12 र 13 जून चियाबगान बन्द र आम हड़्तालःगोजमुमोको समर्थन

खबरम्यागजिन प्रतिनिधि

दार्जीलिङ, 26 मई 2017


आगामी 12 जून दार्जीलिङ पहाड़, तराई अनि डुवर्सका सम्पूर्ण चियाबगानहरु अचल बन्नेछन् भने 13 जून पहाड़, तराई, डुवर्समानै आम हड़्ताल गरिने भएको छ। यसअघि 29 र 30 मईका दिन सरकार अनि चियाबगान मालिकपक्षलाई चाप दिनको लागि उत्तर बङ्गालका 26 वटा श्रमिक संगठनद्वारा गठित जोइन्ट फोरमले सम्पूर्ण चियाबगानहरुमा गेट सभा गर्ने पनि निर्णय लिएको छ।

जोइन्ट फारेमको यस निर्णयलाई गोजमुमो अध्यक्ष विमल गुरूङले पनि समर्थन जनाए अनि भने-चियाश्रमिकहरूको हितमा जोइन्ट फोरमले जुन निर्णय लिएको छ, यसलाई गोजमुमोले पूर्ण समर्थन जनाउनेछ। यस जोइन्ट फोरममा राज्यको सत्तारूढ़ दल तृणमूल काङ्ग्रेस सामेल छैन। विशेष चियाश्रमिकहरूका लागि न्यूनत्तम रोजी ऐन लागू गर्नुपर्ने, चियाबगानले विगत केही समयअघिसम्म दिइरहेको राशिनको पैसा श्रमिकहरुलाई भुक्तान गर्नुपर्ने अनि चियाश्रमिकहरुको रोजी पुरानै व्यवस्थाअनुसार भुक्तान गर्नुपर्ने माग लिएरनै जोइन्ट फोरमले आगामी 12 जूनको दिन पहाड़, तराई अनि डुवर्सका सम्पूर्ण चियाबगानहरु अचल बनाउने निर्णय लिएको माकपाको श्रमिक संगठन दार्जीलिङ जिल्ला चियाकमान मजदूर युनियनका नेता एवं पूर्व सांसद समन पाठकले बताए।

उनले भने-चियाश्रमिकहरूका लागि न्यूनत्तम रोजी ऐन लागू हुनपर्छ भन्ने माग लिएर जोइन्ट फोरमले विगत निकै समयदेखि आन्दोलन गरिरहेको छ, तरै पनि यस विषयमा सरकारले निष्क्रियता देखाइरहेको छ। यसैले अब चियाबगान बन्द र आम हड़्ताल मात्रै एउटा विकल्प रहेको छ। यसैले जोइन्ट फोरमले 12 र 13 जूनका दिन चिया उद्योग र आम बन्द गर्ने निर्णय लिएको हो। उनले भने-राष्ट्रिय खाद्य सुरक्षा ऐनअनुसार, देशभरिनै सबैलाई राशिनको व्यवस्था गरिएको छ। फलस्वरूप चियाबगान मालिकहरुको पक्षबाट दिइने राशिन अहिले बन्द गरिएको छ। चियाबगानपक्षबाट पाइने राशिन चियाश्रमिकहरुको रोजीकै एकांश हो र यो व्यवस्था बन्द गर्छ भने यसको राशि चियाश्रमिकहरुलाई दिनुपर्छ। उनले भने-खाद्य विभागबाट प्राप्त भएको सूचनाअनुसार, हाल एकजना श्रमिकले चियाबगानबाट 660 रुपियाँ बराबरको राशिन पाउने गर्थे, तर यो राशिन बन्द भएपछि यो 660 रुपियाँ पैसा चियाश्रमिकहरुलाई उनीहरुको रोजीमानै गाभेर दिनुपर्छ। यसका साथै उनले नोटबन्दीपछि चियाश्रमिकहरुको रोजी पनि व्याङ्कमानै जमा गर्ने व्यवस्था गरिएको विषयमाथि प्रतिक्रिया व्यक्त गर्दै भने-पहिला चियाश्रमिकहरुलाई चियाबगान मालिकपक्षबाट जसरी रोजी भुक्तान गरिन्थ्यो, त्यसै व्यवस्थालाई यथावत राख्नुपर्छ।

किनभने, सप्ताहमा 600-700 रूपियाँ पाउने श्रमिकको रोजी व्याङ्कमा जमा हुँदा श्रमिकहरुले उक्त पैसा निकाल्न केवल असुविधाको सामना गर्न पर्नेछ। यी सम्पूर्ण विषय लिएर जोइन्ट फोरमले गत 21 मईको दिन चालसामा एक बैठक गरेको थियो, जसमा 12 जूनको दिन सम्पूर्ण चियाबगान बन्द गर्ने अनि 13 जूनको दिन आम हड़्ताल गर्ने निर्णय लिइएको पनि पाठकले जानकारी गराए। ज्ञात रहोस्, दुइ वर्षअघि राज्य सरकारले चियाश्रमिकहरुको लागि न्यूनत्तम रोजी ऐन लागू गर्ने विषय लिएर एक अधिसूचना जारी गरेको थियो। उक्त अधिसूचनाअनुसार, 24 सदस्यीय एड्भाइजरी कमिटी पनि गठन गरिएको थियो। यस कमिटीमा राज्य सरकारबाट 8 जना, मालिकपक्षबाट 8 जना अनि श्रमिक संगठनहरूको पक्षबाट 8 जना सदस्यहरू सामेल छन्। तर अहिलेसम्म पनि चियाश्रमिकहरूका लागि न्यूनत्तम रोजी ऐन लागू गर्ने दिशामा ठोस पहल नभएको फलस्वरूप जोइन्ट फोरम बन्दको आन्दोलनमा उत्रिएको छ।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन