कालेबुङ अस्पतालको लापारवाहीले फैलाउँदैछ कोरोना

विज्ञापन

विष्टले प्रश्न उठाएका छन्, जिल्ला अस्पताल चिकित्सा सुपरिन्टेन्डेन्टबिना कसरी सञ्चालन हुन सक्छ? यद्यपि कालेबुङमा तीनजना डेपुटी सिएमओएच छन्, तर जिल्लामा स्वास्थ्य तन्त्र पूर्णतया भताभुङ्ग स्थितिमा छ। टिस्टाकी मृतकमा पाइएको कोरोना पोजिटिभको रिपोर्टबारे परिवारलाई नबताउनु अधिकारीहरूको लापारवाही रहेको भन्दै विष्टले अधिकारीहरूको लापारवाहीले  मृतकका परिवारका सदस्यहरूलाई मात्रै होइन, समस्त गाउँलाई पनि कोभिड सङ्क्रमणको खतरामा पुऱ्याएको बताएका छन्।


कालेबुङ, 24 अगस्त


प्रशासनिक त्रुटीहरूले गर्दा अस्पताल र चिकित्सा केन्द्रहरू कोभिड-१९ का हटस्पटहरू बनिरहेको दार्जिलिङका सांसद राजु विष्टले दाबी गरेका छन्। कालेबुङ अस्पतालतिर लक्ष्य गर्दै विष्टले अस्पतालबाट नै सामुदायिक संक्रमणको ठूलो खतरा देखिएको जनाएका छन्।

उनीअनुसार अनेकौँ नर्स, डक्टर र अन्य चिकित्सा कर्मीहरूलाई कोभिड सङ्क्रमण लागेको छ तर उनीहरूलाई यथोचित सुरक्षा उपायहरू र निर्देशन बिनानै काम गर्न बाध्य गरिराखिएको छ।

कालेबुङबाट आफूलाई धेरै गुनासो पुगेको भन्दै विष्टले जिल्लाका शीर्ष चिकित्सा अधिकारीहरू काममा नै नआएको आरोप पनि लगाएका छन्।

विष्टअनुसार कालेबुङ जिल्ला अस्पतालका वर्तमान मेडिकल सुपरिन्टेन्डेन्टलाई कोभिड अस्पतामा सरुवा गरिएपछि नयाँ चिकित्सा सुपरिन्टेन्डेन्टको नियुक्ति नै भएको छैन। वर्तमानमा, राम्बी ब्लकको बिएमओएच लाई चिकित्सा सुपरिन्टेन्डेन्टको रूपमा नियुक्त गरिएको थियो, तर उनी आफै कोभिड पोजेटिभ बनेका छन्। उनी अहिले उपचाराधिन छन्।

विष्टले प्रश्न उठाएका छन्, जिल्ला अस्पताल चिकित्सा सुपरिन्टेन्डेन्टबिना कसरी सञ्चालन हुन सक्छ? यद्यपि कालेबुङमा तीनजना डेपुटी सिएमओएच छन्, तर जिल्लामा स्वास्थ्य तन्त्र पूर्णतया भताभुङ्ग स्थितिमा छ। टिस्टाकी मृतकमा पाइएको कोरोना पोजिटिभको रिपोर्टबारे परिवारलाई नबताउनु अधिकारीहरूको लापारवाही रहेको भन्दै विष्टले अधिकारीहरूको लापारवाहीले  मृतकका परिवारका सदस्यहरूलाई मात्रै होइन, समस्त गाउँलाई पनि कोभिड सङ्क्रमणको खतरामा पुऱ्याएको बताएका छन्।

विष्टको दाबीअनुसार कालेबुङ जिल्ला अस्पतालको पुरुष वार्डमा जो कोरोना सङक्रमित भेटियो, उनलाई कोभिड अस्पताल लैजान एम्बुलेन्सको व्यवस्था नै थिएन। प्रशासनको तर्फबाट यस्तो लापरवाही नागरिकहरूका स्वास्थ्य र कल्याणप्रति उदासीनता स्वीकार्य नरहेको विष्टले जनाएका छन्।

यसैबीच उनले कोरोनासित लड्न केही उपायहरू सुझाएका छन्। विष्टले सबै अस्पतालहरूमा ऱ्यापिड टेस्टको सुविधा र आइसोलेशन वार्डहरूको व्यवस्था गरिनु पर्ने बताएका छन्,  जसबाट सबै रोगीहरू सम्बन्धित वार्डहरूमा सार्नुभन्दा पहिला कोभिड जाँच सुनिश्चित हुन सकोस्।

आइसोलेशन वार्डहरूमा कोभिडका सन्दिग्ध रोगीहरूको सेवामा संलग्न स्वास्थ्य कर्मी र डक्टरहरूलाई यथोचित सुरक्षा एवम् बचाव किटहरू उपलब्ध गराइएकै हुनु पर्ने पनि विष्टले बताएका छन्।  पीपीई किटहरू डक्टर र नर्सहरूलाई मात्रै होइन, टेक्निसिएनहरू, सहायकहरू र सफाई कर्मीहरूलाई समेत उपलब्ध गराइनु पर्ने उनको माग छ।

अस्पतालहरूलाई यथोचित अक्सिजन सिलेन्डरहरू उपलब्ध गराइनु पर्ने,  प्रशासनले रोगीहरूका लागि थप बिस्तराहरूको व्यवस्था गर्नु पर्ने, पुराना जर्जर अवस्थामा रहेका ट्याक्सीहरूको स्थानमा यथोचित अक्सिजन सिलेन्डरहरू र आवश्यक चिकित्सा उपकरणहरू फिट गरिएका एम्बुलेन्सहरूको प्रयोग गरिनु पपर्ने पनि विष्टले जनाएका छन्।

प्रभावित वार्डहरूमा मात्रै होइन, सम्पूर्ण अस्पतालको यथोचित स्यानिटाइजेशन गरिनु पर्ने, आवश्यकता परे, समग्र अस्पताल क्षेत्रको स्यानिटाइजेशनको लागि दमकल विभागबाट मद्दत माग्ने सल्लाह पनि दिएका छन्।

वरिष्ठ पदहरूमा कमसेकम स्थानीय मानिसहरू र भाषासित परिचित डक्टरहरूलाई ल्याउने प्रयास गरिनु पर्ने भन्दै विष्टले  यसो गरेमा स्टाफ र जनताबिच प्रभावी र राम्रो संवाद सुनिश्चित गर्नमा मद्दत मिल्ने बताएका छन्।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया