भाजपा र विमल गुरुङ खेमामा फुटको सङ्केत : विमल खेमा दलसित गरेको गठबन्धनलाई भाजपाले अवहेलना गरेको रोशन गिरीको आरोप

विज्ञापन

कालेबुङ, 28 अगस्त


विमल गुरुङ खेमा गोर्खा जनमुक्ति मोर्चाका सचिव रोशन गिरीले भाजपाले विमल खेमा मोर्चासित गरेको गठबन्धनलाई अवहेलना गरेको आरोप लगाएका छन्। एक विज्ञप्ती जारी गर्दै गिरीले भनेका छन्, ‘भाजपाका कतिपय नेतृत्वहरुले गोर्खा जनमुक्ति मोर्चा पार्टीसँगको गठबन्धनलाई अवहेलना गर्न खोजिरहेको हामीले महसुस गरेका छौं।’

गिरीअनुसार २००९ मा दार्जीलिङ संसदीय क्षेत्रबाट निर्वाचित बनेका सांसद जसवन्त सिंह एवं २०१४ मा दार्जीलिङ संसदीय क्षेत्रबाट निर्वाचित बनेका सांसद एस.एस.आहलुवालियाको संसदीय कालमा दार्जीलिङ संसदीय क्षेत्रमा भाजपाले आफ्नो पार्टी विस्तार गर्ने कार्यक्रम पटक्कै गरेन। कारण त्यसबेला दार्जीलिङ पहाड, तराई अनि डुवर्समा भाजपा कै घटक दल गोर्खा जनमुक्ति मोर्चा पार्टीको वर्चस्व कायम थियो। त्यसबेला विमल गुरुङकै पार्टीका नेतृत्व पनि मैदानमा नै थियो।

‘आज हाम्रो शीर्ष नेतृत्ववृन्दहरु विस्थापित जीवन यापन गर्न बाध्य छन् अनि यसैको फाइदा उठाएर हो वा अन्य कारणले गर्दा हो अहिले आएर भाजपा पार्टीले दार्जीलिङ पहाड तराई अनि डुवर्समा भाजपाको सदस्यता अभियान शुरु गर्ने घोषणा गरेको छ,’ गिरीले भनेका छन्, ‘साथै सांसद विष्ट पनि यस अभियानमा धेरै उत्साहपूर्ण रुपले सहभागी बनेका छन्। जसले गर्दा हामीलाई धेरै दुःख लागेको छ।’

गिरीले भाजपाले गरिरहेको सदस्यता अभियान भाजपा पार्टी कै पूर्व घोषित कार्यक्रम हो कि केवल स्वयं सांसदको मात्रै कार्यक्रम हो? भन्ने कुरामा आफूहरू अनभिज्ञ रहेको जनाएका छन्।

‘हामीले वर्तमान सांसद राजु विष्टलाई विशेष रुपमा भाजपाको सङ्कल्प पत्रमा उल्लेख गरिएका दुईवटा मुद्दाहरू छुटेका ११ जातलाई जनजातिको मान्यता प्रदान गर्नु अनि गोर्खाहरुको स्थायी राजनैतिक समाधान गर्नको निम्ति आफ्नो क्षेत्रबाट भारी मतले विजयी बनाएर संसदमा पठाएका हौं,’ गिरीले भनेका छन्, ‘यसर्थ सांसदज्युले आफ्नो ऊर्जा अन्य कुराहरूमा खर्च नगरेर केवल सङ्कल्प पत्रमा उल्लेखित ती दुईवटा मुद्दाहरू लगायत विस्थापित अवस्थामा रहेका युवाहरूलाई चाँडो भन्दा चाँडो आ आफ्नो घर फर्काउने अभियानमा ध्यान दिने सुझाव पेश गर्दछौं।’

गिरीले विष्टलाई यी विषयलाई गम्भीरतापूर्वक लिँदै भाजपाको सङ्कल्प पत्रमा उल्लेखित बुँदाहरूमा चाँडो भन्दा चाँडो पहल गरेर गोर्खाहरुको मुहारमा खुशीको मुस्कान ल्याइदिने अपिल पनि गरेका छन्।

गोर्खा जनमुक्ति मोर्चा र भाजपाको गठबन्धन एक दशक भन्दा पुरानो हो। गोर्खा जनमुक्ति मोर्चा पार्टीले यो गठबन्धनको धर्मलाई आजसम्म इमानदारीको साथ पालन गर्दै आइरहेको गिरीको दाबी छ। २००९ देखि २०१९ सम्म दार्जीलिङ संसदीय क्षेत्रबाट भाजपाको उम्मेदवारलाई विजयी बनाएर भारत देशको संसदमा पुऱ्याउनु गोर्खा जनमुक्ति मोर्चा पार्टीले अहम भूमिका निर्वाह गरेको सत्यलाई कसैले नकार्न नसक्ने पनि गिरीले विज्ञप्तीमा लेखेका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया