‘के’ र ‘कसरी’

विज्ञापन

    काव्यवृत्त – ४

कवितामा भावको यो अर्थलाई मान्नु भनेको कविताले के भन्दैछ-को उत्तर खोज्नु हो । तर कवितामा, त्यो शब्दकोशीय अर्थ बोक्ने भाव अर्थात् भावतत्वले बौद्धिकभन्दा बढी हार्दिक पक्षतर्फ सङ्केत गर्छ । अर्थात् त्यो ‘के’-लाई ‘कसरी’ (कस्तो ढङ्गमा) व्यक्ताइएको छ –ले बढी खिँचिन्छ पाठक तथा स्रोता । त्यै ‘कसरी’-भित्र पर्छ शिल्प, शैली र कल्पनातत्वका कुराहरू अर्थात् कला जसको न्यूनताले कवितालाई शिथिल तुल्याउँछ ।


मनप्रसाद सुब्बा


     फेरि एकपल्ट पारम्परिक लेखक-पाठकले झैँ पारसमणि प्रधानको पङ्क्ति दोहोऱ्याऊँ – ‘शब्द थुपारी के हुन्छ? भाव भए पो हुन्छ!’ कविताबारे कविताकै रुपमा यसो भन्ने हाम्रो भाषा-साहित्यको उत्थानकालका पितृतुल्य प्रधान यद्यपि स्वयं चैं उल्लेख्य कवि चिनिएनन् न त समालोचक नै । तत्कालीन भारतीय परिवेशमा ती नेपाली भाषा-साहित्यका विराट प्रवर्द्धकद्वारा व्यक्त यो पाद्यिक पङ्क्तिले तर सँधै औँला ठड्याइराखेको हुन्छ  स्कुलको क्लासरुममा शिक्षकले जस्तो । कवितामा भावतत्वको अनिवार्यता निर्देशित छ त्यो हरफमा जसको अभाव या न्यूनतामा कविता भनी पस्केको अभिव्यक्ति केवल शब्दको थुप्रो हुनसक्छ ।

     हाम्रो तत्कालीन समाजलाई दिनुपर्ने औपदेशिक कविताको आव्हान फुक्दै धरणीधर कोइरालासितै स्वर मिलाउने पारसमणि प्रधानको दृष्टिमा त्यसबेला ‘भाव’-को कुन रुप थियो होला? बृहत् नेपाली शब्दकोश (नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान, संस्करण वि० सं० २०४०)-ले भाव शब्दको आठ विभिन्न प्रकारका अर्थ बताउँछ । तिनमा अरु छोडेर प्रकार ३-मा दिईएको अर्थ छ – ‘कथन वा लेखनको मुख्य अभिप्रायः; आशय; तात्पर्य’ । वामन शिवराम आप्टेको संस्कृत-हिन्दी कोश (द्वितीय संस्करण ई. १९६९)-मा भाव:को उन्तिसवटा अर्थ दिइएको छ जसमध्ये सङ्ख्या ११-मा दिइएको अर्थ – ‘अभिप्राय, प्रयोजन, सारांश, आशय’ अघि बृहत् नेपाली शब्दकोशबाट टिपिएको अर्थसित मेल खान्छ । यिनै र यही अर्थ नै बढी सान्दर्भिक लाग्छ यहाँ उठाइएको चर्चामा । कवितामा भावको यो अर्थलाई मान्नु भनेको कविताले के भन्दैछ-को उत्तर खोज्नु हो । तर कवितामा, त्यो शब्दकोशीय अर्थ बोक्ने भाव अर्थात् भावतत्वले बौद्धिकभन्दा बढी हार्दिक पक्षतर्फ सङ्केत गर्छ । अर्थात् त्यो ‘के’-लाई ‘कसरी’ (कस्तो ढङ्गमा) व्यक्ताइएको छ –ले बढी खिँचिन्छ पाठक तथा स्रोता । त्यै ‘कसरी’-भित्र पर्छ शिल्प, शैली र कल्पनातत्वका कुराहरू अर्थात् कला जसको न्यूनताले कवितालाई शिथिल तुल्याउँछ ।

     तर यहींबाट प्रश्नहरू फुत्त फुत्त उफ्रेर हामीअघि उभिन्छन् –- त्यसो भए के कला मात्र हो त कविता? जस्तोसुकै कुरालाई शाब्दिक कलायुक्त काव्यिक स्वरूप दिँदा त्यो कविता मानिन्छ? त्यस किसिमको भनाइलाई कवितात्मक (कविताजस्तो)सम्म मान्न सकिएला तर कविता नै चैं त्यो नहोला । कविता रूप मात्र होइन अवश्य । रूप मात्र त छल पनि हुनसक्छ अनि त्यो छलको छलता उदाङ्गिएपछि त्यो रूपमा रूप देखिँदैन । तसर्थ रूपको साँचो रूप तथा रूपता देखिनलाई त्योसित अक्षुण्ण र अभेद्य कुनै थोक हुनपऱ्यो । त्यो थोक यौटा विचार, यौटा दृष्टि हुनसक्छ, यौटा अनुभूति, अनुभव, आभास हुनसक्छ, या त यौटा कथा, यौटा कल्पना मात्र पनि हुनसक्छ । अनि यी कुराहरूले काव्यिक अभिव्यञ्जनामा यस्तो रूप लिन्छन् कि अब रूपबाट पृथक्क्याए तिनीहरू खण्डित बन्छन् । रूप र वस्तुको एकात्मता तथा अविच्छेद्यता थाह गर्छौं कवितामा । यौटामा ध्यान केन्द्रित गर्दा अर्को नदेखिने । दुरुस्तै भौतिकीको आँखामा लुकामारी खेल्ने तरङ्ग-कण (वेभ-पार्टिकल)-कै स्वभावका । यसैले, कविताको व्याख्या कहिल्यै हुँदैन । अर्थात् गर्न खोजिएको व्याख्या कहिल्यै पूर्ण हुँदैन । सौन्दर्य र सुगन्धसहित कुनै फूलको संरचना व्याख्या गर्नुजस्तै हो त्यो । पत्र-पत्र उप्काएर, प्रत्येक पत्रको रङ्ग-आकार-आकृति गौर गरेर हेरिसकेपछि / त्यसको संरचनाबारे जानिसकेपछि त्यहाँ फूल कहाँ रहन्छ र ! फूल नै नरहेपछि फूल देखिन्छ नै कहाँ र !  

     भनेको छु त्यसैले आदिम बस्ती-को पृष्ठभूमि-मा — कविताको आफ्नो जीवन्त सत्ता हुन्छ जसको यथार्थ स्पर्श अनाबद्ध सूक्ष्म अर्थातीत गुणमा रहन्छ, अर्थको स्थूलता र ठोसतामा होइन । कविताको सार्थकता कविता हुनुसित छ । विशिष्ट सौन्दर्यचेतको सजीव रूप हो यो जो व्याख्याकारको व्याख्यामा अटाउँदैन । कविता त आस्वादनलाई हो, व्याख्यालाई होइन । व्याख्याकार शैल्यचिकित्सक जस्तो हो जसले शरीरलाई चिरफार गरी त्यसबारे प्रशस्त बखान्न सक्छ, तर त्यसको जीवन भेट्टाउँदैन । जतिकै मूर्ततामा कवितालाई उतार्न खोजे तापनि त्यसभित्र यस्तो नजानिँदो अमूर्तता संचारित भइरहेको हुन्छ जसद्वारा भित्र कहीं हामी पाठक स्पर्शित भइरहेका हुन्छौं । कवितामा अन्तर्निहित त्यो स्वाभाविक अमूर्तता केवल एब्स्ट्रयाक्टको पऱ्याय होइन, तर कविताको एक व्याख्यातीत गुण हो त्यो ।

     हरेक कुरोलाई व्याख्यामा फुकाएर हेर्न खोज्नु मानिसको सामान्य स्वभाव हो । तर सबथोक कहाँ व्याख्येय छ र ! जीवन सम्पूर्ण तौरले व्याख्येय छैन, बरू व्याख्यातीत बढी छ यो । र यस्तो जीवनको एकांश वा एकाध अंश कवितामा आउँदा त्यसको त्यो अव्याख्येय तत्वसहित आएछ भने त्यो कविताको दोष होइन । बरू कविताको त्यो व्याख्यातीत गुण पो हो । हेर्दामा शरीरको आकृतिमा रूपायित जीवन यो तर सधैं कता हो कता रूपातीत छ, रूपले पटक्क बाँधिराख्न नसकेको । उसरी नै शब्दहरूद्वारा निर्मित शरीरमा देखिने कविताको जीवन त्यसको सम्पूर्णतामा व्याख्येय छैन । त्यसो त स्थूल देह नै पनि पूरै त कहाँ व्याख्येय छ र? सूक्ष्मातिसूक्ष्म अङ्गप्रत्यङ्ग केलाएर-कोट्याएर हेरे पनि त्यो जीवको प्राणतत्व तथा चेतन-तत्व सधैं व्याख्यातीत अमूर्त नै छ । र कुनै मीठो सरल कवितामा पनि यो अमूर्त्य रहेकै हुन्छ । अर्थात् यसो भनौं कि त्यो अमूर्त्यले नै त्यो कवितालाई मीठो बनाएको हो जुन मीठोपन तर छ सधैं अव्याख्येय ।  

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया