अस्तित्व सङ्कटमा पर्दैछ धरोहर वाहन ल्याण्डरोभर अनि यसले जीवन धान्नेहरू

विज्ञापन

महामारीले गर्दा यो सालको पहिलो मौसमको सबै बुकिङ रद्द भएको छ भने 70 परिवार वाहनमाथि निर्भर रहेको छ। उनीहरूलाई निक्कै कष्ट परिरहेको  भने सन्दकफूमा ल्याण्डरोभर चलाउनेहरूलाई भने सबैभन्दा सासकष्ट छ उनीहरू पर्यटनको निम्ति सन्दकफूसितै मात्र निर्भर रहेको छ।


मानेभञ्जाङ, 25 अगस्त। तिनीहरूको साधना अहिलेको होइन 1950 सालदेखि नै सन्दकफुसम्मको यात्रा तय गर्ने ल्याण्डरोभर चालकहरूलाई थाहा छ  पहाडको मोह कस्तो हुन्छ। दार्जीलिङ पाहाड़को चर्चित पर्यटन गन्तव्य हो सन्दकफू जहाँ चिसो हावासितै बहन्छ प्रकृतिको मधुरता। जहाँबाट सुर्योदयको मनोरम दृष्य हेर्न देश विदेशबाट आइपुग्छन भ्रमणकारी। विश्वकै सर्वोच्च पाँचवटा हिमचुचुरो हेर्न चहानेहरूको निम्ति 50 वटा ब्रिटिसकालिन ल्याण्डरोभर पर्याप्त नै मान्नु पर्छ। जसले ठूलठूला बोल्डरहरूसित पौठेजोरी खेल्दै 11,929 फिटको उच्चाईमा बसेको सन्दकफू पुऱ्याउने गर्छ। यत्ति गर्न ल्याण्डरोभर चालक र मालिकहरूलाई कम्ति सास्ति हुँदैन। ठाउँ ठाउँमा मरम्मत गर्नुपर्ने बाध्यता पनि आइपर्न सक्छ।

7000 फीटमा उच्चाईमा रहेको मानेभञ्जाङबाट उकालो लागेपछि सन्दकफू पुगिन्छ झण्डै 32 किलमिटरको कठिन पहाड़ी सड़क पार गर्दै जाँदा। हुन त दार्जीलिङ-घुम जाने फाटक फुटुक ल्याण्डरोभर देखिन्छ। बिजनबारी, कैजले, रेलिङतिर पनि गुड्छ कष्ट भोग्दै तर विश्वले चिनेको सिहलिला ट्रेकिङको मुख्य पडाव सन्दकफूको निम्ति भने एक्लो बादशाह हो ल्याण्डरोभर। त्यहाँ ल्याण्डरोभरबाहेक अर्को विकल्प कसरी चिताउने ?

अहिले भने विश्व महामारीको कारण पर्यटन ठप्प छ। ल्याण्डरोभर कुद्न पाएको छैन्। जसले गर्दा यसको अस्तित्व अहिले संकटको अवस्थामा पुगेको छ। महामारीले गर्दा यो सालको पहिलो मौसमको सबै बुकिङ रद्द भएको छ भने 70 परिवार वाहनमाथि निर्भर रहेको छ। उनीहरूलाई निक्कै कष्ट परिरहेको  भने सन्दकफूमा ल्याण्डरोभर चलाउनेहरूलाई भने सबैभन्दा सासकष्ट छ उनीहरू पर्यटनको निम्ति सन्दकफूसितै मात्र निर्भर रहेको छ भनि मानेभञ्जाङ सिंहलिला ल्याण्डरोभर एसोसिएशनका महासचिव चन्दन प्रधान बताउँछन्।

ब्रिटिसले चियासितै ल्याण्डरोभर पनि पाहाड़मा भित्र्याएको हो। फोर ह्वील ड्राइभको व्यवस्था भएको यो वहान दार्जीलिङ जस्तो पहाड़ी भेकमा ठीक्क सुहाउने भएरै ल्याएका हुन् ब्रृटिसले। ब्रिटिसले दार्जीलिङलाई माया गरे तापनि सधैँ यही घरजम गरेर बसिरहन पाएनन्।

ब्रिटिस दार्जीलिङबाट फर्किएर गए पनि चिनो ल्याण्डरोभर छाडिराखेर गए। अहिले पर्यटक, स्थानीय मानिसहरूको निम्ति सवारी साधनको रूपमा बाँचेको छ धरोहर वाहन ल्याण्डरोभर। ल्याण्डरोभर अहिले मानिसहरूको निम्ति लोककथा जस्तो भइसकेको छ। 1954 सालदेखि यहाँकाले ल्याण्डरोभर चलाउन थालेका हुन्। उनीहरूले दन्तेकथा जस्तो हिउँ परेको बेला वाहनको चक्कामा साङ्ग्लो बाँधेर कुदाएको रोमाञ्चक क्षणहरू सङ्गालेर बसेका छन्। हिँउ पर्दा सबैँ गुराँसका बोटहरू हिमाल जस्तै देखिन्छ। अहिलेका पुस्ताले पनि कहिले कहीँ हिउँ पर्दा चक्कामा साङ्ग्लो बाँध्ने गर्छन्। देशकै एकमात्र ल्याण्डरोभर एसोसिएशन हुनसक्छ मानेभञ्जाङ सिंहलिला ल्याण्डरोभर एसोसिएशन जो चालकहरूको हीतमा सञ्चालित छ। चालकहरू सन्दकफूसम्मको उकालोको सम्झाना गर्दै यसलाई उकालोको साथी मान्छन्।

यसैगरि दैनिक रूपमा पर्यटक ओसारेर जीविकोपार्जन गर्ने चालक  एस थामी भन्छन् महामारी सबैतिर चलिरहेको छ तर सातजना यात्रीको साटो सामाजिक दूरत्व पालन गर्दै 5 जनासम्म यात्री राखेर लान पाए हुन्थ्यो भन्ने मन्तव्य व्यक्त गरेका छन्।

अहिले पनि युनाइटेड किङडममा बनिएको ल्याण्डरोभर दार्जीलिङको पहाड़ पखेरूमा  इतिहास बोकेर गुढ्ने गर्छन्।  रङ्गीन र सेतो एल्मुनियमको बडी भएको ल्याण्डरोभर माने भञ्जाङदेखि विस्तारै जब उकालो लाग्ने गर्छ सहासीक पर्यटन रूचाउनेहरूको निम्ति रोमाञ्च सिर्जना गर्छ। कहीँ कतै बिग्रिएमा सक्कली पार्ट्स नपाइने भएकोले टाटा र मेहन्द्र मार्का वाहनहरूकै पार्ट्सहरू प्रयोग गरेर पुर्नजीवन प्रदान गर्ने गरिन्छ।

घुम्न आउने देशी विदेशी पाहुनालाई बोक्न मात्र होइन माने भञ्जाङबाट चीनी, चामल, पानीको बोतलका कार्टुन, साग सब्जी, गाई चौरीको निम्ति चारो अनि पूर्वी नेपालको निम्ति चाहिने नुन बोक्ने काममा पनि यसैको प्रयोग हुने गर्दछ। मेघमा, टङ्गलू, गैरिबास, कैयाँकट्टा, कालपोखरी, बिखे भञ्ज्याङ हुँदै पुग्छ आइरन हर्स ल्याण्डरोभर सन्दकफूको डाँडा अनि फाललुटसम्मको यात्रा तय गर्छ यसले। (पी छिरिङ)

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया