कामतापुर राज्य गठनको लागि विधानसभा चुनाउ अघि हुने सशस्त्र आन्दोलन : नेपालमा लुकेका छन् केएलओ प्रमुख र उल्फा कमाण्डर चिफ : आन्दोलनलाई त्यहीँबाट अपरेट गरिने

विज्ञापन

कालेबुङ, 27 अगस्त


हिन्दी राष्ट्रीय दैनिक दैनिक जागरणले अलग कामतापुर राज्यको मागमा 2021 को पश्चिम बङ्गाल विधानसभा चुनाव अघि सशस्त्र आन्दोलनको तयारी चलिरहेको रिपोर्ट प्रकाशित गरेको छ।

दैनिकअनुसार सशस्त्र आदोलनको लागि कामतापुर लिबरेशन अर्गनाइजेशन (केएलओ) प्रमुख जीवन सिंह तयारीमा जुटिसकेका छन्। जीवन सिंह अहिले नेपालमा लुकेका छन्। त्यहीँबाट 16 वर्षपछि उनले सशस्त्र आदोलन गर्ने तयारी गरिरहेका हुन्। आन्दोलनलगायत उनी साङ्गाठानिक गतिविधि पनि चलाइरहेका छन्।

दुइदिनअघि जीवन सिंहको एउटा भिडियो भाइरल बनेको थियो। भिडियोको जाँचमा सुरक्षा एजेन्सीहरू जुटेको थियो। जाँचपछि एजेन्सीहरूले केएलओ चिफको फोटो 1990 देखि प्रतिबन्धित उग्रवादी सङ्गठन युनाइटेड लिबरेसन फ्रन्ट अफ असम अर्थात उल्फाका कमाडर इन चिफ परेश बरुआसित देखिएको बताइएको छ।

यही फोटो देखेपछि सुरक्षा एजेन्सीहरूको होस उडेको पनि दैनिकले लेखेको छ। दैनिकले सूत्रलाई उल्लेख गर्दै लेखेको छ, ‘परेश बरुआको सम्पर्क शुरुबाटै गोरिल्ला युद्धका लागि सक्षम सिपीआई माओवादी मिलिट्री विङ्ग्ससित छ।  2004 देखि बाग्लादेशदेखि भूमिगत बनेका दुवै उग्रवादी सङ्गठनका यी प्रमुखले म्यामारको उग्रवादी सङ्गठन काछिन रेवेल्स वा नेशनल सोसलिस्ट काउन्सिल अफ नागाल्याण्डको सहयोगमा जीवन बिताइरहेका थिए।

त्यसपछि उनी नेपालको इलाम, ईटभट्टा, दमक र चितवन क्षेत्रका माओवादीहरूको सम्पर्क र संरक्षणमा रहेका छन्। यी दुवै परेश बरुआ र जीवन सिंह नेपालमा हतियार र धन जम्मा गर्न जुटेका छन्।’

दैनिकले बताएअनुसार सुरक्षा एजेन्सी र पुलिस अधिकारीहरू आन्दोलनको समय सक्रिय रहेका आन्दोलनकारी र सहयोगीहरूबारे त्यतिबेलाका फाइलबाट जानकारी जुटाउनमा लागेका छन्।

नेपाल सीमामा पनि खुफिया तन्त्रबाट जानकारी जुटाउने कार्य भइरहेको छ। दैनिकले खुफिया एजेन्सी सूत्रबाट पाएको जानकारी भन्दै उल्लेख गरेको छ, ‘2003 को 14 दिसम्बरदेखि 14 जनवरी 2004 सम्म केएलओले भुटानमा क्याम्प लगाएको थियो। पछि त्यहाँ चलेको सैनिक अपरेसन अलआउटपछि उनीहरू त्यहाँबाट भागेर म्यानमार पुगेका थिए।

चीनसित नेपालको सम्बन्ध सुमधुर भएको कारण अहिलेघरि उनीहरू नेपालमा शरण लिएर बसेका छन्।  नेपालमा म्यामार र बङ्गलादेशदेखि आएका रोहिङ्ग्या मुसलमान र अनुप्रवेशकारीहरूलाई राख्ने तयारी भइरहेकै छ। 1950 को सन्धीअनुसार नेपाल-भारत आउजाउ खुल्ला रहेकोले त्यसैको फाइदा उठाएर जीवन सिंहले उत्तर बङ्गालमा आफ्नो सम्पर्कमा रहेकाहरूलाई नेपाल बोलाएर भेट गरिरहेका हुन् अनि आन्दोलनको तयारी गरिरहेका हुन्।

कामतापुर पिपुल्स पार्टी (केपीपी) का राष्ट्रीय अध्यक्ष अतुल रायले दैनिकसित कुराकानी गर्दै भनेका छन्,  ‘कोरोना कालपछि अलग राज्यको लागि आन्दोलन हुनेछ। हामी अलग राज्यको मागबाट पछि हटेका छैनौं।’ राय तृणमूल काङ्ग्रेसका समर्थक हुन्।  के राज्य सरकार तपाईँहरूको मुद्दामा मान्ला? भनेर गरिएको प्रश्नको उत्तरमा रायले भनेका छन्, ‘म मुद्दाको लागि नै तृणमूल काङ्ग्रेसलाई समर्थन गर्छु। तर हाम्रो पार्टी तृणमूल काङ्ग्रेसको सहयोगी होइन। जहाँसम्म सशस्त्र आन्दोलनको कुरा छ, म यसलाई समर्थन गर्दिन। हामी गणतान्त्रिक तरिकाले आन्दोलन गर्न चाहन्छौं।’

यता राज्यका एडीजी ज्ञानवन्त सिंहले  कुनै पनि राष्ट्र विरोधी तत्वलाई टाउको उठाउन नदिने बताएका छन्।  ‘राज्यमा कसैलाई पनि कानून व्यवस्था हातमा लिन दिइने छैन। जसले पनि कानून हातमा लिन्छ, उसलाई छोडिने छैन। पुलिस यस्ता तत्वविरुद्ध कार्वाही गर्न पूर्ण सक्षम छ,’ सिंहले भनेका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया