निष्कासनको भ्रम फैलाएर भाजपाको संविधानको मजाक बनाएको पोखरेलको आरोप : भने- मेरो निष्कासनको कुरा झुटो हो

विज्ञापन

कालेबुङ, 26 अगस्त


भारतीय जनता पार्टीको दार्जीलिङ, कालेबुङ जिल्ला युवा एकाईका अध्यक्ष सागर पोखरेलले जोसित नलम्बनको क्षमता नै छैन उसैले निलम्बनको घोषणा गरेको जनाएका छन्।

पोखरेलले पहाडका दल र नेतृत्व छुट्टै राज्यप्रति इमान्दार नरहेको र उनीहरूले लक्ष्यसम्म नपुऱ्याउने भन्दै गोर्खाल्याण्ड मुद्दालाई दलदलको संज्ञा दिएका थिए। उनले यो दलदलबाट निस्किने विकल्पको खोजी गर्नुपर्ने आह्वान गर्दै भिडियो सार्वजनिक गरेका थिए।

भाजपाकै कमल कटुवाल र विनोद मोक्तानले पोखरेलको वयान व्यक्तिगत रहेको स्पष्टिकरण दिँदै पार्टीबाट उनलाई निलम्बित गरिएको बताएका थिए। आज पोखरेलले आफूलाई कमल कटुवाल र विनोद मोक्तानले निष्कासन गर्न नसक्ने र उनीहरूमा त्यो क्षमता नै नरहेको जनाएका छन्।

‘भारतीय जनता पार्टीको संविधानको धारा २५ अनुशासनात्मक कारवाही सम्बन्धित धारा हो। यस अनुसार यदि मैले पार्टीको अनुशासन भङ्ग गरेको छु भने राष्ट्रिय अथवा राज्य स्तरको अनुशासन कारवाही समितिले मलाई कारण बताउ नोटिस जारी गरेको हुनुपर्छ,’ पोखरेलले भनेका छन्।

पोखरेलअनुसार यदि त्यसरी कारण बताउन नोटिस आए उनले त्यसको जवाब १० दिन भित्रमा दिनुपर्ने हुन्छ। त्यसको रिपोर्ट राज्य अध्यक्षको पुगेपछि मात्र उनलाई वर्खास्त अथवा निलम्बन गर्ने कुरा आउँछ, त्यसको क्षमता वा अधिकार पनि राज्य अध्यक्ष अथवा राष्ट्रिय अध्यक्षसित हुनेगर्छ।

‘के मलाई निलम्बन गर्ने कमल कटुवाल मिनोद मोक्तानहरू पार्टीको संविधानको धारा २५ को उपधारा १ अनुसार गठित गरिएको राज्यको अनुशासन कारवाही समितिका सदस्यहरु हुन्?,’ पोखरेलले प्रश्न गरेका छन्, ‘के उनीहरूले भारतीय जनता पार्टीको संविधानमाथि गएर नीजि कानुन चलाउनु पाउँछन? मैले अनुशासन भङ्ग गरेको कसले तय गऱ्यो अनि त्यसको आधार के हो?’

उनले प्रश्न गरेका छन्, ‘जुन वक्तव्यको कारणले मलाई निष्कासन गरिएको सूचना प्रेसलाई पार्टीका जुन व्यक्तिले पनि दिँदैछन, के उनले मेरो वक्तव्यलाई सही अथवा गलत ठहर गर्ने क्षमता राख्दछन? राख्दछन भने उनीहरूले पार्टीको अडान मिडियामा स्पष्ट किन गर्दैनन्?’

आफू अहिले पनि भारतीय जनता पार्टीलाई शीरमा राखेर यो कुरा बोलिरहेको अनि पार्टीले अहिलेसम्म पनि उनलाई संविधान अनुसार कारण बताउ नोटिस जारी नगरेको र मिडियामा आएको निष्कासनको हल्ला भ्रामक, द्वेषपूर्ण अनि झुटो रहेको किटान पनि गरेका छन्।

‘भारतीय जनता पार्टी भनेको विश्वमा नै सर्ववृहत राजनैतिक दल हो। यो पार्टी राजनैतिक आचरणमा श्रेष्ठ पार्टी भएकोले पार्टीका साथीहरूले पार्टीको संविधानलाई मजाक नबनाउने आग्रह गर्दछु,’ पोखरेलले भनेका छन्।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया