डा. ग्राहम्स होम्सका अभिभावकोको पक्षमा उभिए सांसद : ममता व्यानर्जी, पार्थ च्याटर्जी र डा. ग्राहम्स होम्स स्कूल बोर्ड अफ गभर्नर्सलाई लेखे पत्र

विज्ञापन

मैले माननीय मुख्यमन्त्री, शिक्षामन्त्री र डा. ग्राहम्स होम्स स्कूल बोर्ड अफ गभर्नर्ससित विद्यार्थीहरूका हितलाई सर्वोपरी राख्दै स्कूल प्रबन्धन र शिक्षकहरूबिच वेतनसम्बन्धी विवादलाई यथाशीघ्र सौहार्दपूर्वक समाधान गर्न आवश्यक पाइलो सार्ने अनुरोध गरेको हुँ,’ विष्टले भनेका छन्, ‘शिक्षकहरूका मागको चाँड़ो समाधान हुनेछ, र कक्षाहरू फेरि सुचारू ढङ्गले शुरु हुनेछन् भन्ने मलाई आशा छ।


कालेबुङ, 25 अगस्त


दार्जीलिङका सांसद राजु विष्टले मुख्यमन्त्री ममता व्यानर्जी, शिक्षा मन्त्री पार्थ च्याटर्जी  अनि डा. ग्राहम्स होम्स स्कूल बोर्ड अफ गभर्नर्सलाई पत्र लेखेर शिक्षकहरू र स्कूल प्रबन्धनबिच वेतन सम्बन्धी विवादलाई यथासक्य चाँड़ो समाधान गर्ने अनुरोध गरेका छन्। 

कालेबुङको डा. ग्राहम्स होम्स स्कूलका अभिभावकहरूबाट दुई महिनाभन्दा धेरै समयदेखि अनलाइन कक्षा तथा शैक्षणिक गतिविधिहरू बन्द गरिएको परिणामस्वरूप विद्यार्थीहरू शिक्षाका अधिकारबाट वञ्चित भएको सम्बन्धमा आफूले धेरै पत्रहरू प्राप्त गरेको बताउँदै विष्टले उक्त विषयमा समाधान गर्न अनुरोध गरेका हुन्।

डा. ग्राहम्स होम्सका शिक्षकहरूले स्कूल प्रबन्धन्द्वारा छैटौँ वेतन आयोगद्वारा सिफारिस गरिएको ढाँचाअनुरूप  वेतन लागू नगरिएको विरोधमा बितेको अढ़ाई महिनादेखि अनलाइन कक्षा सञ्चालन गर्न बन्द गरेका छन्। शिक्षकहरूको सङ्गठनले स्कूलको प्रबन्धन बोर्डद्वारा छैटौँ वेतन आयोगद्वारा सिफारिस गरिएको वेतन ढाँचा लागू गर्ने लिखित आश्वासन दिएको खण्डमा अनलाइन कक्षाहरू फेरि शुरु गर्न इच्छुक रहेको बताएको छ। अर्कोतिर, बोर्डका सदस्यहरूले जानकारी दिएअनुसार यस सम्बन्धमा अन्तिम निर्णय कोलकाता स्थित बोर्ड मेम्बर्सहरूबाट आउनु पर्नेछ।

‘कक्षाहरूको सञ्चालन बन्द गरिनाले विद्यार्थीहरूमाथि पर्ने प्रभावबारे म अत्यन्तै चिन्तित छु,’ विष्टले भनेका छन्, ‘यसले गर्दा विद्यार्थी र अभिभावकहरूमाझ व्यापक चिन्ता उत्पन्न भएको छ जो कोभिड सङ्क्रमणको ताजा स्थितिका कारण पहिले नै दवाबमुनि छन्। अर्कोतिर, शिक्षकहरू पनि दवाबमा छन्, किनभने उनीहरूले पश्चिम बङ्गाल सरकारद्वारा सहमति र आदेश गरिएको निर्धारित वेतन प्राप्त गरिरहेका छैनन्।’

विष्टअनुसार कैयौँ अभिभावकहरूले लकडाउनको बावजूद स्कूलको मासिक फीस नियमित रूपले भुक्तान गरिरहेका छन्। आज अभिभावकहरू यो समस्याको सम्बन्धमा  कसलाई भेट्ने भनी अन्योलको स्थितिमा छन्। अभिभावकहरूले शिक्षक सङ्गठनसित कक्षा सञ्चालन गर्ने अनुरोध गर्दै बैठक समेत गरेका थिए। तर, शिक्षकहरूले उनीहरूका माग पूरा नभएसम्म र बोर्डबाट आश्वासन प्राप्त नभएसम्म कक्षा शुरु गर्न अस्वीकार गरेको छ।

‘तसर्थ  मैले माननीय मुख्यमन्त्री, शिक्षामन्त्री र डा. ग्राहम्स होम्स स्कूल बोर्ड अफ गभर्नर्ससित विद्यार्थीहरूका हितलाई सर्वोपरी राख्दै स्कूल प्रबन्धन र शिक्षकहरूबिच वेतनसम्बन्धी विवादलाई यथाशीघ्र सौहार्दपूर्वक समाधान गर्न आवश्यक पाइलो सार्ने अनुरोध गरेको हुँ,’ विष्टले भनेका छन्, ‘शिक्षकहरूका मागको चाँड़ो समाधान हुनेछ, र कक्षाहरू फेरि सुचारू ढङ्गले शुरु हुनेछन् भन्ने मलाई आशा छ।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया