पहाडमा म्याथमेटिक्समाथिको गलत धारणा

विज्ञापन

शिक्षा

[साना-साना शब्दलाई ध्यान दिएर त्यसको भिन्नता बुझिदिनुहोला, नत्र गलत बुझिए घातक हुने सम्भावना हुन्छ। यहाँ अङ्ग्रेजी शब्दहरू नै चलाएको छु कारण गणित (म्याथेमेटिक्स) प्राय: सबैले अङ्ग्रेजीमा नै पढेका हुन्छन्।]


कमल भूजेल


       पहाडमा गणित विषयमामा प्राय: नै फेल हुने गर्छन् र थोरैको मात्र राम्रो अङ्क आउने गर्छ। गणितमा राम्रो अङ्क आए ज्ञानी पनि भनिन्छ। पहाडेहरू गणितमा किन पछाडिएका हुन्? यो प्रश्न पछिल्तिर धेरै कारण हुन सक्छन्। थुप्रै आयमहरूबाट निहाल्न सकिन्छ। तथापि यो लेखमा म्याथ (गणित) माथिको धारणा र यसलाई सिकाइने पद्धतिबारे छलफल गर्ने छु। अनि अरू विषयहरू अन्य लेखहरूमा लेख्ने छु।

       सर्व-प्रथम, भन्नु नै हो भने पहाडमा म्याथ पढाइँदैन। प्राय: स्कूलहरूमा म्याथका शिक्षकले म्याथ पढाउँदैनन्।

पढाउँदैनन्? त के गर्छन् ? भनेर प्रश्न उठ्न नै सक्छ।

       हजुर पहाडका प्राय: स्कूलहरूमा म्याथ पढाइँदैन। केवल म्याथ गराउँछन्। पढाउँनु र गराउनुमा आकास-पातालको भिन्नता छ। स्कूलमा गराएको म्याथलाई नै हामीले म्याथ पढाएको पनि भनेर बुझिरहेका छौं।

गणित के हो?

बीज-गणित के हो?

अङ्क-गणित के हो?

वा जेमिती, त्रिकोणमितिहरू के हुन् भनेर पढाएका हुँदैनन्। तर यसमा परेका हिसाबहरू यसरी गर्नु पर्छ है भनेर गराइदिन्छन् मात्र। म्याथ के हो? नबूझाइकन नै किताब सकिदिन्छन्। हिसाब बनाउन मात्र सिकाउँछन्, फर्मुलाहरू रटाइदिन्छन् तर ती कसरी आए बताउँदैनन् वा त्यसलाई आफ्नो जीवनमा रिलेट गरेर बुझाउँदैनन्।

       यसरी नै प्रायले म्याथ गराउँछन्। पढाउँदैनन्। थियोरमहरू पनि रटाइदिन्छन्। र म्याथ प्र्याक्टिस गर्नु भनेर प्रचार गर्छन्। म्याथ प्र्याक्टिसले मात्र हुने कुरा होइन। प्र्याक्टिस त अन्तिममा पो आउने कुरा हो त। म्याथको कन्सेप्ट नै क्लियर नभइकन प्र्याक्टिस गर्नु भनेको गधाले भारी बोकेको जस्तो मात्र हुन्छ। जीवनमा कतै काम लगाउन नै सकिन्न। म्याथ प्र्याक्टिसले मात्र हुँदै-हुँदैन। म्याथ पढाउनुको सट्टा गराउने हुनाले नै म्याथ धेरैले बुझ्न नसकेको पनि हो।

म्याथ स्वयंमा जटिल हुँदैन तर जटिल बनाएर देखाइन्छ। म्याथलाई व्यवहारिकतामा उतार्नु नसक्दा म्याथ बुझाई देखि धेरै टाडाको एकदमै अमूर्त (Abstract) जस्तो लाग्छ। विद्यार्थीलाई पनि फर्मुलाहरू देख्दा के हो? के हो? जस्तो लाग्छ। जीवनको कुन भागमा काम लाग्छ थाहा नै भएको हुँदैन। र यसरी नै म्याथ विद्यार्थीको जीवनदेखि टाडिँदै जान्छ। जीवनदेखि टाडोको वस्तु भइदिन्छ म्याथ। बुझ्ने संस्कार नै नभेटाए पछि पास हुनुको लागि वा मार्क्स पाउनको लागि मात्र म्याथ गर्ने चलन छ। म्याथलाई पढ्ने संस्कार नै छैन। म्याथ नपढिकन हामी गरेको-गरेको मात्र गर्छौं र बुझ्दैनौं। साह्रो छ भनेर छोडिदिन्छौं। खुनमा नै म्याथ हामीबाट हुँदैन भनेर मानिदिन्छौं।

       सानो क्लासमा जबदेखि नै म्याथ शुरू हुन्छ, गुणा (Tables) रटाइदिनु थाल्छ। गुणा पढाउँदैनन्। बल्ल-बल्ल तेह्र-चौदहको गुणा याद गरेर पन्द्रसम्म के पुग्छन् त्यसपछि भने आँट नै गर्दैनन्। बुनियाँदी कुराहरूमा नै हामी कमजोर हुन्छौं। म्याथको बेस नै ठीक गरेको हुँदैन। यसरी सानै क्लासदेखि म्याथको घडेरी बिगारिदिएको हुन्छ। बुनियाँदी कुराहरू नै ठीकसँग नसिके पछि, जति माथि आउँदै जान्छ भड्खालोमा त पर्ने नै भयो। आफूले म्याथ गर्न नसके पछि म्याथ साह्रो छ भन्ने चलन सबैले सजिलै मानिलिएका छन्। र म्याथमा राम्रो अङ्क नपाउनु कुनै सामाजिक लज्जाको कुरा पनि मानिँदैन। हजारमा दुई-तीन जनाले राम्रो गर्न सक्ने हुँदा आफूले नजान्दा त्यस्तो फरक पनि पर्दैन। म्याथ नजान्नुमा पनि एउटा मजा नै मान्छ। लाज पचाउनुपनि संस्कार नै भइदिन्छ।

       दोष व्यक्तिगत हिसाबमा कुनै शिक्षकलाई त दिन मिल्दैन तर शिक्षकको पढाउने तरिका भने गलत नै छ। सयमा एकजनाले ठीक पढाउन सक्छ। जसले म्याथ ठीकसँगले गराउनुको सट्टा पढाएका छन्, तिनीहरूले निश्चय नै माथ्यमाटिशियन जन्माएको हुनुपर्छ।

       पहाडमा शिक्षकहरूले शिक्षालाई थोरै मात्रमा सिरियसली लिन्छन्। शिक्षकको बोली-चाली राम्रो हुनु सक्छ। विद्यार्थीलाई आर्थिक रूपमा सहायता गर्नु सक्छ, माया गर्नु सक्छ, मानवताको नातामा एउटा राम्रो मान्छे पनि हुनु नै सक्छ तर तिनी शिक्षक भएर राम्रो पढाएन भने त यी कुनै पनि गुण काम नै लाग्दैन नि त। व्यक्तित्व विकासको साथमा वौद्धिक विकास पनि त हुनुपऱ्यो। शिक्षक भएपछि शिक्षा नै रोपेको हुनुपऱ्यो, नत्र माया मात्र त काका, फुपु, मामाहरूले पनि गरिराखेकै हुछन् नि। सुनखरी जस्तो फुल्नु चाहिँ राम्रो फुल्यो तर परजीवि बनेर हो भने स्वाभिमान बनिँदैन। विद्यार्थीलाई ठीकसँग पढाएका हुँदैनन् तर बैशाखीमा म्याराथन कुद्नु भन्छन् कति शिक्षकहरूले त झनै।

       शिक्षामा सरोकार नराखी नै शिक्षक बनेर अहिलेका शिक्षकहरूले ठीक गाइड गर्न नै सक्दैनन्। अहिले म्याथ लगायत अरू विषयका शिक्षकहरूलाई पनि आफूले पढाउने किताबबारेमा केही थाहा नै हुँदैन। न त लेखक नै चिन्छन् न त प्रकाशक नै। राम्रो किताब रेफर गर्नसक्ने क्षमता धरी पनि छैन। शिक्षक स्वयंले नै पढ्दैनन्।  नयाँ अपडेट्स लिएर चर्चा नै गर्दैनन्। यसरी अन्योलतामा रहेका शिक्षकहरू केवल अहोदामा मात्र ओगटेर शिक्षकको ब्राण्डमा सम्मानको रोयल्टी खाइरहेका छन्। जुन विषय पढाउँछन् त्यस विषयका महान व्यक्तिहरू पनि चिन्दैनन्। चिन्नुपर्छ भन्ने जिम्मेवारी पनि लिएका छैनन्।

       म्याथलाई मात्र हेर्नु हो भने, क्लास टेनसम्म पढिने पाठ्यक्रममा एरिथमेटिक, अलजेब्रा, मेन्सुरेसन, ट्रीगोनोमेट्री, जियोमेट्री र अझ धेरै छन्। यी सबैको हिसाब गराइन्छ तर यिनीहरू के हो? किन हो? कसरी आए? यसले मान्छेको जीवनमा कसरी प्रभाव पारेका हुन्छन्? केही पनि सिकाउँदैनन्। कारण स्वयं पनि त्यसरी सिकेका नै हुँदैनन्। युक्लिड, पाइथगोरस, डिकार्ट, इउलरहरूको लछेप्रै हिसाब त गर्छन् नि तर यिनीहरूको बारेमा केही पनि थाहा नै हुँदैन।

       यसरी पहाडमा म्याथ गरिन्छ मात्र तर पढिँदैन। त्यसैले हामी बिचबाट म्याथ जान्ने र म्याथको नयाँ-नयाँ सिद्धान्तहरू निकाल्ने नै भेटिँदैन। बिरलै म्याथमा उच्च शिक्षा हासिल गर्ने भेट्टाएता पनि पहाडे समाजलाई उसलाई आफ्नो सिद्धान्तको योगदान समाजमा रिलेट गर्न गाह्रो नै पर्छ।

म्याथम्याटिकल माइण्ड र साधरण समाज

म्याथ आफैमा एउटा भाषा हो। म्याथलाई भाषाको रूपमा प्रयोग गरिए अन्य धेरै विषय बुझ्न सकिन्छ। म स्वयं फिजिक्सको विद्यार्थी, फिजिक्सलाई बुझ्ने भाषा नै म्याथ हो। म्याथ नबुझे फिजिक्स बुझ्न गाह्रो हुन्छ। तर म्याथलाई बुझ्न हामी साधारण बोलचालको भाषा चलाउँछौं। स्थानीय तहमा हामी नेपाली, हिन्दी, बङ्गला, अङ्ग्रेजी भाषाहरूमा म्याथलाई बुझ्ने कोसिस गर्छौं। र यी भाषामा लेखिएका कुरा नबुझ्दा पनि म्याथ साह्रो लाग्ने गर्दछ। साधारण भाषामा म्याथलाई बुझाउने मानिस पनि भेट्न सजिलो छैन। त्यसैले त झनै म्याथ अझ साह्रो देखिन्छ। स्कूलमा पनि धेरैले म्याथ भन्दा पनि म्याथको प्रश्न नै बुझ्दैनन्। प्रश्न बुझ्नसक्यो भने म्याथ मजाले गर्नसक्छन्। म्याथ पढ्यो भने प्रश्न मजाले बुझ्न सक्छन्।

तथापि म्याथ सबैले किताब पढेर मात्र जान्न सक्छ भन्ने हुँदैन। किताबको हिसाब गरेर लास्ट पेजमा भएको उत्तर मिलाउनु नै चाहिँ म्याथ जान्नु होइन। खासमा म्याथ सबैले नै जानेको भाषा हो। धुरन्धर म्याथ गर्न सक्नेको पनि म्याथम्याटिकल माइण्ड नहुन सक्छ र केही पढ्न लेख्न नजान्नेको पनि राम्रो म्याथम्याटिकल माइण्ड हुनसक्छ। म्याथम्यटिकल माइण्ड हुनु भनेको, आफ्नो बाँच्ने जीवन शैलीमा म्याथको कन्सेप्ट कसरी चलाएर समस्याहरू समाधन गर्ने गर्छ ती कुराहरूले जनाउँछ।

जस्तै: भतेरमा खाना बाँड्ने बढीले यति थाल भातलाई यति तरकारी दिँदा ठिक्क पुग्छ, खाना बनाउनेले पनि यति मान्छेलाई यति समान लाग्छ भनेर ठीक्क भनिदिन्छन्, स्कूलमा लञ्च खान बसेका विद्यार्थीहरूलाई पनि खाना बाँडेको हेर्दा कसको बेसी म्यथम्याटिकल माइण्ड छ भनेर बुझ्न सकिन्छ। अझै जब म आरावाल वा बढाईहरूसित हुन्छु तब तिनीहरूबाट मेन्सुरेशन सिक्छु। एउटा आरावलले रूख हेरेर त्यसको भल्युम बताइदिन्छन्, एउटा हस्ताक्षर गर्न नसक्ने मिस्त्रीले घरमा कति ईटा, बलुवा, रड सिमेन्ट के-के कति लाग्छ सबै बताइदिन्छन्, जुन स्कूलमा पढाउने स्वयं म्याथ कै शिक्षकले पनि ती मिस्त्रीलाई नै सोध्ने गर्छन्।

बढाइले घरको कोण मिलाउदा पाइथगोरसको थियोरम चलाएको देख्दा त झनै मोहित हुन्छु। तिनीहरूबाट म्याथ बुझ्न। एउटा खेती गर्ने किसानले बारीको कान्ला हेरेर बिँउको अन्दाज दिन्छन्। मौसम हेरेर फसलको उत्पादन बताइदिन्छन्। ऋतुहरूको बारेमा बताइदिन्छन्। एउटा बसको कण्डक्टरले भनौं वा दोकानेले जोड-घटाउ एक्दमै छिटो गरिदिन्छन्। यसरी उदाहरणहरू धेरै नै छन्। हामीले दिनहुँ नै म्याथ गरिरहेका हुन्छौं तर म्याथ जान्दैनौं भन्छौं। म्याथ केवल आफूले पनि नबुझ्ने किताबको उत्तर मिलाउनु मात्रलाई मानेर भएन।

“पढ्न नजान्ने मान्छेले अङ्ग्रेजी भाषा नबुझ्ला तर म्याथको भाषा बुझिरहेकै हुन्छ।”

धेरैको मनमा जिज्ञासा हुन्छन् कि हामीले पढेको म्याथ कहाँ उपयोग हुन्छ भनेर। हामीले सिकेका म्याथको केही न केही त उद्देश्य हुन्छ नै। जीवनको कुनै न कुनै ठाउँमा उपयोग भइ नै रहेको हुन्छ। यति हो हामीले नदेखेको हुन सक्छौं वा देखाइदिने मान्छे नभेटेको हुन सक्छौं। जसरी ज्वरो आउँदा चिरौटो खान्छौं र ठीक हुन्छौं वा हातहरू काट्दा बनमारा लगाउछौं र जाति पनि हुन्छौं तर कसरी ठीक हुन्छ प्रायलाई नै थाहा हुँदैन। र म्याथ पनि यस्तै नै हो। बललाई (force) न्युटनमा नापिन्छ खातामा हिसाब गरूञ्जेल तर १ न्युटनमा वा एक थप्पडमा कति न्युटन हुन्छ आभाष नै गरेको हुँदैन। शिक्षक स्वयंलाई नै थाहा हुँदैन। करेन्ट नै नखाएको शिक्षकले एलिक्ट्रीसिटी पढाउँछन्। पढाएको हुन् कि पढाएको जस्तो मात्र गरेको?

म्याथ र जिद्दिपना वा स्वभिमान

म्याथ जसले ठीकसँग बुझ्छ वा म्याथलाई बुझाउनु सक्छ तिनी स्वभिमानी हुन्छन्। म्याथले मान्छेलाई आफ्नो कुरामा अडिग हुन पनि सिकाउछ र त्यसको निम्ति खडा हुन पनि सिकाउँछ। सहीलाई सही वा गलतलाई गलत भन्न पनि सिकाउँछ। यदि म्याथ जिद्दी नभएको भए त सूर्य नै अझसम्म पृथ्वीको वरी-परि घुमिरहेको हुनेथियो। कोपर्निकस, ग्यालिलियो, केप्लरहरूलाई मार्न पर्ने नै थिएन। हाम्रो समाजमा पनि यिनीहरूको इतिहास पढाइएको भए नेताहरूले स्वभिमान बेच्ने थिएनन्। समाज दह्रिलो हुने थियो। युग पुरूषहरू जन्मने थिए।

म्याथले लजिकलाई परिमार्जन गरेर दिमागलाई तिखार्ने काम गर्छ। सिलेबसको म्याथले जनसाधरणलाई छुन नै खोज्दैन्। बीएड वा NCERT को म्याथहरूमा व्यावहारिकता जति नै किताबमा लेखिएता पनि साँचो अर्थमा कसैले सरोकार राखेर ध्यान दिँदैनन्।

हाम्रो समाजले म्याथ गर्नु मात्र होइन पढ्नु पनि पर्छ। जब म्याथ पढ्न शुरू गरिन्छ तबमात्र नयाँ-नयाँ सही, लजिकल विचारहरूको बिकास हुन्छ। म्याथका शिक्षकहरूले म्याथको हिसाब गराउनु बाहेक म्याथको भूमिकाबारे पनि बताउन सक्ने हुनुपर्छ। विद्यार्थीको मार्क्सको साथ-साथै माइण्ड पनि म्याथम्याटिकल बनाउँदै जानुपर्छ। तब मात्र  पहाडमा पनि म्याथ सजिलो हुन थाल्छ। पहाडले पनि म्याथमा विकास गर्छ र म्याथले पहाडको विकास गर्छ।


शोधार्थी, डिपार्टमेन्ट अफ फिजिक्स, मिजौराम विश्वविद्यालय। हाल, दिलाराम, दार्जीलिङ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया