कवितामा प्रतीक, बिम्ब, अभिधा

विज्ञापन

काव्यवृत्त – ९

आज अभिधामा प्रभावकारी अभिव्यक्ति दिने कविहरूको सङ्ख्या निकै ठूलो देखिन्छ । अघिका बिम्बमय कविता लेख्नेहरू समेत बिम्बको मोहपाशबाट मुक्त भइरहेका देखिँदैछन् । समकालीन कविताको अनौपचारिक स्वभावमा बिम्बात्मकता औपचारिकता जस्तो देखिन्छ । औपचारिकताबाट फुक्का हुन खोज्छ समकालीन कविता । भारतीय अङ्ग्रेजी कवितामा कमला दासका कविताहरू यस्तै नितान्त अनौपचारिक अबिम्बात्मक अभिव्य्याक्तिका अत्यन्त सशक्त उदाहरण छन् ।


मनप्रसाद सुब्बा


     फेरि एकपल्ट आधुनिकतावादी अमेरिकेली कवि आर्चिबल्ड मक्लिशकै प्रसङ्ग टिपेर कुरा थालौं । काव्यकलाबारे काव्यकला (Ars Poetica) शीर्षकमै उनले चौबिस हरफको कविता लेखे जो टुङ्गिएको छ यी दुइ हरफसित – A poem should not mean / But be. नेपालीमा जसको ठाडो अनुवाद यस्तो हुनसक्छ – ‘कविताले अर्थिनु हुँदैन / तर ‘हुनु’ पर्छ । अनुवादमा हुनु-लाई यहाँ इन्वर्टेड कोमामा राखिन आवश्यक लाग्यो किनकि उक्त कवितामा हुनु सामान्य क्रियाभन्दा बृहत्तर भविता ( Being )-को अर्थमा प्रयुक्त बुझिन्छ । आनुभूतिक या वैचारिक तहमा देखिएको कुरालाई कविताले भन्नु वा बताउनु होइन तर देखाउनु हो अर्थात् कविता ती कुराको जीवन्त रूप भएर देखिइनु हो । यसरी कविता निज भवितामा उभिनु हो ।

     कवितालाई यसको निज भवितामा टड्कारो उभ्याउन कविहरूले विभिन्न उपाय, शिल्प र प्रविधि अप्नाएका हुन्छन् । छान्दिक लयको शास्त्रीय शैल्पिक विधान होस् कि नियमित लयबाट मुक्त छन्दमुक्त (फ्री भर्स) होस् या त गद्य कविता (प्रोज पोएम) होस्, यी कलेवरमा एकाकार भइउठेको जीवन्त कविताको सत्व तथा स्वरूप देख्न खोज्छ पाठक । कवितालाई त्यो जीवन्तता अर्थात् भवितामा उभ्याउन कवि-चेतनाले आविष्कार गरेको अनेक तत्वमध्ये प्रतीक, बिम्ब, व्यङ्ग्यको प्रयोग पहिल्यैदेखि बढी आकर्षक ढङ्गमा भइआएको पाइन्छ । उनाइसौं शताब्दीको अन्त्यतिर केही फ्रान्सेली कविहरूले प्रतीकवाद (सिम्बलिज्म) अभियान चलाएका थिए भने बीसौं शताब्दीको पहिलो दशकतिर आङ्ल-अमेरिकी कविहरूले बिम्बवाद (इमेजिज्म) अघि ल्याए । र सचेततापूर्वक यी काव्यिक तत्वहरूको प्रयोग गरी अभिव्यक्तिलाई बढी जीवन्त र प्रभावकारी तुल्याउने अभियान चल्यो । तर यसअघिका रचनामा प्रतीक र बिम्ब थिएनन् भन्ने चाहिं पटक्कै होइन । पाँचौं शताब्दीका संस्कृत महाकवि कालिदासका काव्य भनौं कि एघारौँ शताब्दीको ओमर खैय्यामको रुबाय्यत, या सोह्रौं शताब्दीका शेक्सपियरका काव्यिक नाटकहरू । यी सबैमा प्रतीक र बिम्बहरूको प्रचुर प्रयोग सशक्त ढङ्गमा भएको पाइन्छ । यत्ति हो कि यी कविका काव्यिकतामा यी कुराहरू उनीहरूका काव्यमेधाबाट स्वतः स्वाभाविकतापूर्वक आएका देखिन्छन् । त्यसो भए, के बोद्लेअर, रिम्बं, मलार्मे जस्ता फ्रान्सेली प्रतीकवादीहरू साथै एज्रा पाउण्ड, ह्यूम जस्ता अमेरिकी बिम्बवादीका रचनामा स्वाभाविकता नभएर सचेतताले आग्रह गरेको कसरत मात्र छ त ? सन्दर्भमा शेक्सपियरबाट यौटा उदाहरण लिऊँ –

                                             Out, out, brief candle!

       Life’s but a walking shadow; a poor player,

       That struts and frets his hour upon the stage,

       And then is heard no more: it is a tale

       Told by an idiot, full of sound and fury,      

       Signifying nothing.     

   ठूटे मैनबत्ती, हिँड्ने छायाँ, मन्चमा रहुन्जेल धुमधाम फुटानी गर्ने, झर्किने, अनि फेरि नसुनिने निरीह अभिनयी, यौटा मूर्खको कथा हल्लाखल्ला र आक्रोशपूर्ण तर खोक्रो ! -– जीवनलाई एकैसाथ यस्ता बिम्बहरूमा प्रस्तुत्याउने यी पङ्क्तिहरू शेक्सपियरले सचेततापूर्वक नै लेखेका थिए निश्चय नै तर म्याकबेथको तात्कालीक मानसिक स्थितिसुहाउँदो यो संवादमा जुन प्रवाह छ त्यो शेक्सपियरको मेधाबाट निस्केकैले अत्यन्त स्वाभाविक र सशक्त सुनिन्छ ।           

      वास्तवमा आ-आफ्ना काव्यास्थाको आग्रहलाई आत्मसात गरेरै प्रतीकवादी र बिम्बवादीहरूले प्रभावोत्पादक काव्यिक अभिव्यक्ति दिए जसको प्रभाव युरोप र अमेरिकी मुलुकदेखि बाहिर पनि पऱ्यो । उनीहरुको प्रभाव यति दह्रो गरी फैलियो कि कवितामा प्रतीक र बिम्ब अभिन्न तत्व मानिए। बिम्बवादी प्रभाव-तरङ्गले नेपाली कविहरू पनि अछुत रहेनन् । स्वच्छन्दतावादीदेखि आधुनिकतावादी साथै समकालीन कविहरू समेत बिम्बात्मकताले बाँधिए । स्वाच्छन्दिकहरूले प्रकृतिबाट बिम्बहरू टिपे भने आधुनिकतावादीहरू प्राचीन मीथकतिर फर्के; मीथक तर अश्रुत-अचिनारू ग्रीक, रोमन, इजिप्सियनहरू पनि ओसारिए । गत शताब्दीको दोस्रो दशकमै इलियटले पश्चिममा अपरिचित औपनिषदिक मीथक वेस्ट ल्याण्ड-मा प्रयोग गरिसकेका थिए । कवि बल्लभले स्वदेशी नदीहरूमा बग्ने पानीको कुरा नगरेर दजला र फरातको कुरा गरिरहेका थिए । वैरागी काइँलाले वैदेशिक मीथकबाट निर्मित बिम्बहरूसँगै केही लिम्बु मीथक पनि प्रयोग गरे । आधुनिकतावादोत्तर कवितामा अब दैनन्दिन जीवनबाट बिम्बहरू बोल्न थाले, जमिनी यथार्थका कुराहरूबाट प्रतीकहरू पलाउन थाले । किनारमा पारिएका एथ्निक कथाहरूबाट पनि बिम्बहरू आए । तर बारम्बार बिम्बहरूको प्रभावमा बिम्बबिना कविता बन्दैन जत्तिकै विश्वासले बलपूर्वक बिम्ब बनाउने कसरत कनेको पनि सुन्न थालियो कवितामा ।  

     अनि के प्रतीकात्मकताको देह र बिम्बात्मकतामा बिम्बित भएर मात्र कविता जीवन्त उभिन्छ त ? के यी तत्वहरूबाट मुक्त भई कविताले निक्खर  नाङ्गो स्वरूप र स्वर देखाउन सक्तैन ? सक्छ, अवश्य सक्छ, अनि उत्तिकै प्रभावशाली ढङ्गमा । यही विश्वास बोकेर ई. २००८-मै ‘किनाराका आवाजहरू-को सन्दर्भमा’ (भूमिका)मा एक ठाउँ भनिएको छ – “कविताको कथ्यलाई सोझै प्रस्तुत गर्नु, बिना अलङ्कार स्वाभाविक सौन्दर्य चित्रित गर्नु समसामयिक कविताले उठाएको जिम्मेवारी हो । स्वाभाविक सौन्दर्य जो यसै हेर्दा देखिँदैन पनि, तर नियालेर हेरे त्यसको अकृत्रिम स्वभावमै सौन्दर्य भेटिन्छ । बिम्ब-प्रतीकको प्रयोग न्यूनतम राख्ने । …बिम्बको आधिक्यले कवितामा स्वाभाविकता हराउँछ । पसिना काढेर निकालेको बिम्ब अग्राह्य (Far-fetched) पनि हुनसक्छ । अभिधामै पनि उत्तिकै प्रभावी कविता भन्न सकिन्छ, यो विश्वासलाई अझ दह्रो गरी उभ्याउनुछ ।“

     किनाराका आवाजहरू प्रकाशित भएको पाँच महिनापछि (१३ एप्रेल २००९) ‘अभिधाको निमित्त यौटा कविता’ पनि लेखेको थिएँ जुन उतिबेलै सुनचरी दैनिक, (१९ एप्रेल २००९)-मा प्रकाशित भएथ्यो । सान्दर्भिकतामा त्यस कविताका प्रारम्भिक केही पङ्क्तिहरू हेरौं –

     अभिधा !

     कति भैसक्यो नि तिमी किनारीकृत भई बसेको ।

     बाठे ब्युरोक्र्याट बिम्बहरूको शासनमा

     तिमीलाई कविता भन्नै नदिएर

     समारोहबाट परपरै पन्साइएको पीडा अझै छ होइन?

     ….    …..   …..

     तिम्रो सादगी र सरलताको शक्तिलाई

     सोफिस्टिकेटेड उनीहरूले कहिल्यै पत्याएनन्

     वनसाङले बिम्बहरूको रगरगी बढेकोले

     तिमी त पन्सिंदै पन्सिंदै थाहै नपाई डिलमै पो पुगिसकेको रैछौ नि !

     देख्न-सुन्नै नसकिने गरी तिमीलाई

     पत्रापत्रा प्रतीकहरूको पछिल्तिर पनि पारिएकै हो कत्ति !

     ….       …….

 

     उक्त कविताको माझको अनुच्छेदबाट अरू पाँच पङ्क्तिलाई पनि हेरौं -–

    

     तिम्रो अलङ्कारहीन नाङ्गो रूपमा / मोहित भएर

     एक हूल निष्कपट आँखाहरूले तिम्रा पाइलाहरू पछ्याए

     अनि तिम्रा पाइलाछापबाट एक-एक पङ्क्ति कविता                                             

     आँखाले चेप्दै उठाए

 

     आज अभिधामा प्रभावकारी अभिव्यक्ति दिने कविहरूको सङ्ख्या निकै ठूलो देखिन्छ । अघिका बिम्बमय कविता लेख्नेहरू समेत बिम्बको मोहपाशबाट मुक्त भइरहेका देखिँदैछन् । समकालीन कविताको अनौपचारिक स्वभावमा बिम्बात्मकता औपचारिकता जस्तो देखिन्छ । औपचारिकताबाट फुक्का हुन खोज्छ समकालीन कविता । भारतीय अङ्ग्रेजी कवितामा कमला दासका कविताहरू यस्तै नितान्त अनौपचारिक अबिम्बात्मक अभिव्य्याक्तिका अत्यन्त सशक्त उदाहरण छन् ।

     त्यसो त प्रतीकवाद – बिम्बवादभन्दा अघि पनि कवितामा पर्याप्त प्रतीक र बिम्ब पाइएझैं अप्रतीकात्मक र अबिम्बात्मक अभिव्यक्ति पनि अघिदेखि नै यहाँ थियो । त्यसो भए यो पछिल्लो किसिमको काव्यिक अभिव्यक्तिमा उसबेलाको र आजको समकालीन लेखनमाझ के भिन्नता छ त ? उत्तरमा भन्छौं –- आजको कवितामा व्यङ्ग्यिकता अनि अनौपचारिकता बढी टड्कारो देखिन्छ । व्यङ्ग्यिक (आइरोनिक) अभिव्यक्ति आधुनिकतावादीहरूमा पनि पर्याप्त पाइन्छ, तर उनीहरूमा यो तत्व जीवनको विडम्बना तथा विसङ्गति देखाउने गाम्भीर्यपूर्ण हुन्छ । यता समकालीन कवितामा श्याम व्यङ्ग्यको रूपमा कुरूप तथा विद्रूप उभिएको हुन्छ यो ।       

 

     

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया