
टाइमलाइनमा
सागर पोखरेल, भारतीय जनता पार्टीका दार्जीलिङ जिल्ला युवा अध्यक्ष हुन्। केही दिनअघि उनले छुट्टै राज्य गोर्खाल्याण्डलाई दलदल र चक्रव्युहको संज्ञा दिएका थिए। एकातिर भारतीय जनता पार्टीले गोर्खालाई दिएको बचनलाई न त राजनैतिकरूपले सम्बोधन नै गरिरहेको छ, न त सरकारीरूपले। यस्तोमा बङ्गाल भाजपाले सँधै छुट्टै राज्य विरोधी वयान दिइरहेकै छ। बङ्गाल भाजपा बङ्गालअधिनस्त व्यवस्था नै चाहन्छ। यता गोर्खाका दुइवटा प्रमुख मुद्दा स्थायी राजनैतिक समाधान र 11 जातलाई जनजातिको मुद्दा मेनिफेस्टोमा हालेर राजु विष्टलाई पहाडका दलहरूले संसद बनाएका छन्। सांसदले पनि गोर्खाका मूल मुद्दालाई लिएर खासै केही गर्न सकिरहेका छैनन्। न त भाजपाले नै कुनै गतिविधि गरिरहेको छ। विष्टलाई सांसद बनाएर पठाएपछि पहाडका दलहरू मौन छन्। न त रणनीति बनाइरहेको छ, न त भाजपा वा केन्द्र सरकारलाई दवाब बनाइरहेको छ। यी सबै कुराले भाजपामाथि चरम सन्देह चुलिरहेको बेला भाजपाबाटै सागर पोखरेलको यस्तो वयान आएपछि विभिन्न क्रियाप्रतिक्रिया आइरहेको छ। यहाँ ती नै क्रिया प्रतिक्रियालाई राखेका छौं।
खबरम्यागजिन डेस्क
गोर्खाल्याण्डको विकल्प खोजौं
सागर पोखरेल
इतिहास र एकता
इतिहासदेखि हेर्दै आयौं भने आज एक सय पन्द्रह वर्ष पुरानो माग हो हाम्रो। देश स्वतन्त्र हुन अघिदेखि नै हाम्रो समाजलाई एकताको सूत्रमा बाँधेर राख्न हेतु १९४३ सालमा नै अखिल भारतीय गोर्खालीगको जन्म भएको इतिहास छ।
स्वतन्त्र भारतमा पनि १९७० को दशकसम्म हाम्रो एकता कायम नै थियो। हाम्रो जातीय एकताको वर्चस्व कायम राख्ने गोर्खाली बङ्गालको बङ्गाली समाजमा आँखाको तारो नै भएको थिएछ।
तारो पनि किन नहोस् असंवैधानिक प्रकारले गाभेको भूभागबाट त्यो समयमा पनि पाँच जना विधायक गोर्खालीग दलबाट बङ्गालको विधानसभामा जान्थे। पहाड़देखि मदेस आएर चुनाउ जितेको इतिहास छ।
फाटो र षडयन्त्र
१९७० को दशकदेखि जाति एकतामा फूट हाल्ने षडयन्त्र शुरू भयो। पहाड़देखि मदेस डुवर्स हुँदै आसमसम्मको हाम्रो लामो लहरालाई चुटाउने षडयन्त्र बङ्गालले रणनीतिको साथमा शुरू गऱ्यो।
त्यो रणनीतिको पहिलो काम थियो गोर्खाहरूको एकतामा फाटो ल्याउने बिऊ रोप्नु ।
त्यसैको फलस्वरूप नीलो झन्डा पार्टीको रूपमा बिऊ रोप्यो बङ्गालले । खेताला हाम्रा गोर्खा नै थिए। नीलो झन्डा पार्टीले ‘हामी गोर्खाली होइन नेपाली’ भन्दै प्रचार थालेर कोखको नानी नेपाली, गर्भको नानी नेपाली, पूर्खा हाम्रो नेपाली, हामी सबै नेपाली, गोर्खा भनेको त दासत्वको परिचायक हो …कानपुरे बूट दासत्वको प्रतीक हो … गोर्खाको मेडलमा रगतको दुर्गन्ध आउँछ भन्दै गोर्खाको विरोधमा जनतालाई उचालेको इतिहास छ। बङ्गालको पैसामा गोर्खा एकतालाई तोड़ने दुष्प्रयास थियो यो ।
तबदेखि नै गोर्खा सन्तान राजनीतिको सिकार हुन थालेको हो।
राजनैतिक शिकार
१९८० को दशकमा प्रान्त परिषदले जब कुरा छर्लङ्ग बुझाएर बोल्न र लेख्न थालेपछि बङ्गाल सरकारले गोर्खा जातिबाटै बिकुवा नेतालाई टिपेर प्रान्त परिषद्लाई निमिट्यान्नै पारेको पनि सबैलाई थाहा छ। ‘’बङ्गालमा हामी बस्दैनौं’ ‘बङ्गाल हाम्रो चिहान हो’- भन्ने नारा प्रान्त परिषद्को थियो तर बङ्गालको इशारामा ती नारा लगाउनेहरूलाई साइड लगाएर एक्लो हिरो बन्ने पनि गोर्खा नेता नै थिए ।
दार्जीलिङको गिताङ्गे डाँडाबाट गोर्खाल्याण्डको सपना देखाएर त्यही नेताले जनसमर्थन बटुलेर एक छत्र राज चलायो। पहाड़ तराई डुवर्समा जब जनआन्दोलन चर्कियो त्यो गोर्खा सन्तानको एकता तोड्न चक्रव्यूह रचेर बङ्गालले धेरैको काख रित्तो भयो, धेरैको सिउँदोको सिन्दुर पुछियो धेरै टहुरा बने। अन्त्यमा गएर नङ र मासु जस्तो भएर बसेको डुवर्सलाई त्यागेर दागोपापजस्तो बेकामे व्यवस्थामा कुच्रिनु पऱ्यो।
यसरी फेरि गोर्खा जनतालाई राजनीतिको शिकार बनाइयो।
धोकाको शुरूवात
यो डम्बरू हो बढेर बाघ हुन्छ भनेको डम्बरू घटेर बाघ त होइन बिरालो बनियो।
नेतृत्वले दिएको यो पहिलो धोका हो गोर्खा सन्तानलाई। यसरी बङ्गालको आशीर्वाद पाएर ढाँटेर नै एक्काइस वर्ष राज चलाएकै हो। एक्काइस वर्षभित्रमा देशमा धेरै उतारचढाव आयो। तीनवटा त नयाँ राज्य पनि बनियो तर गोर्खे नेतृत्व भने कानमा तेल हालेर आँखामा पट्टी बाँधेरै बसे। गोर्खाल्याण्डको कुरा उठाउनेहरूलाई षड्यन्त्र गरेर जेलमा नै सडाइयो । २००७ मा नयाँ नेता निस्केर गोर्खाल्याण्डको जनआन्दोलन फेरि शुरू भयो । चौंवालीस महिनाको आन्दोलन फेरि बिक्यो बङ्गालको हातमा अनि थाप्यो अर्को हावा मिठाई जिटिए । बिस्तारै जनताले बुझे, यो आन्दोलन पनि सरकारले नै गराएको थिएछ भन्ने कुरा।
हत्या र नाटक
यसको भेद खोल्ने नेता मदन तामङको दिन दहाडे हत्या गरियो। त्यो चौंवालीस महिनाको आन्दोलनले ल्याएको लेसलाई नै देखाएर नेताहरूले जुत्ता पनि आउँछ एक दिन भनेर ढाँटे। तर जुत्ता आएन । २०१३ मा पहाड़ फेरि १८ दिन बन्द भयो अनि यो लेस चाँहिदैन भनेर फर्काएको जस्तो पनि गरे। तर केही दिनलाई मात्र। फेरि त जैसे थे।
यस्तो नाटकले जनता वाक्क भइसकेका थिए। तर गोर्खालाई कमजोर बनाउने ताकतहरू भने पहाड़मा सक्रिय थिए। त्यही विभिषणहरूले बङ्गालको नेतृलाई गोर्खालाई जात-जातमा फुटाउने मन्त्र बताएपछि त पहाड़मा पहिरो चल्यो। हामी फेरि शिकार भयौं राजनीतिको।
गोर्खा सन्तानलाई त्यान्द्रा त्यान्द्रा बनाएर भाग लगाइयो। त्यहाँ पनि हिसाब किताब नमिलेपछि नयाँ मोडमा आयो राजनीति। यसरी पहाड़ जुर्मुराएर उठ्दा नेतागिरी गर्नेहरूले गर्दा ख्याल ख्यालमा नै १०५ दिनको बन्द समेत भयो।
फेरि पनि शिकार
केन्द्रमा पूर्ण बहुमतको सरकार हुँदाहुँदै पनि केन्द्र चुईंसम्म पनि बोलेन। यता नेताहरूमा होडबाजी लाग्न थालेको थियो त्यो लेस चैं कस्ले हात पार्ने भनेर। बङ्गालका ती षड्यन्त्रकारीहरूलाई सबै थाहा थियो अब के गर्नु पर्छ भनेर। त्यही गरिदियो।
आज आएर भन्न थाले, कसैले हाम्रो छातीमा टेकेर पहाड़मा धलिमलि नगर यो खेल त १९७० को दशकदेखि नै हुँदैछ। त्यो समयमा कलकत्तामा बसेर षड्यन्त्र रच्थे भने अहिले घरभित्र नै बसेर काम गर्दै आइरहेको छ। कोही मितेरी साइनोमा काम गर्दैछन् भने कोही ज्वाइँ चेला भएर त कोही गोर्खे टोपी लगाएर हामीलाई तहस-नहस पार्ने रणनीतिगत काम गर्दैछन्।
राजनीतिको शिकार भएका जाति हौं हामी।
अब विकल्प खोजौं
अब यो गोर्खाल्याण्डको चक्रव्यूहबाट बाहिर निक्लौं। यो दलदलमा नफसौं। कसरी हुन्छ भारतभरि छरिएर बसेका हाम्रो सन्तानको भविष्य सुरक्षा भन्ने दिशामा काम गरौं। ती वैकल्पिक बाटाहरू खोजेनौं भने गोर्खा सन्तान पीढी दर पीढी यसरी नै राजनीतिक शिकार मात्र हुनेछौं।
सरकारको शिकार नेता, नेताको शिकार निमुखा जनता र जातिको लागि केही गर्ने सोचमा हिँडेका युवाहरू मात्र होइन गोर्खा संस्कार संस्कृति नै शिकार भएको हुनेछ।
यो खेल कहिले समाप्त हुन्छ?
जब एक्काइसौं शताब्दीको गोर्खाल्याण्ड चक्रव्यूह भयो हामीलाई। गोर्खा सन्तानको राष्ट्रिय चिन्हारी खुटयाउने अरू माध्यम पनि सम्भव छ कि? खोजी गरौं न। नभए हामी सधैं यसरी नै पटक-पटक ठगिने छौं ।
गोर्खा सन्तानको युवा राजनीतिज्ञ साथीहरू हो, हाम्रो सोचाइ देशभरि छरिएर बसेका गोर्खा सन्तानको लागि हुनपर्छ कि दार्जीलिङ पहाड़को लागि मात्र?
यदि देशभरि छरिएर बसेका गोर्खा सन्तानको लागि नै सोच्ने हो भने नयाँ प्रकारले सोच्नै पर्छ। यो समय को माग पनि हो। नेताहरूले यो काम गर्ने छैनन् कारण उनीहरूलाई त गोर्खाल्याण्डको दोकान चलाएर सत्ता र धन कमाउनु छ। जनतालाई आफ्नु शिकार बनाउँदै सरकारले फ्याँकेको हड्डी चुस्दै नेतागिरी गर्नुमा नै मस्त छन् उनीहरू। सोचौं है साथी हो!
भाजपाले स्पष्टिकरण दिनुपर्छ
बी० पी० बजगाईं
भारतीय जनता पार्टीका कालेबुङ-दार्जीलिङका युवा अध्यक्ष सागर पोखरेलले एउटा स्थानीय समाचार पत्रलाई दिएको विज्ञप्ति २२ अगस्त २०२० -को समाचारपत्रमा पढेपछि मथिङ्गल मन्थन त हुने नै भयो। हुन त उनले यदि जनता भएर सोधेको भएदेखि केही जायज सवाल गरेका छन् तर नेता भएकोले ती प्रश्नहरूमा प्रश्न उभिनु स्वाभाविक हो। पोखरेलका केही बुँदा अनि त्यस सम्बन्धमा गर्नैपर्ने सवाल यहाँ नराखी भएन।
भाजपा युवा अध्यक्ष सागर भन्छन्: यो गोर्खाल्यान्डको चक्रबाट बाहिर निस्कौं।
हामीले सोध्नैपर्छ: हामी बङ्गालबाट जमीनसँगै मुक्ति चाहन्छौं। गोर्खाल्याण्डको चक्रबाट बाहिर निस्कनु भनेको बङ्गाल विभाजनको पक्षमा नै हो भन्ने कस्तो ग्यारेन्टी भाजपासँग छ? के यो वक्तव्य बगाल बीजेपीको गोटी होइन?
भाजपा युवा अध्यक्ष सागर भन्छन्: अन्य वैकल्पिक बाटो खोजेनौं भने गोर्खे सन्तानको भावी पीढ़ी राजनैतिक शिकार मात्र हुनेछन।
हामीले सोध्नैपर्छ: गोर्खाल्यान्डको अन्य वैकल्पिक बाटो के हो त्यो भाजपाले स्पष्ट पारोस् अनि त्यो हाम्रो आकांक्षा अनुरूप भए ग्यारेन्टी बोकेर मात्र पहाड, तराई अनि डुवर्समा भोट माग्न आवोस्। किनभने गोर्खे सन्तानको भावी पिँढ़ीको त कुरा कता हो कता, वर्तमान नै लथालिङ छ।
भाजपा युवा अध्यक्ष सागर भन्छन्: सरकारको शिकार नेता, नेताको शिकार जनता बनेका छन्।
हामीले सोध्नैपर्छ: हो हामी दुवै सरकारबाट राजनैतिक शिकार बनाइएको प्राणीहरू हौँ। राज्यको बारेमा अरूलाई सोधौंला, किनभने त्यो तपाईंको परिधिभित्रको कुरा होइन। तर बारम्बार हाम्रो भावना बोकेर त्यसलाई फर्काउने निहुँमा हामीलाई अचाहिँदो म्याराथन कुदाउने भूल केन्द्रले गरेको स्थितिमा तपाईंले पार्टीमा बसेर कस्तो कदम चाल्नुभएको छ?
भाजपा युवा अध्यक्ष सागर भन्छन्: गोर्खा सन्तानको राष्ट्रिय चिन्हारी खुट्याउने अरू माध्यम पनि सम्भव छ कि? खोजी गरौँ।
हामीले सोध्नैपर्छ: जब गोर्खा सन्तानको राष्ट्रिय चिन्हारी खुट्याउने माध्यम नै भारतीय जनता पार्टीसँग छैन भने हामीलाई अहिलेसम्म ढाँटेकोमा अब हामीले तपाईंहरूलाई विश्वास गर्ने आधार के बाँचेको छ? के युवा अध्यक्ष सागरज्युको यो वक्तव्य कोलकातामा ड्राफ्ट गरिएको हो?
सबै बुँदा पडेपछी एउटा गुरू प्रश्न पनि मेरो मस्तिष्कमा आएको छ। त्यो यस्तो छ-
“के कालेबुङ-दार्जीलिङका भाजपा युवा अध्यक्ष सागर पोखरेलको यो विज्ञप्ति भारतीय जनता पार्टीले चुनाव अघि गोर्खा राजनीतिको PULSE TEST गर्नलाई गरेको सुनियोजित वयान त होइन?”
यदि हो भने खतरा हो।
यसैले मेरा यी प्रश्नहरूका स्पष्टिकरण सागर पोखरेल स्वयम्, भाजपा राज्य अध्यक्ष दिलिप घोष अनि सांसद राजु विष्टले आ-आफ्नो स्तरमा दिनुपर्नेछ भन्ने आग्रह गर्दछु। हामीले हामी भएर बाँच्ने अधिकारको राजनीति गर्दैछौं, कुर्सीको राजनीति गरिरहेका छैनौं। यो मित्रवत व्यवहारमा गरिएको आग्रह हो।
भाजपाले बिस्तारै आफ्नो द्वैत चरित्र देखाएको हो?
अरूण घतानी
“अब गोर्खाल्याण्डको चक्रब्यूहबाट बाहिर निस्कनु पर्छ” भन्ने भाजपा युवा मोर्चाका नेता सागर पोखरेलको वक्तव्यलाई कठोर भाषामा खण्डन गर्छु। गत २०१९ को लोकसभाको चुनावमा दार्जीलिङ पहाडका सम्पूर्ण गोर्खाल्याण्डपन्थी राजनैतिक दलहरूसँग गठबन्धन गरेर भाजपाले चुनावी वैतरणी पार गरेको हो। उक्त चुनाव अघि भाजपाका शीर्ष नेताहरूसँग भएको उच्च स्तरीय बैठकहरू वापद चुनावी सङ्कल्प पत्रमा ‘दार्जीलिङ तराई डुवर्सका गोर्खाहरूको स्थायी राजनैतिक समाधान’ गरिने प्रतिबद्धता जाहेर गरिएको छ।
उनीहरूको राजनैतिक बाध्यताको कारण स्पष्ट रूपमा गोर्खाल्याण्ड गठनको कुरा उल्लेख गर्न नसकेपनि भाजपाको मूलनीतिमा स-सानो राज्य गठन स्पष्ट अवधारणा रहेको जनाएको हो। स्थायी राजनैतिक समाधान छुट्टै राज्य गोर्खाल्यान्ड नै रहेको कुरामा केन्द्रीय नेतृत्व सहमत भएपछि नै गठबन्धन भएको हो। तथा चुनावमा रेकर्ड भोटले भाजपा गठबन्धन विजयी बनियो। भाजपाका शीर्ष नेताहरू जसवन्त सिंह, सुषमा स्वराज, राजीव प्रताप रूडी सम्मले संसद भित्र र बाहिर स्षष्ट रूपमा गोर्खाल्याण्डको वकालत गरेका हुन्।
देशका प्रधानमन्त्री श्री नरेन्द्र मोदी स्वयंले गोर्खाको सपना मेरो सपना भनेर समस्त गोर्खाहरूलाई आश्वस्त पारेका हुन्। तीन तीन पल्ट दार्जीलिङ लोकसभा आसनबाट गोर्खाल्याण्डको मुद्दामा जीत हासिल गरेर जाने भाजपाको दार्जीलिङमा आफ्नो त कुनै अस्तित्व छैन। गोर्खा जातिकै सहानुभूतिले बङ्गालमा खाता खोल्ने भाजपाले बिस्तारै आफ्नो द्वैत चरित्र देखाएको हो?
बङ्गालका भाजपा नेताहरू दिलिप घोष र राहुल सिन्हाको भाषा बोल्ने सागर पोख्रेलको वक्तव्य निन्दनीय छ। देशभरिका गोर्खाहरूलाई थाहा छ गोर्खाल्यान्ड हाम्रो जीविकासित होइन जीवनसित जडित माग हो । भारतीय सङ्घमा राष्ट्रिय चिन्हारीको सर्वनिम्न एकाई नै बङ्गाल बाहिर अलग राज्यको स्थापनाले दिन्छ। अन्य कुनै विकल्पले गोर्खा अस्तित्व र चिन्हारी पूरा गर्दैन।
गोर्खाल्यान्डको चक्रव्यूहबाट बाहिर निस्कनु पर्छ भन्ने बयान गोर्खा चिन्हारी र अस्तित्व विरोधी हो।
सत्तामा बसेका राजनैतिक दलहरू भाजपा, तृणमुल, माकपा, कङ्ग्रेस पार्टीहरूले क्षेत्रीय केही दलहरूलाई उनीहरूको इसारामा चलाए पनि भारतीय गोर्खाहरू सञ्चालित छैनन्। गोर्खाल्याण्डको माग कुनै विशेष राजनैतिक दलको पेवा पनि होइन। गोर्खा समुदायलाई धोका दिएको वा स्वंय बङ्गालको सत्ता मोह चक्रव्यूबाट ननिस्किएको खण्डमा यस चोटी २०२१ को विधान सभा चुनावमा गोर्खा बाहुल उत्तर बङ्गालबाट शुन्यमा झर्नेछ।
पोखरेलको वक्तव्य गठबन्धन धर्म बिरूद्ध छ। भाजपाले यस वक्तव्यबारे स्पष्टीकरण दिनुपर्छ । यस्ता टपर्टुइया बयानले १.५ करोड भारतीय गोर्खाहरूको सयौँ वर्ष लामो आन्दोलनलाई आघात पुगेको छ। स्वंय गोर्खा भएर गोर्खा जातिको भावना बिरोधी बयान दिएर आघात पुऱ्याएको छ। यस्ता जातिभित्रकै मिरजाफर प्रवृति भएको व्यक्तिहरूको राजनैतिक स्वार्थको कारण गोर्खाल्यान्ड हासिल हुन विलम्ब भएको हो ।
भारतको संविधानमा पूर्ण आस्था राख्दै भारत सरकारले एकदिन अवश्य गोर्खाल्यान्ड दिन बाध्य हुनेछ भन्ने कुरामा गक्रायुमो विश्वस्त छ।
भाजपाले यस्ता नेताहरूको बयानबाजीमा अङ्कुस नलाए गठबन्धनमा फाटो आउने अवश्यमभावी छ। भाजपाको यो भ्रामक र समस्या समाधानको जिम्मेवारीसित भाग्ने प्रयास गर्दै सागर पोखरेल जस्ता छोटा कदका नेतालाई बयानबाजी गर्न खुल्ला छोडनु पनि निन्दनीय छ, हाम्रो सङ्गठन कडा शब्दमा विरोध गर्दछौं।
भाजपाको पिपिएस के रहेछ, उदाङ्गो भयो
केशवराज पोख्रेल
दार्जीलिङ भाजपा युवा नेता सागर पोख्रेलले पनि दिलीप घोष, विजयवर्गी जस्तै बोल्न थाले। गोर्खाल्याण्ड दल दल हो। गोर्खाल्याण्डको विकल्प पिपिएस हो। जिल्ला तहको नेताले आफू खुशी यस्तो बयान दिँदैन। यो भाजपाको बयान हो। यो सांसदको बयान हो। भाजपाको पीपीएस अब उदाङ्गो भयो। भाजपाको निम्ति गोर्खाल्याण्ड कमल फुलाउने दल दल मात्र हो। भाजपाले आफ्नो सङ्कल्प पत्रमा लेखेको पीपीएस, गोर्खाल्याण्ड कदापि होइन। सागर पोख्रेलको सत्य बयानदेखि बहस हटाउन नै सांसद राजु विष्ट नयानयाँ विज्ञप्ति जारी गरिरहेका छन्।
कहिले सम्म जनतालाई भ्रममा राख्ने? भाजपाको झुट जनताले थाहा पायो।
भाजपा नेता सागर पोखरेल मुर्दावाद
पुरण छेत्री
६ अक्टोबर २०१७ को दिन भाजपाका पश्चिम बङ्गाल सभापति दिलिप घोष अनि उपसभापति जय प्रकाश मजुमदारहरूलाई दार्जीलिङ जिटिएनएस भवनमा सभा गर्न दिइएन। धक्का मुक्की र ठेलाठेल बिच भाजपा दार्जीलिङ जिल्लाका युवा सभापति सागर पोखरेललाई बिनय तामाङ समुहका केटाहरूले लडाई-लडाई कुटेको दृश्य सबैले देखे। यो एउटा हिंसात्मक दृश्य थियो। भाजपासँग हाम्रो मन अमिलो भए पनि आफ्नै दाज्यु-भाइ कुटाकुट नगरौं भन्ने सुझावहरूनै धेर देखियो।
२००९ देखि गोर्खाल्याण्ड देलान् भन्ने आशामा ससाना राज्यहरूको पक्षधर रहेका भाजपालाई दार्जीलिङका जनताले विश्वासको मत दिइरहे। २०१७ को भाषा आन्दोलन अलग राज्यको आन्दोलन बनेपछि पश्चिम बङ्गाल सरकारले भकाभक गोर्खाहरूलाई गोली ठोक्न थाले। डल्ले खोर्सानी र सुख्खा रोटी बाकेर जुलुसमा आउने गोर्खाल्याण्ड समर्थकहरूलाई आतङ्कवादी भन्दै गोली ठोक्दा, आफ्नै सरकार र आफ्नै सांसदले मुख थुने। देशको भाजपा सरकारले आँखामा पट्टि लगाए। हामीले मागेको गुहार सुन्नेबेला कान थुने। आज पर्यन्त १०५ दिनको बन्दमा भएका आफ्नै मतदाताहरूको निर्मम हत्याको जाँच गर्न एउटा समिति धरि बनाउन सकेन लाछी भाजपा सरकारले। यहाँ भाजपाले संवेदनशीलता हराएका छन्। यही जन आक्रोसनै हुन सागर पोखरेलहरूको धुलाई।
जनसपना गोर्खाल्याण्डकै निम्ति हो जनताले जसवन्त सिंहदेखि लिएर आज सांसद राजु विष्टसम्मलाई अपार मत दिएर जिताएका छन्। यसै दलको युवा नेता सागर पोखरेल आज भन्छन्, गोर्खाल्याण्ड एउटा दलदल हो। उनको हालै जारी गरिएको एउटा भिडियो हेरे पछि निम्न प्रश्नहरू सोध्ने पर्ने हुन्छ।
१. हामी राजनैतिक सिकार भएका छौं।
प्रश्न- के हामीमाथि तपाईँको दलले राजनैतिक सिकार खेलिरहेका छ? छैन भने कसले कसरी खेलिरहेका छ?
२. ११५ वर्ष भयो हाम्रो माग।
प्रश्न- ११५ वर्ष किन भइरहेको छ? हामीले तीनपल्ट त तपाईँकै दललाई नै जिताएका छौं। केन्द्रमा तपाईँकै दलको सरकार छ। जिल्लामा तपाईँकै सांसद छन। फेरि हाम्रो माग किन सुन्दैन तपाईँको दल र सरकारले? गोर्खाल्याण्डको पक्षमा तपाईँको दलले कति चोटी वार्ता डाक्यो?
३. गोर्खा भनेको दासत्वको प्रतीक हो।
प्रश्न- कानपुरे बुटसँग हाम्रो पुर्खाको इतिहास जोडिएको छ। देश सेवा गर्न सिमानामा खट्नु कसरी दासत्वको प्रतिक भयो? भाजपाले नेपाली भनेको जाति बुझ्छ कि नागरिकता?
४. नेताहरूले हामीलाई थाङ्नामा सुताउँदैछन।
प्रश्न- हामीलाई थाहा छ बङ्गालले हामीलाई टुक्रा-टुक्रा पारेर, पैसा छरेर थाङनामा सुताएर राज गरिरहेका छन्। भाजपा र केन्द्र सरकारले चाहीँ कुन चाहीँ डनलपमा सुताएको छ हामीलाई?
५. गाउँ घरमा लेस बढेर जुत्ता हुन्छ भने।
प्रश्न- यो भनाई कुनै नेताको होइन। २०११ मा बिमल गुरूङले जिटिए थाप्दा वरिष्ठ नाटककार सिके श्रेष्ठज्युले गर्नु भएको व्यङ्ग्य हो। हामीले मागेको जुत्ता हजुरको सरकारसँग छ। आफ्नै सरकारलाई ‘देउ’ भन्न सक्नुहुन्छ?
६. गोर्खाल्याण्ड दलदल हो।
प्रश्न- यही दलदलमा कमल फुल्दा हजुर खुशी भएको होइन? आज आएर दलदलले टाउको दुखाएको हो? लिन मात्र हात फैलाउने भाजपा दिन भने पछि यति चुईयाँ किन?
७. यो काम पहाडे नेताहरूले गर्ने छैनन।
प्रश्न- जसवन्त सिंह र एसएस आहलुवालिया कुन पहाडका थिए र हाम्रो काम गरेनन्?
८. पटक-पटक ठगिएका छौं, नयाँ प्रकारले सोच्न पर्छ।
प्रश्न- गोर्खाका सपना मेरा सपना पनि ठगेकै हुन त? किन पटक पठक ठग्दैछन् त हजुरको सरकार र भाजपाले हामीलाई? नयाँ प्रकारले सोच्नु पर्छ भन्नुको मतलब नयाँ सोच र नयाँ बिचारलाई हजुरको समर्थन हो?
वर्तमान अवस्थामा, यो केवल मेरो मात्र प्रश्न होईन। यो प्रश्न प्रत्येक गोर्खाल्याण्डप्रेमीको मनमा उठेको प्रश्न हो। यसको जवाब सामाजिक सञ्जालमै दिनुहोला ताकी गोर्खाल्याण्ड प्रेमी प्रत्येक मुटुले हजुरको जवाब सुन्न सकुन्। जवाब नदिने र हजुरले पनि हामीमाथि राजनैतिक शिकार मात्र खेलेको हो भने एकदिन डम्बरचोकमा एउटा आवाज अवश्य गुञ्जने छ- सागर पोखरेल मुर्दावाद।