गठबन्धन कन्फ्युजन, विमल स्टन्ट र कुभिण्डोहरू

विज्ञापन

विचार

तर के गोर्खाल्याण्ड मुद्दा फत्ते होला? त्रिपक्षीय वार्ता होला?  गोर्खाल्याण्ड मुद्दाले भोट जित्ने दलहरुको क्रियाकलाप देख्दा त मुद्दा फत्ते त होइन तुहुन पो लागेको जस्तो लाग्दैछ। गोर्खाल्याण्ड शब्दको प्रयोग नै राजनीतिको शब्दकोशबाट हराई सक्यो। कुन दिनदेखि जनताको जिब्रोबाट पनि हराउनेछ। गाउँ बस्तीमा गर्भाधान तुहाउन कुभिण्डो खुवाउने चलन थियो। भाजपा अनि गठबन्धन (विमल, मन, आर बी) गोर्खाल्याण्डको पालनपोषण गर्ने आइरन अनि फोलिक एसिड नभएर कुभिण्डो त भएको छैन?


ज्योतिकुमार मुखिया


घटना क्रम:

गोजमुमो (विमल) खेमाका दुई सदस्य टोलीले गृहमन्त्री अमित शाहलाई भेटेको खबर विमल पन्थीको फेसबुक पेजमा आउँछ। छापामा थप खबर “१५ दिन भित्र त्रिपक्षीय वार्ता बोलाउने गृहमन्त्रीको आश्वासन।”

गठबन्धन हकक न बक्क। विरोधका आवाजहरू। विधायक नि जिम्बाले विधायक पददेखि राजीनामा दिने धम्की। विनय तामाङ भन्छन्,- यो  आगामी चुनाउको निम्ति भाजपासँग मिलेर आयोजित गरेको राजनैतिक स्टन्ट मात्र हो।

हर्षको माहोल होइन तर प्रश्न नै प्रश्नको लाम लाग्यो। गठबन्धनको अन्य घटक दल गृहमन्त्रीसँग भेट्न किन गएनन्? घटक दलको मुखिया श्री राजु विष्ट टोलीमा किन थिएनन् जब कि उनी दिल्ली मै छन? राजु विष्ट जो ससाना कुरामा पनि विज्ञप्ति दिन्छन्, यति ठूलो कुरामा अझ किन चुप?

डिएसटिभीले डा.. विनु सुन्दास, जो टोलीको एक सदस्य हुन्, सँग टेलिफोन मार्फत बातचीत गऱ्यो। डा. सुन्दासको वक्तव्य अनुसार, गोजमुमो (विमल) मात्र भाजपाको आधिकारिक घटक सदस्य हुन्। अन्य गोरामुमो, क्रामाकपा आदि चाहिँ विमल खेमाको घटक दल हुन्। भन्नुको मतलब विमल मोर्चाले विचौली (ब्रोकर)को भुमिका खेलेको हो। विमल मोर्चा मार्फत मात्र जीएनएलएफ, क्रामाकपा भाजपासँग सम्बन्धित छन्।  विमल गुरुङ मात्र भाजपासँग सिधै सम्पर्कमा छन्। विमल गुरुङले चाहे मात्र अन्य दलहरू गोर्खा सम्बन्धित गठबन्धन मार्फत कुरा गर्न सक्छन्।

यो भेटवार्ता राजनीति अनि गठबन्धनको गाँठोलाई साधारण जनता अनि राजनैतिक सचेत व्यक्तिले कसरी बुझ्ने? म एक राजनैतिक सचेत व्यक्ति हुँ।

मैले के बुझें?

भाजपाको २०१९ को गठबन्धन भाजपालाई चुनाउ जिताएर गोर्खाल्याण्ड स्थापना गर्नु थियो। निरज जिम्बाको वक्तव्य अनुसार ,हामी गोर्खाल्याण्डको एजेण्डा मा बिक्री भएका हौं भाजपासँग। फेरि उनकै अर्को वक्तव्य,  जहाँ उनको आशय थियो हामी छैटौं मुद्दामा सहमति भएर भाजपालाई समर्थन दिएका हौ। अरूहरू के केमा सहमति भएका हुन् मुख खोल्नु परे खोलुँला।

भाजपाले चुनाउ जितेर सांसद अनि दार्जीलिङको विधायक त लग्यो तर आजको दिनसम्म पनि भाजपाले आफ्नो सङ्कल्प पत्रमा वाचा गरेको गोर्खाका मुद्दामाथि कुनै ठोस कार्य गर्न सकेको छैन।

२०२१ बङ्गालको विधान सभा चुनाउ।

भाजपालाई भोट त चाहियो। भाजपालाई पहाडमा भोट कसले दिन्छ? त्यही गठबन्धनको समर्थकले। विमल गुरुङलाई आफ्नो राजनैतिक अस्तित्व बचाउन गाह्रो भइरहेको छ। गुरुङलाई लाग्छ (सुन्दासको कुरा अनुसार), आज पनि पहाड, तराई अनि डुवर्स मा विमल गुरुङले १४ -१५ एमएलए दिनु सक्छ। यो मिथ हो कि यथार्थ २१ मै हेरौंला।

आफ्नो उपस्थिति देखाउने राजनैतिक भाषामा भन्ने हो भने विमल गुरुङको सानो स्टन्ट अनि प्रयास हो। विरोधाभासी वक्तव्यले जहिले पनि मिडिया अनि जनताको ध्यान आकर्षण गर्छ जसरी जिम्बालाई गऱ्यो। विमल गुरुङले मिडिया अनि बहसको आकर्षण मात्र खोजेका हुन्। भाजपालाई पहाडमा राजनीतिको चुल्हा जलाउन विमल मोर्चा, मन घिसिङ चाहिन्छ नै चाहिन्छ। त्यसरी नै विमल अनि मनलाई राजनैतिक परिवेश सुधार्न भाजपाको छहारी चाहिन्छ नै। पहाडमा यी दलहरु एक अर्काका सम्पुरक हुन् अनि यी सबैलाई जोड्ने मुद्दा हो गोर्खाल्याण्ड।

तर के गोर्खाल्याण्ड मुद्दा फत्ते होला? त्रिपक्षीय वार्ता होला?  गोर्खाल्याण्ड मुद्दाले भोट जित्ने दलहरुको क्रियाकलाप देख्दा त मुद्दा फत्ते त होइन तुहुन पो लागेको जस्तो लाग्दैछ। गोर्खाल्याण्ड शब्दको प्रयोग नै राजनीतिको शब्दकोशबाट हराई सक्यो। कुन दिनदेखि जनताको जिब्रोबाट पनि हराउनेछ। गाउँ बस्तीमा गर्भाधान तुहाउन कुभिण्डो खुवाउने चलन थियो। भाजपा अनि गठबन्धन (विमल, मन, आर बी) गोर्खाल्याण्डको पालनपोषण गर्ने आइरन अनि फोलिक एसिड नभएर कुभिण्डो त भएको छैन?

गठबन्धनमा को को छन? विषय नै अब कन्फ्युज विषय बन्यो। यही कन्फ्युजनको कारण घोषित स्टेरिङ कमिटी बानिएन। जब गठबन्धन नै पक्का छैन भने मुद्दामा झन् कति झगडा.? भाजपाका केन्द्रीय नेताहरु अनि मणिपुरी नेता सोच्दा हुन्, दिल्लीको भाषामा, दार्जीलिङका गोर्खाहरूलाई चुतिया बनाउनु सजिलो छ।

मनोज बोगटीको विचारले मेरो विचार टुंग्याउनु पऱ्यो। उनी भन्छन्, जनतालाई मुर्ख बनाउने त सत्ता नै हो। जो उसले चाहेजस्तो सामाजिक मनोविज्ञान तयार गर्छ। त्यसको दासी भएपछि देखाइएको मात्र, बुझाइएको मात्र सत्य लाग्छ। हाम्रो समाजमा पनि त्यसका सिकार बनेका कति रोगी छन् छन्। त्यसैले सामाजिक मनोविज्ञान कसरी तयार हुन्छ भनेर बुझ्नेले सत्ताका चलखेल केलाउँछ, बुझ्छ र सबैलाई प्रबुद्ध बनाउने कोसिस गर्छ। तर कुरा त त्यही हो, त्यसको लागि चाहिने त चेतना नै हो।

हाम्रोमा राजनैतिक चेतना कहिले आउने? १५ दिन सँगसँगै राजनैतिक चेतना पनि आवोस्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया