शब्दशिल्प र अपपठन

विज्ञापन

काव्यवृत्त – ६

 

कविताको उही कथ्य अर्कैको आनुभुतिक शिल्पविधानमा लेखिएछ भने त्यो कविता नै अर्कै हुन्छ, उही हुँदैन । त्यसैले यौटै कथ्यलाई सयजना कविहरूले लेखे त्यो सयवटा भिन्दाभिन्दै कविता हुन्छ । यै त हो कविताको शक्ति र सौन्दर्य। व्यक्तिपिच्छे भिन्दै । जब कि पदार्थको विज्ञानसम्मत् परिभाषा जहीं र जतिजनालाई सोधे पनि उत्तर यौटै हुन्छ । यस्तो एकनासेपनको, स्थिरताको, जडताको विपरित रहेकैले सृजनात्मकता कहिल्यै उच्चाटलाग्दो हुँदैन ।


मनप्रसाद सुब्बा


     यौटा संवेदनशील हृदयमा तरङ्गित हुने अनेक भावलहरहरू तथा यौटा मूर्च्छनासित व्युँझेको चैतन्यमा प्रतिबिम्बित सूक्ष्म झलकहरूलाई विशिष्ट रूप र स्वरमा अभिव्यक्ति दिन्छन् कविहरू । तर अभिव्यक्तिको लागि, सुर भने पनि, रङ्ग भने पनि, कविसित शब्द मात्र छ । शब्दहरूमा नै उसले आफ्ना सुरहरू तरङ्गित गर्दै जान्छ, शब्दहरूले नै उ आफ्नो कविता बुन्दै जान्छ । शब्दहरू अनि माथि उठेर अब जीवन्त कविता बन्दछ जसरी ध्वनिहरूको विशेष सृजनात्मक संयोजनले सङ्गीतको सिर्जना हुन्छ, जसरी रङ्ग र रेखाहरूको सृजनात्मक लयान्वितिले चित्र चित्रिन्छ । सङ्गीत-सृजनामा ध्वनिहरूको चयन तिनीहरूको सुरअनुसार गरिन्छ, उसरी नै चित्रकलामा आकृति र रङ्गहरूको टोनको चयन विशेष इच्छित तथा अपेक्षित प्रभावोत्पादकताको निमित्त गरिन्छ । कविहरूले गर्ने शब्द-चयन त्यस्तै एक सृजनात्मक कसरत हो । सर्जकको अन्तरमा, मानसमा तर त्यो अभीष्ट स्वरूपको आभास तथा बिम्ब अघिबाटै बिम्बित भइराखेको हुन्छ । तिनलाई प्रकाशमा ल्याएर प्रकाशमान तुल्याउने कसरतकै एक प्रमुख अङ्ग हो चयन ।            

     शब्दहरूको सृजनात्मक संयोजनबाटै कविताले जीवन्तता प्राप्त गर्छ । कवितामा तरङ्गित यही जीवन्तताले नै कविलाई शब्द-शिल्पी ( वर्डस्मिथ ) मात्र हुनुभन्दा माथि उठाउँछ । कविता लेखनमा शिल्प एक मुख्य तत्व हो, तर शिल्प मात्रले कविता बन्दैन यदि त्यो शिल्प आनुभूतिक स्पन्दनले स्पन्दित छैन भने । आनुभूतिक तरङ्गले कुत्कुत्याएर झक्झकाएर ब्युँझेको शिल्प नै जीवन्त हुन्छ, नत्र शिल्प मार्त्रै त चटक हुनसक्छ चातुर्यपूर्ण । यान्त्रिक मात्र पनि हुनसक्छ चिसो या त सुक्खा । शिल्प कुनै त्यस्तो साँचा ( फर्मा) होइन जसबाट कविता यौटा उत्पादको रूपमा निस्कोस् । कविताको आत्मालाई पछ्याएर आउने हो शिल्प न कि कविताले शिल्पलाई । कविताको अन्तरात्माबाट निःसृत शिल्प नै प्राणवत् हुन्छ । अन्तरमा स्फूरित अनुभूतिले अभिव्यक्तिको आग्रह गरिरहेको विशेष अवस्थामा रूपाकृति लिन खोज्छ शिल्पले । यस अर्थमा शिल्प साधन मात्र होइन तर साध्य नै, कविताको प्राणतत्वसित अक्षुण्ण । त्यो अक्षुण्ण तत्वलाई विच्छिन्न गरी हेरिँदा कविताको हाड़खोड़ मात्र देखिन्छ, कविता देखिँदैन ।

कविताको उही कथ्य अर्कैको आनुभुतिक शिल्पविधानमा लेखिएछ भने त्यो कविता नै अर्कै हुन्छ, उही हुँदैन । त्यसैले यौटै कथ्यलाई सयजना कविहरूले लेखे त्यो सयवटा भिन्दाभिन्दै कविता हुन्छ । यै त हो कविताको शक्ति र सौन्दर्य। व्यक्तिपिच्छे भिन्दै । जब कि पदार्थको विज्ञानसम्मत् परिभाषा जहीं र जतिजनालाई सोधे पनि उत्तर यौटै हुन्छ । यस्तो एकनासेपनको, स्थिरताको, जडताको विपरित रहेकैले सृजनात्मकता कहिल्यै उच्चाटलाग्दो हुँदैन । बरू उच्चाटलाई नै विषय बनाई त्योमाथि प्रभावकारी कविता उभिनसक्छ, र त्यो कविता जहिल्यै पढिरहूँ लाग्दो हुनसक्छ तर कहिल्यै उच्चाटलाग्दो हुँदैन । जीवन बचाइको उच्चाट नै विषय बनेको एक सशक्त कविताले पाठकलाई त्यो उच्चाटप्रति उसको चेतनालाई चस्काइदिनसक्छ, उसको संवेगात्मक तन्तुहरूलाई ब्युँझाइदिनसक्छ र यसो गरेर परोक्षतः त्यो पाठक त्यस्तो मनस्थितिप्रति सचेत रहन प्रेरित भइरहेको हुन्छ । यसरी उच्चाटविषयक कविता आफै नै चाहिं उच्चाटलाग्दो नभएर पाठकलाई पटक पटक आकर्षित गर्ने हुनुको पछिल्तिर त्यसको सृजनात्मक शैल्पिक सौन्दर्य कार्यकर रहेको हुन्छ ।

     सृजनात्मकतामा जीवन हुन्छ । अर्थात् यसो भनौ, जीवन्तता नै सृजनात्मकता हो । र यो जीवन्तता जहाँ जहाँ छ, त्यहाँ त्यहाँ सृजनात्मकता भेटिन्छ । इँट-ढुङ्गा-काठले निर्मित घरलाई ती वस्तुहरूको थुप्रो भनिँदैन, तर भनिन्छ घर । घर यस कारणले कि त्यो जीवनमय हुन्छ । जीवनमय नभए त्यो केवल पौवा-पाटी हुनसक्छ । यौटा कार्यालय तथा संस्थानको चहलपहल पनि घरको जीवनमयता होइन, त्यहाँ यान्त्रिकता बढी हुन्छ । घर भन्नु यस्तो मूल हो जहाँबाट स्नेह र द्रोह, सपना र सङ्घर्ष, विपना र वेदना फुट्दै निस्किरहन्छ । यस्तै जीवनमय घर न हो शब्दहरूले निर्मित कविता ।  

     काव्य र कलाकृतिमा मात्र किन र ? यो जीवनमयता त कहीं पनि देख्न सकिन्छ । यौटा भिरालो पाखाको निधारमा गह्रै-गह्रा काटेर निर्मित खेत-बारीको सौन्दर्यमा त्यो सृजनात्मकता छ जो यौटा कृषकको जीवन्तता हो । त्यो पाखाको निधारमा कविताका हरफ जस्ता गह्राहरू लेख्नु त्यो कृषकको जीवन्त शिल्प हो । जबसम्म त्यहाँ खन-जोत र गोडमेल भइरहन्छ त्यो जीवन्त रहिरहन्छ । कुनै काव्य तथा कलाकृति पनि त्यस्तै हो, जबसम्म त्यसको पठन-पुनर्पठन-विपठन भइरहन्छ तबसम्म त्यो कृति जीवन्त रहिरहन्छ । त्यसैले अपेक्षित हुन्छ सधैं त्यस्ता जीवन्त (सृजनशील) कृषक-पाठकको ।

     जीवन्तता तर एक्लो अर्थात् आत्मकेन्द्रित हुँदैन । आत्मकेन्द्रिततामा जीवन खुम्चिन्छ । खुम्चेको जीवनमा सृजनात्मकता हुँदैन, त्यसैले जीवन्तता हुँदैन । जीवन्तता भन्नु आफूलाई विस्तारित गर्नु हो, आफ्नो दृष्टि फराकिनु हो, सर्वसमावेशिक हुनु हो । बुद्धत्वतर्फ बढिरहेका सिद्धार्थ कहिल्यै ‘आत्मकेन्द्रित’ थिएनन्, उनको अन्तर्मनमा त आफू र आफ्नाहरूभन्दा धेरै पर सारा मानव जगत थियो । त्यसैले उनको समयमा उनी जीवन्तताको उत्कर्ष थिए जसको सृजनात्मक चैतन्यबाट पाएका छौं अद्वितीय कृति सदैव गतिमान-प्रकाशमान बौद्ध दर्शन । पाँच शताब्दीपछि अर्का उदेकलाग्दा जीवन्त पथप्रदर्शक देखा परे मानव संसारमा जसको जीवन्तता क्रसमा टाँगिँएको बेला पनि उस्तै जाज्वल्यमान थियो र प्राण जानअघि क्रसबाटै उनले यौटा जीवन्त कविता बोले – ‘हे पिता! यिनीहरूलाई क्षमा गर, किनकि यिनीहरू अञ्जान छन् ।‘ र, यो कविताको पठन, पुनर्पठन, विपठन विश्वभरि भइराखेको छ निरन्तर ।

     कुनै पनि जीवन्त सृजनात्मक कृतिको पठन-विपठन मात्र होइन, अपपठन पनि हुन सक्छ । मौनताको अँध्यारो सुरुङभित्र अदेख र अश्रुत रहिरहनुभन्दा बरू अपपठनले कमसेकम त्यसको जीवन्तताको आभास दिलाउँछ ।        

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया