किड्नी पीडितलाई इज्राइलबाट 2 लाख 30 हजार रुपियाँको सहयोग

विज्ञापन

मिरिक, 31 अगस्त: तकदाह टिस्टाभेल्ली समष्टि अन्तर्गत नामरिङ चियाकमान निवासी अनमोल गुरुङलाई किड्नी रोग उपचारको निम्ति इज्राइलबाट 2 लाख 30 हजार 7 सय 62 रुपियाँको सहयोग प्राप्त भएको छ। इज्राइलमा कार्यरत् गोर्खा कामदारहरूको सङ्गठन इण्डियन गोर्खाज कम्पनीले गुरुङको उपचारको निम्ति उक्त रकम प्रदान गरेको हो।

आर्थिक अभावहरूका कारण पाँच वर्षदेखि किड्नी रोगले थलिएका गुरुङको उपचारको निम्ति पिता अजय गुरुङ अनि गोर्खा ग्राम सुधार समितिले सहयोग माग्दै कम्पनीलाई पत्रचार गरेको थियो। यसैको फलस्वरूप इण्डियन गोर्खा कम्पनीका प्रबन्धक निर्देशक नरेन थापा लुङ्गेलीले इज्राइलमा बसोबासो गर्ने गोर्खा समुदायबाट सहयोग सङ्कलन गरेर उक्त रकम पठाएका हुन्। स्थानीय सामाजिक कार्यकर्ताहरू रिजू थापा अनि विशाल तामाङले  इण्डियन गोर्खा कम्पनीले उपलब्ध गराएको रकम अनमोल गुरूङका बाबा अजय गुरुङ अनि आमा निर्मला गुरूङलाई हस्तारण गरे। यसअवसरमा बोल्दै रिजु थापा अनि विशाल तामाङले अनमोल गुरुङको सहयोगको निम्ति कोरोना महामारीको समयम पनि ठूलो रकम सहयोग गरिदिएकोमा इण्डियन गोर्खाज कम्पनीका प्रबन्धक निर्देशक नरेन थापा लुङ्गेली अनि सम्पूर्ण टोलीप्रति आभार प्रकट गरेका छन्।

यस भेकबाट इज्रायलमा गएर कार्य  गरेपनि सँधै आफ्नो ठाउँको निम्ति सहयोग गर्ने उद्देश्य राखेर 2011 सालमा गठन भएको इण्डियन गोर्खा कम्पनीले अहिलेसम्म दार्जीलिङ पहाडी क्षेत्रका धेरैवटा गाँउबस्तीका मानिसहरूलाई सहयोग गर्दै आएको छ। कम्पनीले विपदका बेला आफ्नो ठाउँका विरामीहरूलाई सहयोग गर्ने मात्र होइन तर इज्राइलमै कार्यरत् गोर्खाहरूलाई पनि सङ्गठित गर्ने अनि विपदका बेला सहयोग गर्ने गरेको छ।

अनमोलका बाबा अजय गुरुङ अनि आमा निर्मला गुरुङले कम्पनीप्रति आभार प्रकट गर्दै सबैको सहयोगको कारण छोराले नयाँ जीवन पाउने कुरामा विश्वस्त रहेको बताएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया