने पनि तर फेरि कसैले देखेनन् र कसैले चिनेनन्। भारतीज्युलाई एक स्त्रीको नातामा कस्तो आघात पुग्यो होला? आफ्नैले आफ्नैलाई हत्या गरेकोमा। अममममा बिचरा भनेर लेखेर शोक व्यक्त गर्नेको लाइन धेरै हुन्छ तर भारतीज्युको न्यायको पक्षमा कति पो उभिन्छन् र? के यहाँ हामी दोग्ला होइनौ र? 

बिमल सत्तामा आउन अघि र आएपश्चात गोरामुमोलाई पनि कसरी अत्याचार गरेको थियो त्यो त खुकुरीलाई भन्दा अचानोलाई बेसी थाहा छ। गोरामुमोले कम्युनिष्टलाई गरेको बदला गोजमुमोले निकाले। फरक यति थियो त्यसबेला अत्याचार प्रशासनले होइन पार्टी क्याडरले गर्दै थिए। त्यतिबेला पनि धेरैको घरहरु मात्र जलेन आत्म-सम्मान पनि जले। घिसिङलाई खेद्ने प्रथा जसरी सुरु भएको थियो त्यसरी बिमललाई खेद्दा नौलो त्यस्तो केही भएन। प्रसङ्ग फरक थियो नै तर संस्कार त एउटै थियो।

भावनामा ठेस् घिसिङलाई खेद्दा पनि लागे भने बिमललाई खेद्दा पनि। बिमल-बेलामा पनि त जनताले बोल्न कहाँ पाउथ्यो र? बौद्धिकहरु पार्टीबाट आफ्नै खुशीले राजीनामा दिन समेत नसक्ने स्थिति थियो। बिमलले जिटिए थाप्नु आफ्नो आन्दोलनको रणनीतिको विफलताको फल थियो। कारण सत्तामा 6 वर्ष बसिञ्जेलसम्म खोइ के तयारी गरेका थिए गोर्खाल्याण्डको निम्ति?

 मुद्दाप्रति इमान्दार भएकै भए 2017-‍को आन्दोलनलाई सठीक दिशा निर्देश गर्न सक्थेन र? तिनी पनि सत्तामा रहिञ्जेल भोग नै गरि बसेको हो। घिसिङ र बिमलले आफ्ना विरोधीहरु दबाउन प्रशासन त्यस्तो लगाउन परेन कारण तिनीहरुकोमा समर्थक (पाखुरे बल)हरु प्रशस्तै थियो। तिनीहरुले कामगरी हाल्थ्यो। दण्ड सिधै पाइहाल्ने हुनाले कोर्ट धाइरहनु परेन। दबिने त्यतिबेला पनि दबिनै रहेको थियो। न्यायको माग गर्नेहरुले चिच्याइ-चिच्याइ कराइरहेकै थिए तर सुन्ने कोही थिएन।

बिनय पालामा अलिक फरक भयो। यिनीहरु सत्तामा आएका होइनन् ल्याइएका हुनाले जन-समर्थन नै थिएन। यिनीहरु नै प्रशासनको घेरामा सुरक्षित बस्नु पऱ्यो। अब दण्ड दिने प्रणाली फरक भयो। पाखुरे-बल त यिनीहरुसित भए पनि जनतासँग भिँडने क्षमता भने थिएन। तसर्थ यिनीहरुले प्रशासनको सहायतामा दण्ड दिने काम गरे। तर अहिले  व्यक्तिगत हिसाब लिएर पुरानो दमनहरु बिर्सेर बिनयकालमा मात्र गणतन्त्रको हनन भएको भनेर विरोधहरु जनाइबसे। कुड्की गर्नुहरु तरीकाले मात्र फरक हो। यस्तो गोरामुमो र कम्युनिष्टहरुको पनि हालत भएकै हो। 

वास्तवमा दमन भनेको सत्ताले गर्ने हो, व्यक्तिले होइन। सत्ता पनि हुन त धेरै प्रकारका हुन्छन् तर पनि हाम्रो सत्ताले भने दमन नै गर्नेछ।  जनताको हितमा काम गर्नको निम्ति आएको होइन। जहिलेसम्म यस्तो खाले सत्ता रहन्छ तबसम्म जो नै त्यस सत्तामा आए पनि जनताको आवाजलाई दबाइरहने नै हो। यही सत्ताको चरित्र हो। हाम्रो लडाइ व्यक्तिसित हुँदै होइन तर सत्तासित हो र सत्ताले आफूलाई बचाँउन कुनै हदसम्म पनि गएर आफूलाई जोगाउन नै चहान्छ। सत्ता सजिलै ढल्न चाहँदैन। महेन्द्र बागदासको शब्दमा भन्नु हो भने “सत्ताबाट कोही पनि हट्न चाहँदैन,किनभने सत्ताबाट एक स्टेप पनि तल खसे छक्का हुन्छ”।

यसरी यो पृष्टभूमिबाट एउटा निष्कर्ष के निकाल्नु पऱ्यो भने, घिसिङको पालो देखि चलिआएको नारा “बंगाल हाम्रो चिहान हो” मतलब अनेपाली (बंगाली)को शासनले हामीलाई सधैँ अत्याचार गरेर हामीलाई लास सरह तुल्याइदिने छ। तर दागोपाप, जिटिए-1 र 2 हरुमा हाम्रैहरुले शासन गरेका हुन्। सत्तामा आए पछि त हाम्रैले पनि हामीलाई अत्याचार-दमन गर्दो रहेछ। हामीलाई दबाउन अनेपाली होइन सत्ता पो चाहिँदो रहेछ। वास्तवमा हामीले सत्ताको चरित्र नबुझेर व्यक्तिलाई दोष दिने काम गरिरहेका छौं। नेपाली-बङ्गालीमाझ पनि दुश्मनी निकाल्ने गर्छौं।

दागोपापको घोटाला जिटिए-1 ले देखाइदिए, जिटिए-1 को घोटला जिटिए-2 ले र जिटिए-2 को जनताले नै प्रश्न गरिरहेको छ।

यसरी सत्ताको मारमा हामीले आफ्नै घरहरु जलायौं। अन्ध-भक्त बनेर व्यक्तिगत रिस-रागलाई राजनीतिकरण गऱ्यौं र कसैलाई टुहुरो बनायौं त कसैलाई बिधुवा। कसैको शारीरिक बलात्कार भयो त कसैको मानसिक बलात्कार भयो। सबै गरेर चोट हाम्रै मान्छेले नै त पायो। अझ पनि बिनय र अनित सत्ताबाट हटे पछि बद्लाको भावना लिएर दागाधरी राखेका छन्।

यसबाट तिनीहरु पनि अनभिज्ञ भने छैनन्। बिनय-अनितसँग जति मानिसहरु छन् तिनीहरु सधैँ सत्तासित टाँसिरहनेहरु हुन्। यिनीहरुले घिसिङ, बिमल, बिनय-अनितमा फरक देख्दैनन्। सत्ताको मदतमा आफ्नो काम बनाइबस्छन्।

जनताको मुद्दालाई भावनात्मक बनाएर शहीद उमार्ने खेती नबनोस्। आन्दोलनमा ज्यान गुमाएकोलाई त शहीदको दर्जा दिन सक्यौं तर हाम्रो आफ्नै झडपमा ज्यान गुमाउनेहरुको पनि मूल्याङकन हुनुपर्छ। नत्र भने हामी व्यक्तिगतरुपमा झगडा गरेको फाइदा अरुले मज्जाले उठाइरहन्छ। समय आइसक्यो, अहिले पनि जागेनौं भने कहिले पनि हुँदैन भनेर भन्दिन, कारण समय पहिले नै आइसकेको हो। हामी अलरेडी नै ढीला भइसकेका छौं। हामीले हामीभित्रको व्यक्तिगत लडाईँ होइन तर हामीभित्रको संस्कारसितको लडाईँ लड्नु पर्नेछ। हामीले नेतालाई बद्लेर मात्र मुक्ति पाउदैनौं नेतासित नेताको कुसंस्कारलाई पनि बदल्नु पर्नेछ। फेरि पनि ईख बोकेर आफ्नैलाई तल झार्ने मानसिकता हटाउन लाखेस गर्ने एउटा जमात खडा हुनुपर्छ।

निष्कर्ष

यसरी हामी सांस्कृतिक रुपमा पनि धेरै पछाडिएका छौं। जुझारुपन नै छैन। सोझा-लाटापनकै फाइदा हाम्रैहरुले पनि उठाएर हामीलाई ठग्दा समेत हामी बोल्न नसक्ने भएका हौं। संस्कृतिलाई अहिले यसरी बुझौं कि “हामी हाम्रै दैनन्दिनमा हुने समस्याहरुलाई समाधन गरेर जिउने कला नै हाम्रो संस्कृति हो।” यसमा हाम्रो जीवनको सोच्ने तरीकादेखि लिएर सबै नै पर्छ। हामीले जे निरन्तर गरिरहन थाल्छौं त्यही नै हाम्रो संस्कृति बन्दै जान्छ।

हामी जानेदेखि नै दबिएर दमन-शोषण सहँदै आएका हौँ। आफ्ना खुशीहरुको तिलाञ्जली एक पुस्ताले मात्र होइन धेरै पुस्ताले नै दिएका हुन्। दागोपाप-को समयदेखि सामूहिक रुपमा त्यस पुस्ताले त्यतिबेला कमाए भने तिनीहरुको दोस्रो पुस्ताले उडाउने काम गर्दैछन् अहिले।

त्यतिबेला कमाउन नपाएकाहरुले यतिबेला पहिलो पुस्ता बनेर कमाउँदैछन् र अरु केही मौका पर्खेर बसेका छन्। तात्पर्य के हो भने हाम्रो जाति प्राय: नै पुस्तैनी धनी भने होइन। त्यसो भए  छोटो अवधीमा धनी भएकाहरुको मानसिकता कस्तो हुन्छ भने ऐश्वर्यको हरेक वस्तु नै पहिलो चोटी उपभोग गरिरहेका हुनाले देखाइ हाल्नु पर्ने हुन्छ।

त्यसैले यी नव-धानढ्य(New-Rich) समाजले बेसी नै देखावाटी कुराहरु गरिरहेका हुन्छन्। यसैको दुष्प्रभावमा दु:ख गरेर कमाएर किन्देको नयाँ लुगा, गरीबले पनि देखाइहाल्न पर्ने संस्कारले ग्रसित छन्। सो यी धनीहरुको चक्करमा भित्री बौद्धिक विकासको सट्टा बाहिरी आवरणले नै प्रशंसा पाउने होडमा धनीदेखि गरीबसम्मै फेशनको (विशेष पहिरन र शृङ्गार) भुवँरीमा भासिन्छ। सानो ठूलो सबै नै। त्यसैले माध्यमिकमा फेल भएर बिवाह गर्दा लज्जित हुँदैन हाम्रो समाजमा, तर त्यही विवाहमा ढङ्गको पहिरण र शृङ्गार नभए हाँसोको पात्र बनिन्छ।

यसरी हामी सानो-सानो इच्छा-आकांक्षा बोकेर हिँडेको मान्छेलाई आफ्नैहरुले पनि कति ठगेका छन्। यसरी यस्तो कमजोर पृष्ठभूमिबाट जन्मिरहेको छ हामीलाई उन्मुक्तिको सपना देखाउने अनुहारहरु। हामीलाई सम्झौता गर्न संस्कारले सिकाइरहेको छ। हामी ढीट भएर लड्न नै सक्दैनौं। ढीट नहुनु भनेर बाल-विकासदेखि नै सिकेर आएका हौं। गीता त पढाइन्छ तर परेको घडीमा अर्जुनले कसरी आफ्नै गुरु, कुटुम्बको विरुद्ध लडे भनेर सिकाइँदैन। हामी जो सँग लडदैछौं तिनीहरु कति क्रुर छन्। साम-दाम-दण्ड-भेद सबै प्रयोग गर्छन् भने योसित जुझ्न भने हामीले त्यसरी तयारी नै गरेका हुँदैनौ।

5 रुपियाँ पर्ने कुरा 10 रुपियाँमा किन्नु पर्दा पनि हामी विरोध नै गर्दैनौं। हामी सानो-सानो कुरामा ठगिँदा त विरोध गर्न नसक्ने वातावारणमा हुर्केपछि कसरी एक्कासी बृहतरुपमा विरोध गर्नु थाहा नै हुँदैन। अलिक गाह्रो परे  दुइटै विकल्प हुन्छ, पलायन कि त सम्झौता। डटेर लड्न खोज्दा हामीमा तयारी नभएको कारणले गर्दा हारी नै हाल्छौं। गलत हार्छ र सहीले जित्छ भन्ने हुँदैन। उसैले जित्छ जसको रणनीति पनि सही छ र उद्देश्य पनि। यसरी हामीले हामी सही छौं भनेर बाघलाई मार्नु तयारी बिनै गयौं भने आत्महत्या गर्ने दुष्साहस भन्दा बढी केही पनि हुँदैन। यसरी शहीदहरु जन्मायौं पनि।

हामीले हाम्रो आन्दोलनमा नेता (व्यक्ति) मात्र बद्लाउन खोजेर हुँदैन। नेताले प्रयोग गरेको प्रणाली, रणननीति वा व्यवस्था सबै बद्लाउनु पर्छ। विगतमा जुन बाटो जाँदा लडेका थियौं फेरि पनि त्यसरी गए कही न कही लड्नेनै छौं। हामीले हाम्रो उन्मुक्तिको ठीका कुनै एक व्यक्तिलाई थमाइदिन्छौं र आफ्नो जिम्मेवारी भने बहन गर्दैनौं र सिङ्गो एक व्यक्ति लाई मात्र दोष दिन्छौं। र फेरि शहीदहरु जन्मिन्छन्। जीवन कति अन्मोल छ। हाँस्ने खेल्ने रहर कस्को हुँदैन र? इच्छाले शहीद को पो बनिन चहान्छ र? घाइते भएर पनि आफूले लडेर हासिल गरेको जीतमा रमाउने रहर कसको हुँदैन र? 

86 देखि 17 सम्म गोर्खा समाजको “कालो-युग” (Gorkha Dark Age) नै मान्न सकिन्छ। 17 देखि उता प्रत्यक्ष-अप्रत्यक्ष रुपमा सत्तालाई सिधै प्रश्न गर्न थालिएको छ। युवाहरु पार्टीबाट बाहिर निस्केर नेताहरुको निन्दा गर्न थालेका छन्। सत्तामा रहेर एकाधिपत्य जमाएर समाजको हरेक आयमलाई अधीनमा राखेर मन-मर्जी गरिरहेकाहरुलाई चुनती दिँदै, विद्यार्थीहरु विद्यार्थी नै भएर, नारीहरु पनि नारी कै आवाज लिएर उभिन थालेका छन्।

भावनाको राजनीतिदेखि पर सरेर यथार्थको विकल्पहरु खोज्न थालेका छन्। समाज धेरैवटा तत्वहरुले बनिएको हुन्छ त्यसैले एकजनाको योगदानले मात्र केही हुँदैन। टीम-वर्कको आवश्यक्ता पर्छ। जुन टीम बिस्तारै बनिने क्रममा छ। अब यसलाई गोर्खा पुनर्जागरणको (गोर्खा-रेनेशा) थालनी मान्नु पर्छ। यसको निरन्तरता टुट्नु दिनुहुँदैन।

हाम्रो समाज जसरी एकै रातमा बिग्रिएको थिएन, त्यसरी ठीक पनि एकै रातमा हुँदैन। सपनाको हाम्रो आफ्नो भूमिमा बाँच्नको निम्ति जीवन-शैलीहरु अहिलेदेखि परिवर्तन गर्दै लैजानु पर्छ। तब एकलो एउटा नेताको निर्णयले हाम्रो सपना बेचिँदैन। र हामी आफूलाई चाहिँ दुधको धुला सम्झेर आफ्नो गल्तीहरु पनि अरुमा थोप्ने हुँदैनौं। मेरो सपनाको निम्ति मेरो आफ्नो योगदान हुनुपर्छ। तब निश्चय नै हामी गन्तव्यमा पुग्ने नै छौं। हामी हाम्रो समाज बलियो बनाउँ, हामीले हाम्रो नेतृत्व पनि बलियो नै पाउने छौं। बिक्री हुने प्रवृत्ति हामी बाँचेको समाजबाट पाएको अनुभुतिले अर्ध-सचेत मन (sub-conscious mind) भइ पसेर व्यक्तित्वको (Personality Development) विकास गर्छ जसले नै निर्णय गर्छ। त्यसलाई नै परिवर्तन गर्दै अघि बढ्नु पर्ने छ।

यसरी 2017-मा बिनय-अनितले जिटिए-2 मा सम्झौता गर्ने बेलामा सबै राजनैतिक पार्टी सङ्घ-संस्थाहरु होमिएका थिए। सबैले आफ्नो लक्ष्य “गोर्खाल्यण्ड” नै हो भनेर आफूलाई इमान्दार देखाउनेहरुले बिमल गोर्खाल्याण्ड आन्दोलनको गाडीबाट हाम फालिसके पछि किन अरुले नेतृत्व दिन सकेनन्?

 यतिका वर्षसम्म गोर्खाल्याण्ड कै निम्ति बनिएका पार्टीहरुले रोड म्याप त्यतिबेला किन दिन सकेन? अझ पनि दिन सक्दैन। के गरिबसेका थिए र छन् अझसम्म पनि। इमान्दारीताको कसी सत्तासित बेँचिनुले मात्र नाप्नु हुँदैन। जनताको आकांक्षाको भारी बोकेर केही नगरी बस्नु पनि बैमानीको चिह्न हो।

क्रामाकपा-का आर० बी० राईले त अनितको कोभिडको कार्य देखेर प्रशंसा नै गरिदिए पछि धेरै दोष नै कटाउने काम भए साथै सैद्धान्तिकता उदाङ्गिएको पनि छर्लिङ्गिएको छ। आरोप लगाउन नपाउने होइन तर आफूले पनि आफ्नो जिम्मेवारीको ठीका पुरा गरेको हुनु पर्छ।

त्यसैले दोष बिनय-अनितलाई मात्र दिनु मिल्दैन। समग्रमा हामी सबैको भूल हो। हामी सबैले सामूहिक रुपमा सुधार्नु पर्ने हो। द्वन्द्व हुन्छ नै तर व्यक्तिगत नभएर साङ्गठानिक प्रणालीमा भएको होस्।

यसमा दार्जीलिङको घट्नालाई मात्र केन्द्रित गरिएको छ। राष्ट्रीय स्तरको घट्नाहरुले पनि नकै असर पारेकै हो। क्रमैमा विश्लेषण गर्नु नै पर्छ। 

निश्चय नै यसमा धेरै विरोधाभाषहरु हुनै सक्छ। एक्लैले सबैकुरा समेट्न नसकेर अपुरो हुन्छ नै। सम्पूर्णता भन्ने कसैमा हुन सक्तैन। त्यसैले हाम्रो समाजको समीक्षा, विश्लेषण एवं त्यसको निकासबारे बहस जारी राख्न सबैमा मेरो आह्वान छ। विचार नमिल्न पनि सक्छ। हार्दिकताको साथमा अलग विचारहरुलाई पनि तर्कको साथमा स्वीकार गरेर अघि बढ्न वा समाजलाई दिशा दिनकै निम्ति पनि समाजलाई लिएर चिन्तित व्यक्तिहरुको एउटा बलियो जमात तयार हुन आवश्यक छ। जुन जमात राजनैतिक पार्टीको अधीनबाट पर रहेर काम गर्न सकोस्। 

कामना गरौं गोर्खा-रेनेशाले गति पाउन।

 

दिलाराम चिया बगान, खरसाङ।

 

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया