कविता :  फुर्छ कि रच्छ?

विज्ञापन

काव्यवृत्त-[ दुइ ]

गहन अनुभूतिदेखि अभीप्सित अभिव्यक्तिसम्मको यात्रावधि हो यो काव्यिक प्रसव जसबाट गुज्रिनुपरेको अनुभव कुनै पनि गम्भीर सर्जकसित हुन्छ । कविताको, अर्थात् कुनै पनि सृजनात्मक कलारूपको, सिजारियन बर्थ हुँदैन । सर्जकले कमाधिक व्यथा खप्नै पर्छ सृजन-प्रक्रियाको ।

 


मनप्रसाद सुब्बा


     Why do we labor at the poem

     Age after Age – even an age like

     This one, when the living rock

     No longer lives and the cut stone perishes?—

          कविता लेखन सम्बन्धी यसरी प्रश्न गरेका छन् अमेरिकेली आधुनिकतावादी कवि आर्चिबल्ड मक्लिशले उनको कविता रिजन्स फ म्युजिक-मा जुन कविता उनले अर्का एक प्रखर आधुनिकतावादी कवि वलेस स्टिवन्सका निमित्त लेखेका थिए । यस प्रश्नमा हाम्रो ध्यान तान्छ ‘लेबर’ शब्दले । लेबर-को दुइ अर्थ लाग्छ यहाँ – श्रम अनि प्रसव । यी दुवै अर्थ समान रुपले सान्दर्भिक छ उक्त काव्यिक प्रश्नमा । पहिले, पहिलो अर्थ ‘श्रम’-लाई लिई कुरा अघि बढाऊँ । ‘भावनाको सहज प्रवाहमा कविता लेखिन्छ’-को मीथ प्रचारित रोम्यान्टिक युगलाई पछिल्तिर छोडेर प्रस्थापित आधुनिकतावादी (मोडर्निस्ट) काव्यास्थाका कवि मक्लिशले ‘कविता लेख्नु / रच्नु’ जस्तो प्रचलित वाग्धारालाई पन्साएर ‘कविता श्रमसाध्य हुने’ अथवा ‘परिश्रम गरेर कविता बनाउने’ जस्ता कुरामाथि सङ्केत गरे । कविता अब सामुएल टेलर कलरिजले अफिमको मातमा सपनामा देखेर ब्युँझिनेबित्तिकै लेखेको कुब्ला खाँ जस्तो नभएर तर सश्रम निर्माण गर्नुपर्ने एक निर्मिति भयो ।

     उही शब्दको दोस्रो अर्थ ‘प्रसव’ पनि कविता लेखन प्रक्रियासित सम्बद्ध छ । गहन अनुभूतिदेखि अभीप्सित अभिव्यक्तिसम्मको यात्रावधि हो यो काव्यिक प्रसव जसबाट गुज्रिनुपरेको अनुभव कुनै पनि गम्भीर सर्जकसित हुन्छ । कविताको, अर्थात् कुनै पनि सृजनात्मक कलारूपको, सिजारियन बर्थ हुँदैन । सर्जकले कमाधिक व्यथा खप्नै पर्छ सृजन-प्रक्रियाको ।

     फेरि अघिल्लो प्रसङ्गमा आऊँ र प्रश्न गरौँ – श्रम अर्थात् निर्माण केमाथि गर्ने ? त्यसो भए ‘कविता फुर्नु’ जस्तो कुरो नितान्त वाहियात हो त ? निर्मिति र त्यसको योजनाभन्दा पहिले, प्रारम्भमा त्यो निर्माणको निमित्त अन्तर्मनमा कुनै एक उत्प्रेरक-तत्त्व, एक आग्रही बीजभाव भने रहेको हुन्छ नै । सायद त्यै अन्तर्मनमा उम्रेको उत्प्रेरक बीजभावको सूक्ष्म आन्तरिक तरङ्ग्याइलाई नै कविता फुर्नु भनिएको हो । हावाले उड़ाइल्याएको कुनै बीज नरम माटोको न्यानो कोख पाएर अङ्कुराए जस्तै हो कि यो ‘फुर्नु’ ! अङ्कुराएपछि तर त्यसलाई बोट-बिरूवा बनाई हुर्काउनुमा खर्च हुन्छ श्रम ।

     मक्लिशको उक्त कविताको पाँचौँ – छैटौँ पङ्क्तिमा फेरि अर्को प्रश्न छ – Why be poet / Now when the meanings do not mean?किन पो कवि हुने / जब अचेल अर्थहरूकै अर्थ छैन ? शब्दका अर्थहरूप्रति अब सन्देहको गन्ध छ । उस बेलै कविले शब्दको चुडान्त अर्थ नभेट्टाएर आजको अन्त्यहीन अर्थबहुलता देखेका सङ्केत यहाँ पाइन्छ । तर यसभन्दा पनि महत्वपूर्ण कुरो त कविप्रतिको विश्वास नै धराशायी भएको सङ्केतित छ यस पङ्क्तिमा । कविका शब्दहरूको अब सर्वग्राह्य अर्थ छैन, अनेक अर्थहरुको प्रवाहमा निर्णायक अर्थ खोज्नेहरूको निमित्त ती शब्दहरू अपत्यारिला छन् तथा पूरा पत्यारिला छैनन् र यस्तो अवस्थामा पनि कवि बनेर कविता लेखिरहनखोज्नु जोखिम मोल्नु होइन र ? कविले बोलेको कुरो हो, मान्य हुन्छ, विश्वसनीय हुन्छ — अघिदेखिको यो मीथ अब भाँच्चिएको छ ।

     उल्लिखित कविताको बाह्रौँ पङ्क्तिमा फेरि अर्को प्रश्न सोधिएको छ -– Why be poet? Why be man! कवि किन हुनु? किन हुनु मान्छे ! कवि हुनु, मान्छे हुनुको कारण सोधिंदैछ । यहाँ (यस प्रश्नमा) पनि ‘कवि’-लाई रोम्यान्टिक मीथबाट मुक्त गरी ‘मान्छे’-सित साधारणीकृत गरिएको छ । तर मान्छे यहाँ केवल मान्छे नभएर सचेतताको प्रतीक छ ।

     कविताको मध्यांशमा अघि माथि सोधिएका प्रश्नको उत्तर दिइएको छ यसरी —

     The heart’s necessity compels me:

           Man I am : poet must be.

       [हृदयको आवश्यकताले मलाई वाध्य तुल्याउँछ :

     मान्छे हुँ म : कवि बन्नैपर्छ ।]

      अघिल्लो पङ्क्तिले देखाएको छ –- अन्तरतहमा तरङ्गित सूक्ष्म संवेदनशीलताको आग्रह, अनि पछिल्लोले चाहिं मान्छे (सचेत) भएकैले संवेदनशील अन्तराग्रहलाई प्रभावकारी ढङ्गमा (कवितामा) व्यक्ताउनुपर्ने आवश्यकता । अर्थात् सूक्ष्म संवेदनशीलता र तीक्ष्ण सचेतताको संयुक्तिबाटै प्रभावी काव्यिक अभिव्यक्ति नि:सृत हुन्छ भन्ने आशय पनि हो ।

     कवि र कविताको सन्दर्भमा कवितामै भनिएका यी कुरा गम्भीरताकासाथ काव्यसाधनामा लाग्नेहरूका निमित्त सान्दर्भिक हुन सक्छ । स्वान्त सुखायकै निम्ति मात्र लेख्नेहरूलाई यस्तो कुराप्रति उस्तो वास्ता नहोला । तथापि उनीहरूकै लेखनमा पनि माथि बताइएका दुई काव्यिक तत्त्वहरूको संयुक्ति रहेकै हुन्छ जसरी रोम्यान्टिक युगका सहज प्रवाहित मानिएका कविताको बनोट-बुनोटपछिल्तिर श्रमसाधित औंलाका छापहरू देख्न सकिन्छ । कविताबारे, अँग्रेजी साहित्यमा रोम्यान्टिसिज्मका प्रमुख प्रवर्तक विल्यम वर्ड्सवर्थको उक्ति – ‘शान्त अवस्थामा स्मरण गरिएको भावावेगहरूको स्वतःस्फूर्त प्रवाह’ (Spontaneous overflow of emotions recollected in tranquility) नै  विरोधाभासयुक्त छ । ‘शान्त अवस्थामा स्मरण गरिएको’-ले कविको पूर्ण सचेत अवस्थाको चित्र अघि ल्याउँछ जुन अवस्थामा कविले भावाभिव्यक्तिको निमित्त चाहिँदो शब्दहरूको छनोट, बिम्ब र प्रतीकको संयोजन आदि कुराहरू सचेततापूर्वक गरिरहेको हुन्छ । कविताको पहिलो खेस्रामा ‘सहज प्रवाह’ देखिए तापनि दोस्रो-तेस्रो खेस्राको प्रक्रियाबाट गुज्रिनुपर्दा कविताले कविको सचेतता, सावधानी, नियन्त्रण जस्ता औजारहरूको खिपाइ-खोपाइ खपेर नै मात्र त्यसले यौटा कलारूप प्राप्त गर्छ ।

              त्यसैले, आज आशुकवित्वको कुरा मीथ मात्र मानिन्छ ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया