शब्द र संवेदन

विज्ञापन

काव्यवृत्त – ३

शब्दहरू केवल अर्थका वाहक होइनन्, अभिव्यक्तिका माध्यम मात्र होइनन्, तर हुन् युगचेत र युगानुभूतिका प्रतिविम्बहरू अनि हुन् गतिशील संस्कृतिका रङ्ग-रूप पनि । शब्दहरू नै हुन् विशेष समयका सजीव चित्र । शब्दहरूले नै कविताको (अर्थात् कुनै पनि शाब्दिक सृजनात्मक अभिव्यक्तिको) उमेर र आयु सङ्केत गर्छन्, सर्जकको मानसिक समय र दृष्टि बताइदिन्छन् ।

 


मनप्रसाद सुब्बा


 वैविध्य र वैचित्र्यपूर्ण सांसारिकतासित सम्पृक्त जिवाइ छ हाम्रो । त्यसैले संवेदना सल्बलाउँछ । चेतना चल्मलाउँछ । अनि यी दुइको संयोजित शक्तिबाट ‘केही’ स्फुटित हुन खोज्छ । त्यो स्फुटित हुन खोज्ने ‘केही’, जीवन्त शब्दहरूमा एकात्म भई घुस्छ अनि कवितामा रूपायित हुन्छ । यसरी संवेदनशील चेतना अर्थात् चेतनशील संवेदना नै आजको कविताको उद्गम-स्रोत मान्छौं ।    

‘जीवन्त शब्दहरू’ भनियो यहाँ । जीवन्त अर्थात् जिउँदो-जाग्दो, खेलिहिँड्ने, कुदिहिँड्ने, उफ्रिहिँड्ने क्रियाशील शब्दहरू । सुकिला र सम्भ्रान्त शब्दहरू होइनन्, विशिष्टतावादी पनि होइन तर सक्रिय र फर्स्याइला शब्दहरू । आखिर संवेदनशील चेतनाले अनुभूत गरेको त्यो ‘केही’-लाई कवितामा अवतरित गरी बोली र व्यवहारस्वरूप प्रदान गर्ने प्राणमय कोषिकाहरू यिनै शब्दहरू नै हुन् ।    

 शब्दहरू केवल अर्थका वाहक होइनन्, अभिव्यक्तिका माध्यम मात्र होइनन्, तर हुन् युगचेत र युगानुभूतिका प्रतिविम्बहरू अनि हुन् गतिशील संस्कृतिका रङ्ग-रूप पनि । शब्दहरू नै हुन् विशेष समयका सजीव चित्र । शब्दहरूले नै कविताको (अर्थात् कुनै पनि शाब्दिक सृजनात्मक अभिव्यक्तिको) उमेर र आयु सङ्केत गर्छन्, सर्जकको मानसिक समय र दृष्टि बताइदिन्छन् । त्यसैले शब्दहरूसितको खेल भन्नु उच्च चेतको संवेदनशील खेल हो जसले निर्धारण गर्छ कवितामा शब्द-चयन ( डिक्सन ) र शब्द-संयोजन । भानुभक्त आचार्य आफ्नो समयका युगान्तकारी कवि कहलिए यिनै शब्द-चयन र शब्द-संयोजनले जसभित्र प्रतिध्वनित छ उनले बाँचेको समयको धुकधुकी, जसभित्र प्रतिबिम्बित छ उनको आफ्नो समयको समकालीनता ।    

आफ्नो समय-चेतले नै कविलाई निर्देशित गर्छ शब्द-चयन र शब्द-संयोजन प्रक्रियामा । उसको समय-चेत हिजोको छ कि आजको छ ? अझै आगतको पो छ कि ? समय-चेत र शब्द (भाषा) दुइ अन्योन्याश्रित तत्व हुन् । स्वाभाविक तौरले एकापसलाई पछ्याउने । तर सचेततापूर्वक शब्द मात्र आजको राखेर समय-चेत चाहिं हिजोको भए त्यो बलजफ्तीको जडान जस्तो मात्र देखिएला, बेसुरा बज्ने । समयचेत आजको भए त्यो स्वतः आजकै शब्दमा अभिव्यक्त हुन्छ । अनि कविमा उद्भासित तथा विकसित काव्यकारितामा देखिन्छ शब्द-संयोजनको स्वाभाविक खेल । त्यसैले समयचेतलाई पछ्याउँछ शब्दले अर्थात् अभिव्यक्तिले । तर कहिलेकाहीं काव्यिक अभिव्यञ्जना यति सशक्त भइदिन्छ कि त्यसले आफ्नो समयको समकालीनतालाई मात्र टड्कारो गरी प्रतिबिम्बित नगरेर अझ उता आगत समयको समकालीनतालाई समेत आँखाभरि बोकिराखेको हुनसक्छ । दृष्टान्तहरू अघिल्ला समयबाट पगितो पाउन सकिन्छ ।    

 त्यसो त, कथ्य मात्र चाहिं जहिल्यै पनि सान्दर्भिक भइरहन सक्छ । तर कथ्यले रूप पाएको हुन्छ शब्द-संयोजनबाट । र त्यो रूपमा प्रतिबिम्बित र प्रतिध्वनित भएको हुन्छ विभिन्न समयको सामयिकता जसको के-कति सान्दर्भिकता र प्रभावकारिता छ आज, त्यो कुरो बताउँछ त्यसको रुपायनले । कृतिगत रुपायन समसामयिकता (समकालीनता)-को बिम्ब हो जसको निर्मिति तर शब्द-संयोजनबाटै हुन्छ ।      

समसामयिक चेतना भन्नु वर्तमान स्थिति र ती स्थितिका कारक-तत्वप्रति सजग ( Aware ) रहनु साथै तीबाट पलायन नगरी तिनीहरुकै माध्यमबाट प्राप्त संज्ञान लिई तिनीहरूलाई नै उछिनेर ( परास्त गरेर ) अघि बढ्नु हो । स्वाच्छन्दिक प्रवृत्तिले प्रतिकूलताप्रतिको प्रतिक्रिया स्वरूप विलौना या त विद्रोहभावको निम्ति शब्द खर्च गर्थ्यो भने आधुनिकतावादी शब्दहरूले प्रतिकूलतामा जीवनको विसङ्गति देखेको कुरा गम्भीरतापूर्वक भन्थे । आजको समकालीनताले स्थिति-अवस्था-व्यवस्थाको प्रतिकूलतालाई विविध व्यङ्ग्यिक व्यञ्जनामा नङ्ग्याएको छ । व्यङ्ग्यिकता आजको कवितामा यौटा प्रमुख स्वर छ । यै तत्व अघि आधुनिकतावादी कालमा बंचाइको विडम्बना, विसङ्गति र निस्सारताको निम्ति प्रयोग हुन्थ्यो विद्रूपतासित, अँध्यारोपनसित । आज त्यसको प्रयोग अधिकतर श्याम व्यङ्ग्यको रूपमा तिक्खरतासित गरिन्छ, एकदमै अनौपचारिकता र निर्भीकतासित पनि । यसरी हिजोका सङ्कोची शब्दहरू आज बेग्लै किसिमको आत्मविश्वाससित निर्भीक बोलिरहेका छन् औपचारिकता जस्ता कुराहरूलाई पन्साएर । 

अर्थहरू विनिर्मित हुँदै गएर सिङ्गो रूपमा समात्न नसकिने किन नहुन् शब्दहरू, तर हुन् त ती शब्दहरू नै । अक्षरहरूले निर्मित शब्दहरूको रूप-स्वरूपभित्रै अर्थले समयान्तरमा भाका फेर्न सक्छ, स्वर बदल्न सक्छ । तर ती शब्द अर्थहीन कहिल्यै हुँदैनन् । अर्थहीन नहुने भएपछि तिनीहरूको सान्दर्भिकता पनि कहिल्यै हराउँदैन । त्यसैले आजको समकालीन रचना-संरचनामा अघिल्लो युगको रचनागत सान्दर्भिकता सधैं कुनै न कुनै रूपमा रहेकै हुन्छ । यसो भनौं कि आजको समकालीनता हिजोको समकालीनाताको कापबाट उम्रेर आएको हो । अनि आजको हाम्रो समकालीनता भोलिको समकालीनतालाई यौटा कडी मात्र हो ।   

      जे होस्, फेरि एकपल्ट शब्दको महिमा गाऔँ यसरी : शब्द रूप हो भने अर्थ त्यसको भाव । भाव स्पेस हो जसको उपस्थिति त्यस बेला मात्र देखिन्छ जब त्यहाँ कुनै रूप हुन्छ । ग्रह-नक्षत्र पिण्डहरूको अनुपस्थितिमा असीम आकाश-अन्तरिक्षको के अर्थ ? तर त्यति टाढा किन जाने र ! यसो भनौं कि भावको आकाशमा शब्दहरू थरिथरिका चरा-चुरुङ्गी हुन्, रङ्गीबिरङ्गी चङ्गा हुन्, विमान हुन्, जसलाई हेरेर हामी आकाश हुनुको आभास थाह गर्छौं ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया