कविता, गम्भीरता, नव्यता…

विज्ञापन

काव्यवृत्त-5

वैविध्य यहाँ केवल फेशनजस्तो सतही रूपगत भिन्नताको अर्थमा मात्र होइन, तर स्वभावगत भिन्नता बुझाउनलाई छ । हुन त फेशन नै पनि एक प्रकारले यथास्थितिप्रति वैरोध्यको साङ्केतिक भाव प्रकट हो, एक प्रकारको अराजक भाव हो । र यो अराजकता ध्वंशात्मक नभएर सृजनात्मक हो । त्यसैले हेर्दाहेर्दै त्यो फेशन व्यापक बन्दै जान्छ । नवाग्रहीहरूले त्यसलाई स्वागत गर्न अर्थात् स्वीकार्न धक मान्दैनन् भने पहिले पहिले हिच्किचाउनेहरूले समेत पछि बिस्तारै स्वीकार्न थालिसकेको हुन्छ ।


 

मनप्रसाद सुब्बा


साहित्यकार हरेन आलेद्वारा सम्पादित ‘नव आधुनिक नेपाली कविता’ (ई. १९८५)-मा आफ्नो कविताबारे मन्तव्य दिँदै मैले यसो भनेको रहेछु — “कविता त्यो आकर्षक क्षितिज हो जहाँ मन र मथिङ्गलको माधुर्यपूर्ण सम्मिलन हुन्छ।“ कवितालाई परिभाषित नै गर्न खोजेको जस्तो लाग्ने यो वाक्यमा तर कविताको परिभाषाभन्दा बढी कविताको अपरिभाषेय अर्थात् परिभाषातीत स्वभाव सङ्केतित छ। ‘त्यो आकर्षक क्षितिज’-ले अनन्त सम्भावनातर्फ इङ्गित गर्छ – व्याख्याको अनन्त सम्भावना। यै सम्भावना नै कविताको सौन्दर्य अनि आकर्षण पनि मान्छौं । कवितामा निहीत सम्भावना(हरू)लाई स्वीकारेर इक्सप्लोर गर्नसक्ने तीक्ष्ण संवेदनशील आँखा पाठकसित भए कविताको सूक्ष्म सौन्दर्य उद्घाटित हुन्छ दृष्टिमा।   

     कक्षा -१ मा ‘घाम र हावाको झगडा’ यौटा बालकथा पढिन्थ्यो । उसबेलै बेलुकीपख घरमा यौटा बालकले त्यस कथालाई पद्यरूप दिएको सम्झिँदा लाग्छ फुच्चे बालक हुँदैदेखि कविताप्रति उ आकर्षित भएको रहेछ । तर किन अनि कसरी ? उत्तर छैन उसँग। सबै कुराको ठोस उत्तर हुँदैन पनि। ज्यादै जिज्ञासु भई उत्तरको खेदो गर्छौं हामी । उत्तर नपाए आफै निर्माण गरिदिन्छौं उत्तरजस्तो केही आआफ्ना सीमित बुझाइ र अड्कलको घडेरीमा, अनि त्यो निर्मितिको दैलो बन्द गरिदिन्छौं ड्याम्म ! फुल्स्टप् । कति खतरनाक ! यसरी विचरा ती क्षितिजीय सम्भावनाहरू छट्पटिदै मर्छन् अनकन्टार अन्धकारमा। यस्तो फुल्स्टपहरूसित मेरो झगडा छ सँधै।

     कविता लेख्नु फुर्सदको क्रियाकलाप कहिल्यै होइन, यद्यपि कविता दैनन्दिन जीवनको आधारभूत व्यावहारिकताबाट उब्रेको समयमा नै लेखिन्छ। कागजमा या त डेस्क-टप कम्प्युटर तथा ल्यापटपको स्क्रिनमा अवतरित हुनभन्दा पहिले कविताको भ्रूण > विकासिँदो शरीर कति दिनसम्म आफूभित्रको अदृश्य पाठेघरभित्र बोकेर हिँडिन्छ। लिपिबद्ध भइसकेपछि पनि यौटा हदसम्म चित्त बुझिञ्जेल त्यसलाई मसारमुसुर गरेरै मात्र बाहिर उज्यालोमा निकालिन्छ। कविता लेखनलाई हामी सधैं गम्भीरतापूर्वक लिन्छौं, चाहे लेखिएका आफ्ना कविताहरू अगम्भीर नै किन नहोलान् । त्यो गम्भीरता भन्नु दायित्वशीलता हो । लेखनमा हामी कहिल्यै अनुत्तरदायी हुनसक्दैनौं ।   

     कविता लेख्नु भन्नु प्रथमतः यौटा कला सिर्जनु हो। कला हुनुको पहिलो शर्त पूरा गरेर मात्र यो अरूरू केके बन्न सक्छ। कला तर कहिल्यै स्थावर छैन। प्राचीन स्थापत्यमा कुँदिएको कला पनि स्थीर छैन। त्यो त सँधै प्रवाहमान छ। प्रवाहमान भएकैले कला प्राणवत् छ। अनि कलाले त्यो जीवन्त प्रवाहको अनवरतता प्राप्त गर्छ दर्शक तथा सर्जकको संवेदनशील र सृजनात्मक दृष्टिबाट।

     काव्यकलालाई जीवन्त प्रवाह प्रदान गर्ने सर्जक हो कवि। नव्यताप्रति आग्रही सुदक्ष, प्रयोगशील र जोखिम उठाउनसक्ने कविले नै काव्यकलालाई टड्कारो गरी प्रवाहित गर्नसक्छ। प्रवाह परिवर्तन हो अर्थात् परिवर्तनको प्रवाह जो निरन्तर गतिमान छ। अपरिवर्तन अचलता हो, यथास्थिति हो, प्रकृतिविरुद्ध हो। गतिमानताको गति समात्न नसके आफू पछाडि छाडिएको अर्थात् किनारामा फालिएको पत्तो हुँदैन। परिवर्तनको अनवरत प्रवाहमै छ शाश्वत मूल्य पनि। समयचेतको कुरा यहींबाट उठिआउँछ। आफू बाँचिरहेको समयको स्थूल रुप त प्रत्यक्ष देखिन्छ, तर त्यसको सूक्ष्म रुप, त्यसको धुकधुकी धेरैलाई थाह नहुन सक्छ। ती थाह नहुनेहरू प्रौढ तथा बुज्रुग नै हुन्छन् भन्ने पनि होइन।

कतिपय उमेर मात्रले युवा मानिएकाहरु पनि अघिल्लो पुस्ताको छहारी छोड्न नसकिरहेको हुनसक्छ जब कि कति प्रौढहरू आफ्नै अघिल्लो रूपलाई एकपछि अर्को गर्दै पछिल्तिर छोड्दै समयको पदचाप गाउँदै हिँडिरहेको हुनसक्छ। तर पछिल्लो समयको अर्थात् आगतको सूक्ष्म पदचाप सुन्नु भनेको विगतको स्वरलाई बिर्सनु पटक्कै होइन। अघिल्लो अनेक स्वरलाई सूक्ष्मतापूर्वक नसुनी पछिल्लो स्वरको निर्माण हुनैसक्तैन। समकालीक समयचेत वास्तवमा परम्पराको शृङ्खलाबाट विच्छिन्न हुनु होइन तर त्यै सांस्कृतिक शृङ्खलालाई ताजा शक्ति प्रदान गर्नु हो। चेतनाको सतहमा क्रियाशील रहेर होस् या अवचेतनको अथाह अन्तराग्रहले अप्रत्यक्ष रूपमा अह्राएर होस्, यी मूल्यबोधले हामी पटक पटक नवीकृत हुँदै जान उत्प्रेरित भइरहन्छौं । यस्तो उत्प्रेरणाले नवीकृत हुँदै जाने बाटोमा यात्रारत् कुनै यौटै सर्जकका विविध समयका कविताहरूमा पाठकहरूले स्पष्टतः समकालीनाताका विविध स्वर र विविध रुप भेट्टाउँछन्। वैविध्य मनपर्छ हामीलाई ।

     वैविध्य यहाँ केवल फेशनजस्तो सतही रूपगत भिन्नताको अर्थमा मात्र होइन, तर स्वभावगत भिन्नता बुझाउनलाई छ । हुन त फेशन नै पनि एक प्रकारले यथास्थितिप्रति वैरोध्यको साङ्केतिक भाव प्रकट हो, एक प्रकारको अराजक भाव हो । र यो अराजकता ध्वंशात्मक नभएर सृजनात्मक हो । त्यसैले हेर्दाहेर्दै त्यो फेशन व्यापक बन्दै जान्छ । नवाग्रहीहरूले त्यसलाई स्वागत गर्न अर्थात् स्वीकार्न धक मान्दैनन् भने पहिले पहिले हिच्किचाउनेहरूले समेत पछि बिस्तारै स्वीकार्न थालिसकेको हुन्छ ।

     चित्रकलामा, साहित्यमा, सङ्गीतमा नव्यताको प्रकटीकरण बढी सूक्ष्म किसिमले आएको हुन्छ। र त्यो आएको हुन्छ सर्जकको दृष्टिको फरक परिप्रेक्ष्यबाट जो पुरानिएको या पुरानिँदो प्रचलनबाट विचलित  बनी केही ताजापन ल्याउने उद्यममा हुन्छ । दृष्टिको अर्थात् विचारको त्यै फरक परिप्रेक्ष्यलाई प्रकट गर्नुपर्दा त्यसको भाषा, शैली, रूपमा प्रभाव पर्छ र त्यो त्यस्तो देखिन्छ, त्यस्तो सुनिन्छ । प्रचलितभन्दा एकदम फरक । र यो फरकपनसित सिर्जना एक कदम अघि सरेको हुन्छ ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया