निजी कविता

विज्ञापन

काव्यवृत्त – ८

आफ्नो निजी कुरालाई कविताको रूप दिएर कविले पाठकबाट के अपेक्षा राखेको हुनसक्छ ? अर्थात् कविले आफ्नो नितान्त निजी कुरा पोखेका कवितासित पाठकको के सरोकार होला ? प्रश्न सोध्न सकिन्छ ।


मनप्रसाद सुब्बा


‘नितान्त आत्मप्रकाशनमा पनि कवि समूहको निमित्त हो ।‘ कवि खड्गसिंह राई ‘काँढा’ले यसो भनेका थिए ई. १९८२ तिरै भारतीय नेपाली वाङमय-मा आफ्ना केही कविताहरूको प्रस्तुतिसहित । कवितामा नितान्त आत्मप्रकाशन निजी कविता (Personal Poems)-को स्वभाव हो । आफ्नो निजी कुरालाई कविताको रूप दिएर कविले पाठकबाट के अपेक्षा राखेको हुनसक्छ ? अर्थात् कविले आफ्नो नितान्त निजी कुरा पोखेका कवितासित पाठकको के सरोकार होला ? प्रश्न सोध्न सकिन्छ ।

यदि यी प्रश्न सोधिन्छन् भने परोक्षतः यी प्रश्नको पछिल्तिरबाट कविताको धर्म यथार्थमा के हो त? जस्तो प्रश्नको प्रतिध्वनि पनि थाह गर्न सकिन्छ । अघिल्लो प्रश्नले कविताको सामष्टिक तथा जागतिक सरोकारको बृहत्तर भूमिकातर्फ सङ्केत गरेको बुझिन्छ भने पछिल्लो प्रश्नले कविताको मूल स्वभावतर्फ । अघिल्लोमा कविताको सामुहिक उपादेयता समेत सङ्केतित छ भने पछिल्लोमा कविताको सूक्ष्म संवेदनात्मक तत्वप्रतिको आकर्षण । कविताको भवितालाई यसरी दुइ फरक दृष्टिमा अर्थात् परिप्रेक्ष्यमा विभक्त गरेपछि ‘नितान्त आत्मप्रकाशन समूहको निमित्त पनि’ भन्ने कुराको गाँठो खुकुलो हुनुको साटो अझ कस्सिएको जस्तो देखिएला । यहाँ द्वैध वैपरित्वमा उभिएका दुइ कुरा ‘आत्मप्रकाशन’ र ‘समूह’-को संयुक्ति निजी कवितामा विद्यमान रहने तथ्य इङ्गित गरिएको बुझ्छौं ।

     कथ्य नितान्त निजी होस् या क्षेत्रीय या सर्वजनीन, त्यो त्यति बेला मात्र कविता बन्छ जब त्यसमा कविताको प्राण सञ्चारित हुन्छ । कविताका सूक्ष्म तत्वहरूले अनुप्राणित भएपछि पाठकको संवेदना त्यो कविताद्वारा तरङ्गित हुन्छ र त्यो तरङ्गिँदो अवस्थामा कविताको वैषयिकता पनि बढी जीवन्त र प्रभावकारी बनेर उठेको हुन्छ । वैषयिक सरोकारको परिधि सीमित होस् या फराकिलो, काव्यिक गुणको परिमाणले नै त्यो ग्राह्य-अल्पग्राह्य-अग्राह्य बन्दछ । देवकोटाको ‘पागल’ अतीव प्रभावशाली निजी कविता हो ।

कविले भोगेका तीब्र मानसिक पीडाको मूल फुटेर निस्केको सशक्त आत्मप्रकाशन ! आज दशकौँपछि पनि यो कविताले पाठक उत्तिकै तरङ्गिन सक्छ । माधवप्रसाद घिमिरेको शोककाव्य ‘गौरी’ नितान्त निजी कविताकै उत्कृष्ट नमुना हो । थुप्रै संस्करण निस्किसकेको, पारम्परिक छन्दमा लेखिएको यो काव्यलाई विभिन्न कालका पाठकहरूले उत्तिकै चाख मानेर पढ्नुको पछि कुन पाठकीय सरोकार होला ?

आफ्नै आँशु बजारमा बेच्न निकालेर यसको के मोल पाइन्छ होला र भन्दै पनि तर कविले यो आफ्नो काव्यिक आत्मप्रकाशन सार्वजनिक गरिदिए । पाठकहरूले पनि यसलाई अत्यन्त चाख र विशेष स्वादका साथ स्वीकार गरे, स्वागत गरे । कविको पत्नीवियोगको वेदना नै कविताको मूल स्वर हो र यसैको अभिव्यक्तिमा पाठकहरू मोहित भएका हुन् भने ती पाठक स्याडिस्टिक (परपीडक) हुन् र यो मनोवैज्ञानिक अध्ययनको विषय हुनसक्छ । तर त्योभन्दा पहिलो र प्रमुख पाठकीय आसक्ति त्यो वेदनाजन्य अनुभूतिको उच्च काव्यिक अभिव्यञ्जनासित हो । वियोगको वेदनाले रोइकराइ गरेको दृश्य प्रिय लाग्दैन कसैलाई पनि । त्यसको सपाट शाब्दिक प्रस्तुतिले संवेदित पनि भइँदैन । तर घिमिरे जस्ता कविले त्यै तीब्र वेदनाबाट यस्तो मार्मिक काव्यिक सौन्दर्यबोध गराइदिन्छन् कि पाठक त्यसै त्यसै संवेदित भइउठ्छ। पाठकलाई त्यसरी संवेदित तुल्याउन सक्नु नै कविताको मूल धर्म हो । र कुनै पनि निजी कविताले पाठकमा संवेदना जगाउन सक्ने सामर्थ्य राख्छ भने त्यो कविता निजी भएर पनि समुहको निमित्त हो ।

     स्वाच्छन्दिक (रोम्यान्टिक) प्रवृत्तिको प्रभावमा लेखिएका काव्यिक फाँटमा सुन्दर निजी कविताका नमुनाहरू धेरै पाउन सकिन्छ । आयामेली कवि ईश्वर वल्लभको सर्वाधिक चर्चित कविता ‘मेरो आमाले आत्महत्या गरेको देश’-लाई आधुनिकतावादी नेपाली कवितामा पाइएको एक गम्भीर निजी कविता मान्न सकिन्छ । पाब्लो नेरूदाको आत्मकथात्मक काव्यग्रन्थ Isla Negra निजी कविताको यौटा उच्च अभिप्राप्ति हो । उनका प्रेम कविताहरू पनि निजी कविताको सुन्दर सिर्जना हुन् । त्यसो त प्रेम कविताहरू सबै नै निजी कविताको श्रेणीमा पर्छन् । वैरागी काइँलाको मेरो हजुरका कविताहरूमा निजी कविताको अत्यन्तै मीठो स्वाद पाइन्छ जसमध्ये ‘सपनाको लास’ हरेक दृष्टिले उच्चस्थ छ ।             

     निजी कविताको परम्परा नि:सन्देह काव्यको उद्भव जतिकै पुरानो हो ।  तर कवितामा अर्थको ठोसता तथा बौद्धिकताको बुत्ता खोज्नेहरूलाई निजी कविताहरू केवल कोरा प्रलाप मात्र पनि होलान् । सर्वग्राह्य निजी कविता लेख्न निकै गाह्रो पनि हुन्छ वास्तवमा । भावको घनत्व र तीब्रतालाई सही अभिव्यक्ति दिन नसके कविता कोरा भावुकता (सेन्टिमेन्टलिटी)-को छिपछिपे पानी भएर भुइँमा पोखिएको मात्र पनि हुनसक्छ । हो, त्यसबेला निजी कविता विरक्तलाग्दो हुन्छ जब त्यसमा घुँडासम्म आउने पानीमा पौडिन खोजेको छप्ल्याङ छप्ल्याङ आवाज मात्र आइरहन्छ भने, अर्थात् बिलौना कहँदै शब्दहरू लडीबडी मात्र गरेका छन् भने, भावुकताको थिलथिले भुइँमा कविता धेरै दिनसम्म उभिरहन सक्तैन ।  

भावुकताको व्याप्तिमा न भावको तीब्रता हुन्छ, न भाव-गाम्भीर्य नै । भुइँमा पोखिएको पानी जस्तो मात्र हुन्छा त्यो ।

     आफ्नो नितान्त निजी भावको घनत्व र तीब्रतालाई काव्यिक उच्चतामा उचालेर श्रेष्ठ कविताहरु लेखिएका छन् संसारमा । दृष्टान्तहरू पगितो पाउन सकिन्छ । काव्यिक उच्चतामा उक्लेपछि जुनै अभिव्यक्ति पनि कविता हुन्छ – निजी र सामुहिक, आञ्चलिक र सर्वजनीन भनी वर्गीकृत हुँदैन । बस्, त्यो कविता मात्र हुन्छ । सृजित काव्यिकताको अपेक्षित तहमा उक्लेपछि कविको नितान्त आत्मपरक कुरा पनि सर्वजनीन र विश्वजनीन हुन्छ ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया