व्यक्तिगत् बयानलाई भाजपासित जोडेर नहेर्न सासंद राजु विष्टको आग्रह, भने, ‘भाजपा हाम्रो सङ्कल्पपत्रमा गरिएका वचनबद्धताहरू पूरा गर्न दृढ़सङ्कल्पित छ’

विज्ञापन

‘उहाँहरूले यति भनिसक्नुभएपछि, अरू कसैले के विचार राख्दछ त्यसले भाजपाको अड़ानलाई दर्शाउँदैन’-विष्टले भनेका छन्, ‘म सबैलाई अनुरोध गर्दछु कि कुनै पनि व्यक्ति विशेषद्वारा उसको व्यक्तिगत क्षमतामा भनिएका त्यस्ता अनुचित कथनलाई गम्भीरतापूर्वक नलिइदिनुहोला।’

कालेबुङ, 5 सितम्बर: दार्जीलिङका भाजपा सासंद राजु विष्टले कुनै पनि व्यक्तिविशेषको नीजि बयानलाई भाजपासित जोडेर नहेर्न आग्रह गरेका छन्। सासंद विष्टले विज्ञप्तिमा कसैको नाम उल्लेख नगरे पनि केही दिनदेखि बिवादस्पद बयान दिइरहेका भाजपाका जिल्ला युवा अध्यक्ष सागर पोख्रेलको बयानतिरै विष्टको बयानले सङ्केत गरेको छ।
‘कुनै एउटा व्यक्तिको जताभावीको टिप्पणीलाई एक पार्टीमाथि आरोपित गर्नु अत्यन्तै दुर्भाग्यपूर्ण हो’-विष्टले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘कुनै व्यक्तिले जे-जस्तो वा जसरी उसको विचार व्यक्त गरेतापनि, भाजपा हाम्रो सङ्कल्पपत्रमा गरिएका वचनबद्धताहरू पूरा गर्न दृढ़सङ्कल्पित छ।’
सागर पोख्रेलले केही दिनदेखि भिडियोहरू जारी गर्दै गोर्खाल्याण्ड सम्भव नरहेको, भाजपा दिने पक्षमा नरहेको, गोर्खाल्याण्डको विकल्प खोज्नुपर्ने जस्ता विवादस्पद बयान दिइरहेका छन्। बिवादित बयानको कारण सागर पोख्रेललाई भाजपाले दलबाट निष्काषित गरेपनि अहिले फेरि जिल्ला अध्यक्षकै पदमा राखेको छ। उनको बयानलाई लिएर भाजपामाथि अनेकौँ सवालहरू उठ्न थालेपछि सासंद विष्ट बोल्न बाध्य भएका छन्।
‘भारत विश्वमा सबैभन्दा विशाल लोकतन्त्र भएको हुनाले यहाँ हरेक व्यक्तिलाई आफ्नो व्यक्तिगत विचार सार्वजनिक मञ्चहरूमा साझा गर्ने अधिकार छ-विष्टले भनेका छन्, ‘तर, कुनै एक व्यक्तिका टिप्पणीहरूलाई हाम्रो पार्टीसित जोड़ेर प्रस्तुत गरिनु अनुचित हो।’
विष्टका अनुसार गोर्खाल्याण्डको मागले दार्जीलिङ्ग पहाड़, तराई र डुवर्सका जनताका आकाङ्क्षाहरूलाई परिलक्षित गर्दछ। स्थानीय भावनाहरूको सम्मान गर्दै भाजपाले क्षेत्रका जनताको दीर्घकालीन मागहरूको स्थायी राजनीतिक समाधान गर्न वचनबद्ध छ। कुनै पनि मुद्दामाथि भारतीय जनता पार्टीको अडान र बचनबद्धता सङ्कल्पपत्रमा स्पष्ट राखिएको हुन्छ।
त्यसभन्दा पनि महत्त्वपूर्ण प्रधानमन्त्री नरेन्द्र मोदीज्यूले पहिल्यै नै गोर्खा समुदायका सपनाहरू पूरा गरिने भनिससकेको अनि गृहमन्त्री अमित शाहले पनि भाजपाले सङ्कल्पपत्रमा दार्जीलिङ क्षेत्रका जनतासँग गरिएका वाचा पूरा गर्ने प्रतिबद्धतामाथि बारम्बार जोड दिँदै आएका छन्। देशका प्रधानमन्त्री र गृहमन्त्रीका कार्यालयहरूद्वारा गरिएका वचनबद्धताहरूलाई मध्येनजर राख्दा अरू कुनै कुराले विचलित हुनुपर्ने आवश्यकता नरहेको विष्टले बताएका छन्।
‘उहाँहरूले यति भनिसक्नुभएपछि, अरू कसैले के विचार राख्दछ त्यसले भाजपाको अड़ानलाई दर्शाउँदैन’-विष्टले भनेका छन्, ‘म सबैलाई अनुरोध गर्दछु कि कुनै पनि व्यक्ति विशेषद्वारा उसको व्यक्तिगत क्षमतामा भनिएका त्यस्ता अनुचित कथनलाई गम्भीरतापूर्वक नलिइदिनुहोला।’
आज मीडिया र सोशल मीडियाका केही हिस्सामा सनसनीपूर्ण खबर फैलाउनु अपवाद भन्दापनि एउटा परिपाटीनै बनिसकेको भएपनि भाजपाद्वारा गरिएका वचनबद्धताहरू पूरा गर्ने दिशामा आफू क्रियाशील रहेको अनि आफूले गोर्खा समुदायलाई विश्वासघात नगर्ने सत्य आम जनताले बुझ्न विष्टले आग्रह गरेका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया