सागर पोखरेलको मुखमा भाजपाको वास्तविक बोली

विज्ञापन

BLACK & WHITE


खरेललाई सोही पदको निम्ति फेरि नियुक्ति दिइयो। भाजपाले पोखरेललाई नियुक्ति दिएर सागर पोखरेलले जे पनि बोले, सही बोलेका हुन् भनेर प्रमाणित गरेको होइन त? भाजपाको खास चाहना पोखरेलको मुखबाट बोलाइएको हो, भाजपा गोर्खाल्याण्डको विकल्प नै चाहन्छ, गोर्खाल्याण्ड राज्यको गठन हुँदैन भनेर मोहर लगाएको होइन त? यदि सागर पोखरेल सही हुन् भने गलत को हुन् त? गोर्खाल्याण्ड उर्फ स्थायी राजनैतिक समाधानको सपना देखाउने भारतीय जनता पार्टी? यदि सागर पोखरेल सही हुन् भने गलत को हुन् त? गोर्खाल्याण्डलाई स्थायी राजनैतिक समाधान बनाउने विमल गुरुङ? यदि सागर पोखरेल सही हुन् भने गलत को हुन् त? स्थायी राजनैतिक समाधानको लागि समर्थन गर्ने आरबी राई, मन घिसिङ?


खोजखबर च्यानल


कुनै पनि चुनाउ नजिक आउनसाथ दार्जिलिङको राजनीतिमा आन्तरिक दाउपेच शुरु हुन्छ। पहिले त एउटा दलका समर्थकहरू अर्को दलमा सर्छन्। झण्डा थाप्ने र फोटो खिचने लहर शुरु हुन्छ। अर्को, कुनै पनि दलको प्रभुत्वशाली पदमा बसेकाहरू चल्मलाउँछन्। उनीहरूले आफ्नै दलका कार्यशैलीमाथि आलोचना शुरु गर्छन् र आकर्षणको केन्द्रमा बस्छन्।

ऐन मौकामा कोही बिक्री पनि भइहाल्छन्। नभए कुनै दलमा अलिक ठूलो पदमा बस्छन्। कोही पार्टीबाट निस्किन्छन् र आफ्नै दल गठन गर्छन्। नेताहरू एउटा दल त्यागेर अर्को दलमा पस्ने सिजन पनि चुनाउ नै। यी गतिविधिहरू जनकांक्षालाई सम्मान गरेर हुने गतिविधि होइनन्, यी पद, पैसा र अवसरका लागि हुने गतिविधि हुन्। नीजि स्वार्थका गतिविधि हुन्।

कोही जनाकांक्षा वा मूल मुद्दाको बेचविखन गरेर अकुत सम्पति कमाउँछन्। यति सम्पति कि जङ्गलमा नै बस्न परे पनि उसलाई पैसा र वैभवको दुख हुँदैन। भूमिगत नै बनेर पनि शान शौकतको जीवनयापन गर्छन्।

मुद्दा अरू कसैको काँधमा हालेर ‘मैले मुद्दा बचाएँ’ भन्ने भ्रममा आफू पनि बस्छन् जनतालाई पनि राख्छन्। कोही आफू चाँही केही गर्दैनन्, तर अरुले गरेको कार्यक्रम र आन्दोलनमा समर्थन गर्दै बस्छन्। यो समर्थन र विरोधको सिजन पनि हरेक चुनाउमा देखिन पाइन्छ।

कोही आफ्नै दललाई दुइ टुक्रा पार्छन् र भात खाने थाल छुट्याउँछन्। छुट्टै राज्य गोर्खाल्याण्ड यस्तो ब्रह्मअस्त्र बनेको छ, त्यसको विरोध गरेर पनि पैसा, वैभव र पावर पाइन्छ, त्यसकै पक्षमा लागेर पनि पैसा, वैभव र पावर पाइन्छ। यो छुट्टै राज्य गोर्खाल्याण्ड नेताको निम्ति सुनको अण्डा दिने हाँस नै बनेको छ।

तपाईँहरूलाई थाहै छ, कुन कुन दलका को को नेता अहिले कुन कुन दलको कुन कुन पदमा छन् र जीवन चलाइहेका छन्, हामीले बताइरहनै पर्दैन। जुन दलमा पद, पैसा र क्षमता प्राप्त हुँदैन, त्यो दलमा लामो टिकिरहन नसक्ने नेताको यो प्रवृति नयाँ पनि होइन।   जो हरेक नेता र समर्थकमा पाइने साझा प्रवृत्ति नै हो।

दलहरूले जब जनतालाई देखाउने एउटा र आफ्नो दलको रोटी सेक्ने अर्को मुद्दा बोकेर हिँड्छ, नेता समर्थक र जनतामा त्यसको असर आआफ्नो बुझाईको हिसाबले पर्दै जान्छ। सपना दल र नेताले नै देखाउँछन्।  जब सपना पूरा गर्नुपर्ने स्थिति आउँछ, त्यही सपनालाई बिथोल्न फेरि त्यही दलले अनेकौं प्रोपोगान्डा बनाउँछन् र आफ्नो अनुकुल परिस्थिति निर्माण गर्छन्।

सुबास घिसिङले गोर्खाल्याण्डको सपना देखाए तर त्यही सपनालाई दागोपापमा खुम्च्याए। विमल गुरुङले पनि गोर्खाल्याण्डको सपना देखाए तर त्यही सपनालाई जिटिएमा खुम्च्याए। देशका प्रधानमन्त्री र भाजपाले पनि गोर्खाल्याण्डकै सपना देखाए र अब स्थायी राजनैतिक समाधानमा खुम्च्याउने हो कि भन्ने शङ्का दिनोदिन बलियो बन्दै गइरहेको छ।

गोर्खाका गोर्खाल्याण्डको सपनालाई राज्यभित्र कै कुनै व्यवस्थामा खुम्च्याउने वा जब मुद्दालाई सम्बोधन गर्नुपर्ने बेला भयो, तब त्यसलाई बटारेर अन्यत्रैतिर लैजाने प्रोपोगान्डा भाजपाले शुरु गरेको हो कि भन्ने शङ्का भारतीय जनता पार्टीका युवा मोर्चाका अध्यक्ष सागर पोखरेलका निरन्तरका वयानबाजीले प्रमाणित गरिरहेको छ।

000

मुद्दाको नाम छुट्टै राज्य गोर्खाल्याण्ड हुँदा हुँदै किन त्यसको नाम स्थायी राजनैतिक समाधान बनाइयो? के यो देशमा साँच्चैमा कुनै पनि मुद्दाको स्थायी राजनैतिक समाधान हुन्छ?

हुन्छ भने त्यस्ता समाधानहरू कुन कुन हो? यसको जवाब तपाईँको कुनै पनि प्रिय नेताले दिएका छैनन्। यो नाम रखाइले स्पष्ट पार्छ, जसले पनि यो नाम राख्यो-उ गोर्खाल्याण्डको मूल मुद्दाबाट हटिसकेको छ।

अहिले, आजको दिनमा, मौजुदा स्थितिमा, स्थायी राजनैतिक समाधान भन्ने नाम र यसको वकालत गरिरहेका  सरोकारवाला दलहरूलाई हात्ती र अन्धाजस्तो देखिन्छ।

कुनै एउटा अन्धा दलले यसलाई छाम्छ र छैटौं अनुसूची बताउँछ। कुनै एउटा अन्धा दलले यसलाई छाम्छ र गोर्खाल्याण्ड बताउँछ। कुनै एउटा अन्धा दलले यसलाई छाम्छ र युटी बताउँछ। कुनै एउटा अन्धा दलले यसलाई छाम्छ र बङ्गालभित्र कै व्यवस्था बताउँछ। स्पष्ट छ, कसैले पनि ठिकठिक के हो भनेर बताउँदैनन्।

यी सारा प्रश्नहरू अघि गोर्खाल्याण्डलाई स्थायी राजनैतिक समाधान नाम राख्नेहरू मौन छन्। स्थायी राजनैतिक समाधान गर्छु भन्नेहरू पनि मौन छन्। स्थायी राजनैतिक समाधानको लागि सांसद राजु विष्टलाई जिताउनेहरू पनि मौन छन्। मुद्दामा हार्नेहरू पनि मौन छन्।  रणनीति बनाउँछौं भन्ने पनि मौन छन्। कमिटी बनाउँछु भन्नेहरू पनि मौन छन्। स्टेकहोल्टर्स, बौद्धिक,सचेत, नेतृत्व सब सब मौन छन्।

यी सबैको मुखमा ताला कसले झुण्डाएको हो? सोध्नेहरूसमेत मौन छन्।

यो मौनताबिच एउटा यथार्थ सबै अघि छ।

भाजपा बङ्गाल विभाजन चाहँदैन।

कुरा यहीँबाट जोडौं-

बङ्गाल विभाजन गर्ने नाम रहेको मुद्दा हो गोर्खाल्याण्ड। बङ्गाल विभाजन नगरी छुट्टै राज्य गोर्खाल्याण्ड बन्दैन। यो त ऐरेगैरे सबैलाई थाहा भएको कुरा हो। यति थाहा गर्नु राजनीति शास्त्र पढ्नुपर्दैन। कुनै दलको महामहिम नेता हुनुपर्दैन।

युगौंदेखि राजनैतिक धोका खेपिरहेका लालाबालासमेतलाई यो कुरा थाहा छ। यहाँसम्म कि भाजपालाई पनि यो कुरा थाहा छ, विमल, आर्बी, मन, राजु सबैसबैलाई यो कुरा थाहा छ।

त्यसैकारण भाजपालाई यस्तो मुद्दा चाहिएको थियो, जसले बङ्गाल विभाजन पनि नगरोस्, दार्जिलिङका नेताहरूले देखेको सपना पनि पुगोस्। देशका गोर्खाहरूले देखेको सपना होइन, केवल दार्जिलिङका नेताहरूले देखेको सपना।

हो, त्यही सपना पूरा गर्ने मुद्दा हो- स्थायी राजनैतिक समाधान।

जो भाजपाले पनि पाएको छ, सरोकारवाला दलहरूले पनि पाएका छन्।

नामैले स्पष्ट छ, यो बङ्गाल धिनस्त व्यवस्थाको परिकल्पना हो। नत्र गोर्खाल्याण्ड शब्द हट्दैहट्दैन थियो।

सारा उत्तरबङ्गालमा गोर्खाल्याण्डजस्ता उन्मुक्तिको मुद्दा बोक्नेहरू धेरै छन्। गोर्खालाई चेपेर, उनीहरूलाई बाहिर पार्ने भूल भाजपाले गर्दैगर्दैन। पहाडको तीनवटा विधानसभा आसन र एउटा लोकसभा आसनको लागि बङ्गालमा राज गर्ने सपनामा भाजपाले लात हान्न सक्दैसक्दैन।

यो कुरा सबैलाई थाहा छ, तर यसबारे न त सांसद राजु विष्टले मुख खोल्न सक्छन्। न त विमल गुरुङले सक्छन्। न त मन घिसिङले सक्छन्। न त आरबी राईले सक्छन्।

यसबारे मुख खोल्न सक्छन् भने ती सागर पोखरेल नै हुन्। कसैले भन्न नसकेको कुरा खिर सागर पोखरेलले भनिदिए।

त्यसबारे म अलिक पछि आउँछु।

तर सागर पोखरेलको वयानलाई विश्वास गर्ने हो भने स्पष्ट हुन्छ यी स्थायी राजनैतिक समाधानवाला दलहरूले बङ्गाल विभाजन नगर्ने मुद्दामा समर्थन गरिसकेका छन्, त्यसैले नै उनीहरू मौन छन्।

भारतीय जनता पार्टीले दागोपाप र जिटिएजस्तै अर्को व्यवस्था निर्माण गर्नेछ, त्यसैले अहिले नै दलहरूले दवाब बनाउन नसकेको हो, उनीहरूको निष्क्रियताले के यही बताइरहेको छैन?

बङ्गाल विभाजन गर्ने नाम र मुद्दा गोर्खाल्याण्डको साटो बङ्गाल विभाजन नहुने नाम र मुद्दा स्थायी राजनैतिक समाधानको लागि पहाडका दलहरूको सहमति भइसकेको छ, र त उनीहरूलाई मिलेर लडिरहनुपर्ने, दवाब दिइरहनुपर्ने अनिवार्य नै लाग्दैन। 

वास्तवमा फेरि अर्को भूल भइसकेको छ।

यसैले भाजपमा दवाब बनाए, रणनीतिकरुपले अघि बढे, स्टेकहोल्डरहरूले केन्द्रलाई घेरो लगाए भाजपाले वास्तविकता खोलिदिन्छ भन्ने डर सरोकारवाला दलहरूलाई छ। र त निष्क्रिय बनेका हुन्? होइन भने किन कानमा तेल हालेर बसेका छन् त दलहरू?

जनतालाई गोर्खाल्याण्डको सपना देखाइएको छ, तर बन्नेछ राज्यभित्र कै कुनै समाधान। यही पोल खोलिन्छ भनेर दलहरू एक हुन नसकेको होइनन् त? रणनीति नबनाएका होइनन् त? कमिटी नबनाएको होइनन् त? स्टेकहोल्डरहरू मौन बसेका होइनन् त?

होइनन् भने खै त जवाबदेही बनेका?

कङ्ग्रेस, छुट्टै राज्य गोर्खाल्याण्डको पक्षमा थिएन यसैले मुद्दा बिथोल्न 1951 को जनगणमामा मुख्यमन्त्री विसी रोयले 96 प्रतिशत नेपाली भाषीलाई 19 प्रतिशत बनाए। यसको इतिहास हामीसितै छ।

मार्क्सवादी कम्युनिष्ट पार्टी, गोर्खाल्याण्डको पक्षमा थिएन यसैले मुद्दा बिथोल्न विछिन्नतावादीको संज्ञा दिए र दागोपापमा मिल्न आन्दोलनारीलाई बाध्य पारे, यसको इतिहास हामीसितै छ।

तृणमूल काङ्ग्रेस, छुट्टै राज्य गोर्खाल्याण्डको पक्षमा थिएन यसैले मुद्दा बिथोल्न जिटिए थाप्न बाध्य पारे र जातगोष्ठीलाई टुक्राटुक्रा पारे, यसको इतिहास हामीसितै छ।

कुनै पनि पहाडको नेताले रणनीति बनाएर आन्दोलन गरेन र राज्य र केन्द्रलाई दवाब बनाउन सकेन, यसैले बारम्बार कुठराघात भयो, यसको इतिहास पनि हामीसितै छ।

भारतीय जनता पार्टीका युवा अध्यक्ष सागर पोखरेल, यसैले अब जनतालाई नठगौं, जनतालाई अँध्यारोमा राखेर पैसा, पावर र वैभवको राजनीति गर्न छोडौं, नेताहरूले बनाएको गोर्खाल्याण्डको दलदलमा नफसौं र अब गोर्खा सुहाउँदो वैकल्पिक व्यवस्था खोजौं भनिरहेका होइनन् त?

यसै पनि भारतीय जनता पार्टीका दिलिप घोष होस् वा कैलास बिजय वर्गीय बारम्बार भनिरहेकै छन्, छुट्टै राज्य गोर्खाल्याण्ड सम्भव छैन। तर भाजपाका सांसद राजु विष्ट भन्छन्, राजनीति गर्ने राज्यको आफ्नै तौरतरिका हुन्छ। उनीहरूले गोर्खाल्याण्ड राज्य दिने होइन, केन्द्रले दिने हो।

केन्द्रले दिने हो भने किन जिटिएको रिभ्यु बैठक बोलाइएको हो? सांसद भन्छन्, त्यो टेक्निकल मिस्टेक हो। जनताले बुझ्न नसकेको दुइवटा कुरा छ, यो केन्द्रीय गृहमन्त्रालयको टेक्लिकल मिस्टेक हो कि भाजपा र गठबन्धन दलको टेक्लिकल मिस्टेक हो?

यसको खुलासा कसैले गर्न सक्दैनन्। तर सागर पोखरेलले यसको केही हिन्ट्स भने दिएकै छन्।

प्रशासनिक कार्यप्रणालीलाई विश्वास गर्ने हो भने केन्द्रले ठिकै पहल गरिरहेको छ। किन भने जबसम्म त्रिपक्षीय सम्झौताअनुसार बसालिएको जिटिए जिउँदो छ, त्यसलाई मिचेर अर्को व्यवस्थाको निर्माण सम्भव छैन। त्यही घडेरीमा नयाँ घर बनाउनु हो भने पुरानो घर भत्काइनुपर्छ। नत्र पुरानै घरको मरम्मति गरिनुपर्छ। नयाँ घर बनाउनु होस् वा मरम्ति गर्नु होस्, पहिले घरेडी र धरातलबाटै काम थालिनुपर्छ। जिटिए रिभ्यु बैठक त्यस्तै प्रक्रिया हो। सरकारीरुपले गर्नुपर्ने काम जे हो, केन्द्रिय गृहमन्त्रालयले त्यही गरिरहेको हो। अर्थात सरकारले घडेरीबाटै काम शुरु गर्न खोजेको हो।

तर भाजपाको राजनैतिक कार्यप्रणालीलाई विश्वास गर्ने हो भने केन्द्रिय गृहमन्त्रालयले जिटिएको रिभ्यु बोलाउनु राजनैतिक हिसाबमा ठूलै मिस्टेक हो। किन भने सपना गोर्खाल्याण्ड उर्फ स्थायी राजनैतिक समाधानको देखाइएको छ, तर वार्ता बोलाइँदैछ, जिटिएको।

यो सरासर जनसपनामाथिको कुठराघात हो। यो कुठराघातले केन्द्र सरकारलाई कुनै असर गर्दैन तर दार्जिलिङका भाजपा र गठबन्धन दललाई भने गतिलो चोट पार्छ। यसैले सांसद विष्टले यसलाई मिस्टेक बताउनु स्वाभाविक हो।

स्पष्ट छ, बङ्गालको भाजपा पनि कङ्ग्रेसजस्तै, माकपाजस्तै, तृणमूल कङ्ग्रेसजस्तै छुट्टै राज्यको पक्षमा छैन। यदि पक्षमा नै छैन भने ढाँटिरहनु किन? सागर पोखरेलको तर्क यही नै देखिन्छ।

पोखरेलको वयानले बताउँछ, जनतालाई देखाइएको गोर्खाल्याण्डको सपना पुरा हुँदैन। भाजपाले बङ्गाललाई असर गर्ने यो मुद्दालाई सम्बोधन गर्न सक्तैन। सपना देखाउनु र पछि त्यो सपनामाथि कुठराघात हुनुभन्दा त त्यही सही हुन्छ, अहिलेदेखि नै वास्तविकता बताइदिउँ। सागर पोखरेलले त्यही वास्तविकता बताइरहेका होइनन् त?

पोखरेललाई दलबाट निष्कासन गरियो। किन भने सागर पोखरेलले वास्तविकता अघि राखिदिए। जनतालाई ढाँटेको कुरा उजागार गरिदिए। आज ढाँटेको कुराले भोलि गोर्खालाई घात गर्नुभन्दा सही त्यही हुन्छ कि आज नै वास्तविकता बताइदिउँ र गोर्खाल्याण्डको दलदलबाट निस्किएर गोर्खा सुहाउँदो, केन्द्र र राज्यको राजनीति सुहाउँदो, पहाडको राजनीति सुहाउँदो व्यवस्थाको विकल्प खोजौं।

सागर पोखरेलले त्यही बताउनु खोजिरहेको स्पष्ट छ। किन भने पोखरेल पहाडका गोर्खा हुन्, भोलि राजनीति यही पहाडमा नै गर्नुछ। आज ढाँटेर जनतालाई लट्याए पनि भोलि यथार्थ सामुन्ने आउने नै हो, राम्रो त्यो हुन्छ, तीतो कुरा आज नै बताऔं र त्यसको आदत बसाऔं, भाजपाको युवा अध्यक्षको पदमा बसेर पोखरेलले मोलेको रिस्क यसैको निम्ति हो भन्ने स्पष्ट छ।

पछिल्लो समय आएको पोखरेलको वयानलाई हेरौं। उनी भन्छन्, उनलाई जिल्ला भाजपाले वकाइदा युवा अध्यक्षको निम्ति नियुक्ति गरेको हो। यदि उनले गलत र भाजपाको रणनीतिविरुद्ध बोलेको हुने भने उनलाई भाजपाको संविधानअनुसार नै निलबन्धन गरिन्थ्यो। तर उनलाई संविधानअनुसार निलम्बन गरिएन। अर्थात सागर पोखरेलले जे बोलेका हुन्, त्यही वास्तविकता हो।

हिजोमात्र उनै पोखरेललाई सोही पदको निम्ति फेरि नियुक्ति दिइयो। भाजपाले पोखरेललाई नियुक्ति दिएर सागर पोखरेलले जे पनि बोले, सही बोलेका हुन् भनेर प्रमाणित गरेको होइन त? भाजपाको खास चाहना पोखरेलको मुखबाट बोलाइएको हो, भाजपा गोर्खाल्याण्डको विकल्प नै चाहन्छ, गोर्खाल्याण्ड राज्यको गठन हुँदैन भनेर मोहर लगाएको होइन त?

यदि सागर पोखरेल सही हुन् भने गलत को हुन् त? गोर्खाल्याण्ड उर्फ स्थायी राजनैतिक समाधानको सपना देखाउने भारतीय जनता पार्टी?

यदि सागर पोखरेल सही हुन् भने गलत को हुन् त? गोर्खाल्याण्डलाई स्थायी राजनैतिक समाधान बनाउने विमल गुरुङ? यदि सागर पोखरेल सही हुन् भने गलत को हुन् त? स्थायी राजनैतिक समाधानको लागि समर्थन गर्ने आरबी राई, मन घिसिङ?

यदि सागर पोखरेल सही हुन् भने गलत को हुन् त? छुट्टैराज्यको मुद्दामा भारीमतले जितेर सांसद बन्ने राजु विष्ट?

पोखरेलको वयानले भोलिको राजनीतिको लागि र गोर्खाको भविष्यको लागि धेरै कुराहरूको सङ्केत गरेको छ, तर त्यसलाई गम्भीरतासित कसैले लिएका छैनन्। भोलि भाजपाले धोका दियो भने आजको सागर पोखरेल सही हुनेछन्। झुटा हुनेछन् राजु विष्ट, विमल गुरुङ, आरबी राई, मन घिसिङ।

सागर पोखरेलले भोलि धोका हुनुभन्दा आज नै वास्तविक राजनीति गरेर जनताको सपनालाई सच्याउने र विकल्प खोज्ने जुन मूल कुरा बताइहेका छन्, त्यो पोखरेलको नीजि कुरा होइन भन्ने त उनलाई संविधानअनुसार निलम्बन नगरिएकैले स्पष्ट छ।

यसको मतलब भाजपाको भित्रिय रणनीति अब ढोकोले छोप्दा नछोपिने भइसकेको छ। आजकै रोशन गिरीको विज्ञप्तीलाई हेर्नुहोस्, गिरीले भनेका छन्, भाजपाले गठबन्धनको धर्मलाई अवहेलना गर्न थालेको छ। अर्थात भाजपा पहाड, तराई र डुवर्समा आफ्नै पार्टीको वर्चस्व बनाउन चाहन्छ। आफ्नो पार्टीकै वर्चस्व बन्यो भने उसलाई किन चाहियो विमल, किन चाहियो आर्बी, किन चाहियो मन घिसिङ? किन चाहियो विमल, मन, आर्बीहरूले बोकेको मुद्दा।

अब भाजपा खागर पोखरेलको बाटोमा हिँडिरसकेको कुरालाई रोशन गिरीको विज्ञप्तीले प्रमाणित गर्दैन त?

केन्द्रको जिटिएको रिभ्यु बैठक, सांसद विष्टको सङ्गठन विस्तार, सागर पोखरेलको आइडिया र रोशन गिरीको विज्ञप्तीले कस्तो भोलिको निर्माणको सङ्केत गरिरहेको छ? मन्थन गर्ने जिम्मा तपाईँहरूको।

कुनै पनि पार्टीको कार्यकर्ता, समर्थक, नेता भएर होइन खाँट्टी गोर्खा भएर यी विश्लेषणलाई पढ्नुहोला, बुझ्नुहोला, गम्नु होला।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया