लङ्भिउ श्रमिक भोकहड्तालमाथि बोले सांसद : गरे बङ्गाल सरकारलाई प्रश्न

विज्ञापन

‘मैले भारतीय चिया बोर्डलाई पनि केही चिया बगान कम्पनीहरूद्वारा भविष्य निधि कोषमा योगदान जम्मा नगराइएका कारणहरूको जाँच गर्न तथा त्यो तत्काल जम्मा होस् भनी सुनिश्चित गर्न निवेदन गरेको छु,’ विष्टले भनेका छन्, ‘म पश्चिम बङ्गाल सरकार, दार्जीलिङ्ग प्लान्टर्स एशोसिशन तथा सबै श्रमिक सङ्गठनहरूलाई लङ्गभिउ चिया बगानको मामिलाको यथाशीघ्र समाधान निम्ति वार्तालाप थाल्न अनुरोध गर्दछु।’


कालेबुङ, 24 अगस्त


दार्जिलिङका सांसद राजु विष्टले लङ्गभिउ चिया बगानका श्रमिकहरूले आफ्ना अधिकारहरू निम्ति गरिरहेका क्रमिक भोक हड़तालको विषय लिएर चिन्ता व्यक्त गरेका छन्। चिया बगान प्रबन्धनले श्रमिकहरूसँग वार्तालाप गरेर वर्तमान सङ्कटको समाधान खोज्नुको साटो बगानमा तालाबन्दी घोषणा गरेपछि आफू व्यथित बनेको विष्टले विज्ञप्ति जारी गरेर बताएका छन्।

पश्चिम बङ्गाल सरकारको श्रम विभागले आफू स्वयं हस्ताक्षरकर्ता रहेको चिया बगान मालिकहरू र चिया बगान श्रमिकहरूबिच भएका सम्झौताहरू आजसम्म लागू नगर्नाले श्रमिकप्रतिको उदासीनता र अवहेलना उदाङ्गो भएको विष्टको दाबी छ।

‘सन् २०१९ मा पश्चिम बङ्गाल सरकारले नै वार्षिक बोनसको आंशिक-भुक्तानीको निम्ति सबैलाई सहमत गराएको थियो, तर आजसम्म पनि दार्जीलिङ्ग पहाड़, तराई र डुवर्समा केही चिया बगानहरूले बोनसको दोस्रो किश्ता भुक्तान नगरेको स्थितिमा पनि पश्चिम बङ्गाल सरकार  किन मौन छ?,’ विष्टले प्रश्न गरेका छन्, ‘आजसम्म यो बोनसको भुक्तानी गर्न पश्चिम बङ्गाल सरकारले किन कुनै पाइलो सारेको छैन?’ 

केही चिया बगानहरूले आफ्नो हिस्साको भविष्य निधि (पिएफ) योगदान जम्मा नगराएको परिणामस्वरूप उमेर पुगेका श्रमिकहरू आफ्नै बचत र जीवन धान्ने स्रोतबाट वञ्चित भएको विष्टको दाबी पनि छ। ‘यस्तो विकट स्थितिमा पनि पश्चिम बङ्गाल सरकारको श्रम विभाग, श्रमिकहरूका अधिकारहरू खोसिँदा पनि चुपचाप बसिराख्नु दुःखद र आक्रोशपूर्ण छ,’विष्टले भनेका छन्।

आफूले लङ्गभिउ चिया बगानको सङ्कट, केही चिया बगान कम्पनीहरूद्वारा भविष्य निधि कोषमा आफ्नो हिस्साको योगदान जम्मा नगराइनु तथा सम्बन्धित अन्य मामिलाहरूतर्फ श्रम एवम् रोजगार मन्त्री सन्तोष गङ्गवार तथा वाणिज्य मन्त्री पीयूष गोयलको ध्यानाकर्षण गरेको दाबीसमेत गर्ने विष्टले  यी मामिलाहरूको समाधान निम्ति तत्काल हस्तक्षेप गर्ने माग गरेको पनि जनाएका छन्।

‘मैले भारतीय चिया बोर्डलाई पनि केही चिया बगान कम्पनीहरूद्वारा भविष्य निधि कोषमा योगदान जम्मा नगराइएका कारणहरूको जाँच गर्न तथा त्यो तत्काल जम्मा होस् भनी सुनिश्चित गर्न निवेदन गरेको छु,’ विष्टले भनेका छन्, ‘म पश्चिम बङ्गाल सरकार, दार्जीलिङ्ग प्लान्टर्स एशोसिशन तथा सबै श्रमिक सङ्गठनहरूलाई लङ्गभिउ चिया बगानको मामिलाको यथाशीघ्र समाधान निम्ति वार्तालाप थाल्न अनुरोध गर्दछु।’

विष्टअनुसार चिया उद्योगलाई जिउँदो राख्नु हो भने श्रमिकहरूका लागि उच्च जीवनस्तर र स्वस्थ कार्य वातावरण सुनिश्चित गर्नु जरूरी छ। यसका लागि उद्योगका प्रमुखहरू, सरकार र श्रमिकहरू एकजुट भई साझा आधार खोज्ने दिशामा अग्रसर हुनुपर्छ।

‘श्रमिकहरू वा चिया बगान मालिकहरूलाई वर्तमान मतभिन्नता र समस्याहरूको समाधान गर्नमा कुनैपनि समयमा मेरो संलग्नताको खाँचो भएमा, हरसम्भव प्रयास र सहयोग गर्न म सदैव तत्पर छु,’ विष्टले भनेका छन्, ‘हामी एकजुट भएमात्र हामीले हाम्रो चिया उद्योग र यससित सम्बन्धित सबैको उज्ज्वल भविष्य सुनिश्चित गर्न सक्छौँ।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया