जयश्री रामको झण्डाले ल्यायो विवाद : रुदेन लेप्चा तारोमा

विज्ञापन

कालेबुङ, 8 अगस्त


अयोध्यामा राम मन्दिरको शिलान्यास हुने ठिक एकदिन अघि कालेबुङको मेनरोडमा भने रामभक्तहरूको जुलुस निस्कियो। बताइएको छ, त्यो जुलुस कालेबुङ पुलिस प्रशासन विरुद्ध थियो। नगरका केही युवाहरूले केही ठाउँमा जयश्री राम लेखेको झण्डा लगाइरहेका थिए।

पुलिसले सारा पहाड कोरोना महामारीसित लड्न लकडाउन पालनमा रहेको बेला झुण्ड झुण्ड बनेर झण्डा लगाइरहेका युवाहरूलाई देखे। सोधीखोजी गरे। रामभक्तहरूले सामाजिक दुरी पालन गर्दै झण्डा लगाएको जिकिर त गरे तर पुलिस मानेन। पुलिसले युवाहरूलाई थाना पुऱ्याए।

भएको यति थियो।

अहिले यही घटनाले निन्दाबाट विवादतिर फड्को मारेको छ। विभिन्न दल नेतृत्व यसै घटनाले उपार्जन गरेको वयानहरूमाथि उभेर आरोपप्रत्यारोप लगाउन थालेका छन्।

जब पुलिसले यी युवाहरूलाई सोधपुछको निम्ति थाना लग्यो, मारवाडी समुदायका हिन्दू अधिक्य रहेका रामभक्तहरू मेनरोडभरि निस्किए। सबैलाई थाहा थियो, लकडाउन चलिरहेको छ। पुलिसले झण्डा लगाउने काममा हस्तक्षेप गरेलगत्तै ती युवाहरूले नाराबाजी शुरु गरिहाले।

सोसल मिडियामा त्यही नाराबाजीको भिडियो भाइरल बन्यो। लकडाउनमा नाराबाजीको भिडियो आउने वित्तिकै निन्दा चुलियो।

लकडाउनको बेला नाराबाजी त्यसै पनि नमिल्दो र लकडाउन विरोधी गतिविधि मानिने भएकोले सोसल मिडियामा घटनाबारे विभिन्न मत देखापरे। यस्तोमा गोर्खा जनमुक्ति मोर्चा विनय खेमाका केन्द्रिय समिति सदस्य रुदेन लेप्चाले पत्रकार भेला गरेर प्रतिक्रिया गरेपछि घटना विवादतिर मोडियो।

रुदेन लेप्चाले माइनस् -1 पर्सेन्ट जनसंख्यामा रहेका एक विशेष अल्पसंख्यक समुदायले रामभक्तिको नाममा गोर्खामाथि थियोमिचो हुने राजनीति गरेको आरोप लगाएका थिए।

‘पप्पु गर्ग र समिर घोष मलाई भेट्न आएका थिए। उनीहरूले कोरोना सङ्क्रमण तीब्र बनेकोले पहाडमा लकडाउन पालन गरिदिने अपिल गरेका थिए। मैले त्यो कुरा  पार्टीका शिर्ष नेतृत्वमा पुऱ्याएको थिएँ,’ रुदेन लेप्चाको जिकिर थियो,  ‘आफै लकडाउनको अपिल लिएर आउने अनि आफै लकडाउन उलङ्घन गर्ने? यसरी गोर्खाको छातीसामु राजनीति नगरोस्। किन यसो गरिएको हो गर्गले बताउनुपर्छ।’

लेप्चाको भनाई सोझो थियो, जब पनि आन्दोलन हुन्छ त्यसमा उनीहरूको सहभागिता स्पष्ट र प्रत्यक्ष कहिल्यै हुँदैन। बरु जुन जुन पनि व्यवस्था पहाडमा आयो, त्यसमा ठेकेदारीको लागि भने उनीहरूकै ठूलो हिस्सा संलग्न हुन्छन्। लेप्चाको आशय त के पनि थियो भने दुइदुइपल्ट बाहिरका सांसद ल्याएर गोर्खाले जिताएको हुँदा उनीहरूले मनपेट पाएका छन्। गोर्खाहरूलाई जे गर्दा पनि हुन्छ भन्ने मनोवृत्ति पलाएको छ। यसैले कठोर भाषामा लेप्चाले खबरदारी गर्दै मारवाडी समुदायका मानिसहरूले गोर्खाको भावनामा चोट पार्ने काम गर्न नगर्न भन्दै आफूले घटना राजनीति प्रेरित देखेकोले शीघ्र स्पष्टिकरणको माग गरेका थिए। यति हुँदाहुँदै पनि रुदेन लेप्चाले मारवाडी समुदाय पहाडमा व्यापार गर्न आएको र धर्मको नाममा राजनीति गरेर गोर्खाको छातीमाथि टेक्न नहुने भनेर गरेको वयानले भने विवाद निम्त्यायो।

रुदेन लेप्चाले नाम लिएका पप्पु गर्गले अहिलेसम्म कुनै स्पष्टिकरण दिएका छैनन् तर यसबीच कालेबुङ मारवाडी समाजका अध्यक्ष मङ्तुराम अग्रवालले पत्रकार भेला गर्दै रुदेन लेप्चाले मारवाडी समुदायविरुद्ध केही आपत्तिजनक टिप्पणी गरेको भन्दै प्रतिक्रिया व्यक्त गरेका छन्।

‘म तीनपुस्तादेखि पहाडमा छु। पहाडमा हुने हरेक आन्दोलनमा गोर्खाका जत्तिनै हाम्रो सहभागिता र सहयोग रहेको छ। दिल्लीको जन्तरमन्तरमा होस्, गोरामुमोको जिभिसीमा होस्, दार्जीलिङको हरेक आन्दोलनमा हाम्रो सहभागिता छ,’  अग्रवालले भनेका छन्, ‘तर लेप्चाले नामै तोकेर माडवाडी समुदायलाई केवल व्यापार गर्न आएको र गोर्खाको छाती कुल्चने राजनीति गरेको आरोप लगाए। हामीलाई कुनै पनि दल र राजनीतिसित कुनै सरोकार छैन। तर लेप्चाका केही आरोपहरूले हामीलाई असुरक्षित महसुस गराएको छ।’

अग्रवालले गोर्खा मारवाडीबीचको मैत्रिक सम्बन्धमा यसप्रकारका वयानले खलल पुऱ्याउने भन्दै लेप्चालाई थप स्पष्टिकरणको मागसमेत गरेका छन्।

यता यसै मौकामा गोर्खा जनमुक्ति मोर्चा विमल खेमाका उपाध्यक्ष अनिल लोप्चनले रुदेन लेप्चाको वयानले पहाडको शान्ति शृङ्खलामा आँच आएको किटानी जाहेर गरेका छन्। एउटा विज्ञप्ती जारी गर्दै लोप्चनले लेप्चाका वयान निन्दनीय रहेको भन्दै भत्सर्ना जनाएका छन्।

लोप्चनअनुसार रुदेन लेप्चाले दशकौंदेखि नङ र मासुजस्तो सम्बन्ध रहेको बहुसंख्यक र अल्पसंख्यकबीच बिष घोलेर राजनैतिक रोटी सक्ने प्रयास गरेका हुन्। यसप्रकारको वयानले विभिन्न ठाउँमा अल्पसंख्यक रहेको गोर्खासमेतलाई असुरक्षित बनाउने र स्वाधिनतायता पहाडको उन्नतिको निम्ति मारवाडी समुदायले दिएको योगदानको उपहास भएको जिकिर गर्दै लोप्चनले  रुदेन लेप्चाको बयानले शान्ति श्रृङखला भङ्ग हुने कुनै घटना भए पुलिस प्रशासन दायी हुने पनि बताएका छन्।

 लोप्चनको ठाडो आरोप छ, ‘ रुदेन लेप्चाले गर्ग र घोषको नाममा तमाम अल्पसंख्यक सुमदायलाई प्रत्यक्ष वा परोक्षरुपमा चेतावनी दिएर मानसिक यातना दिएका छन्। यसैले युवा एकाईले रुदेन लेप्चा र उनको पार्टी विरुद्ध पुलिस प्रशासनमा प्राथमिकी दर्ता गर्न चाहन्छ।’

यता गोर्खा राष्ट्रीय मुक्ति मोर्चाको पनि वयान आएको छ। गोरामुमो केन्द्रिय सदस्य एवं केन्द्रिय कार्यालय प्रवक्ता वाई लामाले रुदेन लेप्चाको वयानको निन्दा गरेका छन्।

‘रुदेन लेप्चाको यस बयान अगणतान्त्रिक हो। संविधानले सबैलाई बोल्ने अधिकार दिएको छ तर यदि कसैले कानुन विरुद्ध या कानुन आफ्नो हातमा लिने काम गर्छ भने त्यसलाई कानुनले दण्ड दिन्छ,’ लामाले भनेका छन्,  ‘तर यसरी कुनै पनि जिम्मेवार व्यक्ति र जिम्मेवार राजनैतिक दलले कुनै पनि एउटा जातिलाई लिएर औंला उठाउनु, खुल्ला रुपमा धम्की दिनु, दुर्भाग्यपूर्ण हो।’

लामाले ती अल्पसंख्यक समुदायले आन्दोलनहरूमा सहभागिता दिएको र  पहाडमा माडवाडी, बिहारी,बङ्गाली, मुसलमान साथै अन्य अल्पसंख्यक समुदाय, गोर्खा नङ मासु झै मिलेर बसेको भन्दै  जिटीए कार्यपाल अनित थापाको नयाँ सोच नयाँ विचारसित लेप्चाको वयान खाप नखाएकोसमेत जनाएका छन्।

‘पहाडमा यस्तो एकता तोड्ने कसैले पनि प्रयास नगरोस्,’ लामाले भनेका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया