विमल गुरुङको समयमा हटाइएको गोर्खा सिपाहीको सालिग फेरि गोर्खा रङ्गमञ्च भवनकै शीर्षमा लगाइने

विज्ञापन

दार्जीलिङ, 12 सितम्बर: विमल गुरुङको समयमा हटाइको गोर्खा सिपाहीको सालिग पुन: गोर्खा रङ्गमञ्च भवनकै शीर्षमा स्थापित गरिने भएको छ। गोजमुमोका अध्यक्ष विनय तामाङले 2 अक्टोबर गान्धी जयन्तीका दिन मूर्ति पुनर्स्थापना गर्ने घोषणा गरेका छन्।

‘मैले जीटीएका मुख्य सचिव श्री सुरेन्द्र गुप्ता अनि अध्यक्ष श्री अनित थापा कहाँ गोर्खाको प्रतीक वीर गोर्खा सिपाहीको मूर्तिलाई जहाँ बाट निकालिएको थियो त्यही ठाउँमा पुनर्स्थापना गर्ने निवेदन गरेको थिएँ’-विनय तामाङले एउटा प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘उहाँहरूले पनि मेरो निवेदन स्वीकारेर मूर्तिको पुनर्स्थापना गर्ने अनुमति दिनु भएको छ। हामी मूर्ति पुनर्स्थापनाको मूर्ति अनावरणको कार्यक्रम अक्टोबर २ तारिक गर्नेछौँ।’

स्व. सुवास घिसिङले स्थापना गरेको रंगमञ्च भवनमा स्थापित गोर्खा सिपाहीको मुर्ति 2014 सालमा तत्कालिन जीटीए अध्यक्ष विमल गुरुङको समयमा हटाइँदा व्यापक विरोध भएको थियो। यसैलाई फेरि स्थापित गर्ने बताउँदै विनय तामाङले भनेका छन्, ‘जाति को प्रतीक हाम्रो धरोहर हो, हाम्रो इतिहास हो। गोर्खा जनमुक्ति मोर्चा जाति बचाउने अनि चिनाउने यस्ता विम्वहरु जोगाड गर्न सदैव तत्पर छ। हाम्रो जातिको प्रतीक बाँचे हाम्रो इतिहास बाँच्छ, इतिहास बाँचे मात्र जाति बाँच्छ।’

तामाङले विज्ञप्ति जारी गर्दै २७ सितम्बर विश्व पर्यटन दिवसलाई केन्द्र गर्दै मोर्चाले यो सप्ताहलाई स्वच्छ सप्ताहको रूपमा पालन गर्ने बताएका छन्।

यो स्वच्छ सप्ताहलाई अझ प्रगाढ अनि व्यावहारिक बनाउन गोर्खा जनमुक्ति मोर्चाले जीटीए क्षेत्रका चार नगरपालिकाहररू (दार्जीलिङ, खरसाङ, मिरिक, कालेबुङ)मा अन्तर वार्ड सफाई प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको छ।

“हाम्रो वार्ड स्वच्छ वार्ड, प्लास्टिक मुक्त हाम्रो नगरपालिका”-विषयमा प्रतियोगिता नगरपालिका भित्रका वार्डहरु माझ हुनेछ। निर्णायक मण्डलीको निर्णय अनुसार जुन वार्ड दिइएको मापदण्ड अनुसार सबै भन्दा स्वच्छ पाइने छ उनीहरूलाई क्रमशः पहिलो पुरस्कार: २५,००० दोस्रो पुरस्कार: १५,००० अनि तेस्रो पुरस्कार: १०,००० नगद राशी पुरस्कारको रुपमा दिईने छ। निर्णायक मण्डलीका सदस्यहरू गोपनीय रहनेछन् अनि २७ सितम्बर देखि वार्डको निरीक्षणमा रहनेछन्।

प्रतियोगिताको परिणाम अनि पुरस्कार अक्टोबर २ मा, दार्जीलिङ रंगमञ्च भवनमा गोर्खा सिपाहीको मूर्तिको पुनर्स्थापना कार्यक्रममा पार्टी अध्यक्ष विनय तामाङको बाहुली हुने भएको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया