सिर्जन चुनौती र आस्वादनका आयाम

विज्ञापन

काव्यवृत्त – ७

हो, सर्वस्वीकृत चुडान्त अथवा निर्णायक भन्नु क्यै छैन । तथापि, भन्नु चाहिँ छोडिँदैन । सायद भन्न छोडेको दिन पाठ र पाठकबीच पारपाचुके भइसकेको हुनेछ अनि पाठ (लेखक / कवि) अनस्तित्वको ब्ल्याकहोलले निलेर अल्पिसकेको हुनेछ।


 

मनप्रसाद सुब्बा


 

     लेखनमा अर्थात् सृजन-यात्रामा गति (गतिशीलता) उँभौली-उँधौली दुवै हुन सक्छ । गति एकोहोरो तेर्सैतेर्सो पनि गइरहने किसिमको हुन सक्छ, कि दोधारमा पेन्डुलम ओहोरदोहोर हल्लिरहने मात्र हुनसक्छ या त यौटा केन्द्रविन्दुवरिपरि वृत्तको शून्य कोरेर रिङिरहने मात्र पनि हुन सक्छ । प्रागतिक चेतनाको अभीष्ट यस किसिमका गति होइनन् तर देउरालीहरू भेट्दै पर्वतारोहण गर्ने गति, अझ उच्चतर अन्तर्दृष्टिको शिखर उक्लिने उर्ध्वगति या त अतल गहिराइमा गोता लगाई चहार्न सक्ने गति, या त क्षितिजपछि क्षितिज पछ्याउँदै जाने अथक कौतुहलताको गति चाहन्छौं हामी । त्यो एकोहोरो तेर्सै मात्र हिँड्छ भने पनि मधेशको पट्यारलाग्दो तेर्सो नहोस्, तर पहाडमा जस्तो घुम्तिपिच्छे भिन्दै दृश्य देखिने रमाइलो गति होस् त्यो ।  

     कुनै एक कविको काव्य-साधनाको गतिशीलताले के कस्ता पाइलाछापहरू छोड्दै गएको छ हेरिन्छ उनका लेखनको क्रमिकतामा । अर्को घुम्तीमा पुऱ्याएर अर्कै दृश्य देखाएको छ कि, उक्लेर अर्को डाँडामा उभेको छ कि, या त अघिकै सपाट तेर्सो हिँडिरहेको छ, या त उही ठाउँमा रिङदै फन्को मारिरहेको छ ! यस रितले कविले ( अर्थात् कुनै पनि विधाको सर्जकले) आफैलाई चुनौती दिइरहेको हुन्छ । आफैलाई चुनौती दिन नसके तथा आफै आफ्नो चुनौती उभिएको देख्न नसक्नेबाट नयाँ सिर्जना नभएर अघि सुनाइसकेको, देखाइसकेको कुरा नै पुनरावृत्त भइरहने बढी सम्भावना रहन्छ । घरिघरिको पुनरावृत्ति यथास्थितिको चरित्र हो । यथास्थिति गतिपथमा अवरोध हो र प्रकृतिविरुद्ध हो । तर यथास्थितिवादी वैचारिक अवरोधले समयको गतिलाई जति नै फन्कोमा अल्मल्याइराख्न खोजे तापनि त्यो लामो समयसम्म अल्मलिएर बसिरहँदैन । यो त बढ्छ नै कुनै पनि तरिकाले ।   

     गतिशीलता शब्दले अग्रगति, उर्ध्वगति तथा नौलो ढङ्गले परिवर्तित गतिको बिम्ब आँखाअघि ल्याउँछ । तर कविको अघिल्लो कृति पठनले पाठकको मानसमा जे-जति छाप छोडिराखेको हुन्छ त्यसले उभित्र सम्बन्धित कविप्रति यौटा (पूर्व)-आग्रह निर्माण गरिराखेको हुँदैन भन्न सकिन्न र पछिल्लो कृति पठनमा त्यस (पूर्व)-आग्रहले सम्बन्धित पाठकलाई प्रभाव पारिरहेको हुन्छ पनि भन्नै सकिन्छ । एक सचेत सर्जकको निमित्त उसको पूर्वकृतिद्वारा पाठकमा निर्मित उप्रतिको (पूर्व)आग्रह यौटा चुनौती उभिएको हुन्छ । यौटा सबल र जोखिमसित खेल्न सक्ने सर्जकले नै उसको पाठकमा उप्रति निर्मित (पूर्व)-आग्रहलाई भाँच्न सक्छ र अर्को ताजा स्वाद दिन सक्छ ।            

     यहाँ माथि कृति (पाठ)-लाई हेर्ने कुरा गरियो । तर हेरेर जम्मै देख्न सकिन्छ भन्नु पनि अर्द्धसत्य नै मात्र हो । जम्मै झ्वाम्मै देख्ने उद्यम गरेका थिए आयामेलीहरूले एक समय । तर पछि ‘मानिसका बुझाइहरू … स्वार्थपरक आत्मगत भ्रान्ति मात्र हुन्छन्’ भन्ने भए इन्द्रबहादुर राई, तेस्रो आयामका प्रबुद्ध प्रणेता । यौटा कविताको ‘सही’ पठन एक पाठकबाट कति होला ?! सबै सबल पठन वास्तवमा विपठन मात्र हुन् । सन्दर्भमा वोल्फ़गाङ इजा (Wolfgang Iser)-लाई उद्धृत गरौँ – ‘The manner in which the reader experiences the text will reflect his own disposition .’ पाठकले जुन ढङ्गले पाठको अनुभव गर्छ त्यसले उसको आफ्नै स्वभाव प्रतिबिम्बित गर्छ’ अनि ‘बुझाइहरू स्वार्थपरक आत्मगत भ्रान्ति मात्र हुन्छन्’ – यी दुइ भनाइहरू तात्पर्यमा एक-अर्कादेखि फरक छैनन् । कुनै यौटा पाठले एक पाठकलाई जुन स्पर्श दिन्छ, त्यो र त्यै स्पर्श चाहिँ उसको निज अनुभवसित मुछिएको उसैले मात्र अनुभूत गर्ने कुरा हो, उसैको मात्र आत्मगत बुझाइ हो । भनेपछि, पाठकको नितान्त निजी बुझाइभन्दा परको तथा माथिको मूल सारतत्व त्यो पाठको हुँदैन त ? प्रश्न उठ्छ । अनि उत्तर हामीलाई प्राप्त छ साहित्यबाट होइन तर भौतिक विज्ञानबाट । खभौतिकी (एष्ट्रो-फिजिसिस्ट) वर्नर हाइजनबर्गले सयाधिक वर्षअघिनै भनेका थिए – What we observe is not nature itself, but nature exposed to our questioning. हाइजानबर्गको यो ठनाइ र वोल्फ़गाङ इजाको पूर्वोद्धृत् भनाइ ठ्याक्क मिल्छ यहाँ । छःजना अन्धा र हात्तीको लोककथा पनि यहाँ उत्तिकै सान्दर्भिक लाग्छ जससित अघि उद्धृत् इन्द्रबहादुर राईको कुराले पनि मेल खान्छ । उक्त कुराहरूबाट निर्क्यौल निक्लन्छ — केही कुरो पनि एक्लो सत्य तथा आफैमा पूर्ण सत्य (एब्सोल्युट ट्रुथ) छैन । हरेक कुरो, हरेक सत्य सापेक्षिक छ । निरपेक्ष क्यै छैन । त्यसैले कुनै पाठको चुडान्त, एक्लो सारतत्व हुँदैन । पाठकको दृष्टि परेपछि नै पाठको अर्थ लाग्ने हो । पाठकबिना पाठको कुनै अस्तित्व छैन । लेखक / कविसित पनि आफ्नै रचनाको एक्लो सारतत्व छैन / हुँदैन । किनकि पाठका लेखक / कवि समाज, राष्ट्र, संस्कृति, परिवेश, आफू बाँचेको समय इत्यादिसित सापेक्षिक रहेको हुनाले पाठको रचनामा उनले कपेका बिम्ब र वाग्धाराहरू निरपेक्ष छैनन् । यिनै कुरासित साथै निजी कुरासित सापेक्षित पाठकले त्यो पाठसित पठनमार्फत् अन्तर्क्रियामा आउँदा उसको बुझाइ उसकै हुनु अस्वाभाविक होइन ।

     हो, सर्वस्वीकृत चुडान्त अथवा निर्णायक भन्नु क्यै छैन । तथापि, भन्नु चाहिँ छोडिँदैन । सायद भन्न छोडेको दिन पाठ र पाठकबीच पारपाचुके भइसकेको हुनेछ अनि पाठ (लेखक / कवि) अनस्तित्वको ब्ल्याकहोलले निलेर अल्पिसकेको हुनेछ ।              

 

                  

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया