कथा : दोस्रो घण्टी

विज्ञापन

कथा

एकदिन बिट्टू व्यागमा लुगाहरू खाँदिरहेको थियो। भालू कान्छा अचानक देखा पऱ्यो र र फ्याट्ट बोल्यो ‘गर्छस् भने आफ्नै ठाउँमा केही गर, उमेर र शक्ति अर्को ठाउँलाई नदे। आमा गाडेको माटोमा नै उम्रिएको रुख बलियो हुन्छ।’ टङटङ। बगानको दोस्रो घन्टी त्यतिखेरै बज्यो।


पौलिन लेप्चा


6 बजी पहिलो कमान-घण्टी बज्दा भालू कान्छाको शरिरमा कुनि कहाँबाट ताजा स्फुर्ति सञ्चारित भयो। बेलुकीको बासी भात कम्ती तेलमा भुटेर  नुन हालेको एक मग तातो फिका चिया बिट्टुले पस्किदिएको छ। उसले खपाखप भात खायो र हान्नियो।

गन्ती पुग्न खेल मैदानतिर लम्किएको भालू कान्छाको पाइला हेर्दा थाहा हुन्छ, उसलाई निक्कै हतार छ।

‘खोई कुन चैं मन्त्री आउँछ रे हौ आजु,’ हतारसाथ कुन्नी कसले सोधेको प्रश्नको उत्तर हत्तारसित हिँड्दै पनि दिन भ्यायो उसले। सबै श्रमिकलाई छिट्टो बोलाइएको छ।  

उसलाई मन्त्रीको नाम त थाहा छैन तर उसले बोलेको ध्यानले सुन्यो। मन्त्रीले युनियनका नेताहरूले नै बोल्ने भाषामा बोल्यो।  पदोन्नति, बद्लीकाम, कमानको विकाश। बिजुली। पानी। अस्पताल। बाटो। अरुबेला लोकल नेताले बोलेको कुरामा उसलाई कहिल्यै विश्वास लागेन। तर यसपल्ट मन्त्रीले पनि त्यही बोलेपछि विश्वास पलायो।

उ एकाएक जाँगरिलो बन्यो। उसमा कुन्नी कसरी कति हो कति जोश भरियो।

000

भालूकान्छा छेवैको गोदाम निरिक्षणको काम गर्छ। चौकीदार।

‘सुकेको बोक्रा कोल्ले पो चोर्ला हौ,’  भन्छ उ, ‘त्यस्सै कुइसकेको छ।’

तै पनि साँझ बिहान औपचारिकरुपमा एक दुई चक्कर लाउछ। उसको आँखा रातो छ। अनुहार पनि उस्तै। स्पिरिटले गर्दा हो कि? अर्धवैंसे भालू कान्छा सोझा पनि छन्। तर कसैले हावा भरिदिए त्यसैत्यसै उचालिने। पोहरसाल हाड क्यानसरले स्वास्नी बिती। त्यसदिनदेखि उसको अनुहार मलिन देखिन्छ। कुनै गम्भीर पुरुषजस्तो। उसको अनुहारको मुद्रा नै त्यस्तो।

छोरा बिट्टू काट्टाकुट्टी आमाजस्तो छ। घर-आमाको रित्तो ठाँउ उसैले भरेको छ। तर जाँगरिलो चाँही साह्रै होइन। 9 बाई 20 को घर छ। दुइवटा सानासाना कोठा। एक कोठामा ग्यास चुला छ। सिलिन्डर भर्ने जाँगर तर कसैको छैन। आँगन छेउ कटेरो पनि छ। त्यहीँ छ दाउराचुला। खाना त्यतै पाक्छ।  घर वरिपरि चिचुचाङ्ले फुलिसकेका बोटहरु छन्। सुकेका। बोट उम्रिएका सानासाना थैलाहरु त्यतिकै छ। त्यो पनि पोहर  भालू कान्छाकी स्वास्नी सानु माईलीले रोपेकी। सानु माईली खुबै जाँगरिली। काँक्रा स्कूस, करेला, चटेला, खोर्सानी, बीँ सबै उमार्ने। फलाउने।

तर अहिले आलु, दाल र बेला बखत जुवामा मार्दा  मासु ल्याँउछ भालू कान्छा र खान्छन् बाउछोरा। मासु ल्याँउदा चाँही भान्सा आफै गर्छ भालू कान्छ। उसको तुनुमुनु बेटा (कुकुर) र किट्टु (विरालो)ले टुलुटुलु हेरिदिन्छ। खाँदाखाँदै एकएक चोक्दा भुइँमा फ्याँकिदिन्छ। बेटा र किट्टु त्यसैले भालू कान्छाको अनुहार ताकिरहन्छ।

उसलाई पशुपन्छी मनपर्छ। माया गर्छ। पल्लो घरको कुखुरा आँगनमा आयो भने बात मार्न थाल्छ। बाख्रा आयो भने पनि उस्तै।  बेटा र किट्टुले त उसले बोलेको सबै बुझेजस्तै गर्छ। बेसी मातेको बेलामा त विभिन्न भाषामा वार्तालाप गर्छ उ। सानुको वियोगमा अझै पिउन थालेको रे।

‘यो यादलाई म के गरुम् त?,’ नपिउनु भनेर कसैले हकाऱ्यो कि उ भनिदिन्छ, ‘सानुजस्तै याद मर्दैन त के गरुम् म?’

याद, मायाजस्तो शब्द उच्चारण गऱ्यो कि कान्छा मातेको छ भनेर बुझ्दा हुन्छ। हुन त समाज, संस्थानले सानुको रोग निको पार्न नसघाएको पनि होइन।  अनेक उपाय गरी भेल्लोर-अस्पताल पनि पुऱ्याइएको हो। केही समय निको हुने फेरि बल्झिने। पोहोर बर्खामा बाटोमा चिप्लिएकी थिई। फेरि बल्झियो। त्यही निहूले लग्यो सानुलाई।

बिट्टू नौमा पढ्छ। कमान कै हाई स्कूलमा। छोराले राम्रो पढेर खुरु खुरु पास भएको देख्दा भालू कान्छा खुशी पो हुनुपर्ने तर उ त डराउँछ पो। पैसा रक्सीमा सक्छ। सानुको उपचार खर्चको ऋण छँदैछ। त्यसमा पनि तास खेलिदिन्छ।

बिट्टुलाई यी सब ठिक लाग्दैन। उ केरकार गर्छ। तर बोले पो भालू कान्छा।  छोराले केरकार गर्दा उ झन डराउँछ। ‘यल्ले पढेर  जान्ने, बाठो भएपछि झन् मसँग झगडा गर्ने हो कि,’ उसको मनमा यही कुरा चलिबस्छ। उ पनि अनपढ चाँही होइन। पाँचौ श्रेणीमा तीन पल्ट फेल भएपछि स्कूललाई अलबिदा गरेको मात्र हो। उसले त्यसपछि किताबलाई छड्के आँखाले पनि हेरेन।

रक्सीको लत, सानुको याद, तास र खँगारिँदै गइरहेको जोबनले उसलाई धेर सोच्न नसक्ने बनाइदियो। त्यसैले अचेल छोराको प्रगतिमासमेत डाह गर्छ। कसैले कराए एउटै वहाना छ, सानुको वियोग। अचेल कसैले केही भन्दैनन्। तर विट्टूले केर्न भने छोडेको छैन।

000

अङ्ग्रेजले बिसौं शताब्दितिर कोलोनीकरण गरी विश्वमा नै अधिपति जमायो। कमायो। लुट्यो। उनीहरूकै दमनमा पुर्खा पनि परे। अङ्ग्रेजले प्रायः सबै महाद्विपवासीलाई नै दास बनायो। भारत स्वतन्त्र त भयो तर यहाँ पनि अङ्ग्रेजको रहनसहन अनुकरण भयो। यो वौद्धिक गुलामी चरममा पुग्यो। सिन्कोना कमानमा पनि त्यो गुलामी छिऱ्यो। सिन्कोना बगानमा पनि भालू कान्छाका पुर्खा दास बने। चुसे, लुटे र छोडिराखे। तर  अङ्ग्रेजले जस्तो स्थितिमा छोड्यो, बगान अहिलेसम्म उही स्थितिमा छ।

देशमा सरकार फेरिए। राज्यमा सरकार फेरिए। बगान फेरिएन। बगान दिनोदिन पुरानो बन्यो। कारखानाका कलपूर्जा पुरानो बन्यो। काम गर्ने शैली उही पुरानौ रह्यो। श्रमिकहरू पनि अल्छे बन्दै गए। सरकारले कुनै कार्यसंस्कृति विकास गरेन। त्यसैले अभाव जिउँदो बस्यो। समस्या जिउँदो बस्यो। स्थानीय नेताहरू पनि आफ्नै स्वार्थमा बसे।

मानिसहरूमा न त बगानको कायापलट गर्ने जाँगर पलायो, न त सरकारी असंवेदनशीलता चिन्ने चेतना नै पलायो। यसरी अर्काकै शासनमा बस्ने संस्कार हाबी बन्दै गयो। बुद्धि त छ, तर त्यो बढ्नै पाउँदैन। चेतना त छ, तर निमोठिन्छ। अङ्ग्रेजबाट शोषण गर्ने यो मन्त्र लिएर सरकारहरू चलिरहेका छन्।

बुद्धि नबढेपछि, चेतना नबढेपछि, अभाव र समस्या मात्र बढेपछि भालू कान्छाजस्ता श्रमिक एक रेखीय सोचले ग्रस्त हुनु स्वाभाविक थियो।

भालू कान्छालाई थाहा छैन, यो उसको दोष होइन सत्ताको चलखेल हो। तर नियति त उसैको हो। तास खेल्दा कथङ्कल मारिहाले उसलाई आफ्नो चातुर्यको भ्रम हुन्छ। तर मार्नुभन्दा हार्नु नै धेर भएको उसलाई ख्यालै छैन।

गोजीमा रकम नभएपछि जोकोही पनि बहुलिन्छन्। भालू कान्छा कुन खेतको मूला हो र। त्यसैले उ अचेल बर्बराउने भएको छ। बिट्टुलाई बाउको अवस्थाले चिन्चित बनाएको छ। उसलाई पढ्न मन त छ तर घरको काम धन्धा र बाबुको अल्प ध्यानले कता कता पढ्नै छोड्ने मन बन्यो बिट्टूको।

सत्ता पनि त यही चाहन्छ कि बहुसंख्यक पहाडवासी अशिक्षित होस्। जीवन स्तर नबढोस्। हुकुम-हतियारबाट बञ्चित नबनोस्। पारि विकसित राज्यमा गई कतिपय नव-युवक युवतीहरुले निजी कारखानामा भए पनि रोजगारी गरी जीवन सम्मानपूर्वक बिताएको प्रमाण गाँउ घरमा प्रत्यक्ष छ। देशविदेश पलायन बन्नेहरूको हूल उस्तै छ। कुन्नी किन बिट्टूको मनमा पनि पलायन हुने विचार झ्याँगिदै गयो।

एकदिन बिट्टूले मनको कुरा भालू कान्छालाई सुनायो।

उसले कुनै जवाब दिएन। तर अचानक उ रक्सी नपिई घर आउन थाल्यो। तास नखेली घर आउन थाल्यो। उसको अनुहारमा हजारौं रङ देखापर्न थाल्यो। सानुले छोडेको पीडा खप्न जीवनलाई नै तहसनहस पारिरहेको भालू कान्छालाई अचानक के भयो? न बिट्टूले बुझ्यो। न त गाउँसमाजले।

एकदिन बिट्टू व्यागमा लुगाहरू खाँदिरहेको थियो। भालू कान्छा अचानक देखा पऱ्यो र र फ्याट्ट बोल्यो ‘गर्छस् भने आफ्नै ठाउँमा केही गर, उमेर र शक्ति अर्को ठाउँलाई नदे। आमा गाडेको माटोमा नै उम्रिएको रुख बलियो हुन्छ।’

टङटङ। बगानको दोस्रो घन्टी त्यतिखेरै बज्यो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया