कालेबुङमा छैन 15 अगस्तको रौनक : नगराध्यक्ष रवि प्रधानले थाप्ने सलामी

विज्ञापन

कालेबुङ, 14 अगस्त


अगस्तको महिना कालेबुङको निम्ति उत्सवको महिना भनेर जानिन्छ, चाडको महिना, महोत्सवको महिना भनेर जानिन्छ, तर 2020 को अगस्त महिना कालेबुङको निम्ति सुनासनको महिना बन्यो। अगस्त लागेबाटै कालेबुङमा भीडभाड शुरु हुन्थ्यो। बजार रङ्गीविरङ्गी बन्थ्यो। दशैंमा घर फर्केजस्तो बाहिर बसेका रैथानेहरूले अगस्त महिनाको निम्ति छुट्टी जोगाउँथे। यहाँका रैथानेका आफन्त होस् वा साथी सङ्गी कालेबुङमा आउन मन लाग्यो भने अगस्त महिना नै रोज्थे।  यसपल्ट कालेबुङमा त्यही अगस्त महिना सुनसान छ।
एउटा भनाई नै छ, 15 अगस्त अर्थात स्वाधिनता दिवस देशमा नै दुइ ठाउँमा बढो हर्षोल्लास र भव्यसित बनाइन्छ, एउटा दिल्लीमा, एउटा कालेबुङमा।

कालेबुङको नाम उच्चो बनेका केही खास कारणमध्ये एउटा यही 15 अगस्तको उत्सव नै हो। विभिन्न स्कूलका विद्यार्थीहरूले देखाउने ड्रिल, मार्चपास्ट 15 अगस्त उत्सवको विशेष गहना थियो। सुनमा सुगन्ध थियो, फुटबल।
यसपाली न त स्वाधिनता उत्सव छ, न फुटबल न स्कूलका विद्यार्थीहरूको कुनै गतिविधि। स्कूलहरू बन्द छन्। मेला ग्राउण्डमा झार उम्रिएको छ। यहाँ विद्यार्थीहरूको मार्चपासको अभ्यास होइन मैलाहरूको मार्चपास छ।
15 अगस्त आउन केहीदिन अघिदेखि बजारभरि सिटीहरु बज्थ्यो, नगरको आकासमा बेलुनहरू उड्थे, यसपल्ट ट्राफिकका सिटीसमेत बजेको छैन, बेलुनहरू उड्ने त सवाल नै आएन।
सबै मिलाएर यसपल्ट कालेबुङको निम्ति 15 अगस्त सुनसानहरूको उत्सव बनेको छ।

वर्सेनी हुने कालेबुङका 15 अगस्तको रौनकलाई स्थानीय सरण खातीले मिस गरे। उनी निक्कै नोस्टाल्जिक पनि बने। त्रिकोण पार्कमा सारिएको अनि 1947 मा कालेबुङ मोटर एसोसिएसनले स्थापित गरेको स्वाधिनता स्मारकको रङ रोगन गर्न आइपुगेका खातीले कोरोनाको कारण कार्यक्रमहरू हुन नसके पनि स्मारकमा नै सामान्य कार्यक्रम गर्ने जनाए।
यता कालेबुङकी विधायिका सरिता राईले कोरोनाको कारण स्वाधिनता दिवस पालन गर्न नसके पनि सबैलाई घरघरमा नै बसेर झण्डोत्तलन गरिदिने अपिल गरेकी छन्।

15 अगस्त हेर्न आउनेहरूको भीडको साटो कोरोना सङ्क्रमितहरूको भीड बनेको छ कालेबुङ। दैनिकरुपले संक्रमितहरूको संख्या बढ्दो छ। स्वाधिनता उत्सव हेर्न होइन कालेबुङमा मानिसहरू कोरोनासित जोगिन घरैभित्र थुनिएका छन्।
बजारमा केही भीडभीड त छ, तर त्यही पनि संधैजस्तो छैन।

यता ७४औं स्वतन्त्रता दिवस गोर्खा जनमुक्ति मोर्चाले सामान्यरुपले पालन गरिने गोजयुमो कालेबुङ जिल्ला समिति महासचिव अमीर बस्नेतले जनाएका छन्। भोलि मेला ग्राउण्डमा राष्ट्रियध्वज उत्तोलन एवम् सलामी ग्रहणको कार्यक्रम हुनेछ जहाँ केवल बीस जनाको स्काउट्स अनि गाइड्सको टोलीले भाग लिनेछ। यसैबीच जनप्रतिनिधिको रूपमा कालेबुङ नगरपालिका अध्यक्ष रवि प्रधानले सलामी ग्रहण गर्ने छन्।
यता गोजमुमो कालेबुङ जिल्ला समितिका साङ्गठनिक सचिव विनय घिसिङले कालेबुङ पुलिस प्रशासन,होटल तथा रेस्टुरेन्ट व्यवसायीहरू लगायत सबैलाई अहिलेको महामारी अवस्थामा सठीक तरिकाले कार्य गर्ने अपील गरेका छन्। उनले कोरोना संक्रमणको सम्भावना धेर भएकोले होटल,रेस्टुरेन्ट,खोला आदि ठाउँहरूमा भीडभाड नगर्ने तथा यश विषयमा पुलिस प्रशासनले कडा निगरानी गरिदिने अनुरोध गरेका छन्। गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विनय तामाङले 74 औं स्वाधिनता दिवसको अवसरमा सम्पूर्ण गोर्खाहरूलाई शुभकामना व्यक्त गरेका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया