खोसिएको हिलट्राइब्सको दर्जा फर्काउँदै 11 जातलाई जनजातिको मर्यादा दिलाउन विष्टले उठाए सदनमा मुद्दा

विज्ञापन

 कालेबुङ, 14 सेप्टेम्बर


कोरोना महामारीपछि पहिलोपल्ट आजदेखि भारतीय संसदमा मनसुन सत्र शुरु भयो। पहिलो दिन नै दार्जिलिङका सांसद राजु विष्टले गोर्खाका 11 जातगोष्ठीलाई जनजातिको मर्यादा दिइनुपर्ने भन्दै मुद्दा उठान गरे। भारतीय जनता पार्टीले अघिल्लो लोकसभा चुनाउमा गोर्खाका दुइवटा मुद्द्लाई चुनावी मेनिफेस्टोमा सामेल गरेको थियो। दुइमा एक यही जनजातिको मुद्दा थियो।

‘पार्टीले अघिबाटै गोर्खाका 11 जातलाई जनजातिको मर्यादा दिने प्रतिबद्धता जनाइसकेको छ,’ सांसद विष्टले कान्तिपुरलाई भने, ‘सदनको पहिलो दिन नै मैले यी जातहरूलाई जनजातिको सूचीमा पुनर्वहाली गर्ने प्रक्रिया शीघ्र गर्न आदिवासी मामिला मन्त्री अर्जुन मुन्डा अनि गृहमन्त्री अमित शाहको ध्यानाकर्षण गरेको छु।’

भारतीय गोर्खाहरूलाई १९४१ को जनगणनासम्म सामुहिक रूपले हिल ट्राइब्स-को दर्जा दिइएको थियो। जनगणना रिपोर्टहरूमा अनुसूचित जनजातिको रूपमा सूचिबद्ध गरिएको ऐतिहासिक दस्तावेजहरू हुँदाहुँदै पनि १९५१ को जनगणनामा यी जनजातिहरूसँग कुनै परामर्श नगरिकन यो दर्जा खोसिएको विष्टले सदनलाई जनाए।

‘उपयुक्त परामर्शविना गोर्खाहरूको हिल ट्राइब्स- को दर्जा खोसिनु हाम्रो राष्ट्रको मौलिक एवम् आधारभूत सिद्धान्तहरू विरुद्ध हो,’ विष्टले सदनलाई भने, ‘यसले गर्दा छुटेका ११ गोर्खा जनजातिको मान्यता नपाइएकोले अन्यायमा परेका छन्। परिणामस्वरूप यी जनजातिहरू सामाजिक, आर्थिक र राजनीतिक रूपले पछाडिएका छन्।’

सन् २०१६ मा नै भारत सरकारले छुटेका ११ गोर्खा जातगोष्ठीलाई अनुसूचित जनजातिको मर्यादा प्रदान गर्न तीनवटा समिति गठन गरिसकेको छ। तर  यी समितिका रिपोर्ट र सिफारिशहरूलाई आजसम्म सार्वजनिक गरिएको छैन। यसैले प्रक्रिया अघि नै बढेको छैन। ११  जातगोष्ठीमा राई, सुनुवार, गुरुङ, मगर, नेवार, याखा, खस, जोगी, थामी, भुजेल, र धिमाल रहेको छ। विष्टले यी जातगोष्ठीले गुमाएको हिल ट्राइब्सको दर्जा पुनर्वहाल गर्न माग गरेका हुन्।

‘यी विविध गोर्खा जातगोष्ठीका विशिष्ट इतिहास, संस्कृति तथा परम्परा र  उनीहरूका जरालाई मान्यता दिनमा ढिल्याइँ भइरहेकोले उनीहरूप्रति अन्यायमा परेका छन्,’  विष्टले भने,   यसैले सदनलाई मैले शीघ्र प्रक्रिया पूरा गर्न अनुरोध गरेको छु।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया